कामना अवार्डस् २०७६



विपीन कार्की

अभिनेता
प्रसाद

यस वर्ष सर्वोत्कृष्ट अभिनेताको अवार्ड फिल्म प्रसादबाट विपीन कार्कीले जितेका छन्। विपीन फिल्म गोपीबाट पनि मनोनयमा थिए। यस वर्ष यो विधाको मनोनयनमा डमरुको डण्डीबियोबाट खगेन्द्र लामिछाने, साइँलीबाट गौरव पहाडी र भिलेनबाट निखिल उप्रेती परेका थिए।  विपीन हजुरबुबाको निधनका कारण अवार्ड समारोहमा सरिक हुन सकेनन्। विपीनले यसअघि २०७३ सालमा फिल्म पशुपतिप्रसादबाट खलपात्र र २०७४ सालमा जात्राबाट सर्वोत्कृष्ट अभिनेताको अवार्ड चुमेका थिए।

अवार्डको मनोनयमा परेपछि विपीनले धेरै फिल्ममा काम गरिसकेको र सिनियर कलाकार भएका कारण यो विधाको अवार्ड निखिल उप्रेतीले जित्ने अनुमान सुनाएका थिए।

 

नम्रता श्रेष्ठ

अभिनेत्री
प्रसाद

सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड फिल्म प्रसादबाटै अभिनेत्री नम्रता श्रेष्ठले जितेकी छन्। यो विधामा छक्का पन्जा ३ बाट दीपिका प्रसाईं, साइँलीबाट मेनुका प्रधान, रामकहानीबाट पूजा शर्मा र भिलेनबाट शिल्पा पोखरेल मनोनयमा परेका थिए। नम्रता होम प्रोडक्सनको फिल्म जाइराको प्रदर्शनीका लागि अमेरिकामा रहेकीले अवार्ड समारोहमा सरिक थिइनन्। उनको अवार्ड, समारोहमा सामेल उनकी दिदीको छोरा सम्यक ताम्राकारले ग्रहण गरेका थिए। सम्यक फिल्म उत्सवको बालकलाकार हुन्। नम्रताले यसअघि २०७३ सालमा पनि फिल्म क्लासिकबाट सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड चुमेकी थिइन्।

अवार्डको मनोनयमा परेपछि नम्रताले राम्रो कामकै कारण सबै जना मनोनयमा परेको जनाउँदै भनेकी थिइन् ‘नोमिसनमा परेर पहिले नै सबै जना विजेता भइसक्नुभएको छ। जसले राम्रो काम गरेको छ, उसैले अवार्ड जितोस्। म सधैं जुरीको डिसिजनलाई रेस्पेक्ट गर्छु र गरिरहनेछु।’

 

उमेश थापा

नवअभिनेता
बोबी

सर्वोत्कृष्ट नवअभिनेताको अवार्ड उमेश थापाले जितेका छन्। उमेशले बोबीमा गरेको अभिनयका लागि नवअभिनेताको कामना फिल्म अवार्ड जितेका हुन्। नर्वेमा बस्दै आएका उमेशको अनुपस्थितिमा उनको अवार्ड उनकी नवनायिका पत्नी कविता गुरुङले ग्रहण गरेकी थिइन्। कविता पनि बोबीबाटै नवअभिनेत्रीको मनोनयमा परेकी थिइन्। पति र छोराका साथ नर्वेमै बस्दै आएकी कविता अवार्ड समारोहका लागि काठमाडौं आएकी थिइन्। उमेशसँगै भिलेनबाट कपिल खत्री, सयकडा दशबाट उत्सव न्यौपाने, नाइँ नभन्नु ५ बाट अभिषेक नेपाल र बाँध मायालेबाट किशोर खड्का मनोनयनमा थिए।

मनोयनमा परेपछि उमेशले नर्वेबाटै मनोनयमा परेका सबैले राम्रो काम गरेको र त्यसैले सबैजना अवार्डका लागि योग्य भएको बताएका थिए।

 

सुहाना थापा

नवअभिनेत्री
ए मेरो हजुर ३

यस वर्ष सर्वोत्कृष्ट नवअभिनेत्रीको अवार्ड फिल्म ए मेरो हजुर ३ बाट नवनायिका सुहाना थापाले चुमेकी छिन्। यस वर्ष यो विधाको मनोनयनमा बोबीबाट कविता गुरुङ, जानी नजानीबाट निरीषा बस्नेत, रणवीरबाट सुपुष्पा भट्ट र यात्राबाट मलिका महत परेका थिए। अध्ययनका सिलसिलामा अमेरिका रहेकी नायिका सुहाना थापा संयोगवश अवार्ड समारोहकै दिन काठमाडौं आइपुगेकी थिइन्।

