नयाँ पुस्ताले धानेको फिल्म क्षेत्र



दीपेन्द्र के खनाल नेपाली फिल्म जगतमा नयाँ पुस्ताका निर्देशकमात्र नभई  उनलाई नयाँ सोच र सिर्जनात्मक शैली प्रस्तुत गर्ने क्षमताा निर्देशकका रुपमा पनि लिईन्छ । उनले आफ्नो पहिलो फिल्म द युगदेखि युगसम्ममा अभिनेता राजेश हमाललाई उनको चिरपरिचित आवृत्तिलाई बदल्न लगाएर चर्चा कमाएका थिए ।

विजयरत्न तुलाधर
कु नै बेला नीर शाह, लक्ष्मीनाथ शर्मा, तुलसी घिमिरे, शम्भु प्रधान, दयाराम दाहाल, मदन घिमिरेजस्ता निर्देशकहरु चल्तीका निर्देशकका रूपमा चिनिन्थे । तर, अहिले स्थिति बदलिएको छ । नीर शाहको सेतो बाघ, तुलसी घिमिरेको दर्पणछाया–२, शम्भु प्रधानको रंगबैजनी र दयाराम दाहालको रानी नामका फिल्मले दर्शकको मनमा कुनै प्रभाव पार्न सकेनन् ।
पछिल्ला दिनमा रिलिज भएका फिल्ममा फाटेको जुत्ता र झ्यानाकुटीले दर्शकको मनमा केही हदसम्म प्रभाव पार्न सफल भएको देखियो । यीमध्ये फाटेको जुत्ताका निर्देशक निकेश खड्का हुन् भने झ्यानाकुटीका निर्देशक सिमोस सुनवार हुन् । यी दुवै निर्देशकलाई नेपाली फिल्म जगत्का नयाँ पुस्ताका रूपमा लिन सकिन्छ । सिमोस सुनवारले यसभन्दा अघि मिसन पैसा र फस्र्ट लभ अनि निकेश खड्काले जिन्दगी रक्स बनाइसकेका छन् ।
यो वर्षको सर्वाधिक सफल फिल्म भनेको छक्का पञ्जा–२ हो । यो फिल्मकी निर्देशक दीपाश्री निरौला हुन् । उनले योभन्दा अघि पहिलोपटक निर्देशन गरेको छक्का पञ्जाले नेपालको फिल्म इतिहासमा सर्वाधिक रकम आर्जन गरेको कीर्तिमान कायम गरेको थियो भने नामले सिक्वेलको रूपमा बनाइएको छक्का पञ्जा–२ पनि कीर्तिमानी दौडमा अगाडि नै रहेको छ । अभिनय जगत्मा दुई दशकभन्दा बढी समय व्यतित गरिसके पनि  दीपाश्री निरौला फिल्म निर्देशन भने नयाँ नाम नै हो । यस हिसाबमा उनलाई नयाँ पुस्ताका निर्देशक मान्न सकिन्छ भने उनी अहिले सफलताको कीर्तिमान बोकेकी निर्देशक हुन् ।
दीपाश्री निरौलाजस्तै झरना थापा पनि फिल्म निर्देशनको फाटमा नयाँ पुस्ताका निर्देशकका रूपमा अवतरण भएकी छिन् । अभिनय क्षेत्रमा लामो समय बिताइसकेकी झरना थापाको निर्देशनमा बनेको पहिलो फिल्म ए मेरो हजुर–२ हो । र, यो फिल्म पनि यसै वर्ष प्रदर्शन भई सफल घोषित भएको छ । निर्देशक दीपाश्री निरौलाले आफ्नो फिल्ममा दीपकराज गिरी र प्रियंका कार्कीलगायतका चिरपरिचित अनुहारलाई अभिनय गराएकी छिन् भने निर्देशक झरना थापाको ए मेरो हजुर–२ मा साम्राज्ञीराज्य लक्ष्मी शाह, सलिनमान बनियाँ र अमर सुवेदीलगायतका नयाँ पुस्ताका कलाकारलाई अभिनय गराएर आफूलाई नयाँ पुस्ताका निर्देशकका रूपमा स्थापित गराउने कोशिस गरेकी छिन् ।
