विदेशी सिनेमामा नेपालको छवि



विजयरत्न तुलाधर ।

२०७२ सालमा भूकम्पको पीडाले ग्रस्त भइरहेका बेला हलिउडको एउटा सिनेमा डा. स्ट्रेन्जको शुटिङ हुँदा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको नाम चर्चामा आयो । विशेष गरेर पशुपति क्षेत्र, असन र पाटन दरबार स्क्वायर क्षेत्रमा छायांकन गरिएको सिनेमामा नेपाललाई प्राचीन रहस्यमयी तान्त्रिक ज्ञानको स्थान कमरताज भन्ने ठाउँमा नायक भएर खेलेका पात्र आप्mनो असाध्य रोगबाट उन्मुक्ति पाउनका लागि आएको भनेर देखाइएको छ । स्थानको नाम काल्पनिक देखाइए पनि डा. स्ट्रेन्जमा नेपाललाई तान्त्रिक शक्तिले सम्पन्न देश भनेर देखाइएको थियो । अब यो सिनेमाको दोस्रो भागको शुटिङ गर्न पनि टोली नेपाल आउने कुरा छ । हलिउडको यो सिनेमामा नेपाललाई रहस्यमय तन्त्र ज्ञान भएको देशका रुपमा देखाइएको छ भने कतिपय बलिउड सिनेमामा नेपाललाई तस्करहरुको स्थल वा भारतबाट भागेर आएका आतंककारी वा अपराधी लुकेर बस्ने ठाउँका रुपमा चित्रण गरेका उदाहरण धेरै छन् ।

हालैको वर्षमा रिलिजमा आएको नायक अर्जुन कपुरको हिन्दी सिनेमा इन्डियाज मस्ट वान्टेडमा पनि नेपाललाई आतंककारी लुकाइएको भूमिका रुपमा प्रस्तुत गरिएको छ । नेपालको गलत छवि देखिने गरी प्रस्तुत गरिएको यो सिनेमा नेपालको चलचित्र जाँचपास समितिले प्रदर्शन दिएन भने भारतमा पनि सिनेमामा प्रस्तुत गरिएका केही विवादास्पद प्रस्तुतिको विरोध हुँदा सिनेमा हलमा रिलिज भएन र पछि युट्युबमार्फत सार्वजनिक गरिएको थियो । यसै वर्ष नायक जोन अब्राहमको रअ शीर्षकको सिनेमामा पनि नेपाललाई आतंककारी लुकाउने ठाउँका रुपमा चित्रण गरिएको छ । यसभन्दा अघि अक्षय कुमार अभिनित बेबीमा पनि नेपालमा लुकेर बसेका भारतका आतंककारीको खोजीमा आउने कथा प्रस्तुत गरिएको छ । भारतीय सिनेमामा यसरी नेपाललाई अपराधीको थलोका रुपमा देखाइँदै आएको छ ।

कतिपय बलिउड सिनेमामा नेपाललाई तस्करहरुको स्थल वा भारतबाट भागेर आएका आतंककारी वा अपराधी लुकेर बस्ने ठाउँका रुपमा चित्रण गरेका उदाहरण धेरै छन् । हालैको वर्षमा रिलिजमा आएको नायक अर्जुन कपुरको हिन्दी सिनेमा इन्डियाज मस्ट वान्टेडमा पनि नेपाललाई आतंककारी लुकाइएको भूमिका रुपमा प्रस्तुत गरिएको छ ।

