बेली डान्सरदेखि कोरियोग्राफरसम्म एकै मञ्चमा



गोदरेज नम्बर वान कामना फिल्म अवार्डस् २०७६ को अर्को आकर्षण बन्न पुग्यो मेड्ले डान्स प्रस्तुति।

जसमा बेली डान्सर बिनु शाक्यदेखि स्टार कलाकारहरु र कोरियोग्राफर कविराज गहतराजसम्मले एकसाथ स्टेज शेयर गरेर दर्शकलाई मनोरञ्जन प्रदान गरे।

बेली डान्सर बिनु यो जवानी सक्छौ भने लैजाऊ मेरो जवानी बोलको गीतमा डान्स गर्दै हट अवतारमा प्रस्तुत भएकी थिइन्। यसलगत्तै नायक एसराज गराचले जाऊ न माया जाऊ जाऊ न माया जाऊ बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए। त्यसै गरी नायक प्रमोद अग्रहरी र नायिका छुल्ठिम गुरुङले जुनी काट्छु भन्थेउ नि मसित मनको साइनो जोडिछौ कोसित बोलको गीतमा युगल नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई थप रमाइलो र उत्साहजनक बनाएका थिए।

उनीहरुको प्रस्तुति सकिएपछि स्टेजमा नायक पल देखापर्छन्। प्रेम गीत ३ मा समावेश केही गीत तिम्रो घरको वरिपरिमा नृत्य गरेका पललाई साथ दिन आउँछिन् नायिका पूजा शर्मा। पल र पूजाको नृत्यपछि अभिनेत्री गौरी मल्लले उडूँ कि गुडूँ म ए चरी उड्न सिकाइदेऊ न बोलमा नृत्य प्रस्तुत गर्दा नरेशविक्रम सिंह र उनको समूहले धड्कनभित्र लुकाइदेऊ न बोलको गीतमा नृत्य प्रस्तुत गरे।

अन्तिम प्रस्तुतिका रुपमा भने मेड्लेका कोरियोग्राफर कविराज गहतराजले आहा कलिलो तामालाई सोध आमालाई गीतको धुन र त्यसपछि रुपै मोहनी नारन रुपै मोहनी बोलको गीतमा कुटुमा कुटु सुपारी दानाको झ्याप्पै कदम रोकियो फूलको बोटैमा र काले दाइ काले दाइ गीत मिसाई धमाकेदार नृत्य प्रस्तुत गरेका थिए। त्यसपछि गौरी मल्ल, नरेशविक्रम सिंह र कविराज गहतराजसँगै स्टेजमा आएर नृत्य प्रस्तुत गर्दा दर्शकले ताली र हुटिङले उनीहरुलाई सम्मान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्