नयाँ पुस्ताका निर्देशकको चर्चा गर्दा सबैभन्दा चर्चा कमाएको नाम भनेको सुदर्शन थापा हो । मेरो एउटा साथी छबाट निर्देशन यात्रा शुरु गरेका सुदर्शनले नम्रता श्रेष्ठदेखि पूजा शर्माजस्ता नायिकालाई पर्दामा स्थापित गराउन ठूलो भूमिका खेलेका छन् भने आर्यन सिग्देललाई एक नायकका रूपमा लोकप्रियता दिलाउने पनि उनै हुन् । सुदर्शन थापासँगै सहकार्य गरेर निर्देशन क्षेत्रमा आएका दिनेश राउतले आई लभ यु, नोभेम्बर रेन र क्लासिकजस्ता प्रेम कथामा आधारित फिल्म बनाए भने पर्वजस्तो रोमाञ्चकारी (थ्रिलर) कथामा पनि फिल्म बनाएका छन् । प्रेमकथामा नै ख्याति कमाएका निर्देशक सुदर्शन थापाले के यो माया हो, मेरो लभ स्टोरी, प्रेम गीत र म यस्तो गीत गाउँछुजस्ता प्रेममय फिल्मका साथै धन्दाजस्तो पृथक स्वादको फिल्म पनि बनाएका छन् ।
सुदर्शन थापापछि निश्चल बस्नेतलाई नयाँ पुस्ताका निर्देशकहरुमा एउटा बेग्लै स्थान ओगट्न सफल निर्देशकका रूपमा लिन सकिन्छ । उनको आगमन त्यतिबेला भयो, जतिबेला नेपाली फिल्म एकपछि अर्को हुँदै असफलताको भूमरीमा परिरहेका थिए । लगातारको असफलताले रनभुल्लमा परिरहेको फिल्म जगत्मा निश्चल बस्नेतको लुट एउटा प्राणवायु सञ्चार गर्न सफल भएको फिल्म हो ।  लुटको सफलता सँगसँगै सौगात मल्ल र दयाहाङ राईको पनि अभिनेताका रूपमा लोकप्रियताको यात्रा अगाडि बढेको थियो भने यसै फिल्मबाट सुशीलराज पाण्डे, प्रवीण खतिवडा र प्रतीकराज पाण्डेजस्ता अभिनेताले आ–आफ्ना अभिनय यात्रा शुरु गर्ने अवसर पाए ।  लुटपछि निर्देशक निश्चल बस्नेतले टलकजंग भर्सेस टुल्के जस्तो बेग्लै परिवेश बोकेको फिल्म बनाए । यसै फिल्मबाट खगेन्द्र लामिछाने एक सशक्त अभिनेता र फिल्म लेखकका रूपमा उदाए । पछि गएर उनी  पशुपतिप्रसादमार्फत स्थापित पनि भए । पशुपतिप्रसादका निर्देशक दीपेन्द्र के खनाल हुन् ।
दीपेन्द्र के खनाल नेपाली फिल्म जगत्मा नयाँ पुस्ताका निर्देशक मात्र नभई उनलाई नयाँ सोच र सिर्जनात्मक शैली प्रस्तुत गर्ने क्षमताका निर्देशकको रूपमा पनि लिइन्छ । उनले आफ्नो पहिलो फिल्म द युगदेखि युगसम्ममा अभिनेता राजेश हमाललाई उनको चिरपरिचित आवृत्तिलाई बदल्न लगाएर चर्चा कमाएका थिए । यसका लागि राजेश हमालको परिचित शैलीको केश विन्याससमेतमा परिवर्तन गराएका थिए । उनी नेपालको पहिलो थ्रिडी फिल्म भिजिलान्तेका पनि निर्देशक हुन् । द युगदेखि युगसम्म र धर्माजस्ता उनका प्रारम्भिक फिल्मले दर्शकको मनमा कुनै छाप छोड्न सकेन तर पछि चपली हाइट, झोलेदेखि पशुपतिप्रसाद र धनपतिसम्मको यात्रामा उनका केही फिल्म भने अपेक्षाकृतरूपमा सफलता पाउन नसके पनि उनी एक सिर्जनशील निर्देशकका रूपमा स्थान बनाउन सफल भएका छन् ।
