अरुणा लामा नाइटिंगेल अफ हिमालय



-कमल सुवेदी

उनको न्वारानको नाम दाँतेमा तामाङ थियो, त्यसैले उनलाई सबैले दाँतेमा दाँतेमा भनेर बोलाउँथे । एउटी चुलबुले केटी दाँतेमा सात वर्षको उमेरमा नै नाच्न र गाउन भनेपछि खान पनि बिर्सिन्थिन् । कतै कुनै पनि अवसरमा माइक राखेर कार्यक्रम भइरहेको देखेपछि उनलाई गीत गाउन परिहाल्थ्यो । होची र डल्ली कदकी दाँतेमाको टाउको माइकको मुखसम्म पुग्ने कुरै भएन, त्यो बेला उनका बाबुले काँधमा बोकेर माइकसम्म मुख पुर्‍याइदिन्थे र दाँतेमा गीत गाउँथिन् निस्फिक्री ।

तिनै दाँतेमा हुन् नेपाली सुगम संगीतकी स्वर्णिम कालखण्डकी विरही गायिका अरुणा लामा । सात-आठ वर्षमै गायनका माध्यमबाट उनले दार्जिलिङको रनवन हल्लाएकी थिइन् । २००२ सालको भदौ २४ गते भारतको पश्चिम बंगाल राज्यको घुमपहाड दार्जिलिङमा पिता सूर्यबहादुर लामा र माता सनमाया तामाङको कोखबाट उनी जन्मेकी हुन् । बाबुआमालाई छोरी गीतसंगीतमा लागेको मन परेको त थिएन, तर उनको जिद्दीका अगाडि प्रतिक्रिया जनाउँदैनथे । उनका काका सीबी लामाले भने अरुणाको गीतमा राम्रो भविष्य देखेका थिए । सात वर्षकै छँदा उनी अरुणालाई गीत गाउन उक्साउँथे ।

उनै काकाको पहलमा दार्जिलिङको गोर्खा दुःख निवारक सम्मेलनले आयोजना गर्ने भानु जयन्तीको संगीत प्रतियोतिगामा अरुणाले भाग लिइन् । अचम्म ११ वर्षकी अरुणा सो कार्यक्रममा सर्वोत्कृष्ट बालगायिकाको पपुरस्कार प्राप्त गर्न सफल भइन् । मङ्पु प्राथमिक विद्यालय र सेन्ट तेरेजा स्कुलबाट विद्यालयस्तरीय शिक्षा आर्जन गरेकी उनी पढाइमा नि अब्बल थिइन् । पत्याउन पनि गाह्रो पर्छ, मात्र बीस वर्षको उमेरमा उनले स्नातक गरिसकेकी थिइन् । उनी दार्जिलिङको सरकारी कलेजबाट स्नातक उत्तीर्ण हुनु र पहिलो गीत रेकर्ड हुनुमा लामो समय अन्तर थिएन । भूपि शेरचनको शब्द र अम्बर गुरुङको संगीतमा ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न, त्यो तारा मात्र होइन जून पनि झारिदिउँला बोलको यो अति लोकप्रिय गीत नै उनको पहिलो रेकर्डेड गीत थियो । पहिलो गीतको नै अपार सफलताले उनको लोकप्रियतालाई उजागर गर्दछ । शरण प्रधान र अरुणाको युगल स्वरमा गाइएको गीतको रचना र संगीत अम्बर गुरुङको रहेको थियो ।

पत्याउन पनि गाह्रो पर्छ, मात्र बीस वर्षको उमेरमा उनले स्नातक गरिसकेकी थिइन् । उनी दार्जिलिङको सरकारी कलेजबाट स्नातक उत्तीर्ण हुनु र पहिलो गीत रेकर्ड हुनुमा लामो समय अन्तर थिएन । भूपि शेरचनको शब्द र अम्बर गुरुङको संगीतमा ए कान्छा मलाई सुनको तारा खसाइदेऊ न, त्यो तारा मात्र होइन जून पनि झारिदिउँला बोलको यो अति लोकप्रिय गीत नै उनको पहिलो रेकर्डेड गीत थियो ।

दार्जिलिङको सरकारी कलेज पढ्दापढ्दै अम्बर गुरुङको आर्ट एकेडेमी नामक सांगीतिक समूहका माध्यमबाट अरुणाको भेट त्यतिखेरका जल्दाबल्दा गायक शरण प्रधानसित हुन पुग्यो । ख्याउटे र कमजोर शरीरका शरणलाई अम्बर गुरुङसित संगीत सिक्दासिक्दै संगीतको भन्दा बढी मात अरुणाको फक्रक्क फूलेको बैंसले लगायो । शरणकै प्रस्तावमा १९ वर्ष लाग्दा नलाग्दै उनीहरू वैवाहिक लगनगाँठोमा बाँधिए । यो शुभदिन थियो २०२० असार २ गते ।

