लण्डनमै बसे पनि कोरोनाले छोडेन



– सुवास कार्की (भद्रगोलका बेलासे)

म बेलायतको राजधानी लन्डनमा एउटा राम्रै कम्पनीमा करिब १ वर्ष ८ महिनादेखि कन्सियर्ज (सुरक्षासम्बन्धी काम) का रूपमा काम गर्दै आएको छु। विश्वभरि कोरोना भाइरसको महामारी भइरहेका बेला यता लन्डनमा पनि कोरोना बढ्न थालेको थियो।

तर, हाम्रो नेपालमा त्यति सुनिएको थिएन। त्यो बेलामा कतिपय साथीभाइ नेपालतिर लागे। मचाहिँ आफ्नो परिवार यता लन्डनमै भएकाले र बूढीको काम, छोराको एसएलसी करिब–करिब नजिकै र छोरी सानी भएकाले, नयाँ घर किनेकाले तथा यहाँका हस्पिटल राम्रो भएकाले साँच्चै केही भइहाल्यो भने पनि नेपालमा भन्दा यतै राम्रो उचार हुन्छ भनेर नेपाल फर्कन मन भएन। दिन बित्दै गए, यता कोरोना भाइरसले उग्र रूप लिँदै गयो। सरकारले सबै लकडाउन गर्‍यो।

बूढी र मेरो काम अत्यावश्यकीय भएकाले हामी जानुपथ्र्यो। झन् बूढी हस्पिटलको एएलईमा काम गर्ने, छोरी सानी भएकाले काम छोडिदेउ भनिरहन्थें। जेनतेन उसले एक महिना एनुअल लिभ लियो। म आफ्नो काममा त्यति रिस्क नभएकाले आफ्नो साधन लिएर आउने–जाने गर्थें। खाद्यान्न पसलहरूमा जताततै मानिसको भीड लाग्न थाल्यो। म पनि रातिको काम सकेर बिहान सपिङ सेन्टर गएर घरमा चाहिने खाद्यान्न लिन जान्थें। त्यहाको सपिङ सेन्टरहरूमा भीड भएको देखेर यहाँ त यस्तो छ, नेपालमा कस्तो होला भन्ने चिन्ता हुन्थ्यो। यहाँ दुई घन्टा लाइनमा बसेपछि बल्ल सपिङ सेन्टर खुला हुन्थ्यो र सबै मानिस हाहाकार गर्दै भित्र छिर्थे। मलाई छोरी ११ महिनाकी सानी भएकाले उसले खाने पोरेज र दूध लिनु थियो। दूघ ३ वटा पाएँ, पोरेज पाइनँ। टेस्को सपिङ सेन्टरभित्र जता हेर्‍यो, उतै खालि थियो। त्यसले झन् अब के होला भन्ने चिन्ता थप्थ्यो। जेनतेन सपिङ गरी घर फर्केर ब्रेकफास्ट खाएर सुत्थें। राति काम गर्ने भएकाले भरे फेरि काममा जानु थियो। यसरी दिन चलिरहेको थियो।

अफिसका साथीहरू बिरामी भन्दै सेल्फ आइसुलेट बस्न थाले। यहाँ २ हप्तासम्म सेल्फ आइसुलेट बस्न पाउँछ। अफिसले पे गर्छ। उनी सबै बिरामी भएर सेल्फ आइसुलेटमा बसेका हुन् या होइनन्, त्यो उनीहरूलाई नै थाहा होला। तर, हामी नेपाली जता पनि राम्रो काम गर्ने र इमानदार भएकाले ढाँट्न र छल्न जानेका हुँदैनौं। हामी राति अफिसमा दुई कन्सियर्ज र दुई सेक्युरिटी गरेर जम्मा चार जना कामदार हुन्थ्यौं।

यहाँका मान्छेहरू प्रायः अल्छी भएकाले काम गर्न त्यति रुचाउँदैनन्। उनीहरू कहिले के कहिले के बहाना बनाएर त्यति अफिस आउँदैनन्। उनीहरू नआएका बेलामा एजेन्सीहरूबाट काम गर्न आउँछन्। कहिले को कहिले को गरेर एजेन्सीले विभिन्न मान्छेहरू काम गर्न पठाउँछ। यस्तोमा अब त अफिसको, रेसिडेन्ट भन्दा पनि आफूसित काम गर्ने कलिगसँग पो डराउनुपर्ने भयो। यही सोचेर २ हप्ताका लागि एनुअल लिभ लिएँ। डेमा काम गर्ने स्टाफ धेरै हुन्छन्। लगभग सबै कन्सियर्ज आइसकेकाले ह्यान्डओभर गरेर सी यू भन्दै घर फर्कंदा सबैले जिस्काएर इन्जोय योर होलिडे भने।

