अस्ताए किशोर



व्यावसायिकदेखि सामाजिक र ऐतिहासिक फिल्मलाई उत्तिकै न्याय दिन सक्ने फिल्म लेखक तथा निर्देशकका रुपमा पहिचान कायम गरेका किशोर राना अब रहेनन् । करिब २ वर्षअगाडि मिर्गौलाले काम गर्न छोडेपछि प्रत्यारोपण गराएका रानाले २०७६ साल भाद्र ४ गते बुधबार ललितपुरस्थित निदान अस्पतालमा अन्तिम स्वास फेरे । ६४ वर्षीय राना निमोनिया भएपछि अस्पताल भर्ना भएका थिए । उनी २ दशकदेखि मधुमेहबाट पीडित थिए । गायिका तथा संगीतकार संगीता प्रधानका पति रानाको परिवारमा एक छोरा छन् ।

गुल्मीमा जन्मी हजुरबुबा ब्रिटिस प्रहरीमा जागिरबाट फर्किएपछि धरान बसाइँ सरेका राना नेपालबाट बनेको पहिलो भोजपुरी फिल्म कब होई मिलनवा हमारका निर्देशक थिए । उनले पहिलोपटक प्रतिबिम्ब नामक फिल्म निर्देशन गरेका थिए भने कर्जा, करोडपति, सिमारेखा, उपकरण, एक नम्बरको पाखे, घामछायाँ, घुम्टो, शिवशक्ति, बन्धकी, सन्तानको मायाजस्ता फरक परिवेशका फिल्म निर्देशन गरेर भिन्न परिचय स्थापित गरेका थिए ।

एउटा निर्देशकभित्र प्राविधिकरुपमा हुनुपर्ने उत्कृष्टता उहाँमा थियो । क्यामरा सञ्चालन र फ्रेमिङमा उहाँको विशेष दक्षता थियो ।

सानै उमेरमा भारत पसेका उनी त्यहाँ काम गर्दागर्दै फिल्म निर्देशनमा आकर्षित भएका थिए भने सडकमा भेटिएका गोपाल भुटानीले उनलाई सामान्य कामदारका रुपमा बलिउडमा प्रवेश गराएका थिए । हिन्दी फिल्म खुदा गवाहको लोकेसन व्यवस्थापक रहेका किशोरले अन्धा कानुन, जोन जोनी जनार्दन, मुझो इन्साफ चाहिए, घरघरकी कहानीलगायत दर्जनौं हिन्दी फिल्ममा मुख्य सहायक निर्देशक भई काम गरेका थिए । यसका बाबजुद नेपालमा आएर काम गरेका थिए । भन्ने गर्थे– ‘ममा ठूलो महङ्खवकांक्षा थिएन । त्यसैले नेपाल फर्कें । फेरि उता बस्दा सहायक भएर काम गर्नुपथ्र्यो, यता फुल डाइरेक्टर भएर काम गर्न पाउँथे ।’

फिल्म लेखक, निर्देशक तथा अभिनेता निर शाहले रानाको निधनले नेपाली फिल्म क्षेत्रले एक उत्कृष्ट निर्देशक गुमाएको बताए । ‘मैले उहाँसँग थुप्रै फिल्ममा काम गरें । उहाँ एक उत्कृष्ट निर्देशक हुनुहुन्छ । उहाँको निधनले नेपाली सिनेमा क्षेत्रले एक उत्कृष्ट निर्देशक गुुमाएको छ’, शाहको अनुभव छ– ‘एउटा निर्देशकभित्र प्राविधिकरुपमा हुनुपर्ने उत्कृष्टता उहाँमा थियो । क्यामरा
सञ्चालन र फ्रेमिङमा उहाँको विशेष दक्षता थियो ।’

रानालाई केहीअगाडि मात्र २०७४ सालका लागि नगद ३ लाख ५१ हजार १ सय ११ रुपियाँसहित राष्ट्रपतिबाट प्रदान गरिने दीर्घ साधना सम्मान प्रदान गरिएको थियो । तर भारी वर्षात्का कारण आफू बसेको अपार्टमेन्ट डुबानमा परेपछि उनी चलचित्र विकास बोर्डद्वारा राष्ट्रपति भवनमा आयोजित सो समारोहमा सरिक हुन
सकेका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्