पुष्करलालको नजरमा के थिए अवार्डमा करेक्सन !



-विदुर गिरी

उहाँकै संयोजनमा २०४३ सालमा लायन्स क्लब अफ विशाल बजारले आयोजना गरेको पहिलो फिल्म अवार्ड सफलरुपमा सम्पन्न हुन सम्भव भयो। उहाँले २०४५ सालमा पहिलोपटक कलाकार प्राविधिकबीच मैत्रीपूर्ण फुटबल खेल खेलाएर भूकम्पपीडितको घाउमा मल्हम लगाउन सहयोगी भूमिका खेल्नुभयो। २०४४ सालमा फिल्मी कलाकार र संगीतकर्मीलाई एकै ठाउँमा भेला पारी कामना साँझको आयोजना गर्नुभयो।

‘यसपालिको अवार्ड समारोह अहिलेसम्मकै उत्कृष्ट भएको छ, तर पनि धेरै कुरामा करेक्सन गर्नुपर्ने छ‘ सिजी लक्स कामना फिल्म अवार्डस् २०७५ सम्पन्न भएलगत्तै अचानक अस्वस्थ हुनुभएका यस अवार्ड आयोजक समितिका निर्देशक तथा कामना न्यूज पब्लिकेसन्स्का प्रधान सम्पादक पुष्करलाल श्रेष्ठले भन्नुभएको थियो।

तर सुधार गर्नुपर्ने कुरा केके थिए उहाँको नजरमारु अब यसको जवाफ कहिल्यै नदिने गरी व्यावसायिक सिने पत्रकारिताका प्रणेता, अभिभावक तथा व्यावसायिक र निष्पक्ष पत्रकारिताका धरोहर पुष्करलाल श्रेष्ठ यो धर्तीबाट बिदा हुनुभएको छ, सदा सदाका लागि। यो सत्यप्रति हामीलाई अझै विश्वास हुन सकिरहेको छैन, नगरी सुख पनि छैन।

जुन समयमा वर्षको एउटा फिल्म पनि बन्दैनथ्यो, त्यो समयमा उहाँले नेपाली कलाकार र कला तथा चलचित्र क्षेत्रलाई विषय बनाई कामना सिने मासिक बजारमा ल्याउने अदम्य साहस गर्नुभयो। मानिसहरु भन्थे– ‘पुष्करलालको मति बिग्रियो। यसले बाउबाजेको सम्पत्ति स्वाहा पार्ने भयो।‘ त्यस समयमा सिने पत्रिकाको बजार त के, यसको कल्पनासम्म पनि गर्न सकिँदैन थियो। सिनेमा नै नबन्ने समयमा सिने पत्रिका चलाउनु वास्तवमै सिस्नुको झ्याङमा हात हाल्नुसरह थियो। भारतीय कलाकारले पाएको सामाजिक प्रतिष्ठाबाट लोभिएर नेपाली कलाकार र कला तथा चलचित्र क्षेत्रलाई पनि त्यस्तै मान र प्रतिष्ठा दिलाउने अभिलाषाका साथ पुष्करलालले आजभन्दा साढे ३ दशकअघि कामना सिने मासिकलाई प्रकाशनमा ल्याएर सिने पत्रिकाको हुँदै नभएको बजार मात्र निर्माण गर्नुभएन, यो विधाको पत्रकारितालाई स्थापित गर्दै नयाँ बजारको खोजी गर्नसमेत सफल हुनुभयो।

कामनाबाट शुरु भएको पुष्करलालको पत्रकारिता यात्रा साधना डाइजेस्ट (२०४६ साल), सन्ध्याकालीन राष्ट्रिय दैनिक महानगर (२०४८ साल), ब्रोडसिट राष्ट्रिय दैनिक नेपाल समाचारपत्र (२०५२ साल) र वेब पोर्टल न्यूज अफ नेपाल डट कम (२०५९ साल) हुँदै अघि बढिरहेका बेला ६१ वर्षको उमेरमा अचानक स्वास्थ्य समस्यासँग जुध्दा जुध्दै उहाँ परिवार र चिकित्सकको लाख कोसिसका बाबजुद सदाका लागि हामीबाट बिदा हुनुभयो।

