पाथेर पाञ्चाली कष्टसाध्य निर्माणकथा र ओस्कारमा मनोनयन



-कमल सुवेदी

सन् १९४३ तिरको कुरा हो सत्यजित राय भारतको कलकत्ता शहरमा नोकरीका लागि जुत्ता फटाइरहेका थिए। घुम्दाघुम्दै जुन महिनामा एउटा बेलायती कम्पनी जे किमरमा मासिक ८५ रुपियाँ तलब पाउने गरी उनले नोकरी पाए। समयक्रममा त्यही कम्पनीका अधिकृत डीके गुप्ताले नयाँ खुलेको सिग्नेट प्रेसमा छाप्ने पुस्तकहरुको आवरण डिजाइन गर्ने काम पनि उनलाई दिए। यसरी कभर डिजाइन गर्ने क्रममा त्यसताकाका भारतका महसुर लेखक विभूतिभूषण बन्धोपाध्यायको उपन्यास पाथेर पाञ्चालीको आवरण बनाउने मौका रायलाई मिल्यो। उपन्यासलाई मिहिन किसिमले पढेर बनाइएको आवरण चित्र विभूति पत्नी रमा बन्धोपाध्यायलाई औधी मन पर्‍यो। यसरी रायको बुरुसले सुसज्जित पाथेर पाञ्चाली उपन्यास कालान्तरमा विख्यात सिनेनिर्देशक सत्यजित रायको क्यामराले विश्वभर तरङ्ग ल्याउँदै ओस्कारको सफलतासमेत प्राप्त गर्न सकेको छ।

प्रत्येक पटक किस्ता किस्ता गरेर दुई लाख रुपियाँ राज्य सरकारले दिने तर सिनेमाको सर्वाधिकार राज्य सरकारकै हुने निर्णय भयो। राज्य सरकारबाट फिल्म महोत्सवमा सहभागी हुँदा प्राप्त हुने सहयोगको केही हिस्सा रायलाई पनि दिने निर्णय भएको थियो। तर सोबापत उनले जीवनभर एक पैसा पनि नपाएको विजयाले आफ्नो संस्मरणमा उल्लेख गरेकी छिन्।

एउटा बहुल चरित्र भएको भारतवर्षको मौलिकता झल्किने ग्रामीण विषयवस्तुयुक्त उपन्यास पाथेर पाञ्चालीमाथि सिनेमा बनाउन एकाएक हौसिए राय। सबैभन्दा पहिला फिल्माङ्कन गरिने उपन्यासका स्रष्टाबाट कानुनी अनुमति लिनु आवश्यक थियो। तर राय युरोपबाट सिनेमा अध्ययन गरी स्वदेश फर्कंदा विभूतिभूषणको मृत्यु भइसकेको थियो। श्रीमती रमाले आवरण चित्र बनाएको प्रसङ्ग निकालेपछि उनले सहजै स्वीकृति दिइन्। अब अर्थ व्यवस्थापनको समस्या अगाडि आयो। त्यसपछि उनी अनेक निर्माताकहाँ पाइताला खियाउन थाले। कल्पना मुभिजका मिस्टर भट्टाचार्यकहाँ पुगे, तर उनले विभूतिकी श्रीमती रमालाई उचालेर पाथेर पाञ्चालीमाथि तत्कालीन चल्तापुर्जा निर्देशक देवकी बोसले सिनेमा बनाउन चाहेको बताए। रायजस्तो सिनेमाको क, ख, ग नजानेको व्यक्तिलाई पाथेर पाञ्चालीमाथि सिनेमा बनाउन दिनु स्वयं विभूतिशरणमाथिकै अपमान हो समेत भने उनले र आफूलाई सो कृतिमाथि सिनेमा बनाउन दिए १५ हजार रुपियाँ रोयल्टीसमेत दिने लोभ देखाए। श्रीमती रमा भने आफ्नो बचनमा टसमस नभई तिनीहरुलाई खाली हात फर्काइन् र रायलाई दिएको अनुमतिमा अडिग रहिन्।

