भारतको समानान्तर सिनेमा र बंगाली सिनेधार



कलकत्तामा न्यू थिएटर र बम्बईमा बम्बई टाकिजको स्थापनापछि भारतमा थुप्रै समानान्तर अर्थात् हाम्रो नेपाली सिनेमाको लवजमा तेस्रो धारका सिनेमाको बाटो खुलेको थियो, जहाँबाट बंगाली र हिन्दी भाषाका थुप्रै समानान्तर सिनेमा बने । कलकत्तामा थुप्रै निर्माण कम्पनीहरू भए पनि न्यू थिएटरका प्रस्तुतिहरू तुलनात्मकरूपमा सार्थक र सुन्दर रहे ।

नीलकमल ।  सन् १९३१ मार्च १४ मा बम्बई तथा हालको मुम्बईको मेजेस्टिक सिनेमा हलमा पहिलो पटक एउटा हिन्दी सिनेमा प्रदर्शन भयो, जसको नाम थियो आलम आरा । यो भारतीय सिनेमाको एउटा कोशेढुंगा थियो । किनकि त्यो सिनेमा आवाजयुक्त थियो । अर्थात् सवाक् थियो । यसभन्दा अघि भारतवर्षमा बोल्ने सिनेमा बनेका थिएनन् । हिन्दी सिनेमा आलम आरासँगै भारतको बंगालमा जन्मियो अर्काे बंगाली सिनेमा जमाइ शुष्ठि, जो बंगाली सिनेमाको पहिलो सवाक् सिनेमा थियो । कलकत्तामा न्यू थिएटर र बम्बईमा बम्बई टाकिजको स्थापनापछि भारतमा थुप्रै समानान्तर अर्थात् हाम्रो नेपाली सिनेमाको लवजमा तेस्रो धारका सिनेमाको बाटो खुलेको थियो, जहाँबाट बंगाली र हिन्दी भाषाका थुप्रै समानान्तर सिनेमा बने । कलकत्तामा थुप्रै निर्माण कम्पनीहरू भए पनि न्यू थिएटरका प्रस्तुतिहरू तुलनात्मकरूपमा सार्थक र सुन्दर रहे ।

न्यू थिएटरको स्थापनासँगै देवकी बोस, नितिन बोस, प्रमेशचन्द्र बरुवा तथा विमल रायजस्ता निर्देशकहरू बंगाली सिनेमाले पायो । समग्र भारतीय सिनेमालाई यी सिनेकारका सिर्जनाले प्रभावमा पर्‍यो । विश्वमा दोस्रो विश्वयुद्ध चलिरहेको अवस्था र भारतमा विदेशी थिचोमिचोको बढोत्तरी आदिजस्ता कारक तङ्खवले राजनीतिक तथा सांस्कृतिक चेतनाको विकास ह्वात्तै अघि बढ्यो । यसको सार्थक प्रभाव भारतीय सिनेमामा परेको अवस्था थियो त्यो कालखण्ड ।

भारतमा हिन्दी र बंगालीमा गरी झण्डै अढाई दशकसम्म समानान्तर सिनेमाले सार्थक परिचय बनाएको पाईन्छ । यही कालखण्डको आसपासमा नै हो भारतको कालिम्पोङबाट प्रताप सुब्बाको निर्देशनमा नेपाली सिनेमा परालको आगो बनेको । जो नेपाली भाषाको पहिलो कला सिनेमा थियो । अपितु त्यहीखेर समानान्तर सिनेमाको नामाकरण भएकै थिएन ।