उनले अन्य फिल्मकर्मी अतिथिहरुका साथ आफ्नो नायिका तथा निर्देशक आमा झरना थापाबाट नवनायिकाको अवार्ड थाप्ने अवसर प्राप्त गरेकी थिइन्। अवार्डको मनोनयमा परेपछि उनले अमेरिकाबाटै मनोनयमा परेका सबैले यो क्षेत्रमा जीवनको महत्वपूर्ण समय दिएकाले अवार्डका लागि सबैजना योग्य भएको प्रतिक्रिया दिएकी थिइन्।

 

सुवास थापा

सर्वोत्कृष्ट चलचित्र
प्रसाद

सर्वोत्कृष्ट चलचित्रको अवार्ड यस वर्ष फिल्म प्रसादलाई गएको छ। सर्वोत्कृष्ट चलचित्रको अवार्ड फिल्मका निर्माता सुवास थापाले ग्रहण गरेका थिए। यो विधामा फिल्म छक्का पन्जा ३, डमरुको डण्डीबियो, नाइँ नभन्नु ५ र साइँली मनोनयनमा परेका थिए।

निर्माता थापाले आफूद्वारा निर्मित फिल्म मनोयनमा परेपछि कमर्सियल र कन्टेन्टवाइज हेर्दा तथा र दर्शकले पनि मन पराएको पक्षलाई हेर्दा प्रसादले नै अवार्ड जित्नेमा ढुक्क भएर बसेको बताएका थिए।

 

दयाहाङ राई

सहअभिनेता
साइँली

सर्वोत्कृष्ट सहअभिनेताको अवार्ड फिल्म साइँलीबाट अभिनेता दयाहाङ राईले जितेका छन्। यो विधामा छक्का पन्जा ३ बाट जितु नेपाल, डमरुको डण्डीबियोबाट अनुप बराल, सयकडा दशबाट मनोज गजुरेल र यात्राबाट सलोन बस्नेत मनोनयमा परेका थिए। दयाहाङ जरुरी कामले गाईघाटमा रहेकाले अवार्ड समारोहमा सरिक थिएनन्। उनको अवार्ड साइँलीका निर्माता तथा अभिनेता गौरव पहाडीले ग्रहण गरेका थिए। उनी सो फिल्मबाट अभिनेताको मनोनयमा थिए।

अवार्डको मनोनयमा परेपछि दयाहाङले यो विधाको अवार्ड डमरुको डण्डीबियोबाट मनोनयनमा परेका अनुप बरालले जित्दा खुसी लाग्ने बताए। उनले साइँलीमा राम्रो मेहनत गरेकाले आफूले पनि जित्न सक्ने सम्भावना रहेको बताएका थिए।

 

प्रियंका कार्की

सहअभिनेत्री
नाइँ नभन्नु ल ५

सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड फिल्म नाइँ नभन्नु ल ५ बाट अभिनेत्री प्रियंका कार्कीले जितेकी छन्। यो विधामा चक्करबाट ऋचा शर्म, जानी नजानीबाट नम्रता श्रेष्ठ, सयकडा दशबाट रश्मी भट्ट र कथा काठमाडौंबाट सन्ध्या केसी मनोनयमा परेका थिए।

प्रियंका यसअघि २०७३ सालमा फिल्म लक्स पपुलर च्वाइस अवार्डका साथमा फिल्म क्लासिकबाट सहअभिनेत्री र २०७५ सालमा लक्स पपुलर च्वाईस अवार्ड विजेता भएकी थिइन्।

 

स्वस्तिमा खड्का

गोदरेज नम्बर वान
पपुलर च्वाइस अवार्ड

एसएमएस भोटिङका आधारमा प्रदान गरिने गोदरेज नम्बर वान पपुलर च्वाइस अवार्ड यस वर्ष स्वस्तिमा खड्काले जितेकी छिन्। उनी यो विधामा वर्षा राउत, प्रियंका कार्की, साम्राज्ञी राज्यलक्ष्मी शाह र सृष्टि खड्कासँगै मनोनयमा थिइन्। स्वस्तिमा दर्शकबाट सबैभन्दा बढी एसएमएस भोटिङ प्राप्त गर्न सफल भएकी थिइन्।

