अवार्डका निर्णायकहरू



कामनाको आयोजना तथा सिजी इन्टरटेन्मेन्टको प्रस्तुतिमा भइरहेको गोडरेज नं वन कामना फिल्म अवार्डस् २०७६ मा सामेल भएका (२०७५ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शनमा आएका) फिल्महरूको मूल्यांकन गर्न विधागत प्रतिनिधित्व हुने गरी अभिनेता तथा रंगकर्मी हरिहर शर्मा प्रमुख निर्णायक रहेको ५ सदस्यीय निर्णायकमण्डल गठन गरिएको थियो । यहाँ प्रस्तुत छ नेपाली चलचित्रका विभिन्न विधाकै लागि अहोरात्र खटिइरहेका निर्णायकमण्डलका संयोजक तथा सदस्यहरूको संक्षिप्त परिचयः

 

अभिनेता

हरिहर शर्मा

ख्यातिप्राप्त अभिनेता तथा रंगकर्मी हरिहर शर्माको जन्म २०११ सालमा भएको हो। नेपाली फिल्म र रंगमञ्च क्षेत्रको दरिलो नाम बनेका उनले पब्लिक एड्मिन्स्ट्रेसनमा स्नातक तहको अध्ययन गरेका छन्। विद्यालय जीवनदेखि नै रंगमञ्चमा सक्रिय शर्माले त्यतिबेलै दर्जनौं नाटकमा सशक्त अभिनय क्षमता प्रदर्शन गरेका थिए। नेपाली रंगमञ्चको शुरूआतकालीन अवस्थामा अभिनय र नाटक लेखनमा निकै नै सक्रियतापूर्वक लागिपरेका शर्माले सानो र ठूलो पर्दाका दर्जनौं फिल्ममा अभिनय गर्नुका साथै लेखन तथा निर्देशन कार्यसमेत गरेका छन्। उनले कर्तव्य र चाहना, देशप्रेम र संकल्पजस्ता छोटा फिल्मको अभिनयसमेत गरेका छन् भने फिल्म वासुदेव, सिन्दुर, बदलिँदो आकाश, प्रेमपिण्ड, कर्जा, मोहनी, मायाप्रीति, चेलीबेटी, बाबुसाहेब, फेरि तिम्रो याद आयो, छोरा, जिद्दी, मलाई माफ गरिदेऊ, सन्तान थरिथरिका, शासन, धनपति, अमेरिका ब्वाईलगायतका फिल्ममा सशक्त अभिनयको नमुना पेस गरेर देखाइदिएका छन्। कलाकारिताकै क्रममा हरिहरले सांस्कृतिक संस्थानको महाप्रबन्धकदेखि नेपाल प्रज्ञा प्रतिष्ठानको निर्देशक पदमा रही लामो समयसम्म सेवा गरेका छन्। शर्माले सयौंलाई अभिनयको प्रशिक्षणसमेत दिएर कलाकार तथा रंगकर्मीका रूपमा स्थापितसमेत गराएका छन्।

कलाकारितासँगै सामाजिक कार्यमा उत्तिकै सक्रिय शर्मा गैरसरकारी सामाजिक संस्था युनेस्कोसँग पनि आबद्ध छन्। उनले भारत र कोरियामा भएको सामाजिक कार्यसँग सम्बन्धित सेमिनार तथा वर्कसपमा समेत भाग लिइसकेका छन्। यसका साथै कलाकारिताको क्रममा विभिन्न कार्यक्रममा सहभागिता जनाउने सिलसिलामा अमेरिकालगायतका मुलुकको भ्रमण गरिसकेका छन्। नेपाली रंगमञ्च र फिल्ममा योगदान पुर्‍याएबापत शर्मा इन्द्रराज्य लक्ष्मी प्रज्ञा पुरस्कार, सर्वनाम पुरस्कार, फिल्म वासुदेवबाट सर्वोत्कृष्ट अभिनेता, टेलिफिल्म जनैको साँचोबाट सर्वोत्कृष्ट कलाकार, ऊर्वशी फिल्म अवार्ड, पहलमान सिंह स्वाँर पुरस्कार गरी दर्जनौं पुरस्कार र सम्मानबाट पुरस्कृत तथा सम्मानित भइसकेका छन्। शर्मालाई गत वर्ष आयोजित लक्स कामना फिल्म अवार्डस् २०७४ मा कलातर्फको कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) बाट सम्मानित गरिएको थियो। शर्मालाई रंगकर्मी तथा अभिनेत्री शकुन्तला शर्माका साथ संयुक्तरूपमा सो सम्मानबाट सम्मान गरिएको थियो।