भारतबाहेकका अन्य देशका सिनेमाको कुरा गर्दा काठमाण्डु– द मिरर इन द स्काई शीर्षकको एउटा स्पेनी भाषाको सिनेमाको विषय उल्लेख गर्नु उपयुक्त देखिन्छ । यो सिनेमामा काठमाडौं वरिपरिका सुकुम्बासी क्षेत्रका बालबालिकाबीच शिक्षाको ज्योति फैलाउने उद्देश्यसहित नेपालमा संघर्षशील जीवन बिताएका स्पेनी नागरिक विक्की शेर्पाको जीवन चित्रण गरिएको छ । विक्की स्पेनी नागरिक हुन् तर शिक्षासम्बन्धी आप्mनो मिसन पूरा गर्नका लागि नेपालमै बसेर काम गर्न उनले यहाँ शेर्पा थरको एक युवकसित विवाह गर्छिन् । र आप्mनो मिसन पूरा गर्ने अभियानमा लाग्छिन् । स्पेनी भाषामा निर्माण गरिएको यस सिनेमाका निर्देशक इसिआर बोलायर हुन् । उनी विश्व विख्यात ओस्कार एकेडेमी अवार्डमा समेत मनोनयनमा परिसकेकी निर्देशक हुन् । यसरी विश्वका ख्यातिप्राप्त सिनेमा निर्देशकको आँखाबाट नेपालको कथा र व्यथालाई चलचित्रको पर्दाका हेर्न पाउनुको गर्व बेग्लै हुन्छ । र त्यस्तै बेग्लै खालको गर्व बोक्ने अवसर सोल्ड शीर्षकको एउटा अंगे्रजी सिनेमा निर्देशक जेफ्री डी ब्राउन हुन् ।

जेफ्री डी ब्राउन ओस्कार अवार्ड विजेता निर्देशक हुन् । उनको निर्देशनमा बनेको सोल्ड नेपालका विभिन्न रमणीय स्थलमा शुटिङ सम्पन्न गरिएको छ । काठमाण्डु– द मिरर इन द स्काइमा जस्तै सोल्डमा पनि नेपाली माटो र नेपाली परिवेशको कथा देखाइएको छ । यो सिनेमा चेलीबेटी बेचबिखनको कथामा आधारित छ । जुन हाम्रो देशको एउटा विहङ्गम समस्याका रुपमा रहँदै आएको छ । यो सिनेमामा नेपालका ख्यातिप्राप्त अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि अभिनय गरेका छन् । अभिनेता मदनकृष्णले यसमा एउटी बेचिएकी चेलीको बुबाका रुपमा अभिनय गरेका छन् । हरिवंशले भने देउसी गीतमा अभिनय गरेका छन् । भारतकी विख्यात अभिनेत्री सीमा विश्वासले सोल्डमा मदनकृष्णको पत्नीका रुपमा अभिनय गरेकी छिन् । यी दुई सिनेमाबाहेक हाइवे टु धम्पुस शीर्षकको एउटा अंगे्रजी सिनेमा पनि नेपालमै बनेको छ । शीर्षकबाटै नेपाल झल्कने यस सिनेमामा अभिनेता राजबल्लभ कोइरालाले पनि एउटा प्रमुख भूमिका निर्वाह गर्ने अवसर पाएका छन् । यस सिनेमाका निर्देशक रिकम्याड फल्र्यान्ड हुन् ।

नेपालमा छायांकन गरीने कतिपय सिनेमामा नेपाललाई केवल आकर्षक लोकेशनका रुपमामात्र प्रयोग गरिएका छन् भने केही सिनेमामा नेपाली माटोकै कथा प्रस्तुत गरिएका पनि छन् ।

नेपालको भूमिमा छायांकन गरिएको पहिलो विदेशी सिनेमा हरे राम हरे कृष्ण हो । भारतका विख्यात अभिनेता एवं निर्माता÷निर्देशक देव आनन्दले निर्माण निर्देशन गरेको यो सिनेमाले थालनी गरेको विदेशी फिल्मको नेपाल शुटिङको यो यात्रामा अहिलेसम्म सयौंको संख्यामा विदेशी सिनेमाहरु नेपालमा शुटिङ भइसकेका छन् । देव आनन्द स्वयंले पनि पछि पोखरा र स्याङबोचे वरिपरि बस्दै आएको परिवारको कथालाई ईश्क ईश्क ईश्कमा प्रस्तुत गरेका थिए । देव आनन्दकै सक्रियतामा उनका भाइ निर्देशक विजय आनन्दले जोनी मेरा नाम सिनेमाको कतिपय अंश नेपालमै शुटिङ गरिएको थियो । नेपालमा शुटिङ गरिने अधिकांश हिन्दी सिनेमामा जस्तै जोनी मेरा नाम र हरे राम हरे कृष्णमा पनि नेपाललाई तस्करको थलोका रुपमा प्रस्तुत गरिएको थियो । हुनत तत्कालीन नेपालमा व्याप्त हिप्पी कल्चर देखेर नै देव आनन्दले हरे राम हरे कृष्णको कथा बुनेका थिए । तर त्यस सिनेमामा हिप्पी कल्चरलाई केवल एउटा पात्रको मनोदशालाई देखाउन मात्र प्रयोग गरिएको थियो ।