सन् १९४५ मा दोस्रो विश्वयुद्धको पटाक्षेप भयो, जसले गर्दा विजेता राष्ट्रहरू विजयको दुन्दुभी बजाउन थाले । स्वतन्त्रताको माग तीव्रतरमा जताततै उठ्न थाल्यो । जसका कारण सिनेमामा लागेका नियन्त्रण र अंकुशहरू पनि बिस्तारै हट्न थाले । मान्छेमा परिवर्तनको आकांक्षा सल्बलाउँदै गर्दा आफ्ना पूर्वनिर्धारित मान्यताहरू फेरिंदै गए, विश्वासहरू टुट्दै गए र मान्छेमा एक किसिमको अराजकतावादी सोच पनि पलाउन थाल्यो । युरोपीय र हलिउड सिनेमामा अराजकता र उच्छृङ्खलता फैलिन थाल्यो । एकातिर यस्तो नकारात्मक क्रमभंगता बढ्दै जाँदा अर्कातिर इटालीमा त्यस्तो अराजकता र उच्छृङ्खलतालाई चिर्दै सिनेमामा नवयथार्थवादी आन्दोलनको सूत्रपात भयो । त्यहाँका डी सिका तथा रोजालितो जस्ता निर्देशकहरू निकै जोखिम उठाएर सिनेमामा आए । यो नवयथार्थवादी सिनेदर्शनको गहिरो र प्रत्यक्ष प्रभाव बंगाली सिनेमामा पर्न गयो ।

यही बीचमा भारतीय स्वतन्त्रता संग्रामले सफलता हासिल गरिसकेको स्थिति र उठ्न थालेको हिन्दू–मुस्लिम साम्प्रदायिक टकरावजस्ता पक्षले समग्र भारतीय सिनेमालाई प्रभावित गर्दै थिए । कलकत्तामा त्यतिखेरका चर्चित सिने स्टुडियोहरू न्यु थिएटर तथा एम पी स्टुडियो बन्द हुन खोज्दै थिए । ती सिनेकर्मीहरू जो सिनेमामा नै रहन चाहन्थे, उनीहरू बम्बई पलायन हुँदै थिए । केही सिनेमाका साधकहरू मात्र समस्यासित डट्दै कलकत्तामै रहेर बंगाली सिनेमाका लागि संघर्ष गर्दै थिए ।

यही बीचमा कलकत्ता फिल्म सोसाइटीको गठन भयो, जसले गर्दा बंगाली सिनेमाले केही राहत महसुस गर्न पुग्यो । यसपश्चात् जब ईस्वी संवत्को पचासको दशक शुरु भयो, सत्यजित राय, ऋत्विक घटक, मृणाल सेन तथा बुद्धदेव दास गुप्ताजस्ता सिनेकर्मीहरू उदाए । जसले बंगाली सिनेमालाई भारतीय सिनेमामा मात्र होइन, विश्व सिनेमासित पनि भारतको परिचय गराउन पुगे । यसरी इटालीको नवयथार्थवादी सिने आन्दोलनको प्रभाव, त्यहाँका डी सिकाको अजरअमर सिनेमा बाइसाइकल थिफजस्ता सिनेमाको आगमन र तिनले रायलगायत बंगाली सिनेकर्मीमाथि परेको प्रभावका कारण त्यो कालखण्डको भारतीय सिनेमाको स्वर्ण युग नै त्यही काल र प्रतिनिधि सिनेमा तिनै सिनेमाहरू बने । स्वर्णयुग त मानियो नै त्यो कालखण्ड । भारतीय सिनेमामा, कला सिनेमा अर्थात् समानान्तर सिनेमाको पनि प्रादुर्भाव यहींबाट भयो । पौराणिक, धार्मिक, परी कथामा आधारित सिनेमा तथा विशुद्ध प्रेमकथामा रुमल्लिरहेको भारतीय सिनेमा सत्यजित रायको आगमनपछि कोल्टे फेर्न पुग्यो ।