 

लेखक तथा निर्देशक

लक्ष्मीनाथ शर्मा

चलचित्र लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्माको जन्म सन् १९४५ मा इलामको बयरबोटेमा भएको हो। स्व। प्रजापति शर्मा र स्व। देवकी शर्माको कोखबाट जन्मेका निर्देशक शर्माले सन् १९७१ मा त्रिभुवन विश्वविद्यालयबाट इतिहास र फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया पुनाबाट सन् १९७७ मा फिल्म निर्देशनमा स्नातकोत्तर गरेका छन्।

यसका साथै उनले सन् १९८२ मा एसियन इन्स्टिच्युट अफ ब्रोडकास्टिङ डेभलभमेन्ट मलेसियाबाट ग्राफिक्स एनिमेसनको विशेष तालिमसमेत लिएका छन्। सन् १९७१ बाट फिल्मको कथा लेखनमा समेत सक्रिय भएका निर्देशक शर्माले सन् १९८३ मा फिल्म बदलिँदो आकाशबाट निर्देशनमा हात हालेका हुन्। त्यसपछि उनले शान्तिदीप, मिलन, सारङ्गी, छोरीबुहारी, साथी, जितलगायका फिल्म निर्देशन गरिसकेका छन्। उनले निर्देशन गरेको पछिल्लो फिल्म सुनको बिहानी प्रदर्शनको क्रममा रहेको छ। कथा, मोड, जितजस्ता टेलिफिल्म निर्देशन गरिसकेका निर्देशक शर्माले दर्जनभन्दा बढी डकुमेन्ट्रीको समेत निर्देशन गरेका छन्। उनले नेपालकै पहिलो फिल्मसम्बन्धी पढाइ हुने कलेज अफ फिल्म स्टडिज, कान्तिपुर सिटी कलेज, रत्नराज्य बहुमुखी क्याम्पसमा अध्यापनको अनुभव बटुलेका छन्। यस्तै लेखनमा समेत उत्तिकै सक्रिय निर्देशक शर्माका असन्तोष, घैंटे गुप्तचर, अँध्यारो उपन्यासहरू प्रकाशित छन्।

नेपाल चलचित्र निर्देशक समाजका अध्यक्षसमेत भइसकेका निर्देशक शर्मा नेपाल चलचित्र कलाकार संघको आजीवन सदस्यका साथै फिल्मसम्बन्धी विभिन्न संघसंस्थामा समेत आबद्ध छन्। उनले विभिन्न समयमा आयोजना हुने प्रतियोगिता तथा अवार्ड कार्यक्रममा जुरी सदस्यका रूपमा समेत कार्य गरिसकेका छन्। उनी सन् १९९९ मा नेपाल मोसन पिक्चर्स सम्मान, चलचित्र सर्जक सम्मान, प्रबल गोरखा दक्षिण बाहुलगायतका दर्जनौं पुरस्कार र सम्मानबाट पुरस्कृत एवं सम्मानित भएका छन्। नेपाली फिल्म क्षेत्रका सालीन र विज्ञ निर्देशकका रूपमा परिचित शर्माले भारत, भुटान, थाइल्यान्ड, सिंगापुर, रसिया गरी दर्जनौं देशको भ्रमण गरिसकेका छन्। उनी लक्स कामना फिल्म अवार्डस् २०७३ अन्तर्गत कीर्तिमय दीर्घ योगदान सम्मान ९लाइफ अचिभमेन्ट अवार्ड०बाट सम्मानित भएका थिए।

 

लेखक, रंगकर्मी तथा निर्देशक

अशेष मल्ल

२०११ साल चैत २१ गते धनकुटामा जन्मेका अशेष मल्ल नेपाली नाट्यक्षेत्रमा परिचित र स्थापित नाम हो । नेपाली साहित्यमा एमएसम्मको अध्ययन गरेका उनी सर्वनाम थिएटरका संस्थापक निर्देशक हुन् ।

