विधा फेर्दै अघि बढ्दै



विजयरत्न तुलाधर ।

एउटा सफल फिल्म बन्नका लागि त्यसका निर्देशक र कलाकारदेखि लिएर त्यसमा काम गर्ने सबै विधाका कर्मीको समान योगदान रहेको हुन्छ । तैपनि फिल्ममा अभिनय गर्ने कलाकारहरु विशेष गरेर नायक नायिकाहरु विशेष आकर्षण बनिरहेका हुन्छन् भने फिल्मका निर्देशकलाई चलचित्रको मेरुदण्ड मानिँदै आएको छ । साहित्यलाई साहित्यकारको अभिव्यक्तिको माध्यम मानिएजस्तै फिल्मलाई निर्देशकको अभिव्यक्तिको माध्यम मानिँदै आएको छ ।

त्यसैले नै होला फिल्मका फरक विधामा आफ्नो सिर्जना प्रस्तुत गर्दै आएका कतिपय फिल्मकर्मीले एकपटक फिल्म निर्देशक बन्न पाए हुन्थ्यो भन्ने सपना बोक्ने गरेका हुन्छन् । विशेष गरी अभिनयमा लागेका कलाकारहरु विधा फेरेर वा अभिनय सँगसँगै निर्देशक पनि बनेका उदाहरण धेरै भेटिन्छन् । दीपाश्री निरौलालाई यसको ज्वलन्त उदाहरणका रुपमा लिन सकिन्छ । हास्य अभिनयका लागि ख्याति कमाएकी दीपाश्री निरौलाले आफ्नो अभिनय विधालाई थाती राखेर निर्देशन विधामा हात हालिन् । उनको निर्देशनमा बनेका छक्का पञ्जाका तीनवटै शृंखलाले नेपाली फिल्मको इतिहासमा सर्वाधिक रकम आर्जन गरेको कीर्तिमान पनि कायम गर्न सफल भयो ।

नेपालको फिल्म इतिहासमा कस्तुरी नै पहिलो त्यस्तो फिल्म हो, जसको सुटिङ विदेशमा भएको थियो । यो फिल्मको सुटिङ बेलायतको लन्डनमा भएको थियो । संगीतको विधाबाट फिल्म निर्देशनको विधामा प्रवेश गरेजस्तै फिल्मको एक फरक विधा द्वन्द्व निर्देशन विधाबाट फिल्म निर्देशन विधामा लागेकाहरुमा युवराज लामा पहिलो व्यक्ति हुन् ।

यसरी अभिनय विधामै ख्याति कमाइसकेका धेरै कलाकारले पछि आफूलाई फिल्म निर्देशकका रुपमा रुपान्तरित गरेको धेरै उदाहरण थुप्रै छन् । यसको शुरुआत सम्भवतः नीर शाहले गरेको हुनुपर्दछ । पाँच दशकअघि नै परिवर्तन नामक फिल्मबाट एक अभिनेताका रुपमा फिल्म यात्रा थालनी गरेका शाहले पछि वासुदेव नामक फिल्मबाट एक निर्देशकका रुपमा पनि आफूलाई स्थापित गरे । उनको पाइला पछ्याउँदै रमेश बुढाथोकी, कृष्ण मल्ल, विश्व बस्नेत, अशोक शर्मालगायत त्यतिबेलाका धेरै अभिनेताले आफूलाई निर्देशकका रुपमा अगाडि ल्याए ।

यसरी अभिनयबाट निर्देशनतिर लम्कनेहरुको क्रम चलिरहेको छ । अभिनेत्रीका रुपमा लोकप्रिय नायिकाहरु रेखा थापा र झरना थापा पनि फिल्म निर्देशनतिर अगाडि बढेका छन् । रेखा थापाको निर्देशनमा बनेको पछिल्लो फिल्म मालिका हो । उनले त्यसभन्दा अघि हिम्मतवाली शीर्षकको फिल्म निर्देशन गरेकी थिइन् । उनी अहिले नृत्य निर्देशनमा ख्याति कमाएर चलचित्र निर्देशनतिर लम्किएकी रेनेशा बान्तवा राईसँगको संयुक्त निर्देशनमा नयाँ फिल्म बनाउने योजनामा छिन् ।