हिन्दी समानानान्तर सिनेमा

मूलधारको मुम्बईको सिनेमा उद्योगसित व्यापारमा प्रतिस्पर्धा गर्न नसके पनि बंगाली समानान्तर सिनेमाले भारत वर्षको सिनेमाको सजीव परिचय दिएको छ । सानो लगानीमा राज्यको आँखा नपुगेका गाउँको कथा भन्ने यी सिनेमाहरू त्यो अवस्थाको भारतलाई चिनाउने दस्तावेज हुन् । उता बम्बईमा पाथेर पाञ्चाली निर्माणको झन्डै १४ वर्षपछि मात्र कला वा समानान्तर सिनेमाले प्रवेश पायो । यस मानेमा सार्थक सिनेमाका सवालमा हिन्दीभन्दा बंगाली सिनेमा जेठो रह्यो । अर्काे महङ्खवपूर्ण कुरा के भने बम्बईमा बनेका समानान्तर सिनेमाका कर्मी पनि अधिकांश बंगाली नै थिए । अझ सर्वप्रथम बम्बईको कला सिनेमामा पहिलो पाइलो नै मृणाल सेनले चाले भुवन सोम सिनेमामार्फत । वासु चटर्जीको सारा आकाशले मुम्बईमा मृणाल सेनको भुवन सोमलाई पछ्याउन पुग्यो भने राजेन्द्र वेदी तथा आरएम कुन्नुको चेतना, ऋषिकेश मुखर्जीको आनन्द, कुमार साहनीको माया दर्पण, मणि कौलको दुविधा, ऋषिकेश मुखर्जीको गुड्डी तथा रवीन्द्र धर्मराजको चक्रजस्ता समानान्तर कला सिनेमाले मुम्बईमा प्रबुद्ध दर्शकलाई मुग्ध पार्न सफल भए ।

श्याम बेनेगलले सन् १९७४ मा अंकुरण बनाएपछि मुम्बईको कला सिनेमामा एउटा नयाँ युगको सूत्रपात हुन पुग्यो । क्रमशः उनले १९७७ मा भूमिका बनाए, जसमार्फत् हिन्दी सिनेमामा स्मिता पाटिल, शावना आजमी, ओम पुरी, नसरुद्दिन शाह तथा अमरिस पुरीजस्ता बेजोड कलाकारको उदय भयो । यीमध्ये अमरिस पुरी मुम्बईका मसालादार सिनेमातिर लागे भने अन्य कलाकार कला सिनेमामै रमाउन पुगे । अर्का स्रष्टा उदाए असीको दशकमा, जसले आक्रोस तथा अर्धसत्यजस्ता कालजयी सिर्जना पस्किए । यसै क्रममा सइद मिर्जा, अरविन्द देसाई, अवतार, गोविन्द घोष, केतन मेहता, मुजफ्फर अलि तथा अशोक अहुजा आदि निर्देशकले समानान्तर सिनेमालाई मलजल गरे । आजका मूलधारका भनिने निर्देशकहरू प्रकाश झा तथा महेश भट्टहरू पनि कला सिनमाकै पृष्ठभूमिबाट आएका हुन् ।

 

समानान्तर सिनेमाको प्रवेशले हिन्दी सिनेमामा कला, मूलप्रवाह र मध्यमार्गी गरी तीन भागमा विभाजनको रेखा कोरियो । समग्रमा वास्तविक अर्थमा बजारवादी सिनेमालाई मूलधारका सिनेमा भनेर भने पनि भारतीय सिनेमाको मूलधार भन्नु कला सिनेमा नै हो र यही धाराले नै भारतीय सिनेमाको परिचय विश्व सिनेमामा स्थापित गर्न पुगेको हो । हिंसा र अश्लीलतालाई प्रमुखता दिएका सिनेमाका विपक्षमा रहेका यी सिनेमाले यौनलाई प्रयोग त गर्छन्, तर त्यसलाई जैविक आवश्यकता ठानी मनोवैज्ञानिक रूपमा । हुन पनि हो गुलजारको अचानक र मणि कौलको दुविधाजस्ता सिनेमाले यौनलाई मानवीय मनोवैज्ञानिक आवश्यकताका रूपमा अत्यन्त सौम्य ढंगले प्रस्तुत गरेका छन् ।