भारतका कतिपय सिनेमामा नेपाली चरित्र चित्रण गर्दा अपहेलना हुने गरी चित्रण गरिएको पाइन्छ । अभिनेता नाना पाटेकर अभिनित क्रान्तिवीरमा नाना पाटेकरले बोलेको एउटा संवादमा नेपाललाई एउटा तुच्छ देश, जहाँ सियोसम्म पनि बन्दैन भनेर उल्लेख गरिएको छ भने सन्नी देवलको जो बोले सो निहालको शुरुआति दृश्यतिर पनि नेपालको अपहेलना हुने खालका संवाद राखिएको छ । यस्तै गरी तत्कालीन पूर्व मिस नेपाल झरना वज्राचार्यले अभिनय गरेको लभ इन नेपालमा पनि नेपालको छवि बिग्रने खालको चित्रण थियो । नेपालमै छायांकन गरिएको अनि शीर्षकमा समेत नेपाल शब्द जोडिएको लभ इन नेपालमा नेपालको रमणीय स्थलहरुमा प्रस्फुरित प्रेमको पूmल हेर्न पाइने आशा गरिएको थियो । तर त्यस्तो भएन । यो सिनेमाको नेपालमा ठूलो आलोचना भयो ।

कतिपय विदेशी सिनेमाले नेपालको गलत छवि पनि प्रस्तुत गरेका छन् । वे टु काठमाण्डु र एलएसडी शीर्षकका दुई अंग्रेजी सिनेमामा पनि नेपाललाई गाँजा चरेसलगायतका लागूऔषध दुव्र्यसनीको थलोका रुपमा देखाइएको छ । यसरी नेपालको छविमाथि आँच आउने गरी बनेका विदेशी सिनेमा धेरै छन् । तीमध्ये एउटा भनेको लिटिल बुद्ध पनि हो । विश्व विख्यात सिनेमा निर्देशक बर्नार्डो ब्रटोलुचीले बनाएको लिटिल बुद्धमा तथागत गौतम बुद्धको चरित्र नै धमिलिने खालले चित्रण गरिएको थियो । यो सिनेमा छायांकनकै क्रममा नेपालमा धेरैले यसको विरोध पनि गरेका थिए । त्यत्तिबेला उठेका विरोधका स्वर दबाउनका लागि निर्माण कम्पनीले तत्कालै सम्झौता पनि गरे ।

सम्झौताअनुरुप तथागत गौतम बुद्धलाई लिटिल अर्र्थात् सानो भन्ने खालको संकेत गराउने शीर्षक पनि परिवर्तन गर्ने सहमति गरे । तर सहमतिको कुरा फोस्रो आश्वासनमात्र साबित हुन पुग्यो । यो सिनेमा लिटिल बुद्धकै नाममा विश्वव्यापी रिलिज गरियो ।