नेपाली पत्रकारिता जगत्का नक्षत्र पुष्करलालको प्रसिद्ध व्यवसायी तथा समाजसेवी दम्पती भरतलाल श्रेष्ठ र जमुनादेवी श्रेष्ठका ज्येष्ठ सुपुत्रका रुपमा २०१५ साल साउन २५ गते पृथ्वीपदार्पण भएको थियो। कुशल राष्ट्रिय खेलाडीसमेत रहनुभएका पुष्करलालको २०७६ साल वैशाख ४ गते असामयिकरुपमा स्वर्गारोहण भयो।

अवार्डमा सुधार गर्नुपर्ने कुरा केके थिए उहाँको नजरमा? अब यसको जवाफ कहिल्यै नदिने गरी व्यावसायिक सिने पत्रकारिताका प्रणेता, अभिभावक तथा व्यावसायिक र निष्पक्ष पत्रकारिताका धरोहर पुष्करलाल श्रेष्ठ यो धर्तीबाट बिदा हुनुभएको छ, सदा सदाका लागि। यो सत्यप्रति हामीलाई अझै विश्वास हुन सकिरहेको छैन, नगरी सुख पनि छैन।

कामना न्यूज पब्लिकेसन्स्, नेपाल मिडिया सोसाइटी र इन्टरनेसनल प्रेस इन्स्टिच्युट नेपाल नेसनल कमिटीका संस्थापक अध्यक्ष, कामना सिने मासिक, साधना स्वास्थ्य र सौन्दर्य मासिक, महानगर सन्ध्याकालीन दैनिक, नेपाल समाचारपत्र राष्ट्रिय दैनिक र न्यूज अफ नेपाल डट कमका संस्थापक प्रधान सम्पादक पुष्करलालको योगदान पत्रकारिताबाहेक समाजसेवा, खेललगायतका क्षेत्रमा समेत फैलिएको छ। उहाँलाई चिन्ता थियो नेपाली राजनीति र देशको। उहाँलाई पिर थियो नेपाली कला र चलचित्र क्षेत्रको। त्यसैले नेपालको राजनीति र देशले बाटो बिराउँदा उहाँ जीवनको अन्तिम क्षणसम्म पनि निडर भई कलममार्फत सचेत गराइरहनुहुन्थ्यो। प्रजातन्त्रका लागि भएको जनआन्दोलन पहिलोमा उहाँको योगदान उल्लेख्य थियो। राजनीतिक दलीय स्वार्थभन्दा माथि उठेर लोकतन्त्रलाई आम जनतासम्म पुर्‍याउन नेपाल समाचारपत्रमार्फत उहाँले व्यावसायिक ढंगले बलियो सहयोग पुर्‍याउनुभयो। देश र विदेशमा समेत यसका समाचार र विचारको पहुँच रहेकाले नेपाली पाठकलाई जनताको अधिकारप्रति सचेत गराउन उहाँ निकै सफल हुनुभयो। सँगसँगै नेपालकै पहिलो निजी प्रकाशन गृहका रुपमा कामना न्यूज पब्लिकेसन्स्लाई अगाडि बढाउन सफल हुनुभयो। व्यावसायिक पत्रकारिता क्षेत्रको सिर्जनशील व्यक्तित्व पुष्करलाल नयाँ नयाँखाले इभेन्टको शुरुआत गर्न पनि निकै सिपालु हुनुहुन्थ्यो। उहाँकै संयोजनमा २०४३ सालमा लायन्स क्लब अफ विशाल बजारले आयोजना गरेको पहिलो फिल्म अवार्ड सफलरुपमा सम्पन्न हुन सम्भव भयो। उहाँले २०४५ सालमा पहिलोपटक कलाकार प्राविधिकबीच मैत्रीपूर्ण फुटबल खेल खेलाएर भूकम्पपीडितको घाउमा मल्हम लगाउन सहयोगी भूमिका खेल्नुभयो।

