पुष्करलाल मिडिया अवार्ड २०७६



रामकृष्ण मानन्धर

कामना न्यूज पब्लिकेसन्स्का प्रधान सम्पादक तथा यस कामना फिल्म अवार्डस्का संस्थापक आदरणीय पुष्करलाल श्रेष्ठका नाममा यस वर्षबाट अवार्डको थालनी गरिएको छ। पुष्करलाल मिडिया अवार्डका नाममा प्रदान गरिने यस वर्षको यो अवार्ड समर्पित गरिएको छ अढाइ दशकदेखि नेपाली मिडिया जगत्का प्रभावशाली व्यक्तित्वका रुपमा स्थापित रामकृष्ण मानन्धरलाई।

कुनै दिन नागरिक उड्डयनका क्षेत्रमा सरकारी जागिरे रहनुभएका उहाँले राजनीति शास्त्रमा गोल्ड मेडल हासिल गरेर पनि राजनीति गर्नुभएन। बहुआयामिक मानन्धरले २०५१ सालतिर रेडियो नेपालसँग समय किनेर सूचना क्षेत्रमा पहिलो पाइला चाल्नुभयो भने २०५२ सालमा नेपाल टेलिभिजनसँग दैनिक डेढ घण्टा समय किनेर इमेज च्यानल टेलिभिजन प्रसारण गरी नेपाली कला, संगीत र मनोरञ्जन क्षेत्रलाई माथि उठाउन अहं भूमिका खेल्नुभयो।

सिर्जनशील र लगनशील मानन्धर आज इमेज च्यानललाई निजीक्षेत्रको एक अग्रणी सञ्चार संस्थाका रुपमा उभ्याउन सफल हुनुभएको छ। एफएम रेडियोमा निजीक्षेत्रलाई प्रवेश दिने सरकारी नीति आएलगत्तै उहाँले ९७.९ मेघा हर्जको फ्रिक्वेन्सीमार्फत २०५५ सालबाट काठमाडौंमा केएटीएच एफएमको थालनी गर्नुभयो, जुन हिजोआज इमेज एफएम ९७.९ का नामले लोकप्रिय छ। अहिले १०३.६ मेघाहर्जमा इमेज न्यूज एफएम प्रसारण भइरहेको छ भने इमेज च्यानल टेलिभिजन सत्य–तथ्य, निष्पक्ष र विश्वसनीय सूचनासँगै नेपाली गीत संगीत र मनोरञ्जन क्षेत्रका लागि सारथी सावित भएको छ। साथसाथै नेपाली कला र संगीतको क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि इमेज अवार्डको आयोजना गरी यो क्षेत्रलाई मलजल गर्न थप टेवा दिँदै आउनुभएको छ। नेपाली सञ्चार क्षेत्रमा स्वदेशी पुँजी, श्रम र सोचको सम्मान र प्रवद्र्धनका लागि निरन्तर प्रयासरत इमेज च्यानलका अध्यक्ष एवं प्रबन्ध निर्देशक आरके मानन्धरलाई नगद १ लाख रुपियाँसहित पुष्करलाल मिडिया अवार्ड २०७६ समर्पण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्