हिरोलाई बडिगार्ड



अहिलेका हिरो पो हिरो, पहिलेका हिरो त जिरो । अहिलेका हिरोले सबथोक जानेका छन् । के गर्दा चर्चा पाइन्छ, के गर्दा सबैको ध्यान जान्छ । यो सबै त अहिलेका हिरोहरुलाई मात्र थाहा छ । हुइयाँलाई यस्तै लाग्छ ।

यस्तो कुरा त हलिउड र बलिउडका हिरोले पनि जान्दैनन्, जति नेपालका केही हिरोले जान्दछन् । जस्तो हेर्नोस् त, हलिउड र बलिउडका स्थापित हिरोहरु आफ्नो सुरक्षाका लागि बडिगार्ड लिएर हिँड्छन् । तर, वास्तवमा सुरक्षाका लागि मात्र होइन, चर्चाका लागि पनि बडिगार्डलाई वरिपरि घुमाएर हिँड्नुपर्छ भन्ने कुरा नाम चलेका हलिउड र बलिउडका कलाकारलाई समेत थाहा छैन । उनीहरु केवल फ्यान, त्यसमाथि उत्पट्याङ फ्यानको फन्दामा नपरियोस् भनेर मात्र बडिगार्ड लिएर हिँडछन् ।

बडिगार्ड लिएर हिँड्नुको अर्थ रवाफ देखाउनुसमेत हो भन्ने कुरा उनीहरुले पनि बुझेका छैनन्, जति हाम्रा नायकहरु प्रदीप खड्का, कुशल थापालगायतले बुझेका छन् । केहीअघि प्रदीपले बडिगार्ड लिएर हिँड्दा मानिसले त्यसै उडाए । अलिअघि मात्र कुशल थापाले पोखरामा आधा दर्जन बडिगार्ड लिएर हिँड्दा पनि खुब आलोचना व्यहोर्नुपर्यो । हुइयाँलाई चाहिँ लाग्छ कुकुर भुक्दै गर्छ, हात्ती लम्कँदै गर्छ । डन्ट वरी है ।

प्रतिक्रिया दिनुहोस्