अवार्डमा भावुक भए राजेश हमाल



यसपालिको कामना फिल्म अवार्डस् २०७६ मा अभिनेता राजेश हमाल कार्यक्रम सञ्चालकका रुपमा देखापरे।

कार्यक्रम शुरु हुनुअघि हलमा बलिरहका बत्ती (लाइट) बन्द भए। फिल्म हलको शैलीमा विभिन्न विज्ञापन बजे। विज्ञापनपश्चात् धुमपान नगर्न र मोबाइल साइलेन्समा राख्न सन्देश बज्यो। अनि फिल्मी शैलीमा अवार्ड समारोहको कास्टिङ चल्यो। हालसम्म निधन भएका कलाकारहरुको सम्झनामा भिडियो बज्यो र अन्त्यमा कामना न्यूज पब्लिकेसन्स्का संस्थापक तथा प्रधान सम्पादक स्व. पुष्करलाल श्रेष्ठको सम्झनामा मार्मिक भिडियो सामग्री बज्यो। तत्पश्चात् स्टेजमा मधुरो प्रकाश बल्यो, अनि मञ्चमा देखापरे अभिनेता राजेश हमाल।

‘कति दुःखद कुरा? कामना फिल्म अवार्डस्को आज पँचौं संस्करण। विगतका ४ संस्करणसम्म म विविध कारणवश कामनाको अवार्ड सेरोमनीमा सामेल हुन सकिनँ। २०७१ सालमा हो जस्तो लाग्छ कामना फिल्म अवार्डस्को पहिलो वर्ष म अवार्ड सेरोमनीमा एउटा डान्स प्रस्तुतिका लागि करिब एक हप्तासम्म कोरस कलाकार र करिश्मा मानन्धरजीसँग रातो टीका निधारमा गीतका लागि प्रयाक्टिस पनि गरेको थिएँ। कामनाजस्तो यो क्षेत्रलाई अगाडि बढाउने पत्रिकाको अवार्ड फंक्सनलाई लिएर म एक्साइटेड थिएँ। कामना अवार्डकै दिन फर्कने गरी एउटा कार्यक्रममा सहभागी हुन भैरहवा पुगेको थिएँ। तर मंसिर पुसको महिना मौसम फेरबदल भइरहन्छ। मौसमका कारण भैरहवाको फस्ट फ्लाइट डिले हुँदा हुँदा राती मात्र उड्न सक्यो र मेरो त्यत्रो दिनको मेहनत पानीमा मिल्न पुग्यो। त्यो अवार्ड सेरोमनीमा मैले डान्स गर्न त के सहभागीसमेत हुन पाइनँ’, हमालले मञ्चबाटै सुनाए– ‘त्यो बेलादेखि अहिलेसम्म कामना अवार्डमा सामेल हुने मौकै मिलिरहेको थिएन। कहिले विदेशमा पर्ने कहिले देशकै कुनै कार्यक्रमका लागि पहिले नै समय दिइसकेको हुने भएकाले कामना अवार्डमा आउन साइत जुरेको थिएन। तर जब म आज कामना फिल्म अवार्डमा सामेल हुन आइपुगेको छु, यस अवार्डका शुरुआतकर्ता अनि कामनाका प्रधान सम्पादक पुष्करलाल श्रेष्ठजी हामीबीच हुनुहुन्न। कस्तो दुःखद क्षण? म उहाँकै सम्मुखमा आफूलाई यो कार्यक्रममा प्रस्तुत गर्न चाहन्थें। तर मेरो दुर्भाग्य मैले त्यो अवसर गुमाएँ। बिडम्बना हाम्रो सामीप्यमा हुनुपर्ने पुष्करजीलाई आज स्क्रिनमा हेरेर चित्त बुझाउनुपरेको छ। यो मेरा लागि असाध्यै दुःखदायी क्षण हो।’

कार्यक्रम सञ्चालनका क्रममा हमालले आफ्नो करियरको शुरुआत र कामनाको शुरुआत लगभग सँगसँगै भएको चर्चा गर्दै आफ्नो कलाकारिताको यात्रामा महत्वपूर्ण भूमिका खेलेको स्मरण गरे। ‘मेरो जेनेरेसनको कलाकारलाई पनि थाहा छ। हाम्रो शुरुआतका दिनमा जति पनि चलचित्र बन्थे, चलचित्रका जति पनि गतिविधि हुन्थे, हाम्रा दर्शकले कामनामार्फत नै थाहा पाउनुहुन्थ्यो। आज पनि म देशविदेश जाँदा दर्शकहरुले कामना किन्न स्टेसनरी जाँदादेखि त्यसका लागि पुँजी जम्मा पारेको घटना सुनाउनुहुन्छ।’ –हमालले सुनाए।
उनले कामना समूह र पुष्करलालको परिवारले पाँचौं संस्करणदेखि दुई सम्मान थप गरेको घोषणा गर्दै ती सम्मानका साथमा कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफटाइम अचिभमेन्ट अवार्ड) समर्पणका लागि कार्यक्रम सञ्चालन गरेका थिए। ती सम्मान समर्पणपश्चात् हमालले अभिनेत्री मिथिला शर्माको नृत्य प्रस्तुतिको उद्घोष पनि गरेका थिए।

अवार्ड समारोहको पहिलो भागको सञ्चालन हमालले गरेका थिए भने त्यसपछिको कार्यक्रम नरेश भट्टराई र मन्दिरा ढुंगेलले अगाडि बढाएका थिए।

प्रतिक्रिया दिनुहोस्