यस्तै गरी झरना थापाले ए मेरो हजुर २ बाट निर्देशन यात्रा शुरु गरेकी छिन् । आफूले नायिकाका रुपमा अभिनय गरेको ए मेरो हजुरको संस्करणस्वरुप ए मेरो हजुर २ निर्देशन गरेकी झरनाले सोही फिल्मको थप शृंखलाका रुपमा ए मेरो हजुर ३ निर्देशन गरिन् । उनको यो शृंखला देशदेखि विदेशसम्म रुचाइएको छ । अभिनयबाट निर्देशनतिर लम्कनेहरुको सूची बनाउने हो भने यो निकै लामो हुन सक्छ । यहाँ उल्लेख गरिएका नामहरु त केवल प्रतिनिधि पात्रका मात्र हुन् ।

फिल्मका फरक विधामा आफ्नो सिर्जना प्रस्तुत गर्दै आएका कतिपय फिल्मकर्मीले एकपटक फिल्म निर्देशक बन्न पाए हुन्थ्यो भन्ने सपना बोक्ने गरेका हुन्छन् । विशेष गरी अभिनयमा लागेका कलाकारहरु विधा फेरेर वा अभिनय सँगसँगै निर्देशक पनि बनेका उदाहरण धेरै भेटिन्छन् ।

कहिलेकाहीं निर्देशकका रुपमा स्थापित भइसकेकाहरु पनि आफ्नो विधा परिवर्तन गरेर फिल्मको अर्कै विधामा नगएका होइनन् । यसरी निर्देशनबाट अर्को विधातिर लम्कनेहरुमा रामजी लामिछानेको नाम सबैभन्दा चर्चित नाम हो । पे्रमिका, ओम, शिकारलगायतका एक दर्जनभन्दा बढी फिल्म निर्देशन गरेका लामिछाने एक निर्देशकका रुपमा स्थापित नाम हो । तर अहिले उनले आफूलाई एक फिल्म निर्देशकका रुपमा भन्दा पनि एक नृत्य निर्देशक र फिल्मको पाश्र्व संगीत संयोजकका रुपमा अगाडि सारेका छन् । यी दुवै विधामा काम गरिरहँदा आफू सन्तुष्ट रहेको बताउने लामिछाने अहिले यी दुवै विधाका एक व्यस्त फिल्मकर्मीका रुपमा सक्रिय छन् भने गत वर्षमात्र उनले लामो समयको अन्तरालपछि रुद्र फिल्मको निर्देशन गरे ।

उसो त एक निर्देशकलाई फिल्ममा प्रयुक्त हुने सबै विधाको समान ज्ञान र अनुभव हुनु आवश्यक छ । तर ज्ञान भएको सबै विधामा आफू एक्लैले काम गर्न सम्भव हुँदैन । एक फिल्म निर्देशकका रुपमा स्थापित भएका शोभित बस्नेतले कतिपय फिल्ममा अभिनय पनि गरेका छन् भने उनी एक कुशल नृत्यकर्मी पनि हुन् । कुनैकुनै फिल्ममा उनले नृत्य निर्देशन पनि गरेका छन् । तुलसी घिमिरे पनि विविध विधामा हात हाल्दै आएका फिल्मकर्मी हुन् । फिल्म सम्पादकबाट यात्रा शुरु गरेका घिमिरेले भारतमा श्रद्धाञ्जली, बन्धन कच्चे धागोंकाजस्ता कतिपय हिन्दी फिल्म सम्पादन गरेका थिए भने नेपालमा वासुदेव फिल्मको सम्पादकका रुपमा आफ्नो यात्रा अगाडि बढाएका थिए ।

यसरी निर्देशन विधाबाट फिल्मको फरक विधामा प्रवेश गर्नेमा सुदर्शन थापा र निश्चल बस्नेत सबैभन्दा चर्चित नाम हुन् । मेरो एउटा साथी छ फिल्मबाट निर्देशन यात्रा शुरु गरी के यो माया हो, धन्दादेखि प्रेमगीत, म यस्तो गीत गाउँछु र रामकहानीजस्ता विविध विषय समेटेर फिल्म बनाएका निर्देशक थापाले अझै पनि, चंखे शंखे पंखेजस्ता केही फिल्ममा नायकका रुपमा अभिनय पनि गरे भने हालका दिनमा उनी निर्देशन पेसामा एकाग्र भएर लागिरहेका छन् ।