 

प्रमोद अग्रहरी

खलपात्र
कथा काठमाडौं

सर्वोत्कृष्ट खलपात्रको अवार्ड यस वर्ष प्रमोद अग्रहरीले चुमेका छन्। उनले आफ्नो अभियन करियरमा पहिलोपटक अवार्ड चुमेका हुन्। प्रमोदले कथा काठमाडौंबाट अवार्ड चुमेपछि पहिलोपल्ट नै कामना फिल्म अवार्डजस्तो अवार्ड पाउँदा गौरव लागेको बताए। यो विधामा भिलेनबाट धु्रव कोइराला, रणवीरबाट प्रशान्त ताम्राकार, प्रसादबाट निश्चल बस्नेत र चक्करबाट अर्पण थापा मनोनयनमा परेका थिए।प्रमोदले अवार्डअघि कथा काठमाडौंमा वास्तविकतासँग नजिक रहेर भूमिका निर्वाह गरेकाले अवार्डको आशा रहेको प्रतिक्रिया दिएका थिए।

 

केदार घिमिरे

हास्य कलाकार
छक्का पन्जा ३

सर्वोत्कृष्ट हास्य कलाकारको अवार्ड फिल्म छक्का पन्जा ३ बाट केदार घिमिरेले चुमेका छन्। रामकहानीबाट उनीसँगै रवीन्द्र झा र विल्सनविक्रम राई मनोनयमा थिए। साथै बाँध मायाबाट राजाराम पौडेल हास्य कलाकारको मनोनयमा परेका थिए। केदारले २०७४ सालमा छक्का पन्जाबाटै यो विधाको कामना फिल्म अवार्ड चुमेका थिए।केदारले अवार्डअघि राजराम पौडेल सिनियर भएकाले यो विधाको अवार्ड उनैले जित्ने अनुमान लगाएका थिए।

 

सेड्रिना शर्मा

बालकलाकार
नाइँ नभन्नु ल ५

बालकलाकार सेड्रिना शर्मा पहिलो फिल्मबाटै कामना फिल्म अवार्ड विजेता बनेकी छिन्। उनले नाइँ नभन्नु ल ५ बाट सर्वोत्कृष्ट बालकलाकारको अवार्ड चुमेकी छन्। यो विधामा नाइँ नभन्नु ल ५ बाटै अनुभव रेग्मी, कोहलपुर एक्सप्रेसबाट कुशाग्र भट्टराई र चंगाबाट लक्की भण्डारी मनोनयनमा परेका थिए। सेड्रिनासँगै नाइँ नभन्नु ल ५ बाट मनोनयनमा परेका अनुभव रेग्मी भैरेबाट पनि यो विधाको मनोनयमा थिए।सेड्रिनाले अवार्डअघि अभिनय र कन्फिडेन्सका आधारमा बालकलाकारको अवार्ड आपूmले नै पाउनुपर्ने दाबी गरेकी थिइन्। उनले अवार्ड विजेता जुरीको निर्णयमा भर पर्ने भन्दै प्रतिस्पर्धी बालकलाकार सबैलाई शुभकामनासमेत दिएकी थिइन्।

 

छेतन गुरुङ

नव निर्देशक
डमरुको डण्डीबिया

फिल्म क्षेत्रमा फिल्म लेखकका रुपमा परिचय स्थापित गरेका छेतन गुरुङ पहिलोपल्ट निर्देशन गरेको फिल्मबाटै अवार्ड जित्न सफल भएका छन्। उनले फिल्म डमरुको डण्डीबियोबाट सर्वोत्कृष्ट नवनिर्देशकको अवार्ड जितेका छन्। उनीसँगै चक्करबाट अनुष्क रौनियार, जानी नजानीबाट वसन्त अधिकारी, यात्राबाट सम्राट शाक्य र कथा काठमाडौंबाट संगीता श्रेष्ठ मनोनयनमा थिए। छेतन प्रेम गीत ३ को सुटिङका लागि मनाङमा फसेकाले अवार्ड समारोहमा सरिक हुन सकेका थिएनन्।उनले अवार्डअघि डमरुको डण्डीबियोमा आफूले चाहेजस्तो काम गर्न नपाएकाले यो विधाको अवार्ड यात्रा निर्देशक सम्राट शाक्यले जित्ने अनुमान सुनाएका थिए।

 

