सम्झनामा लेडी हिरो : सुभद्रा अधिकारी



विदुर गिरी ।

सुभद्रालाई चिनो फिल्मबाट डबिङकै क्रममा भारतीय युवाहरुले पाउ परेर भनेका थिए– ‘आप तो महान् कलाकार है, हम आपका अभिनयकला देखकर बहुत प्रभावित हुए ।’ पछि चिनो हेरेर माला सिन्हाले निर्देशक घिमिरेलाई भनेकी थिइन्– ‘तुलसीजी, यस्तो राम्रो रोलमा पनि मैले अभिनय गर्न सकिनँ, मलाई ठूलो पछुतो भइरहेको छ । तर जसले यो भूमिका निभाइन्, ती उत्कृष्ट अभिनेत्री हुन् ।’

थुप्रै विधाको अभिनय गरे पनि चिनो नामक फिल्मबाट चिनिएकी अभिनेत्री सुभद्रा अधिकारी अब हामीबीच रहिनन् ।
लामो समयदेखि दम तथा निमोनियाबाट पीडित भई हिँडडुल गर्न असहज महसुस गर्दै आएकी अभिनेत्री अधिकारीले गत साउन ३२ गते शनिबार बिहान ८ बजे डल्लुस्थित आफ्नै निवासमा ७२ वर्षको उमेरमा अन्तिम श्वास फेरिन् । ‘केही दिनअघि मात्र टिचिङ हस्पिटलमा उपचार गरेर घर फर्किनुभएको थियो । परिवारका अन्य सदस्य मनकामना जानुभएको थियो । घरमा म मात्र थिएँ । यही अवस्थामा उहाँको निधन भयो ।’ –अभिनेत्री अधिकारी पुत्र सुमन अधिकारीले कामनासँग भने । सुभद्राको एक छोरा र एक छोरी छन् ।

बाल्यकालमै नेवारी नाटक कचि मचाबाट अभिनय यात्रा शुरु गरेकी सुभद्राले मुनामदन, नालापानी बुहार्तन, पलाँसको फूललगायत दर्जनौं नाटक तथा टेलिफिल्ममा अभिनय गरेकी छिन् । मनको बाँधबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी उनी फिल्म कन्यादानको छुच्ची सासूको भूमिकाका लागि चर्चित थिइन् । जीवनरेखा, बदलिँदो आकाश, वासुदेव, पिरती, मायाप्रीति, भाउजू, मंगलसूत्र, बेहुली, वसन्ती, कर्जा, सौभाग्य, मुनामदन, चोर–सिपाही, स्वर्ग, कन्यादान, काठमान्डु, बाटोमुनिको फूल, दशगजालगायत करिब १ सय फिल्मका विभिन्न भूमिकामा अभिनय गरेर दर्शकको मन जित्दै आएकी सुभद्राको करिअर अभिनेता सुनिल थापालाई राते काइँलाका रुपमा चिनाउने फिल्म चिनोमा लेडी हिरोको भूमिकामा सशक्त अभिनय गरेपछि अझ उकालो लागेको थियो ।

चिनोका निर्देशक तुलसी घिमिरेले सुभद्राको भूमिकामा भारतीय नायिका माला सिन्हालाई खेलाउने सोच बनाएका थिए । मालाले समय दिन नसक्ने भएपछि घिमिरेले सुभद्रालाई लिएका थिए । सुभद्राले त्यो फिल्मबाट डबिङका क्रममै भारतीय युवाहरुबाट मुम्बईमा यति प्रशंसा पाएकी थिइन् कि उनीहरूले सुभद्राको पाउ परेर भनेका थिए– ‘आप तो महान् कलाकार है, हम आपका अभिनयकला देखकर बहुत प्रभावित हुए ।’ पछि चिनो हेरेर मालाले निर्देशक घिमिरेलाई भनेकी थिइन्– ‘तुलसीजी, मैले ठूलो गल्ती गरेछु । यस्तो राम्रो रोलमा पनि मैले अभिनय गर्न सकिनँ, मलाई ठूलो पछुतो भइरहेको छ । तर जसले यो भूमिका निभाइन्, ती उत्कृष्ट अभिनेत्री हुन् ।’ नभन्दै सुभद्राका साथमा उनका सहकलाकारको बेजोड अभिनयका कारण फिल्म सुपरहिट बन्यो ।

काठमाडौंको असनमा २००४ साल भदौ २० गते नुरादेवी र बलरामको परिवारमा एक्ली छोरीका रूपमा जन्मिएकी सुभद्राले पारिवारिक वातावरणमा नै आप्mनो प्रतिभा उजागर गराउने काम गरेकी थिइन् । आमा नुरादेवी एक कुशल भजन गायिका र नृत्यांगना भएकाले पनि उनलाई संगीत र अभिनयको वातावरण सानैदेखि मिल्यो । सुभद्रा छोरीचेलीलाई घरबाहेक बाहिरी काममा सक्रिय नगराउने त्यस बेलाको समाजलाई चुनौती दिँदै ५ वर्षको उमेरदेखि नै नृत्यविधा अँगाली अघि बढेकी थिइन् । कुशल नृत्यांगनासमेत रहेकी उनले पिताको निधनपछि इन्द्रचोकमा रहेको मावलीघरमा बसेर आफ्नो कलायात्रालाई अगाडि बढाएकी थिइन् । ‘बच्चा हुँदा त मामाहरूले पनि राम्रै मान्नुहुन्थ्यो’, मावली संस्कार सम्झँदै उनले एक साक्षात्कारमा कामनासँग भनेकी थिइन्– ‘तर उमेर बढ्दै गएपछि मामाहरूले पनि नृत्य नगरिदिए हुन्थ्यो भन्ने भावका कुराहरू गर्न थाल्नुभयो ।’ आखिर मावलीको दबाब र  आफ्नो इच्छाबीचको द्वन्द्वमा उनको इच्छा नै अगाडि आयो ।

