दुई विधामा लाइफटाइम अवार्ड



नेपाली फिल्म क्षेत्रको पर्दापछाडि र पर्दाअगाडि रहेर योगदान पुर्‍याउने दुई व्यक्तित्वलाई कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) प्रदान गरिँदै आएको कामना फिल्म अवार्डस् समारोहमा यसपटक पनि कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफटाइम अचिभमेन्ट अवार्ड) दुई फिल्मकर्र्मीलाई समर्पण गरियो

कलातर्फको कीर्तिमय दीर्घ योगदान सम्मान नीर शाहलाई

सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा यस वर्षको गोदरेज नम्बर वन कामना फिल्म अवार्डस् २०७६ अन्तर्गत कीर्तिमय दीर्घ योगदान सम्मान ९लाइफ टाइम अचिभमेन्ट अवार्ड० २०७६ कलातर्फ यस वर्ष पाँच दशकदेखि अविछिन्नरुपमा रंगमञ्चदेखि सानो र ठूलो पर्दाको क्षेत्रमा अभिनय तथा गीत र चलचित्र लेखन एवं निर्माण र निर्देशन गरेर यो क्षेत्रलाई विशिष्ट योगदान पुर्‍याउने कलासाधक नीर शाहलाई प्रदान गरिएको छ। उहाँलाई कामनाका प्रेसिडेन्ट एवं सीईओ दिरेकलाल श्रेष्ठ, सिजी इन्टरटेन्मेन्टकी प्रबन्ध निर्देशक मेघा चौधरी, कामनाका सम्पादक विदुर गिरी, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले अवार्ड समर्पण गर्नुभएको थियो। सम्मान प्रदान गरिँदा समारोहका सहभागीहरूले स्वतःस्फुर्तरूपमा उठेर सम्मान गरेका थिए।

अभिनेता, रंगकर्मी, निर्माता, निर्देशक, लेखक, गीतकार र प्रशासक। पाँच दशकको अथक कला यात्रामा यस्तो बहुआयामिक कलासाधकको परिचय बनाउनुभएको छ नीर शाहले। ३० को दशकमा वासुदेवजस्तो सार्थक फिल्म निर्देशन गरेर वाहवाही कमाउनुभएका शाह अभिनय, निर्देशन, गीत रचना र फिल्म लेखनजस्ता सबै क्षेत्रमा सफल हुनुहुन्छ।

२०२४ सालमा परिवर्तन नामक फिल्ममा अभिनय गरी अभियनयात्रा अगाडि बढाउनुभएका शाहले मनको बाँध, सिन्दुर, बदलिँदो आकाश, वासुदेव, के घर के डेरा, कुसुमे रुमाल, चेलीबेटी, मनकामना, सपना, भाउजू, प्रियसी, छोरी–बुहारी, दैव संजोग, घामछायाँ, नाता रगतको, जीवनसाथी, बुहारी, बाबुसाहेब, किस्मत, सानो संसार, छोडी गए पाप लाग्ला, के यो माया हो, कसले चोर्‍यो मेरो मन, हिफाजत, मसान, कहाँ भेटिएला, छक्का पन्जा, द म्यान फ्रम काठमाण्डुलगायत तीन सयभन्दा बढी फिल्म तथा दर्जनौं नाटक र विज्ञापनका विभिन्न पात्रमा अभिनय गरेर आफ्नो भिन्न र दमदार प्रतिभा प्रदर्शन गर्दै मानक अभिनयको उदाहरणसमेत प्रस्तुत गर्दै आउनुभएको छ। फिल्म वासुदेव निर्देशन गरेर प्रशंसा पाएपछि शाहले २५ वसन्त, वसन्ती, मसान, सेतो बाघ, नेपाल भाषाको राजमतीसहित दर्जन फिल्म निर्देशन तथा वासुदेव, राजमती, गुरुचेला, वसन्ती, मसानदेखि नेपाललाई ओस्कार एकेडेमी अवार्डसम्म पुर्‍याउने क्याराभानसम्म गरी दुई दर्जन जति फिल्म निर्माण गरेर बहुआयामिक र सिर्जनशील व्यक्तित्वको परिचय स्थापित गर्नुभएको छ। २०१० साल असोज २६ गते स्वर्गीय देवेन्द्रविक्रम शाह र स्वर्गीय बोधकुमारी शाहको कनिष्ठ सन्तानका रुपमा जन्मनुभएका शाहले बाल्यकालबाटै अभिनयप्रति मोहित भई विद्यालय भर्नासमेत नहुँदै ७/८ वर्षकै उमेरमा टोलका केटाहरुलाई चौरमा बटुलेर नाटक मञ्चन गर्नुभएको थियो। १२ वर्षको उमेरमा २०२२ सालमा नाटक निर्देशन गर्नुभएका उहाँले निर्देशन गर्नुभएको र उहाँका साथी दीपक उपाध्यायले लेख्नुभएको गरिबको आँसु नामक सो नाटकले उपत्यकाव्यापी पुरस्कार जितेको थियो। तत्पश्चात् उहाँको कलायात्रा आजपर्यन्त अगाडि बढिरहेको छ।

