भरतलाल र पुष्करलालका नाममा थपिए अवार्ड



सबैलाई थाहा छ कामना फिल्म अवार्ड सधैं सम्मानबाट शुरु हुन्छ। सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा गोदरेज नम्बर वान कामना फिल्म अवार्डस् २०७६ पनि सम्मानबाटै शुरु भएको थियो। पाँचौ संस्करणको कामना फिल्म अवार्डस्मा यस वर्षबाट दुई महत्वपूर्ण अवार्ड थपिएका छन्। कामना न्यूज पब्लिकेसन्स्का संस्थापक अध्यक्ष, पहिलो नेपाली फिल्म अवार्डका प्रणेता, समाजसेवी तथा लायन्स क्लबका पूर्वडिस्ट्रिक्ट गभर्नर स्व। भरतलाल श्रेष्ठको नाममा यस वर्षबाट भरतलाल ह्युम्यानिटेरियन अवार्ड तथा कामना न्यूज पब्लिकेसन्स्का संस्थापक तथा प्रधान सम्पादक स्व। पुष्करलाल श्रेष्ठको नाममा पुष्कर मिडिया अवार्ड स्थापना गरी दुई व्यक्तित्वलाई प्रदान गरियो। यी अवार्ड समर्पण गरिनुअघि कामना न्यूज पब्लिकेसन्स्का संस्थापक तथा प्रधान सम्पादक स्व। पुष्करलाल श्रेष्ठको जीवनी र पत्रकारिता क्षेत्रमा उहाँले पुर्‍याउनुभएको अतुलनीय योगदान झल्काउने मार्मिक श्रव्यदृश्य सामग्री प्रदर्शन गरिएको थियो।

 

सोनाम साङ्पोलाई भरतलाल ह्युमानिटेरियन अवार्ड

समाजसेवाका क्षेत्रमा योगदान पुर्‍याउनेलाई प्रदान गरिने गरी स्थापित भरतलाल ह्युम्यानिटेरियन अवार्ड २०७६ नगद १ लाख रुपियाँसहित पहिलोपटक पोखराका समाजसेवी लायन सोनाम साङ्पोलाई प्रदान गरिएको छ।

उहाँलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन, कामनाका निर्देशक अनुजलाल श्रेष्ठ, प्रमेशकृष्ण श्रेष्ठ र समीप श्रेष्ठले अवार्ड समर्पण गर्नुभएको थियो। नेपालमा मुस्किलले वर्षको दुई–तीन फिल्म निर्माण हुने समयमा भव्य फिल्म अवार्ड कार्यक्रम शुरु गरेर फिल्म अवार्डको क्षेत्रमा इतिहास निर्माण गर्ने कार्य भरतलाल श्रेष्ठले गर्नुभएको थियो। नेपाली फिल्मलाई उद्योगका रुपमा स्थापित गराउन र नेपाली कलाकारलाई समाजमा यति ठूलो मान मर्यादा प्रतिष्ठा र सेलिब्रेटी बनाउन पत्रकारितामार्फत साढे तीन दशकभन्दा लामो समयदेखि अनवरतरुपमा तपस्या गरिरहेको कामना मासिकका जन्मदाता, कामना न्यूज पब्लिकेसन्स्का संस्थापक अध्यक्ष भरतलाल श्रेष्ठ नै नेपाली अवार्ड कार्यक्रमका पनि जन्मदाता हुनुहुन्छ। फिल्म अवार्डलाई निरन्तरता दिने क्रममा २०७१ सालमा उहाँले नै सिजी कामना फिल्म अवार्डको पुनः थालनी गर्नुभएको थियो। नेपाली फिल्म र नेपाली कलाकारलाई अत्यन्त माया गर्ने सहृदयी तथा मृदुभाषी उनै भरतलाल श्रेष्ठ नेपाली फिल्म अवार्ड कार्यक्रमको निरन्तरतता दिने क्रम नयाँ पुस्तालाई हस्तान्तरण गर्दै २०७२ साल फागुन २ गते यस संसारबाट बिदा हुनुभएको थियो। लायन्स क्लबका पूर्वडिस्ट्रिक गर्भनर भरतलाल श्रेष्ठको अगुवाइमा २०४३ साल वैशाख १७ गते पहिलो भव्य एवं सभ्य अवार्ड कार्यक्रमको आयोजना भएको थियो। बलिउडकी त्यस बेलाकी सुप्रसिद्ध अभिनेत्री सबना अजमीको सहभागितामा भएको स्तरीय एवं लोभलाग्दो कार्यक्रम अत्यन्त भव्य र आकर्षक थियो।

लोकप्रिय समाजसेवी उनै भरतलाल श्रेष्ठको स्मृतिमा यस वर्षबाट समाजसेवाको क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्न प्रारम्भ गरिएको हो। हरेक वर्ष भरतलाल ह्युम्यानिटेरियन अवार्ड २०७६ का नाममा प्रदान गरिने यो अवार्ड यस वर्ष समासेवी लायन सोनाम साङ्पोलाई समर्पण गरिएको हो।