४ दशक लामो नाट्य यात्रामा उनले ३ सयभन्दा बढी नाटकमा अभिनय तथा ५ सयभन्दा धेरै नाटक निर्देशन र लेखन र गरेका छन् । मल्लले दर्जन भिडियो र टेलिफिल्मको लेखन तथा निर्देशन, विभिन्न फिल्मको स्क्रिप्ट लेखन, हातेमालो रेडियो नाटकको स्क्रिप्ट लेखन, अनौपचारिक शिक्षा सामग्री लेखन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय थिएटर एवं स्ट्रिट थिएटर तालिम सञ्चालन गरेका छन्।

उनको तुवाँलोले ढाकेको बस्ती, सडकदेखि सडकसम्म, अनादिक्रम, ब्ल्याक स्काई, समकालीन नेपाली नाटकजस्ता नाटक संग्रह, सडक नाटक परिचयात्मक पुस्तक, पानी जंगल र गाउँ, जंगलमा एक दिन, सानी र नानीजस्ता बालकथा तथा नाटक संग्रह, अज्ञात प्रदेशहरूमा, निरन्तर निरन्तर, एक्लो एकान्तजस्ता कविता संग्रह, कथा कुन छोटो कथा संग्रह, तेस्रो आयाम, सैद्धान्तिक चिन्तन र विवेचना तथा सडक नाटक सिद्धान्त सिर्जना र प्रस्तुति अनुसन्धान पुस्तक, बाबाको आशीर्वाद, दयावीरसिंह कंसाकार, सुख–दुःखमा साईजस्ता जीवनी, दियालो अनौपचारिक शिक्षा कोर्सबुक, सयपत्री बाल कोर्सबुक तथा ३० भन्दा धेरै प्रौढ शिक्षा, स्वास्थ्य शिक्षा, परिवार नियोजनसम्बन्धी पुस्तक तथा बुलेटिनहरू प्रकाशित छन् । उनी साझा पुरस्कार, मोती अवार्ड, गोपीनाथ अर्याल अवार्ड, वासु शशि सम्मान, रूपक कला अवार्ड, मानश्री अवार्ड, मुस्या चुया अवार्ड, सृजनशील रंगमञ्च अवार्ड तथा नवीन कला सम्मान, छिमेकी सम्मानजस्ता सम्मानबाट सम्मानित भएका छन् । उनी नेपाल प्रज्ञा प्रतिष्ठानको आजीवन सदस्य, त्रिभुवन विश्वविद्यालयको एसोसियट प्रोफेसर, एसियन रिजनल एजुकेसन एन्ड थिएटर नेटवर्कको पे्रसिडेन्ट, स्ट्रिट थिएटर इन नेपालको संस्थापक, एसियन कल्चर फाउन्डेसनको संयोजक, सिसस सोसाइटी अफ क्रियटिभ राइटिङको फाउन्डर सेक्रेटरी, सर्वनाम ड्रामाटिक आर्ट सेन्टरको कन्सेप्ट एन्ड क्रिएटर रहेका छन् । यस्तै सन् १९९२ देखि १९९४ सम्म स्क्रिप्ट राइटर कमिटी रेडियो नेपालका सदस्य तथा नेपाल टेलिभिजनका बोर्ड अफ डाइरेक्टरका रूपमा रहेका उनी सन् १९९२ देखि १९९५ सम्म पेन इन्टरनेसनल नेपालका कार्यकारिणी सदस्यका रूपमा रहे भने सन् १९९५ देखि २००६ सम्म हातेमालो सञ्चारमा प्रेसिडेन्टका रूपमा समेत संलग्न थिए।

सन् १९८६ मा सम्पन्न थिएटर कन्फरेन्स, फिलिपिन्समा भएको थिएटर वर्कसप, १९९० मा भियानामा भएको अन्तर्राष्ट्रिय लेखक कन्फरेन्स, १९९२ मा पाकिस्तान, १९९३ मा बंगलादेश र भारतमा भएको साउथ इस्ट ड्रामा फेस्टिभलमा सहभागी भएका छन् । साथै सन् १९९३ मा भारतमा भएको इन्टरनेसनल स्ट्रिट थिएटर वर्कसप, १९९४ मा भारतमै भएको साउथ इस्ट एसियन ड्रामा फेस्टिभल, १९९४ मा हङकङमा भएको इन्टरनेसनल प्ले राइटिङ वर्कसप, १९९६ मा पाकिस्तानमा भएको इन्टरनेसनल थिएटर फेस्टिभल, १९९७ मा बंगलादेशमा भएको थिएटर फेस्टिभल, २००७ मा भारतमा भएको इन्टरनेसल चिल्ड्रेन थिएटर फेस्टिभल, २००८ मा भारतमै भएको अन्तर्राष्ट्रिय थिएटर फेस्टिभल तथा ड्रामा फेस्टिभल, २००९ र २०१० मा भएको इन्टरनेसनल थिएटर फेस्टिभल तथा थिएटर फेस्टिभलमा सहभागी भएका छन् ।