२०४४ सालमा फिल्मी कलाकार र संगीतकर्मीलाई एकै ठाउँमा भेला पारी कामना साँझको आयोजना गर्नुभयो। उहाँले पहिलोपटक अनुसन्धानमूलक मासिक म्योगेजिन साधना र आजको समाचार आजै पढ्न पाउनुपर्ने पाठकको अधिकारको सम्मान गर्दै पहिलोपटक नै सन्ध्याकालीन महानगर प्रकाशनमा ल्याउनुभयो। महानगरमार्फत साँझमा पत्रिका बिक्री गर्न हकर सिस्टमको विकास पनि उहाँले नै गर्नुभयो। उहाँकै सोचअनुरुप नेपाल समाचारपत्र दैनिकका साथ शनिवासरीय विशेषांकस्वरुप म्यागाजिन शैलीमा सौगात प्रकाशनमा ल्याइएको थियो भने इन्टरनेटको जमाना नै नभएको समयमा उहाँले वल्र्डकप फुटबल प्रेमीका लागि त्यससम्बन्धी विशेष म्यागेजिनसमेत प्रकाशन गर्दै आउनुभएको थियो। त्यस समयमा वल्र्ड कपको टाइसिट साधना म्यागेजिनमा मात्र उपलब्ध हुन्थ्यो।

छापा पत्रिकाको विज्ञापनको क्षेत्रमा ज्याकेट पेज, टप स्ट्रिप र अन्य धेरै नयाँ प्रयोगका साथ विज्ञापनको अवधारणा उहाँकै थियो भने उहाँकै सोचअनुरुप राजधानीबाहिर विराटनगर र देशबाहिर कतारबाट समेत दैनिक पत्रिका प्रकाशन गर्ने थालनी नेपाल समाचारपत्रमार्फत उहाँले नै गर्नुभएको थियो। उहाँको सोच कति फराकिलो थियो भने उहाँको जीवनीलाई समेट्दै समग्र पत्रकारिता क्षेत्रलाई समेटिएको पुस्तक कलम एकै दिन एकैै समयमा विश्वभरबाट सार्वजनिक गरिएको थियो। पहिलो जनआन्दोलनमा गोप्य समूहमा बसेर गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईजस्ता राजनीतिज्ञलाई ब्ल्याक आउट, विद्युत् र पानीको महसुलको शुल्क नतिर्न तथा राजपरिवारले बैंकमा भएका सबै रकम विदेश लाने योजना बनाएकाले सबै जनतालाई बैंकमा भएको आप्mनो रकम झिक्न आह्वान गर्नेजस्तो आन्दोलन चर्काउने जुक्ति सिकाउन सघाउनुभएका उहाँले प्रजातन्त्र प्राप्तिपछि कृष्णप्रसाद भट्टराईबाट नेसनल ट्रेडिङको जीएम र पछि शाहीकालमा राजा ज्ञानेन्द्रबाट सञ्चारमन्त्री बन्ने अफर पाउनुभयो। तर उहाँले यसप्रकारका अफरलाई सधैं तिलाञ्जली दिँदै आउनुभयो, केबल निष्पक्ष पत्रकारितामै जीवन उत्सर्ग गर्ने उद्देश्यले।

आदरणीय पत्रकार पुष्करलाल, तपाईं जहाँ भए पनि हामी सम्झिरहनेछौं तपाईंलाई, तपाईंको योगदानलाई, तपाईंको राष्ट्रभक्तिलाई अनि पछ्यारहनेछौं तपाईंले कोर्नुभएको मार्गलाई।

प्रतिक्रिया दिनुहोस्