मीराले मनाइन् प्रेमको ५०औं वर्षगाँठ



नेपालकी आशा भोस्ले, स्टेज क्विन, पहिलो नेपाली क्याब्रे गायिकाजस्ता उपमा पाएकी गायिका, संगीतकार तथा गीतकार मीरा राणाले गत माघमा एक भव्य समारोहका बीच ५०औं प्रेम वर्षगाँठ मनाइन् । उनले बालुवाटारस्थित अमरपाली पार्टी प्यालेसमा पति उदयजंग राणासँग औंठी साटासाट गरी प्रेम सम्बन्धको ५०औं वर्षगाँठ मनाएकी हुन् । पण्डितको मन्त्रोचारणसँगै मीरा दम्पतीले खुसी साट्दै प्रेम सम्बन्धको वर्षगाँठ मनाएका थिए । मीराले पतिलाई लगाइदिएको औंठी उनको कान्छो छोराले उपलब्ध गराएका थिए भने पतिले उनलाई लगाइदिएको औंठी जेठो छोराले उपलब्ध गराएका थिए । उनीहरूले स्वयंवरजस्तै एकअर्कालाई दुबोको माला पनि पहिराएका थिए । मीरा दम्पतीले प्रेम सम्बन्धको ५०औं वर्षगाँठको केक पनि काटेका थिए ।

समारोहमा गीत, संगीत र अभिनय क्षेत्रका कलाकर्मीका साथमा मीरा दम्पतीका आफन्त र इष्टमित्र सहभागी थिए । मीराले समारोहमा प्रत्यक्ष वाद्यवादनका साथ आफ्ना केही लोकप्रिय गीत गाएर सुनाएकी थिइन् भने विभिन्न गायक–गायिकाले पनि गीत, संगीत प्रस्तुत गरेका थिए । २००८ साल असोज महिनाको विजया दशमीका दिन कमलपोखरीमा जन्मेकी ६८ वर्षीया गायिका राणाले प्रेम सम्बन्धको दुई वर्षपछि २०२८ साल मंसिर ४ गते उदयजंग राणासँग विवाह गरेकी थिइन् । १४ वर्षकै उमेरबाट गीत गाउन शुरू गरेकी मीरालाई आफ्नो एकल एल्बम निकाल्न भने आधा शताब्दीभन्दा बढी समय लाग्यो । १ हजार ७ सयभन्दा बढी गीत गाएकी उनको कलेक्सन एल्बम बेलाबेलामा आए पनि एकल एल्बम भने गत २०७२ सालमा मात्र सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्