भरतलाल ह्युम्यानिटेरियन अवार्ड २०७६



लायन सोनाम साङ्पो

जुन बेला नेपालमा मुस्किलले वर्षको दुई तीनवटा पनि फिल्म निर्माण हुँदैन थियो, त्यो बेला नेपालमा भव्य फिल्म अवार्ड कार्यक्रम शुरु गरेर फिल्म अवार्डको क्षेत्रमा इतिहास निर्माण गर्ने व्यक्ति को होलान् तरु हामी सबैमा यो जिज्ञाशा हुनु स्वाभाविकै हो। उहाँ हुनुहुन्छ श्रद्धेय भरतलाल श्रेष्ठ।

नेपाली फिल्मलाई उद्योगका रुपमा स्थापित गराउन र नेपाली कलाकारलाई समाजमा यति ठूलो मानमर्यादा, प्रतिष्ठा र सेलिब्रेटी बनाउन पत्रकारीतामार्फत जुन परिवारले साढे तीन दशकभन्दा लामो समयदेखि अनवरतरुपमा तपस्या गरिरहेको छ। हो उही कामना मासिकका जन्मदाता, कामना न्यूज पब्लिकेसन्स्का संस्थापक अध्यक्ष भरतलाल श्रेष्ठ नै नेपाली अवार्ड कार्यक्रमका पनि जन्मदाता हुनुहुन्छ। फिल्म अवार्डलाई निरन्तरता दिने क्रममा २०७१ सालमा उहाँले नै सिजी कामना फिल्म अवार्डको पुनः थालनी गर्नुभएको थियो। नेपाली चलचित्र र नेपाली कलाकारलाई अत्यन्त माया गर्ने सहृदयी तथा मृदुभाषी उनै भरतलाल श्रेष्ठ नेपाली फिल्म अवार्ड कार्यक्रमको निरन्तरतालाई अघि बढाउने क्रम नयाँ पुस्तालाई हस्तान्तरण गर्दै २०७२ साल फागुन २ गते यस संसारबाट बिदा हुनुभयो। लायन्स क्लबका पूर्व डिस्ट्रिक गभर्नर भरतलाल श्रेष्ठको अगुवाइमा मिति २०४३ साल वैशाख १७ गते पहिलो भव्य एवं सभ्य अवार्ड कार्यक्रमको आयोजना भएको थियो। बलिउडकी त्यसबेलाकी सुप्रसिद्ध अभिनेत्री सबना अजमीको सहभागितामा भएको त्यस स्तरीय एवं लोभलाग्दो कार्यक्रम अत्यन्त भव्य र आकर्षक थियो।

लोकप्रिय समाजसेवी उनै भरतलाल श्रेष्ठको स्मृतिमा यस वर्षबाट समाजसेवाको क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्न प्रारम्भ गरिएको छ। भरतलाल ह्युम्यानिटेरियन अवार्ड २०७६ का नाममा प्रदान गरिने यो अवार्ड यस वर्ष समर्पण गरिएको छ समाजसेवी लायन सोनाम साङ्पोलाई।

साधा जीवन उच्च विचारका व्यक्तिको दृष्टान्त सोनाम साङ्पोको शुभनाम शिक्षासेवीका रुपमा पोखरा क्षेत्रमा लोकप्रिय छ। सरकारी विद्यालयलाई प्रयोगशाला बनाइदिएर र त्यसका उपकरण जुटाइदिएर, पाठ्यसामग्री–पोसाक–पिउने पानीको व्यवस्था गरिदिएर साङ्पोले स्याबासी कमाउनुभएको छ। बालबालिकाका लागि पार्कसम्म बनाइदिने उहाँ २०७२ सालको भूकम्पको संकटपूर्ण घडीदेखि अन्य सामान्य अवस्थामा समेत खाद्यान्न, त्रिपाल, औषधीदेखि रक्तदानसम्मको व्यवस्था गरिदिने एक सक्रिय समाजसेवीका रुपमा परिचित हुनुहुन्छ। खास गरी पोखरा, साराङ्कोट, तल्लो मुस्ताङ, तनहुँ आदि क्षेत्रमा उहाँ बढी सक्रिय देखिए पनि मुलुकभरि नै उहाँको योगदान विस्तारित छ।

उदार मन र सहयोगी भावनाका लायन सोनामको समर्पण देखेर नै अमेरिका, बेलायत, जापान, जर्मनी, सिंगापुर आदि मुलुकबाट सहयोग प्राप्त भइरहेको छ। जसले शिक्षा, स्वास्थ्यलगायतका सामाजिक सेवाका लागि आर्थिक स्रोत जुटाउन सम्भव भएको छ। लायन्स क्लब अफ पोखरा अन्नपूर्णमा रहेर विभिन्न देशबाट वैदेशिक सहयोग जुटाई आप्mनो वरिपरिका विद्यालय र स्वास्थ्य केन्द्रमा मात्र उहाँ खर्च गर्नुहुन्न, अरु लायन्स क्लबहरुलाई पनि बाँड्नुहुन्छ, जसले गर्दा टाढा–टाढाका आकांक्षीहरु पनि लाभान्वित भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्