सिंघे लामा

निर्माता
जुरी अवार्ड
हरि

यस पटकको गोदरेज नम्बर वान कामना फिल्म आवर्डस् २०७६ मा जुरी अवार्ड फिल्म हरिलाई प्रदान गरियो। कला निर्देशक तथा निर्माता सिंघे लामाद्वारा निर्मित तथा सफल केसी तथा प्रतीक गुरुङद्वारा निर्देशित फिल्म हरिलाई जुरी अवार्ड दिन योग्य देखिएको अवार्डका प्रमुख निर्णायक अभिनेता तथा रंगकर्मी हरिहर शर्माले जानकारी गराएका थिए। निर्णायक मण्डलमा फिल्म लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्मा, रंगकर्मी तथा लेखक निर्देशक अशेष मल्ल, गायिका तारा थापा र गीतकार, फिल्म सम्पादक र एनिमेटर करुण थापा निर्णायक सदस्य रहेका थिए।

 

सुशील पौडेल

पटकथा
प्रसाद

सर्वोत्कृष्ट पटकथाको अवार्ड पत्रकार सुशील पौडेलले चुमेका छन्। उनले फिल्म प्रसादका लागि तयार पारेको पटकथाबाट अवार्ड चुमेका हुन्। यो विधामा सयकडा दशबाट रामशरण पाठक, डमरुको डण्डीबियोबाट खगेन्द्र लामिछाने, नाइँ नभन्नु ५ बाट विकासराज आचार्य र सामिप्यराज तिमिल्सिना र छक्का पन्जा ३ बाट दीपकराज गिरी मनोनयनमा परेका थिए।सुशीलले कामना अवार्डको मनोनयमा परेपछि सबै प्रतिस्पर्धी एकसे एक भएकाले अवार्ड कसले जित्छ वा सर्वोत्कृष्ट ठहरिन्छ भन्ने आप्mना लागि पनि प्रतीक्षाको विषय भएको बताएका थिए। ‘जुरीले संवाद विषयमा जसलाई उत्कृष्ट ठान्नुहुनेछ, त्यो मेरा लागि मान्य हुनेछ’, सुशीलले भनेका थिए– ‘मैले मेरो कर्म गरिसकेको छु। मूल्यांकनको सबै अधिकार र जिम्मा जुरीमै छोड्न चाहन्छु।’

 

दीपकराज गिरी/केदार घिमिरे/जितु नेपाल/यमन श्रेष्ठ

संवाद
छक्का पन्जा ३

सर्वोत्कृष्ट संवादको अवार्ड यस वर्ष एकै साथ ४ जनालाई प्रदान गरिएको छ। फिल्म छक्का पन्जा ३ बाट दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र यमन श्रेष्ठले अवार्ड जितेका छन्। एकै विधामा एकभन्दा बढी विजेता भए प्रत्येकलाई ट्रफी प्रदान गरिँदै आएको कामना अवार्डको यो विधामा चारजना विजेताका लागि चारवटै ट्रफीको व्यवस्था गरिएको थियो। यो विधामा प्रसादबाट सुशील पौडेल, सयकडा दसबाट रामशरण पाठक, साइँलीबाट रामबाबु गुरुङ र डमरुको डण्डीबियोबाट खगेन्द्र लामिछाने मनोनयमा परेका थिए।अवार्डअघि दीकराजले छक्का पन्जा ३ फिल्मले संवाद विधाको अवार्ड पाउने बताएका थिए भने केदार घिमिरेले सुशील पौडेलले यो विधाको अवार्ड जित्ने बताएका थिए। त्यसै गरी जितु नेपालले छक्का पन्जा ३ को संवाद राम्रो भएको बताएका थिए भने यमन श्रेष्ठले अवार्ड आफूहरुले नै जित्ने बताएका थिए।

 

वसन्त सापकोटा

संगीतकार
नाइँ नभन्नु ल ५
(तिम्रो आँखामा)

सर्वोत्कृष्ट संगीतकारको अवार्ड वसन्त सापकोटाले चुमेका छन्। वसन्तले नाइँ नभन्नु ल ५ को तिम्रो आँखामा बोलको गीतको संगीतका लागि कामना फिल्म अवार्ड चुमेका हुन्। उनी बोबीको आँखाको नानी बोलको गीतबाट समेत मनोनयमा परेका थिए। उनीसँगै साइँलीको बगिरहेंबाट कालीप्रसाद बाँस्कोटा, अनुरागको तिम्रो स्वरमाबाट सरोज पोखरेल र ए मेरो हजु र ३ को जिन्दगी नै भन्दिनँबाट आशीष अबिरल मनोनयनमा थिए।वसन्तले अवार्डअघि सबै गीतको संगीत अवार्डका लागि योग्य भएको जनाउँदै मनोनयमा परेका आप्mना दुवै गीतको संगीत राम्रो भएकाले तीमध्ये एकबाट अवार्ड जित्न सक्ने आशा व्यक्त गरेका थिए।