 

गायिका

तारा थापा

झन्डै ५ दशकदेखि विभिन्न विधाका गीत गाएर गीतसंगीत क्षेत्रमा अमूल्य योगदान पुर्‍याउँदै आएकी लोकप्रिय गायिका तारा थापाको जन्म २०१२ साल माघ १३ गते मधखोला–कपिलवस्तुमा भएको हो। २०२८ सालदेखि गायन क्षेत्रमा सक्रिय उनी २०५८ देखि स्वतन्त्र गायन कलाकारका रुपमा गीतसंगीतका क्षेत्रमा आबद्ध छिन्। सानैदेखि गायनमा रुचि राख्ने उनले २०३० सालमा एसएलसीको अध्ययन पूरा गरेपछि संगीत विषयसहित, पद्मकन्या क्याम्पसबाट २०३५ मा प्रमाणपत्र तह र २०४७ मा डिप्लोमासम्मको पढाइ पूरा गरेकी हुन्। लोक, फिल्मी, आधुनिक गीत तथा भजनसहित उनका हालसम्म ५ सयभन्दा बढी गीत रेकर्ड भएका छन्।

अर्को जन्म, बदलिँदो आकाश, आदर्श नारी, के घर के डेरा, सान्नानी, सोह्रवर्षे जोवन, अर्जुन, कहीं मिलन कहीं बिछोडजस्ता फिल्म तथा विभिन्न भिडियो फिल्मका गीतका लागि पाश्र्व स्वर दिएकी उनको ए कान्छा उकालीमा, सबैले दिने उस्तै हुन्छ माया, हे माझीदाइ, हजारचोटि जन्मौंला, तरी नदेऊ हे माझी दाइ, गोरु ब्याउँदैनजस्ता गीतहरु सदाबहार छन्। उनका आधुनिक तथा लोकगीतका चार एल्बम प्रकाशन भएका छन् भने एकल, युगल तथा समूहगायनसहित २० डिस्क रेकर्ड भएका छन्।

रेडियो नेपालको प्रतिष्ठित श्रेणीको गायिका ताराले टेलिभिजन लोक गीत प्रतियोगीता इमेज लोककलाकारको विभिन्न संस्करणमा निर्णायक मण्डलका सदस्यको भूमिका निर्वाह गरिसकेकी छिन्। ताराले २०६२ देखि २०६८ सालसम्म नेपाल सांगीतिक संघको कोषाध्यक्ष पदमा रहेर काम गरिन् भने २०६९ देखि २०७२ सालसम्म नेपाल सांगीतिक संघलाई अध्यक्षका रुपमा अगाडि बढाइन्। पदमा रहेर संगीत क्षेत्रका लागि योगदान दिइन्। २०३० देखि २०४० सम्म सोल्टी तथा मनास्लु होटल र २०३४ देखि २०४० सालसम्म नेपाल पुलिस क्लबमा पार्ट टाइम गायन कलाकारका रुपमा काम गरेकी तारा २०३४ देखि २०४३ नेपाल प्रज्ञाप्रतिष्ठानमा गायन कलाकार, २०४४ देखि २०४९ सम्म नेपाल आयल कर्पोरेसनमा गायन संगीतका सहजकर्ता, २०५४ मा नेपाली लोकगीत प्रतियोगिताको जुरी सदस्य तथा २०५० देखि २०५७ सम्म रेडियो नेपालमा गायन कलाकारको रुपमा रहिन्।