यसरी भारतमा हिन्दी र बंगालीमा गरी झन्डै अढाइ दशकसम्म समानान्तर सिनेमाले सार्थक परिचय बनाएको पाइन्छ । यही कालखण्डको आसपासमा नै हो भारतको कालिम्पोङबाट प्रताप सुब्बाको निर्देशनमा नेपाली सिनेमा परालको आगो बनेको । जो नेपाली भाषाको पहिलो कला सिनेमा थियो । अपितु त्यहीखेर समानान्तर सिनेमाको नामाकरण भएकै थिएन । बंगाली सिनेमाले भारतीय सिनेमामा स्वस्थ हस्तक्षेप भएको अवस्था र त्यही परिवेशबाट प्रभावित भई परालको आगो बनेको हो, जो आजसम्मकै उत्कृष्ट नेपाली सिनेमा हो ।

समानान्तर सिनेमा र सत्यजित राय

रवीन्द्रनाथ ठाकुरको कर्मभूमि बंगालमा कला विद्यालयका रूपमा शान्ति निकेतन खुलेपछि त्यो भेगमा साहित्य र कलामा पुनर्जागरण शुरु भयो । रवीन्द्र संगीतको चर्चा भारतीय संगीतका क्षेत्रमा आज पनि गर्वका साथ गरिन्छ । त्यहींका उत्पादन सत्यजित रायले डी सिकाको बाइसाइकल थिफ हेरेपछि सिनेमाका लागि केही गर्ने अठोट गरे । बंगाल मात्र होइन, भारतीय मात्र होइन, पूर्वीय सिनेमाकै मिथक रहेका रायले सानो बजेट र स्टुडियोको प्रयोग नगरीकन सम्बन्धित क्षेत्रमै गएर गरिने छायांकन तथा समकालीन सामाजिक सरोकारका विषयमाथि पनि सिनेमा बनाउन सकिन्छ र त्यो सार्थक सिनेमा बन्दछ भन्ने मान्यता राखे ।

यसै क्रममा उनले सर्वप्रथम विभूतिशरण बन्धोपाध्यायको उपन्यास पाथेर पाञ्चालीमाथि सिनेमाकरण गरे, जसले विश्वस्तरमा सफलता पायो । पश्चिम बंगालको किसान समुदाय र उसले भोगेको गरिबीको चित्रण यसरी गरे रायले, जो विश्वले सराहना गरेको मानवीय दस्तावेज बन्न पुग्यो । सिनेमामा आदर्शोन्मुख यथार्थवादलाई प्रयोग गरेर उनले ३५ वर्ष यो क्षेत्रमा बिताए । यो अवधिमा उनले अपराजितो, अपूर संसार, पारस पत्थर, जलसाघर, तीन कन्या, अभिजात, महानगर, चारुलता, कापुरुष ओ महापुरुष, गोपी गाइन वाधा वायन, चिडियाखाना, अरण्य, सतरञ्जका खेलाडी तथा गणशत्रुजस्ता सिने सिर्जना उनका रहे । जापानका महसुर निर्देशक अकिरा कुरोसावाले समेत एक प्रसंगमा भनेका छन्– ‘सत्यजित रायका सिनेमा नहेर्नु भनेको सूर्य र चन्द्रमाको अस्तित्व थाहा नपाउनुजस्तै हो ।’

पहिलै कृतिले विश्व हल्लाउने पाथेर पाञ्चालीमा बंगालको सुदूरगाउँको प्रेमको रूप छ । तर त्यो प्रेम युवा आशक्तिको प्रेम मात्र होइन, पुरुष र स्त्रीका बीचमा गरिने प्रेम मात्र होइन, मानव जीवन र मानव सभ्यताप्रतिको प्रेम हो । त्यो प्रेमले यथार्थको उद्गम विन्दुमा पुगेर प्रेम गर्न सिकाउँछ । आममान्छे अर्थात् भुइँमान्छेका दैनन्दिनीलाई स्पर्श गरेका रायले यो सिनेमामार्फत कलाको चरमसीमाको प्रदर्शन गरेका छन् । सिनेमाको आलेखका लागि प्रायः साहित्यिक कृति छाने उनले, विभूतिशरणका छाने, प्रेमचन्दका छाने । सारा विश्वले यो कृतिलाई सराहना गरे पनि बम्बईका फर्मुला सिनेमाका खेलाडीले रायलाई भारतको गरिबीको बिक्री गरेको भन्ने आरोप नलगाएका होइनन् । तर राय आफ्नो कर्ममै लीन रहे, यस्ता आरोपका पछि लाग्दै लागेनन् । पाथेर पाञ्चालीदेखि आगन्तुकसम्म आइपुग्दा उनले जेजति गरे, आफ्नो निजी जीवनका लागि गरेनन् । समग्र सिनेमा कलाका लागि गरे । जसको पुष्टि उनको लाश कलकत्ताकै उनको डेराबाट निकालिएको थियो । आजीवन उनको निजी घर भएन ।

