३४ वर्षे जवान भयो कामना



तपाईंको हातमा रहेको कामना यो ३ सय २ पूर्णाङ्कसँगै तपाईंहरुकै प्रिय सिने मासिक कामनाले प्रकाशनको ३३औं वर्ष पार गरी ३४औं वर्षमा प्रवेश गरेको छ । २०४१ साल मंसिर १५ गते प्रकाशित कामनाको पहिलो अंकदेखि यो पछिल्लो पूर्णाङ्क ३ सय २ सम्म हामीले यहाँहरुलाई के–कस्ता सामग्री दिन सक्यौं, नेपाल चलचित्र क्षेत्रको बृहत्तर विकास र नेपाली कलाकारको सामाजिक प्रतिष्ठाका लागि प्रकाशनमा ल्याइएको कामनाले यस क्षेत्रमा के–कति योगदान गर्न सक्यो या सकेन, त्यसको मूल्यांकन र विश्लेषण गर्ने जिम्मा पाठक र कलाकर्मीकै । हामी भने कामनालाई यो गौरवमय सफलता दिलाउनुभएकामा आभारी व्यक्त गर्दछौं ।

कामनाको प्रकाशन त्यस समयमा भएको थियो, जुन समयमा वर्षमा मुस्किलले एकाध चलचित्रमात्र निर्माण हुन्थे । त्यस बखत चलचित्र निर्माण कार्य पनि सजिलो थिएन । सेल्युलाइड प्रविधिमा निर्माण हुने चलचित्रको प्रशोधनदेखि डबिङ, मिक्सिङ र प्रिन्टसम्मको कार्यका लागि छिमेकी मुलुक भारत पुग्नुपथ्र्यो । सुटिङलगायतका केही कार्य मात्र स्वदेशमा हुने र बाँकी कार्यका लागि भारत पुग्नुपर्ने भएकाले चलचित्र निर्माण कार्य जटिलसँग लामो प्रक्रियाको कार्य हुन्थ्यो । चलचित्र प्रदर्शनका लागि देशभित्र चलचित्र भवन पनि पर्याप्त थिएन । त्यसैले थोरै चलचित्र निर्माण हुन्थे । र त्यही थोरै चलचित्र र तिनमा संलग्न कलाकार, निर्देशक, निर्माता, संगीतकार, गीतकार, गायकगायिकालगायतका विभिन्न विधाका कलाकर्मीलाई विषय बनाई कामनाले आफ्नो प्रकाशनलाई अगाडि बढाएको थियो । चलचित्र थोरै बन्ने र कलाकर्मी पनि थोरै भएका कारण सीमित चलचित्र र कलाकारलाई समेट्दै उनीहरुको प्रवद्र्धन र सामाजिक प्रतिष्ठाका लागि कलम चलाउँदै कामना आज आफैं ३४ वर्षे लक्का जवान भएको छ ।

३४ वर्षे यो जवानीसम्म पुग्दा कामनाले यस क्षेत्रमा आएका उतार–चढावलाई प्रत्यक्ष अनुभव गरेको छ र विभिन्न आरोह–अवरोह, सुख–दुःख पार गर्दै आजको दिनसम्म आफ्नो यात्रालाई अगाडि बढाउँदै आएको छ । मुलुककै निजी क्षेत्रको पहिलो प्रकाशन गृहको रुपमा कामना प्रकाशन गरी आजको मितिसम्म आइपुग्दा यो क्षेत्रले ठूलो फड्को मारिसकेको छ । अहिले पहिलेजस्तो चलचित्र निर्माणका विभिन्न प्रक्रिया पूरा गर्न छिमेकी मुलुक धाउनुपर्ने बाध्यता पनि हटिसकेको छ । चलचित्रको सुटिङदेखि सबै कार्य देशमै सम्भव भएको छ । हलिउड, बलिउडले प्रयोग गर्ने अत्याधुनिक प्रविधि नेपाली चलचित्रले पनि प्रयोगमा ल्याउन थालिसकेको छ । डिजिटल प्रविधिको प्रयोगसँगै सुटिङ गरेको केही महिनामै चलचित्र प्रदर्शनमा ल्याउन सम्भव भइसकेको छ । फलस्वरुप वर्षको एउटा चलचित्र निर्माण हुन कठिन यही क्षेत्रमा अहिले बर्सेनि एक सयको हाराहारीमा चलचित्र निर्माण हुन थालेका छन् । चलचित्र क्षेत्र र यसमा संलग्न कलाकर्मी तथा प्राविधिकको उन्नतिको सपना बोकेर प्रकाशनमा आएको कामनाका लागि यो सुखद र खुसीको विषय बन्न पुगेको छ ।

तर, वर्षको सय चलचित्र निर्माण भइरहेको छ या यो क्षेत्रमा काम गर्ने थोरै कलाकर्मी र प्राविधिक सफल भइरहेका छन् भन्ने कुराले मात्र सन्तुष्ट हुन मिल्ने अवस्था अहिले पनि छैन । अझै पनि यो क्षेत्रमा भएको लगानीको २५ प्रतिशतसम्म पनि फिर्ता हुन सकेको छैन । लहड वा हतारमा चलचित्र निर्माण होमिने तथा प्रदर्शनमा गएपछि दर्शकले मन नपराइदिएका कारण असफल सावित चलचित्रको संख्या नै बढी देखिइरहेको छ । अर्कातिर चलचित्र क्षेत्रबाट अनुशासन र मर्यादा पनि विस्तारै गुम्दै गइरहेको छ । यो यस क्षेत्रमा संलग्न कसैका लागि पनि शुभसंकेत मान्न सकिन्न । चलचित्रको संख्या वृद्धिसँगै गुणात्मक वृद्धि पनि उत्तिकै आवश्यक हुन गएको छ । यसमा संलग्नको वृद्धिसँगै अनुशासन पालना र मर्यादा कायम हुन पनि उत्तिकै जरुरी छ ।

अन्तमा कामनालाई ३३ वर्ष पार गरी ३४औं वर्षसम्मको गौरवमय सुखद यात्रा पूरा गर्न प्रत्यक्ष र परोक्षरुपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण पाठक, कलाकर्मी, चलचित्रकर्मी, प्राविधिक र विज्ञापनदाताहरुप्रति हार्दिक आभार ।

प्रतिक्रिया दिनुहोस्