नेपाल फर्केका स्टारहरु



विजयरत्न तुलाधर । वैदेशिक रोजगार अहिले नेपालको आर्थिक मेरुदण्ड साबित भइरहेको छ । देशका युवामा विदेश जाने चलनले व्यापक रुप लिइरहेको यो समयमा नेपालका कतिपय फिल्मकर्मीले पनि फिल्म क्षेत्रलाई त्यागेर विदेशी भूमिलाई आफ्नाे कर्मथलो बनाएका छन् । तर कतिपय फिल्मकर्मी यस्ता पनि छन्, जो आफ्नाे विदेश बसाइ त्यागेर नेपाल नै फर्केर आएका छन् ।

त्यसरी विदेशी बास त्यागेर नेपाल फर्केकामध्ये प्रमुख नामको रुपमा लिन सकिने नाम भनेको सरोज खनाल हो । उनी नेपालमा अभिनय यात्रा शुरु गर्दा आफूलाई नेपालको एक सशक्त अभिनेताका रुपमा स्थापित गराउन सफल भएका थिए । रङ्गमञ्चबाट खारिएर फिल्ममा प्रवेश गरेका सरोज खनालले नेपाल टेलिभिजनबाट प्रसारण भएको मौन आकाश, भीडदेखि भीडसम्मजस्ता टेलिसिरियलमार्फत अविस्मरणीय छाप छोडेका थिए भने परिभाषा, मोहनी, प्रेमपिण्डलगायतका फिल्ममार्फत आफूलाई एक सशक्त अभिनेताका रुपमा स्थापित गरेका थिए । यसरी एक सशक्त अभिनेताका रुपमा प्रभाव जमाउन सफल भएका सरोज खनाल अचानक विदेशिंदा धेरैले नियास्रो मानेका थिए ।

यूएस इमिग्रेश्सन छिरेको ६ महिनाभित्र ग्रिनकार्ड अप्लाइ गर्नुपर्ने नियम रहेछ । तर राजाराम पौडेलले यो काम गर्नका लागि छानेका कानुन व्यवसायीको असावधानीले गर्दा दुई दिन म्याद गुज्रिएछ । त्यसैले ग्रिनकार्ड पाउन सकेनन् । अनि अमेरिकामा बस्ने सपनाको पोको थाती राखेर उनी नेपाल फर्के । फर्केर अभिनयमा नै लागे ।

एक दशकभन्दा लामो समय अमेरिका बसेका सरोज खनालले पछि गएर विदेश बास त्यागी नेपाल फर्केको मात्र नभई फिल्म क्षेत्रलाई नै आफ्नो कर्मभूमि बनाएका छन् । यतिमात्र नभई हाल उनी माला एकेडेमी नामक एउटा प्रशिक्षणशाला खोलेर नयाँ पुस्ताहरुमा आफ्नाे अनुभव बाँडिरहेका छन् । यसरी सरोज खनालले आफूलाई एक उदाहरणका रुपमा प्रस्तुत गरेर देखाएका छन् । यसरी विदेश बास त्यागेर आएका अर्को एक स्टार करिश्मा मानन्धर हुन् । फिल्म क्षेत्रमा एभरग्रिन स्टारको रुपमा ख्याति कमाएकी करिश्माले निर्माण गरेको बिग बजेट फिल्म बाबु साहेबले नराम्ररी व्यापारिक घाटा बेहोर्नुपरेपछि अमेरिकातिर लागेकी उनले त्यहाँ केही वर्षको बासपछि नेपाललाई नै आफ्नाे कर्मथलोका रुपमा रोजिन् । अझ उनले आफ्नाे उमेर र स्टारिजमको वास्ता नगरी पढाइलाई अगाडि बढाई एउटा उदाहरणको रुपमा आफूलाई प्रस्तुत गरेकी छिन् ।

