ओस्कार अवार्डबाट वञ्चित हलिउड कलाकारहरु



-हिक्मत डंगोल

विश्वका हरेक फिल्मकर्मीको अन्तिम सपना हो ओस्कार एकेडेमी अवार्ड। प्रत्येक वर्ष अमेरिकी एकेडेमी अफ मोसन पिक्चर, आर्टस् एन्ड साइन्सले प्रदान गर्ने यस वर्षको ओस्कार अवार्ड विजेताहरुको नामावली घोषणा गर्न अब ३ महिनामात्र बाँकी छ। विश्व सिनेमा जगत्मा सम्मानित अवार्डका रुपमा रहेको ओस्कार अवार्डका लागि हानथाप गर्न विश्वभरिका अंग्रेजी फिल्मबीच कडा प्रतिस्पर्धा हुने यस अवार्डको निम्ति अभिनेता र अभिनेत्रीहरु पुरस्कार वितरणको दिनमा निकै तनावमा रहन्छन्। कसले ओस्कार अवार्डमा बाजी मार्छ भन्ने अड्कल र अनुमानका कारण अहिलेदेखि नै हलिउडका कलाकारहरु विचलित भइसकेका छन्।

हलिउडका एक्सन अभिनेता टम क्रुज हरेक वर्ष सम्भावित विजेताको सूचीमा रहन्छन्। अहिलेसम्म ३ पटक सर्वोत्कृष्ट अभिनेताको मनोनयनको सूचीमा परेका टम क्रुजको हातमा ओस्कार अवार्ड कहिल्यै पनि पर्न सकेन। जताततै हिंसा र आतंक मच्चाउँदै हिँड्ने खलपात्रलाई तह लगाएर थर्कमान पारी मानवीय कल्याण गर्दै धमाकेदार एक्सनको अभिनयमा आफूलाई चुस्त बनाएका टम क्रुजको एक्सन अभिनयले दर्शकको मस्तिष्क नै खल्बल्याउने गरेको छ। तर टम क्रुज आफ्नै आदर्शमा अडिग छन्। उनी भन्छन्– ‘अब आउने ओस्कार अवार्ड समारोहमा म तनावमा हुनेछैन। किनकि म कहिल्यै पनि ओस्कार अवार्ड जित्छु भनेर उद्देश्य राखेर काम गर्दिन। हो १ ओस्कार अवार्ड हौसला प्रदान गर्ने सर्वोत्कृष्ट पुरस्कार हो। यो अवार्ड प्राप्त गरेपछि हरेक कलाकारले आफ्नो प्रतिभालाई अझै तिखार्नतिर लाग्छन्। यो अवार्ड त एम्पास नामक संस्थाका केही सदस्यहरुको सनकमा अडेको छ।‘

संसारभरिका दर्शकलाई कल्पनाको संसारमा पुर्‍याउनका साथै आफ्नो विशिष्ट प्रतिभा निर्देशनको माध्यमबाट दर्शकलाई लठ्याउने गरी फिल्म निर्देशन गरेका महान् निर्देशकमा अल्फ्रेड हिच्चक, स्ट्यान्टले क्युव्रिक, मार्टिन स्कोर्सिसजस्ता दिग्गज निर्देशकहरुको पोल्टामा पनि यो ओस्कार अवार्ड पर्न सकेको छैन।

ओस्कार अवार्ड प्रतिस्पर्धामा ३ पटकसम्म मनोनयमा परेर पुरस्कार जित्न नसकेका विश्वकै सेक्सियस्ट म्यान मानिएका अर्का हलिउड अभिनेता जोनी डिपसँग पनि केही धूमिल सपना छन्। यस बारेमा जोनी डिपले भनेका छन्– ‘सन् २००४ मा पाइरेट्स अफ द क्यारिबियनबाट सर्वोत्कृष्ट अभिनेतामा मनोनयनमा पर्दा म निकै खुसी भएको थिएँ। मानिसहरुले मैले नै अवार्ड जित्छु भनेर अडकलबाजी गर्दै आएका थिए। म पनि ढुक्क नै थिएँ। तर अन्तिममा आएर अरु नै पुरस्कृत भए। त्यसपछि मैले आफ्नो दुर्भाग्य भएको सम्झें। त्यसै गरी सन् २००५ र २००८ को पनि सर्वोत्कृष्ट अभिनेताको मनोनयनमा पर्न सफल भए पनि ओस्कार अवार्ड प्राप्त गर्न नसक्ने असफल व्यक्ति बनें। त्यसपछि मैले आशा गर्न छाडें। किनकि त्यसयता आएर ओस्कारका लागि म चुनिएको थिइनँ।‘