नेपाल टेलिभिजनको स्थापनासँगै संस्थापक अध्यक्ष र महाप्रबन्धकका रुपमा अगाडि बढाई राष्ट्रिय टेलिभिजनको महिमा बढाउन सफल शाहले तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्राज्ञ, नेपाल ओस्कार कलेज अफ फिल्म स्टडिजका संस्थापक अध्यक्ष, प्रेस इन्स्टिच्युटको संस्थापक हुँदै चलचित्र विकास बोर्ड, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्माता संघ, तत्कालीन शाही नेपाली चलचित्र संस्थानलगायतका चलचित्र तथा गैरचलचित्र संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनुभएको छ। अभिनय, गीत रचना र फिल्म लेखन, निर्माण र निर्देशन क्षेत्रमा योगदान पुर्‍याएवापत उहाँ गोरखा दक्षिण बाहु चौथो र तेस्रो, सुप्रबल जनसेवाश्री तेस्रोलगायतका मान पदवीबाट विभूषित भइसक्नुभएको छ। त्यसै गरी थुप्रै विशिष्ट सम्मान र पुरस्कारबाट सम्मानित र पुरस्कृत हुँदै आउनुभएको छ।

पर्दापछाडिका कलाकारतर्फको कीर्तिमय दीर्घ योगदान सम्मान सन्तु तामाङलाई

समारोहमा ४ दशकदेखि शृंगार विधाबाट नेपाली फिल्म क्षेत्रमा योगदान पुर्‍याउँदै आउनुभएका मेकअप आर्टिस्ट सन्तु तामाङलाई नगद १ लाख रुपियाँसहित पर्दापछाडिका कलाकारतर्फको कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) २०७६ समर्पण गरिएको छ।

उहाँलाई कामनाका प्रेसिडेन्ट एवं सीईओ दिरेकलाल श्रेष्ठ, सिजी इन्टरटेन्मेन्टकी प्रबन्ध निर्देशक मेघा चौधरी, कामनाका सम्पादक विदुर गिरी, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले यो अवार्ड समर्पण गर्नुभएको थियो। सम्मान प्रदान गरिँदा समारोहका सहभागीहरूले स्वतःस्फुर्तरूपमा उठेर सम्मान गरेका थिए।