करिश्मा नेपालमा आफ्नाे लहलहाउँदो अभिनय क्यारियरलाई चटक्कै माया मारेर उडेकी थिइन् । ‘त्यतिबेला परिस्थिति त्यस्तै पर्‍यो । मैले नेपाल र नेपाली फिल्मलाई माया मार्न खोजेकी थिइनँ । बस परिस्थितिबस अमेरिका उड््नुपर्‍यो, त्यहीं बस्नु पर्‍यो आप्mनो अमेरिका बसाइलाई यसरी प्रस्ट्याउने करिश्मा आफ्नाे त्यो उडान पलायन नभएर विदेशिने काम मात्र हो भन्छिन् ।

पहिलापहिला धेरैजसो कलाकार विदेशमा जाँदा उतै पलायन हुने गरेका उदाहरणहरु धेरै भेटिन्थ्यो । त्यतिबेला त्यो एउटा बाध्यात्मक परिस्थिति थियो होला । तर हिजोआज फिल्ममा स्टारका दर्जा पाएकाहरु यसरी विदेश पलायन हुनुपर्ने अवस्था छैन । ५/६ वर्षअगाडि रेखा थापा अमेरिका जाँदा धेरैले धेरै कुरा अनुमान गरेका थिए । अब उनी पनि नफर्कने भइन् भन्ने हल्ला जोडतोडका साथ चल्यो । तर उनी नेपाल फर्केर आइन् । ‘हेर्नोस्, मेरो अमेरिका जानुको उद्देश्य भनेको एउटैमात्र हो भ्रमण । मैले कलाकारिताको यात्रामा केही देश घुम्ने अवसर पाएकी छु । म अमेरिका पनि घुम्नैमात्र गएकी हुँ । मलाई अमेरिका हैन, नेपाल नै प्यारो छ ।’ अमेरिकाबाट फर्केपछि रेखाले व्यक्त गरेको अभिव्यक्ति हो यो ।

एकपटक विदेश जान पाए हुन्थ्यो वा विशेष गरेर अमेरिका जान पाए हुन्थ्यो भनी सोच्नेहरु धेरै हुन्छन् । अझ कतिपय त उतैको भीडमा विलीन हुन्छन्, देश बिर्सन्छन् । आफन्त र परिवार भुल्छन् । विशेष गरेर अमेरिका पुगेकाहरु त्यहाँबाट फर्केका अर्थात् रिटर्न भएको उदाहरण थोरै छ । नेपाली फिल्मको आकाशबाट उडेर अमेरिकी आकाशमुनि पुगेका कतिपय कलाकर्मी उतै रम्ने गरेका छन् । कतिपय अभिनेत्रीले उतैका पुरुषसित विवाह गरेर घरजम गरेर बसेका छन् । उसो त कोहीकोही नेपाल फर्केर नेपाली कलासंसारमा नै विचरण गर्नेहरु पनि छन् । तर त्यस्ता उदाहरण थोेरै छन् । औैंलामा गन्न सकिन्छ । तीमध्ये एक चैत्यदेवी पनि हुन् ।

नेपालका कतिपय फिल्मकर्मीले पनि फिल्म क्षेत्रलाई त्यागेर विदेशी भूमिलाई आफ्नाे कर्मथलो बनाएका छन् । तर कतिपय फिल्मकर्मी यस्ता पनि छन्, जो आफ्नाे विदेश बसाइँ त्यागेर नेपाल नै आएका छन् ।

नेपालको पहिलो फिल्म आमामा आमाकै रुपमा शीर्ष भूमिका निर्वाह गरेर फिल्म अभिनय यात्रा थालेकी चैत्यदेवीले पछि नेपालकै पहिलो रंगीन फिल्म कुमारीमा पनि शीर्ष भूमिका निर्वाह गरेर इतिहासमा आफूलाई स्थापित गराइन् भने पछि एक जापानी नागरिकसँग वैवाहिक जीवनमा बाँधिएर विदेशिइन् । धेरै वर्षको विदेश बासपछि उनी केही वर्षअगाडि नेपाल फर्केर आएकी छिन् भने अहिले कुनै पनि फिल्ममा अभिनय नगरे पनि आप्mनो व्यस्तता भने फिल्म क्षेत्रमै बढाइरहेकी छिन् । अर्की एक नायिका आशिष्मा नकर्मी पनि लामो समय अमेरिका बसेर आएकी स्टार हुन् । त्यतिबेला उच्च शिक्षा अध्ययनको क्रममा अमेरिका बसेकी आशिष्मा नेपाल भाषाको फिल्मजगत्मा ख्याति कमाएकी नायिकामा पर्छिन् । उनले अमेरिकाबाट फर्केर कलिउड भनिने नेपाली फिल्म लाइनमा आफ्नाे यात्रा अगाडि बढाइन् । तर उनको कलिउड यात्रा सुखद भने रहेन । गत वर्षमात्रै उनले अमेरिकी आप्रवासी नेपाली युवा नवीन प्रधानसँग विवाह गरिन् । तर पनि उनी अचेल नेपाल नै बस्दै आएकी छिन् र नेपालभाषाका फिल्म खेलिरहेकी छिन् ।

