समीक्षादेखि मदनकृष्ण र तारा थापासम्मको जोडदार मेड्ले



कामना फिल्म अवार्डस् समारोहको विशेष प्रस्तुतिका रुपमा हुँदै आएको मेड्ले सङ प्रस्तुति सदाझैं यसपटकको गोदरेज नम्बर वान कामना फिल्म अवार्डस् २०७६ मा पनि अर्को आकर्षणको विषय बन्न पुग्यो।

नयाँदेखि पुरानो पुुस्तासम्मका गायकगायिकाले प्रस्तुत गरेको मेड्ले यो वर्ष पनि यादगार प्रस्तुति बन्न पुग्यो। समारोहमा बालगायिका समीक्षा अधिकारीदेखि हास्यव्यंग्य अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठ र गायिका तारा थापासम्मले करिब एक दर्जन वाद्यवादकको प्रत्यक्ष वाद्यवादनमा एकपछि अर्को गीतका अंश प्रस्तुत गर्दै वाहवाहीमाथि वाहवाही पाए।

समारोहमा मेड्ले सङको शुरुआत गर्ने क्रममा शुरुमै लोकप्रिय गायिका तारा थापा मञ्चमा देखापरिन्। उनले मेरो पीरतीको छल्कियो तरंग खुसीले नाच्छ अंगअंग बोलको गीत गाएर तालीमाथि ताली पाइन् भने गायिका प्रविशा अधिकारीले तिमीबाहेक बिताएका दिनहरु मेरो उमेरमा गन्दिनँ गाएर ताली पाइन्।

बाल गायिका समीक्षा अधिकारीले नाइँ नभन्नु ल ५ का लागि गाएको फेरि कहाँ आउँछ र घुमेर यो बालापनको उमेर गाउँदै कार्यक्रम जमाइन् भने गायक आनन्द कार्कीले भरे आउँछु सपनीमा पर्खी राख है गाएर वाहवाही बटुले। उनलाई साथ दिइन् गायिका देविका वन्दनाले। देविकाले पनि दर्शक तथा कलाकर्मीबाट उस्तै तारिफ र ताली पाइन्। त्यसपछि आनन्दले बिहानी पहिलो किरणसरि मनमा खुसीहरु फुल्न थाले गाउँदा दर्शकहरु पनि उनलाई साथ दिइरहेका देखिन्थे।

गायक कार्कीपछि जोसिलो रुपमा स्टेजमा देखिए गायक तथा संगीतकार शम्भुजित बास्कोटा। उनले लौलौ आए लिलीलाई देखेर लै लै मिठो वचन मायाको बाबा लैलै बोलको गीत गाउँदा दर्शक रोमाञ्चित भएका थिए। उनलाई साथ दिएकी थिइन् प्रविशा अधिकारीले।
गायक प्रल्हाद तिल्सिनाले आप्mनो हिट नम्बर गाला रातै गाला रातै गाला रातै बैंसले हो कि लाजैले हो कि गाउँदा नरमाउने दर्शक कोही भएनन्। उनी लामो समयपछि स्टेजमा गीत प्रस्तुतिका साथ देखिँदा दर्शक तथा कलाकर्मी रमाएका थिए।

त्यस्तै लामो समयपछि स्टेजमा गीत लिएर देखिए गायक तथा संगीतकार टिका भण्डारी। उनले गोली सिसाका मेरो माया किन रिसाको गाउँदा दर्शकदीर्घामा रौनकता बढ्न पुग्यो। अर्को सरप्राइज त के भने उनलाई युगल स्वरमा साथ दिन मञ्चमा झुल्किइन् अभिनेत्री गौरी मल्ल। गौरीले गीत गाउँदा दर्शकहरु अचम्मित र उत्साहित हुँदै उनलाई साथ दिइरहेका थिए। त्यसै गरी देविका बन्दनाले फेरि स्टेज चढेर लुकीछिपी लुकीछिपी हेर्नेले सुटुक्क मेरो मन चोर्नेले गाउँदा दर्शकदीर्घामा जोस थपियो।

संगीतकार वसन्त सापकोटा र समीक्षा अधिकारीले सान्नानीलाई भेट्न आउँदा रातै पर्‍यो बाटैमा गाएर दर्शकमा रोमाञ्चकता छरियो।
मेड्लेको अन्त्यमा देखापरे हास्यव्यंग्य अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठ। उनले गायिका तारा थापाका साथ सयथरी बाजा एउटै ताल सयथरी गोडा एउटै चाल, मेची काली सिंगै ढिको साझा हाम्रो देश नेपाल गाउँदा ललितपुरस्थित हेरिटेज गार्डेनको विशाल हल संगीतमय बन्न पुग्यो। गीतको बीचतिर मदनकृष्ण र तारालाई यो गीतमा साथ दिन त्यसअघि आआफ्ना गीत गाएका गायक गायिकाहरु फेरि मञ्चमा देखिए। समारोहमा गायकगायिकाहरुले नेपाली फिल्मजगत्का पुराना सदाबहारदेखि नयाँ लोकप्रिय गीतसंगीत प्रस्तुत गरेका थिए।
मेड्ले प्रस्तुतिमा प्रदीप श्रेष्ठ संगीत संयोजक रहेका थिए भने किबोर्ड वादन पनि उनैले गरेका थिए। त्यसै गरी अक्टोप्याडमा रुपेश सिंह, लिड गीतारमा देवाशिष तामाङ, ढोलक र कंगोमा सुधिर चौधरी, वाँसुरीमा रत्न विश्वकर्मा, तबलामा कुन्दन शाह शंकर र बेस गितारमा असिम मोक्तान तामाङ थिए।

प्रतिक्रिया दिनुहोस्