नृत्यप्रतिको लगाबले उनलाई कत्थक नृत्यकी शिक्षिका पनि बनाइदियो । इलाहावादमा रहेको एक नृत्य विद्यालयको नेपाल शाखाबाट उनले कत्थक नृत्यमा स्नातक गरेकी थिइन् । नागिन नृत्यमा पनि पोख्त उनले पद्मकन्या क्याम्पसमा २०४० सालमा १ वर्ष नृत्यशिक्षिका भएर काम गरेकी थिइन् । शास्त्रीय नृत्य देखाउनकै लागि विभिन्न देश भ्रमणको अवसर पनि पाएकी थिइन् । उनी इरान, रसिया, चीन, उत्तर कोरिया, बर्मा, हङकङ, जापान, बैंकक, ल्हासा, भारत, पाकिस्तान, बंगलादेशजस्ता मुलुकका मानिसलाई कत्थकलगायत शास्त्रीय नृत्यबाट आकर्षित गर्न सफल भएकी थिइन् ।

मामाकी छोरी गायिका तारादेवीको संगतले रेडियो नेपालमा गएर गीतसमेत गाएकी सुभद्रालाई गायनतिर पनि आकर्षण थियो । उनी महिनाको दुईचोटि लाइभ गीत गाउन रेडियो नेपाल पुग्थिन् । उनले कृष्णमान, वटुकृष्ण ज्वाला, किरण खरेललगायतका शब्द र संगीतमा पनि गीत गाएकी थिइन् । उनले पञ्चायत नाटकमा साँघुरी बारी नि हो, यो धारापारि गीत पनि गाएकी थिइन् । त्यसबेला सो गीत सबैले गाउँथे । तर रेडियो नेपालबाट तारादेवीले गाएपछि मात्र यो उनको आधिकारिक गीत बन्यो । शास्त्रीय नृत्यमा उत्कृष्ट लय समात्ने सुभद्रा नाटकमा पनि बेजोड अभिनय गर्थिन् । बाल्यकालबाट नै विभिन्न नाटकमा बालकलाकारका रूपमा गरेको अभिनयले वयष्क भइन्जेलसम्म उनमा निखारता ल्याइसकेको थियो । असन, इन्द्रचोकलगायतका क्षेत्रमा हुने डबली नाटक, इन्द्रजात्रा, गाईजात्रा तथा अन्य सांंस्कृतिक पर्वमा हुने नाटकले उनको अभिनयप्रतिभालाई आम दर्शकसामु छर्लंग पारिदिएको थियो ।

२०२१ सालमा तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानमा काम गर्न थालेकी उनले नाटककार बालकृष्ण समबाट नाटकको प्रशिक्षण लिएपछि २०२५ सालदेखि २०५७ सालसम्म नेपाल सांस्कृतिक संस्थानमा जागिर खाइन् । जागिरसँगै उनको अभिनययात्रा निरन्तर अगाडि बढेको थियो । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदनमा मदनकी दिदी बनेर सर्वाधिक लामो समय ६/७ महिनासम्म अभिनय गरेकी थिइन् भने आप्mनो जीवनमा करिब ५० नाटकमा अभिनय गरेकी थिइन् । ६ दशकभन्दा लामो फिल्मी करियरमा सुभद्राले जापानी र हङकङका फिल्ममा पनि अभिनय गरेकी थिइन् ।

अथाह प्रतिभा भएर पनि थुप्रै फिल्मी अवसरबाट वञ्चित हुन पुगेकी सुभद्राले २०२८ सालपछि भने पछाडि फर्केर हेर्नुपरेन । दुई रथका पांग्रा र कलाकार सुभद्रा अधिकारी जीवनगाथा शीर्षकमा २ आत्मकथा लेखेकी उनको फिल्मी अभिनयको रथ निरन्तर बढिर≈यो मनको बाँधमा अभिनय गर्ने अवसर मिलेसँगै । ०६६ सालमा अभिनेता पति कृष्णप्रसाद अधिकारीलाई गुमाएपछि शोकमा डुब्न पुगेकी सुभद्राले ६ दशक लामो फिल्मी यात्रामा कहिल्यै हारिनन्, मृत्युको अगाडिको हारले भने उनलाई कलाप्रेमीबाट चुँडेर लगेको छ । कलाक्षेत्रमा यति धेरै योगदान पु¥याए पनि त्यसको कदर नभएकोमा दुःखी रहेकी सुभद्रा केही अघिमात्र चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नगद ३ लाख ५१ हजार १ सय ११ सहित चलचित्र दीर्घ साधना सम्मानले सम्मानित भएसँगै हर्षविभोर हुन पुगेकी थिइन्, त्यो हर्ष पनि उनीसँगै विलय हुन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्