नाच्न सिकाउने पुस्तक



गीता अधिकारी

नृत्य प्रशिक्षक गोपाल अधिकारीले जो नाच्छ ऊ धेरै बाँच्छ नाम दिएर नृत्यसम्बन्धी सम्पूर्ण खुराक भएको पुस्तक सार्वजनिक गरेका छन् । उनले यो पुस्तकमा विभिन्न ५२ शीर्षकमा नृत्यसम्बन्धी विविध जानकारी प्रस्तुत गर्ने जमर्को गरेका छन् ।

पुस्तकमा यी विषयले प्रवेश पाउनु सामान्य कुरा होइन र जो–कोहीले लेख्न सक्ने विषय पनि होइन । यसका लागि ती–ती विषयवस्तुको ज्ञान, साधना चाहिन्छ । र, चाहिन्छ नृत्यका लागि अनिवार्य मानिएका ती–ती सर्जामहरु पूरा गर्न आधारभूत संज्ञानहरु पनि । गोपालले यसका लागि सम्पूर्ण अवयव तयार पारे र नृत्यसम्बन्धी जानकारी राख्न चाहने, नृत्य सिक्न चाहने र अध्ययन गर्न चाहनेका लागि ल्याए जो नाच्छ ऊ धेरै बाँच्छ ।

नेपालमा प्रचलित नृत्यसम्बन्धी विभिन्न जानकारी समेटिएको यो पुस्तकमा नृत्य परिचय, नृत्यका प्रकार, नव रस, नृत्यमा लय, मात्रा र ताल, नृत्यमा अंग सञ्चालन, चारी र मण्डल, हातका चार कराणहरुदेखि लिएर लोक नृत्यका बारेका लेख प्रस्तुत गरिएको छ । त्यस्तै नेवारी, झ्याउरे, चाब्रुङ, सोरठी, तामाङ सेलो, सेब्रु, थारू, मारुनी, जोगी, चुड्का, देउडा, झिझिया, बालन, लाटो, टप्पा, सतार, झाङ्गड, कौरा, सङ्गिनी, हुर्रे, हुड्केली, धामी, घाटु, थाली, रत्यौली, राउटे, भोजपुरी, माझी, लाखे, धिमाल, झोडा, धानलगायतका नृत्यका बारेमा यस पुस्तकमा तस्वीरसहित जानकारी प्रस्तुत गरिएको छ । त्यसै गरी नेपाली लोक नृत्यको वर्गीकरण, लोकगीत र नृत्यसम्बन्धी विषय तथा व्यक्तिहरु, नृत्यको अन्य ललितकलासँग सम्बन्ध, नृत्य जीवन र साहित्य, व्यायाममा नृत्यको महत्व, नृत्यप्रेमी राजा सुवर्ण मल्लका विषयमा पनि गोपालले यस पुस्तकमार्फत प्रस्तुत गर्ने जमर्को गरेका छन् । यसै गरी लोकबाजा, शास्त्रीय र चर्या नृत्यका बारेमा जो नाच्छ ऊ धेरै बाँच्छमा प्रस्तुत गरिएको छ भने नृत्यका प्रकारमा लोक, आधुनिक र शास्त्रीय नृत्यलाई प्रस्तुत गरिएको छ ।
गोपालले आफ्नो पुस्तकबारे दुई शब्दमा लेखेका छन्– ‘शब्द र मान्छेमा आ–आफ्नै लत हुन्छ । भिन्न–भिन्न प्रकारको नशा हुन्छ । विविध स्वभाव, इच्छा र चाहनाहरु हुन्छन् । ममा पनि त्यस्तो छ । ममा नृत्यको नशा छ, लत छ ।’ गोपालको यही नृत्यको नशा र लतले जन्मियो जो नाच्छ ऊ धेरै बाँच्छ । यसमा हाम्रा आफ्ना, हाम्रो माटोका नृत्यदेखि शास्त्रीय र आधुनिक नृत्यलाई सरल भाषाशैलीमा प्रस्तुत गरिएको छ । पुस्तकमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्वशिक्षामन्त्री गिरिराजमणि पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल, सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापा, निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) का महासचिव डीके ढुंगाना र राष्ट्रिय निजी आवासिय विद्यालय एसोसिएसन नेपाल (एन प्याव्सन) का अध्यक्ष कर्णबहादुर शाहीका शुभकामना समेटिएको छ । पैरवी प्रकाशनले प्रकाशन गरेको यो पुस्तकमा स्कुल अफ डान्स थेरापीका अध्यक्ष अच्युत घिमिरे, चलचित्रकर्मी रामकाजी घिमिरे, सञ्चारकर्मी कृष्णप्रसाद भुसालले पुस्तकका बारेमा चर्चा गरेका छन् ।