हलिउडमा यस्ता अरु थुप्रै कलाकार छन्, जो ओस्कारको प्रतिस्पर्धामा पुरस्कारबाट वञ्चित भए। ५ पटकसम्म मनोनयनमा परे पनि पुरस्कार जित्न नसकेकी नायिका एमी एडम्सको काम पनि अग्रपंक्तिमा लिने गरिन्छ। यो वर्ष एमी छैठौंपटक भाइसबाट ओस्कारका लागि सर्वोत्कृट अभिनेत्रीका रुपमा मनोनयनमा परेकी छिन्। यस बारेमा एमी एडम्सले भनेकी छिन्– ‘मैले हिट फिल्म दिए पनि ओस्कारका लागि अहिलेसम्म योग्य ठहरिन सकिनँ। ओस्कारका लागि भनेर मैले सिनेमा जगत्मा निकै मिहिनेत गरेकी छु। तर अहिलेसम्म मिहिनेतको प्रतिफलको स्वाद चाख्न पाएकी छैन। यसपटक पनि ओस्कार जित्न सकिनँ भने मेरो आत्मबल निकै खिइँदै गएको हुनेछ। यदि जितेको खण्डमा आफ्नै तालमा निकै खुसी मनाउनेछु भने पुरस्कार नजिते म पिउनेछु। राति जे पनि खान सक्छु।‘

एकजना योद्धाले दुवै हातले तरबार समातेर फिल्मको रिलमा उभिएर टेकिरहेको १३ इन्च अग्लो र ८ पाउन्डको सुनको धातुले बेरेको ओस्कार ट्रफीलाई लिएर हलिउडका कलाकार रोमाञ्चित हुन्छन्। प्रेरणादायी र प्रोत्साहनको प्रतीकका रुपमा चर्चित यो ओस्कार अवार्ड नपाउनेमा अर्का हास्य कलाकार चार्ली च्याप्लिन पनि एक हुन्। वास्तवमा चार्ली च्याप्लिन एक हास्य अभिनेता मात्र नभएर २०औं शताब्दीका महान् कलाकार पनि हुन्। उनी निर्देशक मात्र नभएर मानवतावादी दिग्दर्शक पनि हुन्। आफ्नो जीवनकालमा महारानी एलिजाबेथ द्वितीयाबाट नाइटको उपाधिद्वारा विभूषित उनी ओस्कार अवार्डमा मनोनयनमा परे पनि थुप्रै पटक अवार्डबाट वञ्चित हुँदै आएका छन्। चार्ली च्याप्लिनलाई ओस्कार अवार्डबाट वञ्चित गराउँदा सन् १९९० दशकमा आएर ओस्कार अवार्ड समितिले आफ्नो दुर्भाग्य भएको स्वीकार गर्‍यो। आफ्नो अटल नाम अपार ऐश्वर्य कमाए पनि सन् १९५३ मा अमेरिकामा नागरिकतासम्बन्धी किचलोमा परी अमेरिका छाडेर उनी स्वीजरल्यान्डको जीनिभा तालको छेउमा घर बनाएर बसे।

सन् १९१० देखि नाटक प्रहसनबाट आफ्नो अभिनय यात्रा शुरु गरेका चार्ली च्याप्लिनलाई लिएर एकपटक अमेरिकाको वासिङ्टनस्थित लिवर्टी थिएटर हलमा चार्ली च्याप्लिनजस्तो अभिनय देखाउने कला च्याप्लिन लुक अलाइक कन्टेस्टस् भएको थियो। दर्शकलाई रमाइलो गराउनका लागि चार्ली च्याप्लिन पनि छद्म भेषमा अर्को नै नाम राखी आफ्नो अभिनय कला देखाउने प्रतिस्पर्धामा उत्रिएका थिए। तर आफ्नै अभिनय गर्ने यो प्रतियोगितामा चार्लीले जित्न सकेनन्। सन् १९१५ मा भएको सो प्रतियोगितामा बब होप नामका कलाकारले बाजी मारेका थिए। भनिन्छ चार्ली सो प्रतियोगितामा २०औं स्थानमा परेका थिए। संसारले सक्कली र नक्कली छुट्याउन नसक्दा कसरी भूल गर्छ भन्ने बारेमा सन् १९२० मा सिंगापुर, न्युजिल्यान्ड, अस्ट्रेलिया र बेलायतमा विभिन्न पत्रपत्रिकाले हाउ क्याप्टेन फेल्ड शीर्षकमा यसबारेमा चर्चा गरेको रहेछ। पछि सन् १९७१ मा चार्ली च्याप्लिनको योगदानलाई कदर गर्दै अनरेरी ओस्कार पुरस्कार प्रदान गरियो। तर पनि चार्लीलाई ओस्कारको प्रतिस्पर्धात्मक रुपमा कहिल्यै पुरस्कृत गरिएन। उनको नाम ओस्कार अवार्ड समितिसम्म कहिल्यै पुगेन। चार्ली च्याप्लिनलाई पुरस्कार नदिनु हलिउडका प्रसिद्ध निर्देशक अल्फ्रेड हिच्चकले चार्ली च्याप्लिनजस्तो बहुप्रतिभाशाली व्यक्ति छुट्नुलाई ओस्कार समितिले गल्ती गरेको बताएका छन्।