विशेष गरी हिन्दी सिनेमामा नेपाललाई होच्याउने खालका प्रसङ्ग धेरै पाइन्छन् । नेपालीलाई चौकिदारका रुपमा चित्रण गरेका हिन्दी सिनेमा पनि थुप्रै छन् । नेपालमै शुटिङ गरिएको घरवाली बाहरवाली पनि त्यस्तै खालको दृष्य देखिएपछि नेपालमा प्रदर्शन गरिँदा चर्को विरोध भएको थियो । विरोध चर्केको कारण यो सिनेमामाथि प्रतिबन्धसमेत लगाउनुपरेको थियो । चाँदनी चोक टु चाइनामा
बुद्धको जन्मथल भारत भनेर उल्लेख गरिँदा पनि विवाद भएको त्यत्ति धेरै भएको छैन । नेपालमा शुटिङ गरिएका वा नगरिएका सिनेमामा समेत नेपालबारे भ्रामक तथ्य प्रस्तुत गर्न हिन्दी सिनेमा पछि पर्दैनन् ।

सन् १९९० को अन्त्यतिर भारतका सिनेमा निर्देशक प्रकाश वर्माले प्रिन्सेस फ्रम काठमाण्डु शीर्षकको हिन्दी र अंग्रेजी भाषामा बन्ने सिनेमाको योजना बनाएका थिए । तर तत्कालीन सरकारले त्यस सिनेमाभित्र नेपालको छवि धमिलिने प्रसङ्गहरु भएकाले निर्माण अनुमति नै नदिएको प्रसङ्ग यहाँ उल्लेखनीय हुन आउँछ ।

नेपालमा धेरै विदेशी सिनेमाको छायांकन भइसकेको छ । चिनियाँ सिनेमा अप इन दि विन्ड पनि नेपालमा नै शुटिङ गरिएको थियो । यसरी नेपालमा छायांकन गरिने कतिपय सिनेमामा नेपाललाई केवल आकर्षक लोकेसनका रुपमा मात्र प्रयोग गरिएका छन् भने केही सिनेमामा नेपाली माटोकै कथा प्रस्तुत गरिएका पनि छन् । नेपालमा शुटिङ गरिएका हिन्दी सिनेमामध्ये खुदा गवाह, लम्हे, भवानी जंक्सन, आँधी तुफानजस्ता सिनेमामा नेपाललाई आकर्षक शुटिङस्थलका रुपमा मात्रै प्रयोग गरिएको थियो । नेपालमा शुटिङ गरिएको एउटा यादगार सिनेमा क्याराभान पनि हो । नेपाली भूमिमै द हनी हन्टरजस्तो विचारोत्तेजक वृत्तचित्र बनाएर ख्याति कमाएका फ्रान्सका सिनेमा निर्देशक एरिक भ्यालीले निर्देशन गरेको क्याराभानमा डोल्पाको कष्ठकर जीवनलाई सजीवरुपमा पर्दामा प्रस्तुत गरिएको थियो । विश्व विख्यात ओस्कार अवार्डमा समेत सर्वोत्कृष्ट विदेशी सिनेमाको पुरस्कार पाउने प्रतिस्पर्धाको अन्तिम मनोनयन छनोट सूचीमा पर्न सफल भएको यो सिनेमामा डोल्पालीहरुको जीवन प्रत्यक्ष अनुभूत गर्न सकिन्छ । यो सिनेमाले नेपाललाई समेत विश्व सिनेमा मानचित्रमा एउटा अलग पहिचान दिलाउन सफल भएको थियो ।

क्याराभानको सफलताबाट उत्साहित भएका एरिक भ्यालीले काठमाडौं उपत्यकाका मल्ल राजामध्ये एक जयप्रकाश मल्लको जीवनीमा आधारित सिनेमा बनाउने योजना बनाएका थिए । तर तत्कालीन राज्य प्रशासनले विभिन्न खालको झमेला खडा गरेपछि उनले त्यो सोच नै परित्याग गर्नुपरेको थियो । प्रयोग जे जसरी गरिए पनि त्यसको अनुगमन राज्य प्रशासनले गम्भीर भएर हेर्न जरुरी छ । अन्यथा विदेशी चलचित्रमा नेपालको सही छवि प्रस्टरुपमा आउने सम्भावना कम हुँदै जानेछ ।

प्रतिक्रिया दिनुहोस्