सुमनकुमारको स्वर सिर्जना



टोपी लाए पनि हुन्छ फेटा गुथे पनि हुन्छ
टोपीमाथि फेटामाथि नेपाल, नेपाल उठे हुन्छ ।
यो मन कोमल, ए आवाज, खाएको कसम जस्ता सुगम संगीतका गीतबाट चम्किएका गायक सुमनकुमार श्रेष्ठले राष्ट्रिय भावनाले ओतप्रोत तथा जातीय सद्भाव र क्षेत्रीय सद्भावलाई कायम गर्दै आम नेपालीले एक ढिक्का भएर बाँच्नुपर्ने सन्देश बोकेको गीत गाएर थप चर्चा र लोकप्रियता पाए । गायक सुमनकुमारले प्रकाशोन्मुख चौथो एकल एल्बम बिहानी–३ का लागि गाएको यो गीत वर्तमान सन्दर्भका लागि उपयोगी सुझाव र सन्देशसमेत बन्न पुगेको छ । स्व. क्षेत्रप्रताप अधिकारीको गहकिला शब्द रचना र दीपक जंगमको संगीत रहेको गीतले समसामयिक नेपालका लागि गतिलो पाठ बोकेकै कारण यसको म्युजिक भिडियो नेपाली टेलिभिजन च्यानल र युट्युबमा चम्कन पुगेको छ ।

पहाडतिर लेकहरुमा लालीगुराँस फुलाउँ नेपाली
तराईतिर फाँटहरुमा धानको बाला झुलाउँ नेपाली ।
एकताको सन्देशसहित सुमनकुमार सुमधुर स्वरैले भन्छन्
होली गाए पनि हुन्छ भैली गाए पनि हुन्छ
होलीसित भैलीसित नेपाल, नेपाल गाए हुन्छ।
नेपाल र नेपालीको हितका खातिर लेखिएको
गीतमा सुमनकुमार स्वरलहरी गुञ्जन्छ
मितेरी र माया गाँसेर मिलीजुली बाँचौं नेपाली
मेची–काली भोट–मधेस सिंगो देशमा नाचौं नेपाली
कौरा नाचे पनि हुन्छ देउडा नाचे पनि हुन्छ
कौरासित देउडासित नेपाल, नेपाल हाँसे हुन्छ ।


‘यो गीत मेरो संगीत गुरु दीपक जंगमबाट पाएको हुँ । उहाँले नै अबको एल्बममा सबै प्रकारको गीत हुनुपर्छ, त्यसमा एउटा राष्ट्रिय गीत पनि राखौं भनेर सल्लाह दिनुभएपछि आगामी एल्बम बिहानी–३ का लागि यो गीत गाएको हुँ’, दुई दशक लामो सांगीतिक यात्राका दौरान सुगम संगीतको क्षेत्रमा श्रेष्ठ सावित गायक सुमनकुमारले भने– ‘गीत रेकर्डिङ हुने बेलादेखि अहिले बजारमा आउञ्जेलसम्म यो गीतको सान्दर्भिकता अभैm बढेको छ । एउटा सशक्त राष्ट्रवादी गीत गाउन पाएँ, जसलाई सबैले मन पराइदिनुभएकाले पुलंकित बन्न पुगेको छु ।’ वास्तवमा आफूलाई सम्बन्धित विषयमा शिक्षादीक्षा र ज्ञान दिनेलाई गुरुदक्षिणा दिने चलन भए पनि चेलालाई उपहार दिने चलन कमै छ । यो गीतको सवालमा चाहिँ उनको वर्षौंदेखिका सांगीतिक गुरु संगीतकार दीपक जंगमले उनलाई राष्ट्रिय गीतरुपी चेला उपहार दिएका रहेछन् । संगीतकार जंगमको थोरै सक्षम चेलामध्येका एक सुमनकुमार श्रेष्ठले गुरु जंगमसँग नियममितरुपमा लिएको शिक्षाका बाबजुद दैनिक रियाजले खारिएको स्वरले यो राष्ट्रिय भावनाले ओतप्रोत गीतलाई अझ सार्थक तुल्याएका छन् । अब भने सुगम संगीतका यी श्रेष्ठ गायक चौथो एल्बम बिहानी–३ बजारमा ल्याउने तयारीमा जुटेका छन् । रोमान्टिक, राष्ट्रिय, सेन्टिमेन्टल, सेमी क्लासिकल र कलासिकल गीतको समिश्रणका रुपमा आउने एल्बममा उनको एकल स्वर रहनेछ । यसका अन्य गीत पनि तयार भई क्रमशः आउने तयारीमा छन् ।