सदावहार अभिनेताको दर्जा पाएका नायक भुवन केसी ड्रिम्स नामक फिल्म निर्देशन गरेर नयाँ पुस्ताका निर्देशकका रूपमा देखा परे पनि उनले आफूलाई एक निर्देशकका रूपमा भन्दा बढी अभिनेता र निर्माताका रूपमा नै स्थापित हुन चाहन्छन् ।
अहिलेका उदीयमान नायकका रूपमा अगाडि बढिरहेका आयुष्मान देशराज जोशीका भाइ आशिरमान देशराज जोशी पनि अहिले अभिनय क्षेत्रमा प्रवेश गरिसकेका छन् ।  उनले अभिनय गरेको पहिलो फिल्म ग्यांगस्टर ब्लुज हो । यस फिल्मका निर्देशक हेमराज बीसी हुन् । होस्टेलजस्तो सफल फिल्मबाट निर्देशन यात्रा थालेका हेमराज बीसीले होस्टेलबाट अनमोल केसी, गौरव पहाडी र सलोन बस्नेतलाई नयाँ पुस्ताका अभिनेताका रूपमा स्थापित गराउन सफल भएका थिए भने जेरीबाट आना शर्मा र गाजलुबाट सृष्टि श्रेष्ठलाई यो क्षेत्रमा प्रवेश सफलतापूर्वक प्रवेश गराएका थिए ।  गाजलु उनको निर्देशनमा बनेको अर्को फिल्म हो । यी तीनै फिल्ममा अनमोल केसीले प्रमुख भूमिका निर्वाह गरेका थिए । उनी आफ्नो नयाँ फिल्म ग्यांगस्टर ब्लुजमा पनि अनमोल केसीलाई नै लिन चाहन्थे तर अनमोलले नभ्याउने भएपछि आशिरमान देशराज जोशीलाई पहिलोपटक पर्दामा अवतरण गराएका थिए ।
हेमराज बीसीले पर्दामा अवतरण गराएका सबैजसो कलाकारले नेपाली चलचित्रको अभिनय जगत्मा राम्रै स्थान ओगट्न सफल भएका छन् । अनमोल केसी र सलोन बस्नेत यसको ज्वलन्त उदाहरण हुन् । अहिलेसम्म ५ फिल्म बनाइसकेका हेमराज बीसीको होस्टेल, जेरी र गाजलु सफल फिल्मको दर्जामा परेका छन् भने सम्बोधन र ग्यांगस्टर ब्लुजले त्यो दर्जा
पाउन सकेन । 
नयाँ पुस्ताका निर्देशकहरुको चर्चा गर्दा छुटाउन नहुने एउटा नाम भनेको रामबाबु गुरुङको पनि हो । केही वर्षअगाडि आदिवासी जनजाति मातृभाषाको मर्म बोकेको अनागरिक निर्देशन गरी उनले यो क्षेत्रमा प्रवेश गरेका थिए । उनको पहिलो फिल्मले यो क्षेत्रमा एउटा प्रभाव छोड्न सफल भए पनि मूलधारबाट भने उनी टाढै थिए । यसको केही वर्षपछि निर्देशक रामबाबु गुरुङ कबड्डी लिएर मूलधारमा प्रवेश गरे । उनको यो फिल्म भने सफल सावित भयो । यसपछि उनले यसैको सिक्वेलको रूपमा कबड्डी कबड्डी बनाए । उनको पछिल्लो फिल्म पुरानो डुंगा हो । उनका सबैजसो फिल्मले राम्रै प्रशंसा बटुल्न सफल भयो । अहिलेका सबैभन्दा व्यस्त मानिने अभिनेता दयाहाङ राईले अभिनय गरेको पहिलो फिल्म रामबाबुकै अनागरिक हो भने पछि उनले बनाएका तीनैवटा फिल्ममा दयाहाङ एक अभिन्न अंगका रूपमा रहँदै आएका छन् ।
