कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) २०७६



नीर शाह (कलातर्फ)

सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा यस वर्षको गोदरेज नम्बर वन कामना फिल्म अवार्डस् २०७६ अन्तर्गत कीर्तिमय दीर्घ योगदान सम्मान ९लाइफ टाइम अचिभमेन्ट अवार्ड० २०७६ कलातर्फ यस वर्ष ५ दशकदेखि अविछिन्नरुपमा रंगमञ्चदेखि सानो र ठूलो पर्दाको क्षेत्रमा अभिनय तथा गीत र चलचित्र लेखन एवं निर्माण र निर्देशन गरेर यो क्षेत्रलाई विशिष्ट योगदान पुर्‍याउने कलासाधक नीर शाहलाई प्रदान गरिएको छ।

अभिनेता, रंगकर्मी, निर्माता, निर्देशक, लेखक, गीतकार र प्रशासक। ५ दशकको अथक कलायात्रामा यस्तो बहुआयामिक कलासाधकको परिचय बनाउनुभएको छ नीर शाहले। ३० को दशकमा वासुदेवजस्तो सार्थक फिल्म निर्देशन गरेर वाहवाही कमाउनुभएका शाह अभिनय, निर्देशन, गीत रचना र फिल्म लेखनजस्ता सबै क्षेत्रमा सफल हुनुहुन्छ।

२०२४ सालमा परिवर्तन नामक फिल्ममा अभिनय गरी अभियनयात्रा अगाडि बढाउनुभएका शाहले मनको बाँध, सिन्दुर, बदलिँदो आकाश, वासुदेव, के घर के डेरा, कुसुमे रुमाल, चेलीबेटी, मनकामना, सपना, भाउजू, प्रियसी, छोरी बुहारी, दैव संजोग, घाम छायाँ, नाता रगतको, जीवनसाथी, बुहारी, बाबु साहेब, किस्मत, सानो संसार, छोडी गए पाप लाग्ला, के यो माया हो, कसले चोर्‍यो मेरो मन, हिफाजत, मसान, कहाँ भेटिएला, छक्का पञ्जा, द म्यान फ्रम काठमाण्डुलगायत ३ सयभन्दा बढी फिल्म तथा दर्जनौं नाटक र विज्ञापनका विभिन्न पात्रमा अभिनय गरेर आफ्नो भिन्न र दमदार प्रतिभा प्रदर्शन गर्दै मानक अभिनयको उदाहरणसमेत प्रस्तुत गर्दै आउनुभएको छ। फिल्म वासुदेव निर्देशन गरेर प्रशंषा पाएपछि शाहले २५ वसन्त, वसन्ती, मसान, सेतो बाघ, नेपाल भाषाको राजमतीसहित १ दर्जन फिल्म निर्देशन तथा वासुदेव, राजमती, गुरुचेला, वसन्ती, मसानदेखि नेपाललाई ओस्कार एकेडेमी अवार्डसम्म पुर्‍याउने क्याराभानसम्म गरी २ दर्जन जती चलचित्र निर्माण गरेर बहुआयामिक र सिर्जनशिल व्यक्तित्वको परिचय स्थापित गनुभएको छ।

२०१० साल असोज २६ गते स्वर्गीय देवेन्द्रविक्रम शाह र स्वर्गीय बोधकुमारी शाहको कनिष्ट सन्तानका रुपमा जन्मनुभएका शाहले बाल्यकालबाटै अभिनयप्रति मोहित भई स्कुल भर्नासमेत नहुँदै ७/८ वर्षकै उमेरमा टोलका केटाहरुलाई चौरमा बटुलेर नाटक मञ्चन गर्नुभएको थियो। १२ वर्षको उमेरमा २०२२ सालमा नाटक निर्देशन गर्नुभएका उहाँले निर्देशन गर्नुभएको र उहाँका साथी दीपक उपाध्यायले लेख्नुभएको गरिबको आँसु नामक सो नाटकले उपत्यकाव्यापी पुरस्कार जितेको थियो। तत्पश्चात् उहाँको कलायात्रा आजपर्यन्त अगाडि बढिरहेको छ।

नेपाल टेलिभिजनको स्थापनासँगै संस्थापक अध्यक्ष र महाप्रबन्धकका रुपमा अगाडि बढाई राष्ट्रिय टेलिभिजनको महिमा बढाउन सफल शाहले तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्राज्ञ, नेपाल ओस्कार कलेज अफ फिल्म स्टडिजका संस्थापक अध्यक्ष, प्रेस इन्स्टिच्युटको संस्थापक हुँदै चलचित्र विकास बोर्ड, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्माता संघ, तत्कालीन शाही नेपाली चलचित्र संस्थानलगायतका चलचित्र तथा गैरचलचित्र संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ। उहाँ अभिनय, गीत रचना र फिल्म लेखन, निर्माण र निर्देशन क्षेत्रमा योगदान पुर्‍याएबापत गोरखा दक्षिण बाहु चौथो र तृतीय, सुप्रबल जनसेवाश्री तृतीयलगायतका मान पदवीबाट विभूषित भइसक्नुभएको छ। त्यसै गरी थुप्रै विशष्ट सम्मान र पुरस्कारबाट सम्मानित र पुरस्कृत हुँदै आउनुभएको छ।

प्रतिक्रिया दिनुहोस्