यसको ठीक विपरीत निश्चल बस्नेत भने निर्देशक विधाबाट विश्राम लिएर अभिनेताका रुपमा अगाडि बढिरहेका छन् । हाल उनको अभिनय रहेको घामड शेरे प्रदर्शनको क्रममा छ । उनले अभिनय गरेको पछिल्लो फिल्म प्रसादले राम्रै प्रशंसा बटुल्न सफल भयो । लुटजस्तो सफलता चुमेको फिल्मका निर्देशक निश्चल बस्नेतको निर्देशनमा बनेका पछिल्ला फिल्महरु टलकजङ्ग भर्सेज टुल्के र लुट २ ले एकातिर व्यावसायिकरुपमा अपेक्षित सफलता हासिल गर्न सकेन भने अर्कोतिर उनले अभिनय र नृत्य प्रस्तुत गरेका फिल्मका गीतहरु लोकप्रिय हुन पुगेकाले पनि उनी अहिले आफूलाई एक अभिनेताका रुपमा नै व्यस्त बनाउँदै हुनुछन् । उनी अभिनित दुई रुपियाँको गीत कुटुमा कुटु सुपारी दानाको सर्वत्र प्रशंसाले उनलाई एक नृत्य अभिनेताका रुपमा समेत लोकप्रिय बनाएको छ ।

निर्देशनबाट अभिनयतिर लागेका फिल्मकर्मीको चर्चा गर्दा बिर्सन नहुने नाम भनेको स्व. हीरासिंह र स्व. प्रकाश थापाको नाम हो । यसलाई एउटा संयोग नै मान्नुपर्दछ कि उनीहरु दुवै भारतको हिन्दी फिल्म जगत्मा काम गर्दै आएका फिल्मकर्मी थिए भने उनीहरुलाई नेपालमा नेपाली फिल्म बनाउनका लागि बोलाइएको थियो । नेपाल आएर उनीहरुले नेपालमा फिल्म बनाउने क्रमको आरम्भ र विस्तार गर्ने कार्यमा योगदान गरे । फिल्म निर्देशकका रुपमा आफूलाई स्थापित गराएका हीरासिंहले परिवर्तनमा एक प्रमुख अभिनेताका रुपमा पनि अभिनय गरे भने प्रकाश थापाले आफ्नो पहिलो फिल्म मनको बाँधपछिका फिल्महरु सिन्दुर र जीवनरेखामा प्रमुख भूमिकामा अभिनय गरे । थापाले त्यसअघि नै थुप्रै बलिउड फिल्ममा समेत अभिनय गरेका थिए ।

निर्देशकका रुपमा धेरै फिल्म बनाएका स्व. दीपक रायमाझीले पछि यो मायाले लौ न सतायोको एउटा गीतको संगीत आफैले सृजना गरेका थिए भने संगीतकार र गायकका रुपमा ख्याति कमाएका किरण प्रधानले आप्mनो संगीतको विधाबाट छलाङ्ग हाल्दै कस्तुरी फिल्मको निर्देशन गरे । नेपालको फिल्म इतिहासमा कस्तुरी नै पहिलो त्यस्तो फिल्म हो, जसको सुटिङ विदेशमा भएको थियो । यो फिल्मको सुटिङ बेलायतको लन्डनमा भएको थियो । संगीतको विधाबाट फिल्म निर्देशनको विधामा प्रवेश गरेजस्तै फिल्मको एक फरक विधा द्वन्द्व निर्देशन विधाबाट फिल्म निर्देशन विधामा लागेकाहरुमा युवराज लामा पहिलो व्यक्ति हुन् । भाग्यरेखा फिल्ममा द्वन्द्व निर्देशकका रुपमा काम गरेका युवराज लामाले केही फिल्ममा अभिनयसमेत गरे भने पछि गएर प्रतिज्ञा, जीवन संघर्ष, देउरालीलगायतका फिल्म निर्देशन पनि गरे ।

