बलिउड स्टारको भाउ



बलिउडमा यस्ता स्टारहरु छन् जसको नाम सुनेरै दर्शक लाम लागेर फिल्म हेर्न हलसम्म जान्छन् । उनीहरुको फिल्म बलिउडमा मात्र होइन, दुनियाँभर उतिकै चासेका साथ हेरिन्छ । हरेक स्टारहरु आफ्नो एक फिल्म चल्नेबित्तिकै पारिश्रमिक बढाउन थाल्छन् भने निर्माता निर्देशकहरु पनि उनीहरुलाई लिन हानथाप गर्न शुरु गरिहाल्छन् । उनीहरुले एक फिल्म खेलेबापत कति पारिश्रमिक लिन्छन् भन्ने कौतूहल सबैलाई हुन सक्छ । यहाँ त्यो कौतूहल मेटाउने कोसिस गरिएको छ ।

सलमान खान

बलिउडका सुल्तान सलमान खान धेरै पारिश्रमिक लिने स्टारमा पहिलो नम्बरमा पर्छन् । उनी सामान्यतया फिल्मको कमाइको हिस्सा लिने गर्छन् । फिल्मको कमाइको ७० देखि ८५ प्रतिशत हिस्सा लिने उनले फिल्म सुल्तानबाट सय करोडभन्दा माथि कमाइ गरेका थिए । फिल्म रेस ३ बक्स अफिसमा कमजोर रहे पनि उनले भने सय करोडभन्दा बढी नै कमाए । उनी फिल्मको पारिश्रमिक भने ६० करोड या सोभन्दा माथि नै लिन्छन् ।

साहरुख खान

बलिउडका अर्का स्टार शाहरुख खान बढी पारिश्रमिक लिने अभिनेतामा गनिन्छन् । उनी करण जौहर तथा आदित्य चोपडाको फिल्म खेल्दा जति पारिश्रमिक दिन्छन्, त्यति नै राख्छन् । उनीहरुको फिल्मबाट उनले करिब ४० देखि ४५ करोड रुपैयाँ पाउँछन् । तर अन्य फिल्मबाट भने उनी फिल्मको नाफाको हिस्सा लिन्छन् । उनी आफ्नो फिल्मको मार्केटिङबाट पनि करोडौं रुपैयाँ कमाउँछन् । केही फिल्मबाट उनले सय करोड रुपियाँभन्दा बढी कमाएका छन् ।

अमिताभ बच्चन

बलिउडका बिग बी अमिताभ बच्चन अहिले ७५ वर्षका भए । तर उनको पारिश्रमिक कुनै युवा स्टारको भन्दा कम छैन । भूमिकाको लम्बाइलाई हेरेर उनको पारिश्रमिकको निर्धारण हुन्छ । उनी प्रतिफिल्म १२ देखि १५ करोड रुपियाँसम्म लिने गर्छन् ।

अमिर खान

अमिर खानले चाहे भने एउटै फिल्मबाट ५० देखि ६० करोड रुपियाँ लिन सक्छन् । तर उनी फिल्मको नाफाको हिस्सा लिएर नै बढी कमाउँछन् । उनी फिल्मबाट ८० प्रतिशतसम्म हिस्सा लिन्छन् । दंगलजस्तो फिल्ममा काम गरेर उनले १ सय ५० करोडभन्दा बढी कमाएका थिए । अमिर आफ्नो फिल्म चल्छ भन्ने कुरामा सधैं ढुक्क रहन्छन् । त्यस कारण उनी फिल्ममा पारिश्रमिकको अलावा पार्टनरसिप पनि गर्छन् ।

रणवीर सिंह

नायक रणवीर सिंह फिल्म बाजिराव मस्तानीभन्दा पहिले ३ देखि ५ करोड रुपैयाँको बीचमा लिन्थे । तर बाजिराव मस्तानी र पद्मावतजस्ता फिल्मको सफलतापछि रणवीरले आफ्नो पारिश्रमिक बढाएका छन् । हाल उनी एक फिल्मबापत १५ देखि १८ करोड रुपैयाँ लिने गर्छन् ।

अक्षय कुमार

महँगो पारिश्रमिक असुल्ने मामलामा नायक अक्षय कुमार पनि अगाडि छन् । उनी एउटा फिल्मबाट ४० देखि ५० करोड रुपैयाँसम्म लिन सक्छन् । कहिलेकाहीं फिल्मको मुनाफाको हिस्सा पनि लिने गर्छन् । उनले जोली, एलएलबी २ मा पारिश्रमिकको अलावा मुनाफाको पनि हिस्सा लिएर ५५ करोडभन्दा धेरै कमाएका थिए ।

रणवीर कपुर

नायक रणवीर कपुरको फिल्महरु फ्लप भए पनि उनी भने फ्लप छैनन् । उनको डिमान्ड उत्तिकै रहेको छ । फिल्म सञ्जुभन्दा पहिले उनको पारिश्रमिक २० देखि २५ करोड रुपैयाँसम्म हुन्थ्यो भने अहिले उनले आफ्नो फिस ३० करोडभन्दा माथि पुर्‍याएका छन् ।

प्रतिक्रिया दिनुहोस्