काभ्रेपलाञ्चोकको, चलाल गणेस्थान गाविस–३ मा २०१८ साल असार ४ गते पिता रामबहादुर तामाङ र माता कान्छीमाया तामाङको सन्तानका रूपमा जन्मनुभएका सन्तुले गरिब परिवारमा जन्मेका कारण कक्षा तीनभन्दा माथिको पढाइ पँरा गर्न नसके पनि कलाकारहरुलाई शृंगार कलाबाट चम्काउँदै आफ्नो भिन्न उचाइ निर्माण गर्न सफल हुनुभएको छ, सँगसँगै आफ्नै जुक्ति र बुद्धिले नेपाली, अंगे्रजी र कोरियन भाषाको लेखपढ गर्न र बोलचाल गर्न सक्षम हुनुभएको छ। किसान परिवारमा जन्मेर बाल्यकालमै काठमाडौं आई घरायसी काम गरेर संघर्ष गर्दै तत्कालीन शाही नेपाल चलचित्र संस्थानमा पियनका रुपमा काम गरी फिल्मको स्थल सहयोगी, सहायक मेकअपम्यानदेखि २०४४ सालमा मेकअपम्यानका रुपमा सक्रिय भएर करियरलाई अगाडि बढाउनुभएका सन्तु आज लोकप्रिय मेकअप म्यान अर्थात् मेकअप आर्टिस्टका रुपमा अगाडि बढिरहनुभएको छ।

२०३७ सालदेखि सहायक मेकअपम्यान भई शृंगार कला विधाको करियर शुरु गर्नुभएका सन्तुले बदलिँदो आकाश नामक फिल्ममा सहायक मेकअपम्यान भई काम गरेर ठँलो पर्दाको फिल्मको यात्रा तय गर्नुभएको थियो। सन्तुले सन्तान, के घर के डेराजस्ता फिल्मका लागि सहायक मेकअपम्यानकै रुपमा काम गरे पनि कलाकारहरुको शृंगारका लागि भारतबाट मेकअपम्यान मगाउनुपर्ने समयमा आफ्ना भारतीय मेकअप आर्टिस्ट गुरुहरु बीचमा काममा नआएपछि बाँकी जिम्मेवारी पनि आफैले पँरा गर्नुभएको थियो भने फिल्म मायालुदेखि मेकअपम्यानको पँर्ण जिम्मेवारी निर्वाह गर्न थाल्नुभएको थियो। माया, सारंगी, युगदेखि युगसम्म, शान्तिदीप, अधिकार, महामाया, कसम, कागबेनी, रणभँमि, भरिया, बादलपारि, कस्तो साइनो, भँमरी, मुक्तिदाता, काठमाडौंजस्ता साढे २ सयभन्दा बढी फिल्ममा विभिन्न कलाकारको शृंगार गर्दै आउनुभएका तामाङले वृत्तचित्र, फिल्म, टेलिफिल्म, मोडलिङ, फेसन सो र फोटो सेसनमा मेकअपम्यानका रुपमा काम गरी पर्दापछाडि बसेर नेपाली कला तथा फिल्म क्षेत्रलाई योगदान पुर्‍याउँदै शृंगारकला विधामा उत्कृष्ट काम गरेबापत प्रथम टेलिफिल्म अवार्ड २०४४, भिडियो फिल्म अवार्ड २०४७, कलिउड सिने अवार्ड २०५७, मोसन पिक्चर अवार्ड २०५८ र डिजिटल फिल्म अवार्ड २०६९ चुम्नुभएको छ भने विभिन्न मान सम्मानबाट समेत सम्मानित हुँदै आउनुभएको छ। स्टिल फोटोग्राफरको समेत काम गर्दै आउनुभएका सन्तुले मेकअपम्यान भई काम गर्दै जाँदा दर्जनौं मेकअपम्यानसमेत जन्माउँदै आउनुभएको छ भने २०५९ सालमा बागबजारमा मेकअप स्टुडियो स्थापना गरी सयौं मेकअप आर्टिस्ट तथा ब्युटिसियन उत्पादन गर्न सफल हुनुभएको छ।

नेपाल चलचित्र प्राविधिक संघको संस्थापक उपाध्यक्षदेखि अध्यक्षसम्म भई त्यस संघबाट सफलरुपमा ५ संस्करणसम्म नेफ्टा फिल्म अवार्डको आयोजना गर्नुभएका सन्तुले चलचित्र विकास बोर्ड, चलचित्र कल्याणकारी कोष, विज्ञापन एजेन्सी संघ नेपाल, सांस्कृतिक युनेस्को क्लबलगायतको सदस्य भई काम गरिसक्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्