यसरी द्वन्द्व विधाबाट फिल्म निर्देशन क्षेत्रमा आउँदै राजेन्द्र खडगीले नथिङ इम्पोसिबल, एनबी महर्जनले बजार, तोरी लाहुरे र सकस तथा हिमाल केसीले किल्ला र पिँजडा ब्याक अगेनलगायतका फिल्म निर्देशन गरे भने अहिले द्वन्द्व निर्देशक अष्ट महर्जन पनि गुञ्जनबाट निर्देशनको यात्रा थालनी गर्दै छन् । फिल्मका विभिन्न विधामा रहेर काम गर्दै आएका फिल्मकर्मीहरुमा निर्देशक बन्ने अभिलाषा रहने गर्दछ भन्ने कुरा माथि नै उल्लेख गरिसकिएको छ भने यसै सन्दर्भलाई जोड्ने क्रममा फिल्म सम्पादक रहेका तुलसी घिमिरेले विधा फेर्दै निर्देशकका रुपमा ख्याति कमाएका छन् भने पछिल्ला दिनमा फिल्म सम्पादकका रुपमा सर्वाधिक व्यस्त रहँदै आएका सुरेन्द्र पौडेल पनि फिल्म निर्देशकका रुपमा देखिएका छन् । उनको निर्देशनमा बनेको कृ एक चर्चित फिल्म हो । यस्तै गरी अर्का फिल्म सम्पादक अनन्त घिमिरेले पनि एक निर्देशकका रुपमा स्केप शीषर््ाकको फिल्म बनाइसकेका छन् भने अहिलेका लोकप्रिय नायक प्रदीप खड्काले यसै फिल्मका नायकका रुपमा फिल्ममा प्रवेश गरेका हुन् ।

फिल्मका विविध विधामध्ये नृत्य निर्देशनबाट निर्देशनमा प्रवेश भएको पनि देखिएको छ । नृत्य निर्देशक वसन्त श्रेष्ठले नेपालको पहिलो गीति फिल्म गौंथलीको निर्देशन गरेका थिए भने सपनाको नौलो संसार निर्देशन गरेका राजु शाह, टिनएज निर्देशन गरेका दिनेश पाख्रिन र इन्टु मिन्टु लन्डनकी रेनेशा बान्तवा राई र नागबेलीबाट निर्देशनमा डेब्यु गरी विस्तारै विस्तारै निर्देशन गरेका गोविन्द राई पनि नृत्य निर्देशनबाट निर्देशन विधामा आएका हुन् । छायांकन विधाबाट निर्देशन विधामा आएकाहरुमा नेपालका प्रथम महिला छायाकारका रुपमा चिनिने शबनम मुखिया छिन् भने त्यसअघि छायाकार मञ्जुकुमार श्रेष्ठ पनि पछि निर्देशनमा आएका हुन् । उनले दैव संजोग र सिउँदोको सिन्दुरलगायतका फिल्म निर्देशन गरे भने अर्का छायाकार किशोर ढकालले बुहारी, इन्द्रेणीलगायतका फिल्म निर्देशन गरे ।

गायक उदित नारायण झाको अभिनय रहेको फिल्म पिरतीको निर्देशकका रुपमा निर्देशन यात्रा थालनी गरेका चन्द्रप्रकाश घिमिरेले देउकी, प्रेयसी र सडकलगायतका फिल्ममा एक कुशल छायाकारका रुपमा आफ्नो प्रतिभा प्रदर्शन गर्दै आएका थिए । लेखकका रुपमा आफ्नो सृजनात्मक अभिव्यक्ति पोखेका नयनराज पाण्डेले निर्मोही शीर्षकको एउटा फिल्मको निर्देशन पनि गरेका छन् भने लेखक शिव अधिकारी पनि लेखन विधाबाट निर्देशन विधामा प्रवेश गरेका छन् । उनको निर्देशनमा बनेको पञ्चायतले सर्वत्र प्रशंसा पाएको छ भने यही फिल्ममा प्रमुख भूमिका निर्वाह गरेकी अभिनेत्री नीता ढुंगानाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका पुरस्कार पाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्