शोक र रोमाञ्चकताको मिश्रण कामना फिल्म अवार्डस् २०७६



-रश्मी थापा

कामना सिने मासिकको आयोजना तथा सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा पाँचौं संस्करणको सिजी गोदरेज नम्बर वन कामना फिल्म अवार्ड २०७६ गत पुस १९ गते शनिबार ललितपुरस्थित हेरिटेज गार्डेनमा भव्यरुपमा सम्पन्न भएको छ।

सिजी गोदरेज नम्बर वन कामना फिल्म अवार्ड २०७६ मा यस वर्ष दुई अवार्ड थपिएका छन्। कामना न्यूज पब्लिकेसन्स्का संस्थापक अध्यक्ष, पहिलो नेपाली फिल्म अवार्डका प्रणेता, समाजसेवी तथा लायन्स क्लबका पूर्वडिस्ट्रिक्ट गभर्नर स्व। भरतलाल श्रेष्ठको नाममा भरतलाल ह्युम्यानिटेरियन अवार्ड तथा कामना न्यूज पब्लिकेसन्स्का प्रधान सम्पादक स्व। पुष्करलाल श्रेष्ठको नाममा पुष्कर मिडिया अवार्ड स्थापना गरी दुई व्यक्तिलाई प्रदान गरियो। सधैंझैं हालसम्म नेपाली फिल्म क्षेत्रले गुमाएका हस्तीहरुप्रति समर्पित भिडियो सामग्री प्रस्तुतिपछि प्रधान सम्पादक श्रेष्ठको जीवनी झल्काउने मार्मिक श्रव्यदृश्य सामग्री प्रदर्शनपश्चात् यी दुई सम्मान प्रदान गरेर शुरु गरिएको कार्यक्रममा नेपाली फिल्म क्षेत्रको पर्दाअगाडि र पर्दापछाडि रहेर योगदान पुर्‍याउने दुई फिल्मकर्मीलाई कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफटाइम अचिभमेन्ट अवार्ड) समर्पण गरिएको थियो।

अभिनेता राजेश हमालले प्रधान सम्पादक श्रेष्ठको निधनको प्रसंगमा भावुक भएर कार्यक्रम सञ्चालन शुरु गरेको समारोहमा प्रतिस्पर्धात्मक २६ विधा र अन्य ९ गरी कुल ३५ विधामा अवार्ड प्रदान गरिएको थियो भने लोकप्रिय १४ विधामा भोटिङको व्यवस्था गरिएको थियो। जुरीको ९० र भोटिङको १० प्रतिशत अंक जोडी अवार्ड प्रदान गरिएको समारोहमा सर्वोत्कृष्ट चलचित्रको अवार्ड प्रसादले चुमेको छ। १० विधाको मनोनयमा परेको प्रसादले अवार्डका मुख्य विधाहरु सर्वोत्कृष्ट चलचित्रसँगै निर्देशक, अभिनेता, अभिनेत्री र पटकथा गरी ५ विधाको अवार्ड चुमेको छ। यो चलचित्रबाट दिनेश राउत यो वर्षको सर्वोत्कृष्ट निर्देशक, विपीन कार्की सर्वोत्कृष्ट अभिनेता, नम्रता श्रेष्ठ सर्वोत्कृष्ट अभिनेत्री तथा सुशील पौडेल सर्वोत्कृष्ट पटकथा लेखकको अवार्ड विजेता भए।

समारोहमा सर्वाधिक १५ विधाको मनोनयनमा परेको चलचित्र नाइँ नभन्नु ल ५ ले पनि सहअभिनेत्री, बालकलाकार, गीतकार, संगीतकार तथा छायांकन गरी ५ विधाको अवार्ड चुमेको छ। यो चलचित्रबाट प्रियंका कार्की सर्वोत्कृट सहअभिनेत्री, सेड्रिना शर्मा बालकलाकार, दिनेश थपलिया गीतकार, वसन्त सापकोटा संगीतकार र पुरुषोत्तम प्रधान छायाकारको अवार्ड चुम्न सफल भए। यो फिल्मबाट बालकलाकार अनुभव रेग्मी र सेड्रिना शर्मा मनोनयनमा परेका थिए भने वसन्त सापकोटा बोबी र नाइँ नभन्नु ल ५ गरी दुई फिल्मबाट संगीतकारको मनोनयनमा परेका थिए।