२०५३ सालमा हाल ठूलो पर्दाका फिल्म निर्माण गर्दै आएका निर्माता सुशील पोखरेलद्वारा निर्मित मास्टरजीको सपना नामक टेलिसिरियलको शिर्ष गीत गाएर सांगीतिक करियर शुरु गरेका गायक श्रेष्ठ सुमनकुमारले त्यसको ६ वर्षपछि ०५९ सालमा आएर एकल एल्बम आगमन बजारमा ल्याएका थिए। तर, यसले उनलाई सांगीतिक क्षेत्रमा आगमन दिलाउनेबाहेकको काम गरेन । र पनि त्यही बेला सुमनले नयाँ वानेश्वरस्थित हालको सांसद् भवन तथा तत्कालीन वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सुमन सांस्कृतिक साँझ नामक भव्य एकल सांगीतिक कार्यक्रममा आफ्ना प्रस्तुति दिएर सबैलाई चकित बनाइदिए । ९ वर्ष लामो अन्तरालपछि ०६८ सालमा आएर बिहानी नामक एल्बम ल्याएपछि यी ह्यान्डसम गायक सांगीतिक बजारमा छाउन पुगे । डियर कल्याणको एकल गीत र सचिन सिंहको एकल संगीतमा तयार भएको बिहानीपछि भने सुमनकुमार गायन क्षेत्रमा स्थापित हुन पुगे । यो एल्बमको यो मन कोमल सुपर डुपर हिट हुन पुग्यो भने अर्को गीत ए आवाज पनि खुबै चल्यो । एल्बम कान्तिपुर, इमेज र विन्ध्यवासिनी म्युजिक अवार्डमा सो वर्षकै सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल भयो । यसै क्रममा उनले खाएको कसम गीतबाट गायकका रुपमा इमेज अवार्ड पनि हासिल गरे ।


‘आत्मशान्ति र आत्म रहर अनि बच्चैदेखिको सौख पूरा गर्न संगीतमा लागेको छु’ –उनी भन्छन् । गीत गायनको क्षेत्रमा संघर्ष गर्ने लक्ष्यका साथ ०४९ सालमा सप्तरीको योगिनियाबाट काठमाडौं आएका उनी बाँच्ने क्रममा निर्माण सामग्रीको व्यापारमा लागे । फलस्वरुप २५ वर्षदेखि बिन्दु हार्डवेयर सञ्चालन गरी निर्माण सामग्रीको व्यापारका क्षेत्रमा उनी अघिल्लो पंक्तिको व्यापारी सावितसमेत भएका छन् । ‘संगीत मेरो प्यासेन हो । शुरुमा यो क्षेत्रमा आउँदा यसलाई पेसागतरुपमै अगाडि बढाउने सपना थियो । यद्यपि काठमाडौंमा जीवन जिउन संघर्ष गर्ने क्रममा मनमा अनगिन्ती चाहना हुँदाहुँदै पनि व्यापारमा लागें, तर आत्मरुचि भने पहिले पनि र अहिले पनि संगीतमै छ’ –उनी भन्छन् ।

बिकम गरेका ४० वर्षे सुमनकुमारको सर्वप्रिय गायनको विधा भनेको शास्त्रीय संगीत हो । ‘म वास्तवमा शास्त्रीय संगीतमै रमाउँछु । शास्त्रीय गीत नै मेरो पहिलो च्वाइस हो‘, सुमनले सुनाए– ’तर यसको बजार नभएको र स्रोता नभएको देख्दा दुःख लाग्छ । यसका बाबजुद शास्त्रीय विधामै यस्तो गीत गाउने इच्छा छ, जसले पप र लोकलाई पनि माथ गर्नेछ । चर्चाका हिसाबमा आधुनिक गीत अगाडि छ, अर्कै कुरा हो ।’ सुमनकुमारको स्वर सुन्नेहरुले उनको गायन कलामा पाश्र्व गायकको स्तर भेटाउँछन् । उनलाई गायनमा मनपर्ने विधामध्ये यो पनि एक हो । ‘पाश्र्व गायनमा पनि मेरो ठूलो रुचि छ । तर, अवसर र समय दुवैको कमीका कारण यसबाट पछाडि परेको छु । विश्वास गरिनहाल्ने र प्रमाणित गर्ने समय अभावका कारण यसमा पछाडि परेजस्तो लाग्छ । मौका पाएँ भने पाश्र्व गायनमा पुष्टि गर्न एक दिन पनि लाग्ने छैन। तर, अवसर पाउँदा सयम हुँदैन, समय हुँदा अवसर हुँदैन’ –उनी भन्छन् ।

प्रतिक्रिया दिनुहोस्