शिक्षण र गायनको खेतीमा बराबरी समय दिइरहेका अरुणा र शरणको जीवनमा त्यसपछि घरगृहस्थीको पनि आगमन भयो तर संगीतयात्रा रोकिएन । अम्बर गुरुङ, गोपाल योञ्जन तथा पिटर जे। कार्थकहरू नेपाल पसिसकेका थिए त्यतिबेला, जसको कारणबाट त्यहाँ आएको सांगीतिक रिक्तता टाल्न शरणले औधी मेहनत गर्नुपर्‍यो । रञ्जित गजमेर, कर्म योञ्जन, मणिकमल क्षेत्री, दिलमाया खाती, चन्दन लम्जेल तथा डेजी बराइली आदिको सरसल्लाह तथा सहयोगमा अर्को सांगीतिक संस्था खुल्यो संगम परिषद् दार्जिलिङ । यसको पूर्ण संयोजन गरेका थिए शरण प्रधानले ।

शुरुशुरुमा ए कान्छा मलाई सुनको तारा खसाइदेऊजस्ता मिलन र संयोगका गीतहरू गाए पनि वेदना र पीडाका गीतहरू नै उनको रोजाइमा परे । उनको स्वरमा जन्मजात नै करुणा र संवेदनाले घर बसाएको थियो । पीडित जीवनको व्यथा उनका गीतहरूमा पोखिन्थ्यो, जसले गर्दा उनका भावकहरूमा उनका गीतले मनदेखि मुटुसम्म नै स्पर्श गरे । औधी मन परापर गरेर वैवाहिक बन्धनमा बाँधिएका अरुणा र शरणको वैवाहिक जीवनमा १० वर्ष पनि नबित्दै एउटा विनाशक हुण्डरी आइपुग्यो । रोगी र ख्याउटे शरीरका शरण सधैं मुर्छा पर्ने रोगबाट ग्रसित थिए । तर यो पटक भने मुर्छाबाट बौरिँदै बौरिएनन् । आफ्नी प्यारी अरुणा, छोरा सुप्रित र छोरी सपनालाई नाबालक अवस्थामा नै यो निर्जन संसारमा हेलिदिएर आफू अनन्तमा बिलाए शरण ।

अकल्पनीय पीडाको भार खेप्नुपरेपछि अरुणा निस्तब्ध बन्दै घरमै झोक्राएर बस्न थालिन् । एउटी कोकिलकण्ठी गायिका घरको चौघेरामा सीमित हुनु नेपाली सुगम संगीतका लागि ठूलो नोक्सान थियो । यति भएर पनि अरुणा शरणबाहेक संगीतका लागि पनि जन्मेकी थिइन् । संगीतका लागि जन्मेको मान्छेले घरको चार दिवारभित्र कैद भएर मात्र बस्नुहुन्न भनी तत्कालीन संगीतकर्मीहरू कर्म योञ्जन र मणिकमल क्षेत्रीहरूले पुनः अरुणालाई संगीतको मञ्चमा उभ्याउन सफल भए । पतिको देहान्त, पारिवारिक पालनपोषण तथा जागिरजस्ता कुरालाई काँध थाप्दै उनी वेदना र करुणामय गीतहरूमा फुल्न थालिन् ।

उदास मेरो जीवनकथा कसैलाई भनिनँ

यो जन्मभरि सहेको व्यथा कसैलाई भनिनँ ।

यस्ता कालजयी दुःखान्त गीतका स्वरलहरी अरुणाको लोकप्रियता नेपाल र दार्जिलिङमा मात्र होइन, भुटान तथा बर्मासम्म पनि फैलिन पुग्यो शनैशनै । भूपि शेरचन, भैरवनाथ रिमाल कदम, नरेन्द्रराज प्रसार्ईं, राजेन्द्र थापा, गोपाल योञ्जन, अम्बर गुरुङ, मनबहादुर मुखिया तथा किरण खरेल आदिका शब्दमा उनले विरही भाकामा स्वर पस्किरहिन् । माइतीघर, परालको आगो तथा कान्छीजस्ता फिल्ममा उनको पाश्र्व स्वर समेटियो । तर समग्रमा फिल्मको पाश्र्वगायन उनको खासै रुचिको क्षेत्र रहेन किनकि उनको सुन्दर गीतको चयन र गायन शैली निजत्वपूर्ण थियो । फिल्मका निर्माता र निर्देशकले दिएको परिस्थितिको परिधिभित्र कुँजिएर गीत गाउने अन्तर्य पनि अरुणाको थिएन । पोहोर साल खुसी फाट्दा जतन गरी मनले टालेँ, हेर न हेर कान्छा डाँडालाई फूलले ढाक्यो, एक्लै बस्दा सधैं मलाई सम्झना तिम्रो आइदिन्छ तथा नेपाली गौरव गर्छौं आफ्नैपनमा घमण्डी त छैनौं है आदि उनका बेजोड गीतहरू समग्र नेपाली संगीतका अमूल्य निधि बन्न पुगे ।