 

कविराज गहतराज

कविराज गहतराजछक्का पन्जा ३
(पहिलो नम्बरमा)

४ फिल्म भैरे, छक्का पञ्जा ३, नाइँ नभन्नु ल ५ र रामकहानीबाट नृत्य निर्देशक विधाको मनोनयमा परेका कविराज गहतराजले छक्का पञ्जा ३ को पहिलो नम्बरमा बोलको गीतबाट पाँचौंपटक कामना फिल्म अवार्ड चुमेका छन्। कविराजले २०७१ सालमा कालीको बट स्लोली स्लोली, २०७३ मा ड्रिम्सको तिमीसामु, २०७४ मा छक्का पञ्जाको पूर्व–पश्चिम रेल र २०७५ मा २ रुपियाँको कुटुमा कुटुबाट कामना फिल्म अवार्डस् चुमेका थिए। यससँगै उनले लगातार ५ पटकसम्म कामना फिल्म अवार्ड जित्ने विजेताको नयाँ रेकर्ड पनि बनाएका छन्। उनीसँगै ए मेरो हजुर ३ को परान परानबाट प्रवीण सिंह मनोनयमा थिए। यस वर्षका अवार्डहरुमा भैरेको सान्नानीलाई र रामकहानीको तिम्रो लागिबाट अवार्ड जितेकाले यी दुईमध्ये एकबाट अवार्ड जित्ने अनुमान सुनाएका थिए।

 

अञजु पन्त

पाश्र्व गायिका
बाँध मायाले (सँगसँगै)

सर्वोत्कृष्ट पाश्र्व गायिकाको अवार्ड गायिका अञ्जु पन्तको पोल्टामा परेको छ। अञ्जुले फिल्म बाँध मायालेको सँगैसँगै बोलको गीतबाट अवार्ड पाएकी हुन्। गायिका पन्त अवार्ड समारोहका समयमा कार्यक्रमका सिलसिलामा अमेरिका रहेकीले भाइलाई आप्mनो प्रतिनिधिका रुपमा समारोहमा पठाएकी थिइन्। उनको अवार्ड उनका भाइले ग्रहण गरेका थिए। अञ्जु भिलेनको झ्यानाकुटी झ्याइँबाट पनि मनोनयमा परेकी थिइन् भने उनीसँगै गायिका मेलिना राई ३ फिल्मको ३ गीतबाट मनोनयमा थिइन्। अञ्जुसँगै मेलिना नाइँ नभन्नु ल ५ को तिम्रो आँखा, यात्राको डुली डुली र भैरेको सान्नानीलाईबाट मनोनयमा थिइन्।
अञ्जुले आफू २ र मेलिना ३ गीतबाट मनोयनमा परेपछि यसपटक यो विधाको अवार्ड दुईमध्ये एकजनाले जित्ने पक्का भएको तथा मेलिनाले जिते पनि खुसी नै हुने तर अवार्ड निष्पक्ष होस् भन्ने चाहेको बताएकी थिइन्। उनले २०७३ सालमा फिल्म प्रेम गीतको म त अलपत्रै पर्छु र २०७४ सालमा किस्मत २ को यी आँखाबाट पनि कामना अवार्ड चुमेकी थिइन्।

 

हेमन्त राना

पाश्र्व गायक
साइँली
(बगिरहें)

गायक हेमन्त राना पहिलोपटक पाश्र्वगायकका रुपमा अवार्ड विजेता भएका छन्। उनी साइँलीको बगिरहें बोलको गीतबाट सर्वोत्कृष्ट पाश्र्व गायक विजेता बन्न सफल भएका हुन्। यो विधामा रामकहानीको तिम्रो लागि र बाँध मायालेको सँगैसँगैबाट सुगम पोखरेल, अनुरागको तिम्रो स्वरमाबाट प्रतापदास र छक्का पन्जा ३ को पहिलो नम्बरमाबाट डेबिड शंकर मनोनयमा थिए। गायक राना कार्यक्रमका सिलसिलामा अमेरिकामा रहेकाले उनका पिता लालबहादुर राना दाङबाट काठमाडौं आई हेमन्तको निम्तोपत्र लिएर अवार्ड समारोहमा आएका थिए। अवार्ड पनि उनैले ग्रहण गरेका थिए।