नयाँ पुस्ताका निर्देशकका बारेमा चर्चा गर्दा बिर्खेलाई चिन्छस् बनाएका अराज केशव गिरी अनि माला बनाएका बोबी भूपाल सिंह तथा अपवाद, आवरण र पलाँससम्मको यात्रा तय गरेका सुवास कोइरालाको नाम पनि उल्लेखनीय हुन आउँछ भने हँसियाबाट निर्देशन यात्रा थालेका मिलन चाम्स पनि नयाँ पुस्ताका एक सशक्त निर्देशक हुन् । उनले बनाएको हँसियाले कुनै खास प्रभाव पार्न सकेन ।तर, गतवर्ष रिलिज भएको उनले बनाएको वीरविक्रमले राम्रै सफलता हासिल गरेको थियो ।
वर्तमान परिपे्रक्षमा चर्चा गर्दा मिलन चाम्सलाई अहिलेका सबैभन्दा व्यस्त नयाँ पुस्ताका निर्देशक भन्नुपर्दछ । उनको निर्देशन रहेको सत्य घटनामा आधारित ब्लाइन्ड रक अहिले प्रदर्शनमा छ भने उनको निर्देशनको ह्याप्पी डेज र बोबी निर्माणको अन्तिम चरणमा पुगिसकेको छ । अहिले उनी नयाँ फिल्म लिलिबिलीको छायांकनमा व्यस्त छन् । यसरी हेर्दा अहिले नेपाली फिल्मको निर्देशन क्षेत्र नयाँ पुस्तामय भएको छ ।
सदावहार अभिनेताको दर्जा पाएका नायक भुवन केसी पनि ड्रिम्स नामक फिल्म निर्देशन गरेर नयाँ पुस्ताका निर्देशकका रूपमा देखा परे पनि उनले आफूलाई एक निर्देशकका रूपमा भन्दा बढी अभिनेता र निर्माताका रूपमा नै स्थापित हुन चाहन्छन् । त्यसैले उनले निर्माता सुवास गिरीसँगको संयुक्त लगानीमा बनाएको कृको निर्देशनको जिम्मा नाम चलेका सदावहार अभिनेताको दर्जा पाएका नायक भुवन केसी पनि सम्पादक सुरेन्द्र पौड्याललाई दिएका छन् भने अब आफ्नै ब्यानरमा बनाउन लागेको फिल्मको निर्देशन दिवाकर भट्टराईलाई सुम्पने भएका छन् । दिवाकर भट्टराईको निर्देशनमा बनेको ऐश्वर्य व्यावसायिकरूपमा सफल सावित भएको छ भने भुवन केसीको डेब्यु डाइरेक्सन ड्रिम्सका उनी सहनिर्देशक हुन् ।
अहिलेका नयाँ पुस्ताका निर्देशकका रूपमा आफ्नो यात्रा अगाडि बढाइरहेका अर्का निर्देशक प्रदीप भट्टराई पनि हुन् । गतवर्ष उनको निर्देशनमा बनेको जात्राको सफलताको कथा यहाँ दोहोर्याइरहनुपर्दैन । अहिले उनी आफ्ना गुरुहरु मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलगायतको लगानी रहेको फिल्म शत्रु गतेको निर्देशनमा व्यस्त छन् । लुटको टिममा रहेका निगम श्रेष्ठले एक स्वतन्त्र निर्देशकका रूपमा भिसा गर्ल बनाएका थिए ।