एक दर्जन जति निर्मातासित सम्पर्क गरे रायले। तर सबैले पीठ मात्र फर्काए र अन्त्यमा उनले आफ्नो बीमालेख ७ हजार ५ सयमा धरौटी राखेर ऋण लिए भने छायाङ्कन युनिटका अन्य सहयोगीले २ हजार रुपियाँको बन्दोबस्त गरे। त्यसपछि कलाकारको खोजी शुरु भयो। त्यसका लागि केही नयाँ अनुहार चाहिन्थ्यो भने केही अनुभवी पनि। आमा सर्वजयाको भूमिकामा करुणा बनर्जी पाए। तर अपु र दुर्गाको भूमिकाका लागि धेरै ठूलो कसरतपछि रायपत्नी विजयाको सहयोगमा उनले अपुको भूमिकामा सुवीर बनर्जी र दुर्गाको भूमिकामा उमा दाश गुप्तालाई पाए। पिताको भूमिकामा कनु बनर्जीलाई अनुबन्ध गरेपछि उनी पुनः अरु निर्माताहरुसित सम्पर्क गर्न पुगे तर कसैले पनि चासो देखाएनन्।

सत्यजित रायले आवरण चित्र बनाएको प्रसङ्ग निकालेपछि श्रीमती रमाले पाथेर पाञ्चाली बनाउन सहजै स्वीकृति दिइन्। निर्माताकहाँ पाइताला खियाउने क्रममा मिस्टर भट्टाचार्यकहाँ पुगे। भट्टाचार्यले विभूतिकी श्रीमती रमालाई उचालेर रायजस्तो सिनेमाको क, ख, ग नजानेको व्यक्तिलाई पाथेर पाञ्चालीमाथि सिनेमा बनाउन दिनु स्वयं विभूतिशरणमाथिकै अपमान हो समेत भने। श्रीमती रमा भने आफ्नो बचनमा टसमस नभई तिनीहरुलाई खाली हात फर्काइन् र रायलाई दिएको अनुमतिमा अडिग रहिन्

अब १६ मिलिमिटरको क्यामरा लिएर लाग्यो रायको टोली कलकत्ताबाट ४ किलोमिटर बाहिरको बोडाल भन्ने गाउँमा। जहाँ एउटा खण्डहरजस्तो घर मासिक ५० रुपियाँमा भाडामा लिएर छायाङ्कनका लागि रोजियो। त्यो खण्डहरलाई छायाङ्कनयोग्य बनाएर २ दिन छायाङ्कन गर्दा राय र उनको युनिटसित भएको साढे ९ हजार रुपियाँ सकियो। थप पुँजीका लागि उनले कलकत्ताको स्टार थिएटरका प्रमुख शिशिर मल्लिकको सहयोगमा राना बाबुसित पहिलो किस्तास्वरुप ४ हजार रुपियाँ पाउने आश्वासन पाए। अब सिनेमाको महत्वपूर्ण चरित्र बूढी स्त्री अर्थात् इन्दिरा ठाकरुनको खोजीका लागि ठूलो मूल्य चुकाउनुपर्‍यो।

बडो कष्टले ८० वर्षकी रङ्गमञ्चकी अभिनेत्री चुन्नीवाला देवीलाई अनुबन्ध गरे उनले। अब कलाकार चयनको काम त सकियो तर अर्थ व्यवस्थापनको काम भीमकाय पहाड बनेर उनका अघि तेर्सिएको थियो। राना साहेबले पहिलो किस्ता त दिए तर उनका फिल्महरु एकपछि अर्को गर्दै डुब्न थालेपछि उनले पैसा दिन असमर्थता जाहेर गरे। केही सीप नलागेपछि रायपत्नी विजयाका गरगहनाहरु धरौटीमा राखियो, स्थिति यस्तो बन्यो कि सुहागका गहनाहरु भनेर साँचिएका चिनोहरुसमेत आफूबाट अलग गर्नुपर्दा विजयाले तरक्क आँसु झारेकी थिइन्। यसो गर्दा पनि दुई दिन मात्र छायाङ्कन चल्यो। यसबाट अघि बढ्ने कुनै बाटो थिएन। विजयाको हालत यस्तो रह्यो भने स्वयं रायले युरोपबाट ल्याएका बहुमूल्य पुस्तक र सङ्गीतका रेकर्डहरु बेच्नुपर्‍यो। विजयका गहनाहरु त धरौटीमा थिए, पैसा भए कुनै दिन छुट्न सक्थे। तर दुर्लभ पुस्तक र संगीत सामग्री रायबाट सदाका लागि गुमेका थिए।