बंगाली कला सिनेमालाई सार्थक परिचय दिने अर्का सिनेकर्मी हुन् ऋत्विक घटक । इप्टाका कलाकारहरूसित उनले मिलेर बनाए नागरिक सिनेमा, जसको निर्माण तथा सम्पूर्ण पक्ष अवैतनिक थियो । तर निर्माण सकिएको लामो समयसम्म पनि यसको प्रदर्शन हुन सकेन । अझ दुखान्त कुरा त के भने उनको मृत्युपछि मात्र त्यो उनको पहिलो सिर्जना प्रदर्शन हुन पुग्यो । उनले अजान्त्रिक बनाए । जसले पाथेर पाञ्चालीले खनेको बाटोलाई अझ फराकिलो बनायो । एउटा साधारण विषयमाथि बनाइएको अजान्त्रिकले मानवीय संवेदनालाई सुन्दर उदाहरणका रूपमा पेस गरेको छ । मेरे ढाका घर, कोमल गान्धार तथा सुवर्ण रेखाजस्ता सिनेमामार्फत उनले भारतको विभाजनकालीन अवस्थालाई उजागर गरेका छन् । राजनीतिक अकर्मण्यतालाई उनले सिनेमामार्फत नांगो रूपमा प्रस्तुत गरे । तर २० वर्षमात्र उनले सिनेमामा बिताए । अत्याधिक रक्सी सेवन र पटकपटकको आत्महत्या प्रयास भने उनको नकारात्मक पक्ष रह्यो ।

बंगालका अर्का यथार्थवादी कला सिनेमाका अधिष्ठाता हुन् मृणाल सेन । सिनेमामा घटना र कथालाई उच्च प्राथमिकतामा राख्ने सेन कलाकारले चारैतर्फ निरपेक्ष रहेर आफ्नो कला सिर्जना गर्नुपर्छ भन्दथे मात्र होइन, व्यवहारमा पनि त्यसै गर्थे । आकाश कुसुम, बेसे श्रावण, एक दिन प्रतिदिन, खारिज, कलकत्ता ७१ तथा कोरस आदि उनका उल्लेख्य सिर्जना रहे । सिनेमाका हरेक पक्ष जस्तै कथा, पटकथा, चरित्र, घटना तथा भावना उनले जे चयन गरे, ती कुनै समाज निरपेक्ष थिएनन् । जसका कारण मृणाल सेनलाई आजको भारतमा पनि उच्च सम्मानका साथ आदर गरिन्छ । अर्का निर्देशक बुद्धदेव दास गुप्ताले सत्यजित र ऋत्विकले खनेको बाटोलाई अझ अगाडि बढाएका छन् ।

एक दशक सिनेमामा बिताएका गुप्ताले मानव जीवनका जटिलतालाई बडो सूक्ष्म र मार्मिक ढंगले प्रस्तुत गरे । उत्तरा, नीम, अन्नपूर्ण, लाल दरवाजा, चराचरजस्ता सिर्जना पस्किने गुप्ताले भारतका थुप्रै राष्ट्रिय पुरस्कारहरू पनि पाएका छन् । त्यो बेलाको समाजका मान्छेका अमानवीय कृत्यहरूमाथि उनले सिनेमामा थुप्रै प्रश्नचिन्ह तेस्र्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्