 

पुरुषोत्तम प्रधान

छायांकार
नाइँ नभन्नु ल ५

यस वर्ष सर्वोत्कृष्ट छायांकारको अवार्ड फिल्म नाइँ नभन्नु ल ५ बाट पुरुषोत्तम प्रधानले चुमेका छन्। यस वर्ष यो विधाको मनोनयनमा चक्करबाट रवीन आचार्य र अनुष्क रौनियार, डमरुको डण्डीबियोबाट हरि हुमागाईं, प्रसादबाट राजेश श्रेष्ठ तथा भिलेनबाट सौरभ लामा र मदन कस्यप घिमिरे परेका थिए।

छायांकार प्रधानले मनोनयमा परेपछि सिनेमाटोग्राफीको हिसाबले अवार्ड आफैले जित्नुपर्ने बताएका थिए। ‘सिनेमाटोग्राफीको हिसाबले अवार्ड मैले नै जित्नुपर्ने हो जस्तो लाग्छ। इलामममा खिचेको नाइँ नभन्नु ल ५ को छायांकनको एकदमै प्रशंसा भयो’, उनले भनेका थिए– ‘तर जुरीको मुडमा भर पर्छ। जुरीको र हाम्रो दृष्टिकोणमा एकदमै फरक पर्छ।’उनले २०७३ र २०७५ को कामना फिल्म अवार्डस्मा पनि छायांकारको अवार्ड चुमेका थिए। २०७३ मा ड्रिम्सबाट सञ्जय लामाका साथ अवार्ड चुमेका उनले २०७५ मा कृबाट अवार्ड उचालेका थिए। यस वर्षको अवार्डस्सँगै ह्याट्रिक पूरा गरेका छन्।

 

एलिष कार्की

पाश्र्व संगीत
डमरुको डण्डीबियो

सर्वोत्कृष्ट पाश्र्व संगीतको अवार्ड फिल्म डमरुको डण्डीबियोबाट एलिष कार्कीले चुमेका छन्। उनी भैरे र नाइँ नभन्नु ल ५ बाट पनि मनोनयमा परेका थिए भने उनीसँगै ए मेरो हजुर ३ बाट शैलेश श्रेष्ठ तथा चक्करबाट संंगम पञ्च र पुष्पा पलाञ्चोके परेका थिए।कार्कीले अवार्डअघि आफूले मनोनयनमा परेका सबै फिल्ममा मेहनत गरेको र लोकेसनवाइज पाश्र्व संगीत दिने कोसिस गरेकाले कुनबाट अवार्ड जितिन्छ भन्न नसक्ने बताएका थिए।

उनले २०७४ मा के म तिम्रो होइन र २०७५ मा लिलीबिलीबाट यो विधाको कामना फिल्म अवार्डस् चुमेका थिए भने यो वर्ष अवार्ड जितेसँगै ह्याट्रिक गरेका छन्।

 

श्याम लामा

श्रृंगार
चक्कर

सर्वोत्कृष्ट शृंगारको अवार्ड फिल्म चक्करबाट श्याम लामाले जितेका छन्। यो विधामा डमरुको डण्डीबियोबाट दीपु पौडेल, नाइँ नभन्नु ल ५ बाट श्याम बराल तथा जानी नजानी र भिलेनबाट सरोज बुढाथोकी मनोनयमा परेका थिए। यो उनको जीवनको पहिलो अवार्ड हो। तर लामा प्रेम गीत ३ को सुटिङमा मनाङमा फसेकाले जीवनको पहिलो अवार्ड लिन समारोहमा सरिक हुन सकेनन्। अवार्ड उनका भाइले ग्रहण गरेका थिए।लामाले मनोनयमा परेपछि पात्रलाई वास्तविक रुप दिएकाले डमरुको डण्डीबियोबाट दीपु पौडेलले अवार्ड जित्ने अनुमान सुनाएका थिए। अवार्डअगाडि ‘मेहनत त मैले पनि गरेको छु, तर मेरो काममा कमी कमजोरी होलान्’ भन्ने उनले अवार्ड जितेपछि भने– ‘ म २२ वर्षको करियरमा पहिलोपटक अवार्ड जित्दा धेरै खुसी छु।’

प्रतिक्रिया दिनुहोस्