८ महिनाका लागि छायांकन रोकियो पैसाको अभावमा। लगभग ४ हजार फिट अर्थात् सिनेमाको एक तिहाइ भाग छायाङ्कन भएको थियो। त्यसलाई सम्पादन गरियो। विधानचन्द्र राय त्यसबेला पश्चिम बंगाल सरकारका मुख्यमन्त्री थिए। साथै एक सुपरिचित डाक्टर पनि। सिनेमाका प्रोडक्सन मेनेजर अनिलचन्द्र रायले एक दिन सत्यजितलाई मुख्यमन्त्रीसित सहयोग गर्न आग्रह गर्नुपर्ने कुरा राखे। विजयाकी सानीआमा वासन्तीदेवी, सुप्रभा राय, बेला सेनकी पुत्री अर्चना र अनिल रायको टोलीले सिनेमाको सम्पादित अंश मुख्यमन्त्रीलाई स्थानीय मिनिएचर हलमा देखाएपछि उनले राज्य सरकारबाट वृत्तचित्रका लागि वित्तीय अनुदान दिने निर्णय गरे। यसरी प्रत्येकपटक किस्ता किस्ता गरेर दुई लाख रुपियाँ राज्य सरकारले दिने तर सिनेमाको सर्वाधिकार राज्य सरकारकै हुने निर्णय भयो। राज्य सरकारबाट फिल्म महोत्सवमा सहभागी हुँदा प्राप्त हुने सहयोगको केही हिस्सा रायलाई पनि दिने निर्णय भएको थियो। तर सो बापत उनले जीवनभर एक पैसा पनि नपाएको विजयाले आफ्नो संस्मरणमा उल्लेख गरेकी छिन्।

आर्थिक समस्या एक हदसम्म पूरा भए पनि हरेक किस्ताको विवरण सरकारलाई बुझाउनुपथ्र्यो। पहिलो किस्ताको विवरण स्वीकृत भएपछि मात्र दोस्रो किस्ताका लागि प्रक्रिया अघि बढ्थ्यो। कहिले वर्षायामको झरीको दृश्य खिच्नुपर्दा किस्ताको रकम नआएर वर्षा टथ्र्यो त कहिले कलाकारहरुको कपाल हलक्क लामो हुन्थ्यो र हजाम खोज्न कलकत्ता पुग्नुपथ्र्यो। कहिले प्रमुख अभिनेत्री चुन्नीवाला बिरामी पर्थिन्। यसरी धेरै ठूलो भुक्तमानपछि योजना बनाएको झन्डै आठ वर्षपश्चात् सिनेमा तयार भयो। पाश्र्व संगीत रविशङ्करबाट गरियो बडो हतारमा।

सिनेमाको सम्पादनमा पूरै युनिट १० दिन १० रात खट्यो। सम्पादक दुलाल दत्त हरेक दिन आधा घण्टा मात्र सुतेका थिए यो अवधिभर। रायपत्नी विजयाले आफ्नो संस्मरणमा यो कुरा पनि उल्लेख गरेकी छन्। अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा भोलिपल्ट सो सिनेमा लानु थियो। अघिल्लो रातभर पहिलो प्रिन्ट निकाल्न नै लाग्यो। एकपटक पनि आफूले राम्ररी हेर्न नपाई एकाबिहानै ओस्कार मनोनयनका लागि विदेश उडाए आफ्नो अमूल्य सिर्जना र घर आएर आरामले सुते राय। त्यसपछि उनको आफ्नो सिर्जना पाथेर पाञ्चालीले विश्व सिनेमामा कस्तो प्रभाव छाड्यो, त्यसको चर्चा अलग प्रसङ्गमा गर्न सकिन्छ। समग्रमा यस्तो थियो सत्यजित रायको अमर सिर्जना पाथेर पाञ्चालीको निर्माण कथा र यसरी ओस्कार पुरस्कारको मनोनयनका लागि पठाइएको थियो।

प्रतिक्रिया दिनुहोस्