फेशन, नाट्य र संगीतलाई सिजी क्रिटिक्स अवार्ड



न्हयु वज्राचार्य

सिजी क्रिटिक्स अवार्ड फर म्युजिक

कामना फिल्म अवार्डस् समारोहमा सिनेमाबाहेक हरेक वर्ष फेशन, नाट्य तथा संगीत विधामा योगदान दिने एक/एक व्यक्तित्वलाई सिजी क्रिटिक्स अवार्ड प्रदान गर्ने गरिन्छ। यस वर्ष पनि यी तीनै क्षेत्रमा योगदान गर्नेलाई सिजी क्रिटिक्स अवार्डद्वारा सम्मान गरियो। यसपटक संगीततर्फको सिजी क्रिटिक्स अवार्ड संगीतकार तथा गायक न्ह्यु वज्राचार्यलाई प्रदान गरिएको छ।

वज्राचार्य दुई दशकदेखि नेपाली गीतसंगीतको क्षेत्रमा सक्रिय छन्। उनले नेपाली, नेवारी हिन्दी, संस्कृत तथा अंग्रेजी भाषाका पाँच सयभन्दा बढी गीतमा संगीत भरेका छन् भने वीर गणेशमान, मुकुण्डो, देश परदेश, पल, राजमती, नुमाफुङ, १५ गतेजस्ता नेपाली, नेवारी र लिम्बु भाषाका फिल्म तथा टेलिफिल्ममा संगीत दिएका छन्। २०४५ सालमा रेडियो नेपालद्वारा सञ्चालित देशव्यापी संगीत प्रतियोगितामा प्रथम भएका न्हयु २०५८ सालमा नारायाण गोपाल युवा संगीत पुरस्कारबाट सम्मानित भएका थिए। हाल पनि उनी गीतसंगीतको क्षेत्रमा सक्रिय छन्। अवार्ड समारोहका समयमा उनी देशबाहिर रहेका थिए।

 

ज्ञानीशोभा तुलाधर

सिजी क्रिटिक्स अवार्ड फर फेसन

सिजी क्रिटिक्स अवार्ड फर फेशन नमुना कलेज अफ फेशन टेक्नोलोजीकी संस्थापक अध्यक्ष तथा फेशन डिजाइनर ज्ञानीशोभा तुलाधरलदाई प्रदान गरियो।

नेपाली फेशन डिजाइनिङको क्षेत्रमा चार दशकदेखि योगदान पुर्‍याउँदै आएकी उनी फेशनको क्षेत्रमा नयाँपनको शुरुआतकर्ताका रुपमा चिनिन्छिन्। नेपालकै पहिलो स्नातक तहको फेशन कलेज स्थापना गरेर फेशनको दुनियाँमा थप योगदान दिएकी उनी यही क्षेत्रमा सक्रिय छिन्।

 

सिर्जना सुब्बा

सिजी क्रिटिक्स अवार्ड फर थिएटर

रंगमञ्चतर्फको सिजी क्रिटिक्स अवार्ड रंगकर्मी तथा अभिनेत्री सिर्जना सुब्बालाई प्रदान गरियो। करिब एक दशकदेखि रंगमञ्चमा आबद्ध उनी मण्डला थिएटरको संस्थापक र सञ्चालकसमेत हुन् भने हाल मण्डला थिएटरको अध्यक्ष रहेकी छिन्।

सिर्जना सुब्बाले तीन दर्जनभन्दा बढी नाटक तथा आधा दर्जनभन्दा बढी फिल्ममा अभिनय गरेकी छिन्। लुटमार्फत् फिल्मी कलाकारिता शुरु गरेकी उनले फिल्म डाइङ क्यान्डलमा गरेको सशक्त अभिनयका लागि कामना फिल्म अवार्ड, राष्ट्रिय चलचित्र अवार्ड, इनास अवार्ड, फान अवार्ड चुमेकी छिन्। घरको नाटकमय वातावरणबाट प्रभावित भएर कलाकारितामा आएकी उनले गर्भवती अवस्थामा मण्डला थिएटरमा केहीअघि मञ्चित महाभोज नामक नाटकमा गर्भवती प्रहरीको भूमिकामा अभिनय गरेर नाटकप्रेमीहरुको मन जितेकी थिइन्।

 

प्रतिक्रिया दिनुहोस्