साधा जीवन उच्च विचारको व्यक्तिको दृष्टान्त सोनाम साङ्पोको शुभनाम शिक्षासेवीका रुपमा पोखरा क्षेत्रमा लोकप्रिय छ। सरकारी विद्यालयलाई प्रयोगशाला बनाई उपकरण जुटाइदिएर, पाठ्यसामग्री–पोसाक–पिउने पानीको व्यवस्था गरिदिएर साङ्पोले स्यावासी कमाउनुभएको छ। बालबालिकाका लागि पार्कसम्म बनाइदिने उहाँ २०७२ सालको भूकम्पको संकटपूर्ण घडीदेखि अन्य सामान्य अवस्थामा समेत खाद्यान्न, त्रिपाल, औषधिदेखि रक्तदानसम्मको व्यवस्था गरिदिने एक सक्रिय समाजसेवीका रुपमा परिचित हुनुहुन्छ। खास गरी पोखरा, सारङ्कोट, तल्लो मुस्ताङ, तनहुँ आदि क्षेत्रमा उहाँ बढी सक्रिय देखिए पनि मुलुकभरि नै उहाँको योगदान विस्तारित छ।

आरके मानन्धरलाई पुष्करलाल मिडिया अवार्ड

सञ्चार क्षेत्रमा योगदान पुर्‍याउनेलाई समर्पण गरिने पुष्कर मिडिया अवार्ड २०७६ नगद १ लाख रुपियाँसहित इमेज ग्रुप अफ कम्पनिजका अध्यक्ष तथा प्रबन्ध निर्देशक रामकृष्ण मानन्धरलाई प्रदान गरिएको छ।

उहाँलाई काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन, कामनाका निर्देशक अनुजलाल श्रेष्ठ, प्रमेशकृष्ण श्रेष्ठ र समीप श्रेष्ठले अवार्ड समर्पण गर्नुभएको थियो।

कुनै दिन नागरिक उड्डयनका क्षेत्रमा सरकारी जागिरे रहनुभएका मानन्धरले राजनीति शास्त्रमा गोल्ड मेडल हासिल गरेर पनि राजनीति गर्नुभएन। बहुआयामिक मानन्धरले २०५१ सालतिर रेडियो नेपालसँग समय किनेर सूचना क्षेत्रमा पहिलो पाइला हाल्नुभएको थियो भने २०५२ सालमा नेपाल टेलिभिजनसँग दैनिक डेढ घण्टा समय किनेर इमेज च्यानल टेलिभिजन प्रसारण गरी नेपाली कला, संगीत र मनोरञ्जन क्षेत्रलाई माथि उठाउन अहं भूमिका खेल्नुभयो। सिर्जनशील र लगनशील मानन्धर आज इमेज च्यानललाई निजीक्षेत्रको एक अग्रणी सञ्चार संस्थाका रुपमा उभ्याउन सफल हुनुभएको छ। एफएम रेडियोमा निजीक्षेत्रलाई प्रवेश दिने सरकारी नीति आएलगत्तै उहाँले ९७.९ मेघा हर्जको फ्रिक्वेन्सीमार्फत् २०५५ सालबाट काठमाडौंमा केएटीएच एफएमको थालनी गर्नुभयो, जुन हिजोआज ईमेज एफएम ९७.९ का नामले लोकप्रिय छ। अहिले १०३.६ मेघाहर्जमा इमेज न्युज एफएम प्रसारण भइरहेको छ भने इमेज च्यानल टेलिभिजन सत्य–तथ्य, निष्पक्ष र विश्वसनीय सूचनासँगै नेपाली गीत संगीत र मनोरञ्जन क्षेत्रका लागि सारथी सावित भएको छ। साथसाथै नेपाली कला र संगीतको क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि इमेज अवार्डको आयोजना गरी यो क्षेत्रलाई मलजल गर्न थप टेवा दिँदै आउनुभएको छ।

अवार्डको रकम तारादेवी फाउन्डेसनलाई

ईमेज ग्रुप अफ कम्पनिजका अध्यक्ष आरके मानन्धरले गोदरज नम्बर वान कामना फिल्म अवार्डस् २०७६ मा कामना प्रकाशनका अध्यक्ष पुष्करलाल श्रेष्ठको नाममा स्थापित पुष्कर मिडिया अवार्डबाट सम्मानित हुँदा प्राप्त गरेको एक लाख रुपियाँ तारादेवी फाउन्डेसनलाई प्रदान गर्ने घोषणा गर्नुभएको छ। तारादेवीको १४औं पुण्य तिथिमा राजधानीमा आयोजित सम्झनामा तारा देवी कार्यक्रममा मानन्धरले ईमेज अवार्ड शुरु गर्नुको कारण तारादेवी भएको जनाउँदै पुष्कर मिडिया अवार्डबापत् प्राप्त १ लाख रुपियाँमा ईमेज अवार्डका तर्फबाट १ लाख रुपियाँ थप गरी २ लाख रुपियाँ फाउन्डेसनको नाममा प्रदान गर्ने घोषणा गर्नुभयो।

 

 

प्रतिक्रिया दिनुहोस्