सन्तान फिल्मबाट करिश्मासँगै डेब्यु गरेकी अभिनेत्री गौरी मल्ल त झन् जापानमा एक पटक र अमेरिकामा एक पटक बसेर आइसकेकी अभिनेत्री हुन् भने अहिले उनी नेपाली फिल्ममै रमेर बसेकी छिन् । विदेशबाट फर्केर आएका अभिनेताहरुको चर्चा गर्दा उज्ज्वल घिमिरे र गौतमरत्न तुलाधरको नाम पनि बिर्सनुहुँदैन । उनीहरु केही वर्ष जापान बसेर आएका थिए भने राजाराम पौडेल र निर्मल शर्माजस्ता अभिनेताहरु अमेरिका बसेर आएका हुन् । संगीतकारहरुमा शम्भुजित बासकोटा र टीका भण्डारीजस्ता केही कलाकर्मी अमेरिकाबाट फर्केका मात्र नभई कलाक्षेत्रमै काम गर्न थालेका छन् ।

यसरी कोहीकोही फर्केर आए पनि अरुणिमा लम्साल, ऋचा घिमिरे, सारंगा श्रेष्ठ, पूजा चन्द, युना उप्रेती, कृष्टि मैनाली, सज्जा मैनाली, किरणप्रताप केसी, रञ्जना शर्मा, ऋचा शर्मा, रमित ढुंगाना, राजवल्लभ कोइरालाजस्ता कतिपय कलाकर्मी उतै छन् । यसरी विदेश बस्दै आएकामध्ये अधिकांश कलाकार सामाजिक सञ्जालमार्फत भए पनि आफूलाई नेपालसित जोड्ने कोसिस गरिरहेका हुन्छन् ।

तीमध्ये अमेरिका उडेकी भनिएकी सज्जा मैनाली र जापानमा रहेकी भनिएकी बिना बुढाथोकी भने कुनै सामाजिक सञ्जालमा अहिलेसम्म देखिएका छैनन् । विदेशबाट फर्किएकामध्ये राजाराम पौड्यालको अनुभव अलि बेग्लै खालको छ । अमेरिका जाने भनी नेपालबाट उडेकै दिनदेखि विभिन्न बाधा अडचनमा अल्झेका राजाराम पौडेल अमेरिकाको डल्लास एअरपोर्टमा ओर्लेकै दिन आफू कुनै कलाकार हुँ भनी बिर्सें भन्छन् । ‘पैसा कमाउने उद्देश्यले अमेरिका पुगेको थिएँ । त्यही उद्देश्य पूर्तिको लागि प्रयत्नरत रहें । अमेरिका पुगेका कलाकर्मीहरुले गर्दै आएको त्यही नै हो । कसैकसैले भने कुनै कुनै कार्यक्रम गर्न भ्याइहाल्छन् । मैले पनि भ्याएँ । तर अभिनयको धित मर्न सकेन । श्रम बेच्ने काममा सबैजना यति व्यस्त रहन्थे कि कार्यक्रमका लागि पूरा तयारीसम्म पनि गर्न पाउँदैनथ्यौं । यहाँसम्म कि कार्यक्रमको रिहर्सलसमेत फोन फोनबाट गर्नुपथ्र्यो । अनि अभिनयको भोक कसरी मेटिन्छ त?’ भन्ने राजाराम नेपालबाट उडेकै दिन अमेरिकाको (९/११) ट्वीन टावरमा हमला भएको रहेछ । त्यसैले अमेरिकाको सबै एअरपोर्ट हप्तादिनसम्म बन्द गरिँदा उनी लन्डनमा ट्रान्जिट बस्नुपरेको थियो ।