पुस्तकको नामः जो नाच्छ ऊ धेरै बाँच्छ
लेखकः गोपाल अधिकारी
सम्पादकः कृष्ण भुसाल
प्रकाशकः पैरवी प्रकाशन
पहिलो संस्करणः २०७३
मुद्रकः एकेडेमिक प्रिन्टङ प्रेस
मूल्यः रु. ५००⁄–


पुस्तकमा नृत्यसम्बन्धी मात्र नभएर नृत्य–संस्कृतिसम्बन्धी विषयमा समेत उल्लेख गरिएको छ । विविध भाषा, कला संस्कृतको वैभव भएका हामी नेपालीका आ–आफ्नै विभिन्न रीतिरिवाज र संस्कृति छन् । त्यस्तै हामीले मान्ने चार्ड पर्वमा पनि विविधता छ । ती–ती चार्डपर्वमा रमाइलो गर्नका लागि गरिने क्रियाकलाप नाच–गान पनि जाति र क्षेत्रअन्तर्गत अलग–अलग छन् । कुनै पनि क्षेत्रको, जातिको नृत्य–संस्कृति महत्वपूर्ण हुन्छ । सायद संसारमै यस्तो विविधता भएको कुनै अर्को मुलुक छ होला । गोपालले यसमा ती–ती विविधतालाई प्रस्तुत गर्ने जमर्को गरेका छन् ।

पुस्तक नृत्यका बारेमा सैद्धान्तिक ज्ञान लिएर आएको छ । नृत्य विषयका विद्यार्थी, शिक्षक, नृत्यप्रति अभिरुचि राख्ने पाठक सबैका लागि उपयोगी छ । गोपालले यो पुस्तकमार्फत नृत्यसम्बन्धी जानकारीमा रहेको रिक्तता पूर्ति गर्ने कार्य गरेका छन् । काठमाडौंका विभिन्न ३० स्कुलका नृत्य प्रशिक्षक रहेका नृत्य निर्देशक गोपाल अधिकारी एसी प्रतिभा मुभिजका संस्थापक अध्यक्ष, चलचित्र नृत्य निर्देशक संघका कोषाध्यक्ष, नेपाल टेलिभजिन र इमेज च्यानलको बालबालिका कार्यक्रमका निर्देशक हुन् । नृत्यसम्बन्धी जानकारी राख्ने जो–कोहीका लागि पनि प्रस्तुत कृति उपयोगी छ, सरल छ ।

नृत्यको इतिहास, मानव इतिहास जति पुरानो छ सायद त्यति नै छ । यसको प्राचीन ग्रन्थका रूपमा भारत मुनिको नाट्यशास्त्रलाई मानिन्छ । ज्यो पं. भरतमणि मरासिनिका अनुसार अर्थवेदमा पनि नृत्यको चर्चा गरिएको छ । भनिएको छः
यस्यां गायन्ति नृत्यंति भूम्यां मत्र्यायैलिवाः
युद्धन्ते यस्यमाऽन्दो यस्यां वदति दुन्दुभिः ।
अर्थात् जुन भूमिमा आनन्दका बाजा बजिरहेका छन्, जहाँ मानिसहरु प्रसन्नतासँग नाची र गाइरहेका छन् र वीर मानिसहरु उत्साहपूर्वक आफ्नो राष्ट्रको रक्षामा तत्पर हुन्छन् ।

कवि चन्द्र रानोहँछाले भनेजस्तै संसारका हरेक लेखक अथवा रचना पूर्ण छैनन् र हुँदैनन् । जो नाच्छ ऊ धेरै बाँच्छमा पनि भर्नुपर्ने र झिक्नुपर्ने कुराहरु छन् । तर, स–साना कमी–कमजोरी क्षमायोग्य छन् ।

प्रतिक्रिया दिनुहोस्