नेपाली गीतसंगीतलाई योगदान दिएबापत उनी २०३० सालमा रत्न रेकर्डिङ संस्थानबाट नारी आवाज पुरस्कार, २०३१ मा वीरेन्द्र शुभराज्यभिषेक पदक र १४ अञ्चल लोकगीत प्रतियोगितामा दोस्रो पुरस्कार, २०३२ मा अन्तरक्याम्पस लोकगीत प्रतियोगितामा दोस्रो पुरस्कार, २०४४ मा अन्तर्राष्ट्रिय संगीत दिवस प्रथम पुरस्कार, २०४५ र २०४६ मा अन्तरसंस्थान लोकगीत प्रतियोगितामा प्रथम पुरस्कार, २०४७ मा राजदल गण पुरस्कार, २०५० मा नारायणगोपाल युवासंगीत पुरस्कार, २०५४ मा वीरेन्द्र गद्दी आरोहण रजत महोत्सव पदक, २०५६ मा छिन्नलता गीत पुरस्कार, २०५७ मा श्री ५ वीरेन्द्र–ऐश्वर्य सेवा पदक, २०६२ मा अरुण स्मृति संगीत पुरस्कार, २०७२ मा नातिकाजी संगीत पुरस्कार, संगीत तथा नाट्य विधातर्फको राष्ट्रिय प्रतिभा पुरस्कार, उन्नति बोहोरा ‘शीला‘ वनिता संगीत पुरस्कारलगायत विभिन्न पुरस्कार तथा मानपदवीबाट विभूषित भइसकेकी छिन्।

 

गीतकार, सम्पादक तथा प्रथम एनिमेटर

करुण थापा

करुण थापा नेपाली फिल्म क्षेत्रको कुशल र अनुभवी चलचित्र सम्पादक र गीतकारसमेत हुन् भने नेपालकै पहिलो एनिमेटर पनि हुन्। करुणको जन्म २०२२ सालमा काठमाडौंको वसुन्धारामा भएको हो। भारतको दिल्लीबाट कम्प्युटर साइन्समा स्नातक तहको अध्ययन गरेका उनी हाल सिल्भरगेट सफ्टवेयर र सिल्भरगेट एकेडमीका सीईओ तथा मनास्लु सफ्ट प्रालिका निर्देशकसमेत छन्। दुई दशकदेखि प्राविधिक क्षेत्रमा योगदान दिँदै आएका थापाले दर्जनौं फिल्म, म्युजिक भिडियो र विज्ञापनको सम्पादन, एनिमेसन र ग्राफिक्स गरिसकेका छन्। उनले शंकर, रक्षक, सगुनलगायत करिब २ दर्जन फिल्मको सम्पादन गरिसकेका छन् भने विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको वृत्तचित्रको सम्पादनसमेत गरेका छन्। उनले विभिन्न फिल्म, विज्ञापन र म्युजिक भिडियोमा नयाँ प्रविधि सर्वप्रथम नेपालमा भित्र्याई थ्रीडी एनिमेसनको प्रयोग गरेर प्रविधिक क्षेत्रलाई थप उचाइ दिएका छन्।

१५ वर्षदखि थ्रीडी एनिमेसन, सम्पादन र ग्राफिक्सको क्षेत्रमा तालिम दिई एक कुशल प्रशिक्षकको भूमिका निर्वाहसमेत गर्दै आएका उनले २०४१ सालमा पहिलो नेपाली स्क्रिप्ट डिजाइनरका रूपमा कार्य गरिसकेका छन् भने २०५७ मा आयोजना गरिएको सानमिगल म्युजिक अवार्ड, कृति एड्भर्टाइजिङ अवार्ड, बेस्ट टु दि थ्रीडी एनिमेसन अवार्ड, अन्तर्राष्ट्रिय गजल प्रतियोगितालगायत विभिन्न प्रतियोगिताको निर्णायकका रूपमा कार्य गरिसकेका छन्। उनले नेपालमा पहिलोपटक स्कुलका विद्यार्थीका उपयोगी कम्प्युटरसम्बन्धी किताब प्रकाशित गरेका छन् भने नेपाली फिल्ममा पहिलोपटक एभिड सम्पादनको प्रयोग, फिल्मको टाइटल एनिमेसन र स्पेसल इफेक्टको प्रयोग पनि उनैले पहिलोपटक प्रयोग गरेका थिए। यति मात्र नभई नेपाली भाषाका विभिन्न सफ्टवेयरसमेत निर्माण गरेका उनले प्रविधिलाई निकै नै नजिकबाट नियालेका छन् भने सयभन्दा बढी फिल्मका लागि गीत रचना गरेका छन्। उनले डिजिटल फिल्म अवार्डका साथ फिल्म सगुनबाट सर्वोकृष्ट गीतकार तथा सम्पादक अवार्डसमेत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्