यसरी दुःख कष्ट बेहोर्दै पुगेको अमेरिकाको ग्रिनकार्ड पाउने सपना राजाराम पौडेलको पनि थियो, सबैको हुन्छ । धेरैले पाउँछन् । तर राजारामले पाउन सकेनन् । यूएस इमिग्रेसन छिरेको ६ महिनाभित्र ग्रिनकार्ड अप्लाइ गर्नुपर्ने नियम रहेछ । तर उनले यो काम गर्नका लागि छानेका कानुन व्यवसायीको असावधानीले गर्दा दुई दिन म्याद गुज्रिएछ । त्यसैले ग्रिनकार्ड पाउन सकेनन् । अनि अमेरिकामा बस्ने सपनाको पोको थाती राखेर उनी नेपाल फर्के । फर्केर अभिनयमा नै लागे । यसरी नेपाल फर्कने कलाकारमा निर्मल शर्मा पनि पर्छन् । निर्मल शर्मा पनि कार्यक्रम देखाउने भनी अमेरिका गएका थिए । उनीसित यूएस उडेका केही कलाकारहरु उतै बसे तर निर्मल शर्मा फर्के । उनी त जाँदादेखि नै फर्किने नै मनसाय लिएर गएका रहेछन् । तर उनीसँग गएका साथी कलाकारहरु नेपाल नफर्केपछि अमेरिकी राजदूतावासले उनीसँग सामान्य सोधपुछ पनि गर्‍यो ।

आकाश अधिकारी, भुवन केसी, राजेश हमाल, वसुन्धरा भुसाल, कृष्ण मल्ल, शर्मिला मल्ल, शिव श्रेष्ठजस्ता कतिपय कलाकर्मीलाई भने अमेरिकाले बाँधेर राख्न सकेको देखिएन । उनीहरु विभिन्न कार्यक्रमका सिलसिलामा पटक पटक अमेरिका उडे, तर हरेकपटक नेपाल फर्के । मल्ल दम्पती त अहिले वर्षैपिछे अमेरिकामा ग्लोबल फिल्म अवार्ड आयोजना गर्ने क्रममा अमेरिका आउनेजाने गरिरहेका छन् भने रेश मरहठ्ठा पनि बेला बेलामा नेपाल आई यहाँ फिल्म खेल्ने र फिल्म बनाउने गरिरहेका छन् । चर्चित नायिका निशा अधिकारी पनि अमेरिकामा गएर फिल्म डाइरेक्सनको कोर्स गरेर यतै फर्केकी नायिका हुन् । अमेरिकामा फिल्म प्रोडक्सनबारे एक्सपिरियन्स हासिल गरेकी भनी चर्चा पाएकी प्रियंका कार्की पनि यु टर्न लिएर कलिउड छिरेकी छिन् । ग्रिनकार्डसमेत लिइसकेकी प्रियंकाले यु टर्न लिने क्रममा अमेरिकालाई मात्र होइन आफ्नाे श्रीमान् रोचक मैनालीलाई पनि बाईबाई गरिन् । उसो त रुपा उपाध्यायले पनि त्यस्तै गर्न नखोजेकी होइनन् । रुपाले पनि आप्mनो विदेशी पति त्यागेर नेपाली फिल्मलाई नै अँगालो मार्न खोजेकी थिइन् । तर उनको त्यो प्रयास भने सफल भएन । यसरी विदेशबाट रिटर्न भई कलिउडमा यु टर्न लिने कलाकर्मी थोरै मात्र छन् । तर पनि उनीहरुको देशप्रेम र कलाप्रतिको मोहको प्रशंसा भने गर्नै पर्छ ।

प्रतिक्रिया दिनुहोस्