नेपाली गीतसंगीतप्रति उनको देन अभूतपूर्व रहन गयो । नाइटिङ्गेल अफ द हिमालय भनी भारतको पश्चिम बंगाल सरकारको चाहनामा कलकत्ताको हिन्दूस्तान रेकर्डिङ कम्पनीले दिएको मानार्थ पदवीलाई पूर्ण न्याय गर्ने कार्य उनीबाट भयो । गीतको शब्दचयनमा अत्यन्त ध्यान दिने उनले कर्म योञ्जन, नारायण गोपाल, दिव्य खालिङ, अम्बर गुरुङ, कुन्दनराज सुब्बा तथा शान्ति ठटाल आदिको संगीत कम्पोजिसनलाई न्याय गरिन् ।

हाँसीहाँसी जलिरहें खुसीसितै बलिरहेछु

आगो सल्काई छातीभरि रुखो हाँसो देखाइरहेछु ।

हुन पनि हो, गीतमा भनिएजस्तै अरुणाको जीवन नै बाहिर लोकाचारका लागि हाँसेर भित्रभित्रै जलेको थियो, शरणको अल्पायुमै भएको निधनले उनको छातीमा आगो सल्किएको थियो । यति हुँदाहुँदै पनि उनी समाजका लागि रुखो हाँसो देखाउन विवश थिइन् । नेपाली सुगम संगीतको एउटा कालखण्डको पृथक् धारकी एक्ली प्रतिनिधि नायिका हुन् उनी । थोरै गाइन् उनले, तर अजर अमर गीत गाइन् । गीतको सङ्ख्या थप्न मात्र उनको कुनै रुचि भएन । जीवनभरमा मात्र डेढ सय जति गीत उनका रेकर्ड हुन सके । गोरखा दक्षिणबाहु पदक, छिन्नलता पुरस्कार, भानु पुरस्कार, मित्रसेन थापा पुरस्कारलगायत अन्य थुप्रै पुरस्कार र मानसम्मान उनलाई प्राप्त भयो । माइतीघर फिल्ममा स्वर दिएबापत चलचित्र पुरस्कार, ऊर्वशी रंग पुरस्कार, सुर शृङ्गार सम्मेलन पुरस्कार, कलकत्ताको दिसारी पुरस्कार तथा साधना कला केन्द्रले दिएको साधना सम्मान आदि यो मेसोमा पर्दछन् ।

पतिको देहान्त, पारिवारिक पालनपोषण तथा जागिरजस्ता कुरालाई काँध थाप्दै उनी वेदना र करुणामय गीतहरूमा फुल्न थालिन् ।
उदास मेरो जीवनकथा कसैलाई भनिन

यो जन्मभरि सहेको व्यथा कसैलाई भनिन“ ।

काठमाडौंमा उनको एकल साङ्गीतिक साँझका रूपमा अरुणाञ्जली आयोजना भयो । आजभन्दा झन्डै दुई दशकभन्दा अघि आयोजना भएको सो अरुणा लामा स्वर्णिम साँझमा उनलाई मोटो नगद थैलीका साथै स्वरकिन्नरी तथा स्वर साम्राज्ञीको नाममा मानार्थ सम्मान पनि दिइएको थियो, जसको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गरेको थियो । नेपालको सरकारी क्षेत्रबाट उपेक्षित भए पनि निजीक्षेत्रबाट भने उनी मनग्गे सम्मानित भइन्, जसको पुष्टि नरेन्द्रराज प्रसाईंले लेखेको अरुणा लामा: कथा र व्यथा नामक पुस्तकले पनि गर्दछ । यसपश्चात् दार्जिलिङको उही गोर्खा दुःख निवारक सम्मेलनमा उनको अर्को एकल सांगीतिक कार्यक्रम राग रजत नाममा पुनः आयोजना भएको थियो ।

काठमाडौं र दार्जिलिङ आउजाउ गरिहन्थिन् अरुणा । जसले गर्दा दुवैतिरका भावनामय भावकहरूको रोजाइमा परिन् । जीवनका दुःखान्त व्यथाहरूलाई गीतमा उमार्ने ट्राजेडी क्वीन २०५४ माघ २२ गते एकाएक स्रोताहरूलाई आफ्ना दुःखान्त गीतहरू छाडेर अनन्तमा बिलाइन् । नेपाली सुगम संगीतको यसरी एउटा धाराको सूर्यास्त भयो, जसको क्षतिपूर्ति पटक्कै सम्भव छैन । तारादेवी, शान्ति ठटाल तथा दिलमाया खातीहरूकी समकालीन अरुणाले पनि लामो आयु पाइनन्, मात्र ५२ वर्षमा उनी अम्बर गुरुङको शब्दमाझै जीवनभर आँसुमा फुलेर भावकहरूका आँखामा पनि आँसु नै बर्साएर अनन्तमा विलीन भइन् । पश्चिम बंगालको विजनबारीमा उनको प्रथम पटक निर्मित पूर्णकदको सालिकको अनावरण संगीतसाधक अम्बर गुरुङबाट भयो । यो पनि मरणोपरान्त एउटा सार्थक सम्मान नै हो भन्न सकिन्छ । हालै पनि भारतको सिलिगुडीनजिक सालबाडीमा उनको अर्धकदको सालिक बनेको छ, जसको अनावरण संगीतकार शान्ति ठटालबाट हुन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्