आफ्नो पहिलो फिल्मको करिब ५ वर्षपछि बल्ल उनले लभ सासा बनाए । उनका दुवै फिल्मले व्यावसायिक सफलता भने प्राप्त गर्न सकेन । अहिले नयाँ निर्देशकको प्रवेश उल्लेख्य रूपमा वृद्धि भइरहेको छ । त्यस्ता निर्देशकमा दुई रुपियाँका निर्देशक आशिम शाह पनि एक हुन् । कर्कश फिल्मबाट यो क्षेत्रमा
भित्रिएका आशिम शाहले त्यसपछि अर्को फिल्म बनाएका छैनन् ।
जंगेका निर्देशक उत्कल थापा, अध्यायका प्रवीण स्याङ्बो, तान्द्रोका साम्तेन भुटिया, संरक्षणका पूर्णेन्दु झा, सायद–२ का पुष्पराज न्यौपाने, डायरीका अनिल योञ्जन, शब्दका सन्तोष शिवाकोटी, भ्रमका रवीन्द्र शाही, बिजुली मेसिनका नवीन अवाल, द विनरका हिक्मत विष्ट, सफरका आशिष श्रेष्ठ, जंगबहादुरको कोटका आशिष भेटवाल, म त तिम्रै हुँका श्रीराम महत, लुकामारीका श्रीराम दाहाललगायतका नयाँ पुस्ताका धेरै निर्देशकले पछिल्ला दिनमा आफ्नो यात्रा अगाडि बढाएका छन् भने तीबाहेक अभिनेताका रूपमा दह्रिलो स्थान बनाएका अर्पण थापा पनि निर्देशकका रूपमा आफूलाई स्थापित गराउने प्रयासमा छन् ।
उनले केही वर्षअगाडि मल्टी स्टारर फिल्म मुखौटा बनाएका थिए भने यो वर्ष उनको आधा लभ प्रदर्शनमा आएको छ । लेखकका रूपमा सफलता कमाएका जगदीश्वर थापा राधेबाट निर्देशक बनेका छन् भने फिल्म पत्रकारका रुपमा चिनिएका दिपेन्द्र लामा घामपानीबाट निर्देशक बनेका छन् । पत्रकारबाट निर्देशक बनेकाहरुमा राहदानीका डब्बु क्षत्री, अधकट्टीका सुव्रत आचार्य, लालजोडी र एउटा साथीका लक्ष्मण सुवेदी, द फेमसका समीर बलामी पनि नयाँ पुस्ताका निर्देशक हुन् ।
यस्तै गरी झुम्कीका अपिल विष्ट पनि नयाँ पुस्ताका निर्देशक हुन् । नयाँ पुस्ताका निर्देशकहरुमध्ये राष्ट्रिय अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रतिष्ठा र पृथक पहिचान बनाउन सफल हुनेहरुमध्ये पहिलो नाम नुमाफुङका निर्देशक नवीन सुब्बा हुन् भने चौकठ, हाई वे र सेतो सूर्य बनाएका दीपक रौनियार, कालो पोथीका मीनबहादुर भाम, सुनगाभाका सुवर्ण थापाजस्ता निर्देशकको नाम पनि यहाँ उल्लेखनीय हुन आउँछ ।
              
वास्तवमा भन्ने हो भने अहिलेको फिल्म जगत् नयाँ पुस्ताकै काँधमा पुगिसकेको छ । विशेष गरेर अभिनय क्षेत्रमा नयाँ अनुहारको बाहुल्यता रहेको छ भने निर्देशनमा पनि नयाँ पुस्ता नै हावी भइरहेको छ । ती सबै निर्देशकको चर्चा गर्ने हो भने एउटा ठेली नै बन्नेछ । त्यसैले यहाँ केही प्रतिनिधि निर्देशकको मात्र नामलाई चर्चाको विषय बनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्