संसारभरिका दर्शकलाई कल्पनाको संसारमा पुर्‍याउनका साथै आफ्नो विशिष्ट प्रतिभा निर्देशनको माध्यमबाट दर्शकहरुलाई लठ्याउने गरी फिल्म निर्देशन गरेका महान् निर्देशकमा अल्फ्रेड हिच्चक, स्ट्यान्टले क्युव्रिक, मार्टिन स्कोर्सिस जस्ता दिग्गज निर्देशकहरुको पोल्टामा पनि यो ओस्कार अवार्ड पर्न सकेको छैन। अल्फ्रेड हिच्चक ५ पटकसम्म अन्डर क्याफ्रिकन (१९४९), स्टेज फाइट (१९५०), द म्यान निउ टु मच (१९५६), फ्रेन्जी (१९७२) र साइको (१९६०) जस्ता अति सुन्दर सिनेमा ओस्कार अवार्डको मनोनयनमा परेर पनि उक्त पुरस्कारको हकदार बनेनन्। त्यस्तै गरी वर्गमन, रोबर्ट ब्रेसो, आइजेस्टाइन फेलिनी, टिम वर्टन र हवार्डजस्ता अति नाम चलेका निर्देशक पनि ओस्कार अवार्डबाट बारम्बार पाखा लगाइएका छन्। हलिउडमा यस्ता थुप्रै अभिनयका धनी कलाकार छन्, जसले निकै लोकप्रियता हासिल गरे तापनि ओस्कार जस्तो प्रतिष्ठित पुरस्कार जित्न सकेका छैनन्। कालजयी सिनेमाहरुले जन्माएका अभिनेत्रीमध्ये मार्लिन मुनरो, ग्रेटा गार्वो, ग्रेस केली र सिड क्यारिसजस्ता प्रतिभाशाली अभिनेत्रीको नाम पनि ओस्कार अवार्ड समितिसम्म कहिल्यै पुगेन।

सेक्सकी देवीको उपाधिले सुशोभित मार्लिन मुनरो विश्वकै एकमात्र सर्वकालीन प्रसिद्ध अभिनेत्री हुन्। उनले सिनेमाबाट गोल्डेन ग्लोब अवार्डलगायत थुप्रै अन्य पुरस्कार जिते पनि ओस्कार अवार्ड जित्न सकेकी छैनन्। उनले टेव्न्टिथ सेन्चुरी फक्स र कोलम्बिया नामक फिल्म निर्माण कम्पनीसँग आबद्ध भई सन् १९४५ देखि सन् १९६२ सम्म ३० भन्दा बढी हिट सिनेमामा अभिनय गरेर विश्वमै हलचल मच्चाइन्। तीमध्ये सम लाइक इट हट, लेट्स मेक लभ, द प्रिन्स एन्ड द शो गर्ल, बस स्टप, द सेभेन इयर इच र हाउ टु म्यारी अ मिलेनियर चर्चित मानिन्छन्। सम लाइक इट हट मुनरोको अति उत्तेजक फिल्म मानिन्छ। जुन फिल्मबाट उनले गोल्डेन ग्लोब अवार्डसमेत हात जितिन् । उनले अभिनय गरेको यही फिल्मको स्कर्ट हावाले उडाएको तस्वीर आजसम्म पनि संसारकै उत्कृष्ट कामुक तस्वीरमध्येमा पर्छ।
सन् १९६१ मा उनको हिट फिल्म द मिसफिट्स हलिउडका उत्कृष्ट निर्देशक जोन इस्टनले निर्देशन गरेका थिए। यस फिल्ममा क्लार्क गेबलजस्ता उत्कृष्ट कलाकारले अभिनय गरेका थिए। जुन फिल्म ज्यादै सफल भयो। तर दुर्भाग्य यो फिल्मले ओस्कारमा मनोनयनमा परेर पनि मुनरोले उक्त पुरस्कार थाप्न पाइनन्।

प्रतिक्रिया दिनुहोस्