गीत, संगीत, नृत्य र ठट्यौलीजस्ता विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिका साथ अघि बढेको समारोहमा १२ विधाको मनोनयनमा परेको छक्का पन्जा ३ ले हास्य कलाकार, नृत्य निर्देशक, संवाद र ध्वनि मिश्रण गरी ४ विधाको अवार्ड चुमेको छ। हास्य कलाकार विधाको अवार्ड केदार घिमिरेले चुमे। उनी चलचित्र रामकहानीबाट पनि मनोनयनमा थिए भने नृत्य निर्देशकको अवार्ड चुमेका कविराज गहतराज ४ चलचित्रबाट मनोनयनमा परेका थिए। यससँगै कविराज कामना फिल्म अवार्डस्मा लगातार ५औं अवार्ड चुम्न सफल भएका छन्। १२ विधाकै मनोनयनमा परेको चलचित्र डमरुको डण्डीबियोले सर्वोत्कृष्ट नवनिर्देशकसँगै कथा, पाश्र्व संगीत र सम्पादन गरी ४ विधाको अवार्ड चुमेको छ। समारोहमा चलचित्र साइँलीबाट अभिनेता दयाहाङ राईले सहअभिनेताको अवार्ड चुमेका छन् भने यो चलचित्रले पाश्र्व गायकको अवार्डलाई पनि आफ्नो बनाएको छ। यस वर्षको गोदरेज नम्बर वन कामना फिल्म अवार्डस् २०७६ मा चलचित्र बोबीबाट उमेश थापाले नवअभिनेता र ए मेरो हजुरबाट सुहाना थापाले नवअभिनेत्रीको अवार्ड चुमे भने प्रमोद अग्रहरी कथा काठमाडौंबाट वर्षको सर्वोत्कृष्ट खलपात्र ठहरिए। त्यसै गरी चलचित्र भिलेन सर्वोत्कृष्ट द्वन्द्व निर्देशक, चलचित्र बाँध मायाले पाश्र्व गायिका र चलचित्र चक्कर शृंगार विधाको अवार्ड विजेता भएको छ। समारोहमा चलचित्र हरिलाई जुरी अवार्ड प्रदान गरिएको छ।

अभिनेता राजेश हमालको प्रस्तुतिबाट शुरू भएको कामना फिल्म अवार्ड प्रदान समारोहलाई नरेश भट्टराई र मन्दिरा ढुंगेलले रोचकताका साथ अगाडि बढाएका थिए। कार्यक्रमलाई तारा थापा, प्रविशा अधिकारी, समीक्षा अधिकारी, आनन्द कार्की, देविका वन्दना, शम्भुजित बास्कोटा, प्रह्लाद तिमिल्सिना, टीका भण्डारी, गौरी मल्ल, वसन्त सापकोटा र मदनकृष्ण श्रेष्ठले मेड्ले गीत गाएर रोचक तुल्याएका थिए भने नायक भुवन केसीले छुट्टै गीत गाएर रोमाञ्चकता थपेका थिए। त्यसै गरी अभिनेत्री मिथिला शर्माले एकल नृत्य गरेर सबैको मन जितेकी थिइन् भने बिनु शाक्य, यशराज गरच, प्रमोद अग्रहरी, छुल्ठिम गुरुङ, पल शाह र पूजा शर्माले अर्को मेड्ले डान्स गरेर दर्शकलाई रोमाञ्चित तुल्याए। त्यस्तै मेड्ले डान्समा गौरी मल्ल र नरेशविक्रम सिंहका साथमा कोरियोग्राफर कविराज गहतराजले तालीमाथि ताली पाए। त्यसै गरी राजाराजेन्द्र पोखरेलले अभिनेता राजेश हमाल र आनन्द कार्कीको सहयोग लिएर दर्शक हँसाए।

प्रतिक्रिया दिनुहोस्