म दुई हप्ता आफ्नो परिवारसँग रमाएर बस्छु भनेर घर आएँ। छोरी रमाइली र हसिली भएकाले घर छिरेपछि सबै थकान बिर्सिन्छु। त्यो दिन बूढीको लिभ सकिएकाले म घर आउँदा उनी ड्युटी गइसकेकी थिइन्। म प्रायः बिहान ८ बजे घर पुग्दा छोरी उठिसकेकी हुन्छे, त्यो दिन पनि छोरी बाबाको बाटो हेरेर बसेकी थिइन्। मलाई देख्नेबित्तिकै उनी नजिकिइन्। म सधैं नुहाईधुवाई गरेर मात्र उसलाई बोक्थें। त्यो दिन पनि त्यसै गरें।

बूढी अफिस गएकाले छोरीलाई खाना बनाएर खुवाउँछु भनेर युट्युबमा हेरेर चिकेनकरी र खाना बनाएँ। बूढी आइसकपछि सबै जना बसेर मुभी हेर्दै खाना खायौं। भोलिपल्ट बूढी काममा जान रेडी भएर मलाई उठाइन्। त्यति नै बेला मेरो जिउ भारी भएजस्तो भयो। बूढी मेडिकल फिल्डमै काम गर्ने भएकाले मेरो फिबर हेर्‍यो। फिबर त १०२।६ रहेछ। उसले प्यारासिटामोल दिइन्। तातोपानी, खानेकुरा, बिस्कुट, फलफूल दिएर छोरोलाई बाबालाई ज्वरो आएको छ, नानीलाई हेर है भनेर अफिस गइन्। उनको काम साँझ ८ बजेसम्म हुन्थ्यो। तर, चाँडै आइन्। मलाई अलि साह्रै भइसकेको थियो। त्यसैले छुट्टै कोठामा सुत्छु भनें। ट्वाइलेट पनि छुट्टै युज गरें। त्यो रात त्यसरी नै गयो।

भोलिपल्ट साह्रै गाह्रो भएकाले बिनाले अस्पताल लगिदिइन्। मलाई इमरजेन्सीको छुट्टै रुममा राखियो। म एक्लै थिएँ, नो कलर आईडीबाट फोन आयो। डक्टरको रहेछ। मैले आफ्नो सबै कुरा भनें। १ घन्टापछि डक्टरले मेरो नाम लिएर बोलाउनुभयो। स्टेप बाई स्टेप हुँदै मेरो होल बडी चेकअप गरियो। लगभग साँझसम्म त्यहीं राखियो। सबै टेस्ट गरियो, तर, कोरोना भाइरसको टेस्ट गरिएन। मैले अनुरोध गर्दा हामी सिरियस र भर्ना भएका बिरामीको मात्र टेस्ट गर्छौं भनियो। त्यहाँ अरू बिरामी देखेरै दिक्क लागिसकेको थियो। त्यसैले त्यहाँ बस्नुभन्दा घरै जाउँजस्तो लागिरहेको थियो। डक्टरले सबै रिपोर्ट नर्मल छ भन्नुभयो र औषधि दिनुभयो। घर पर्किएँ। मलाई केही भए पनि छोरी चमेलीलाई केही नहोस् भन्ने लागिरह्यो। ज्वरो आउने बढ्ने क्रम जारी थियो। मेरो कोठा छुट्टै, सबै छुट्टै थियो। हामी छन त एउटै घरमा थियौं, तर एक–अर्कासँग कुरा गर्दा पनि भिडियो कल गरेर कुरा गथ्र्यौं। यसरी एउटै घरमा भएर पनि कति टाढा थियौं। बूढीले खाना ढोका अगाडि राख्दिन्थिन्। यतिकैमा बूढीलाई पनि खोकी आउन थाल्यो। चमेलीले पनि खोक्न थाली। दिन बित्दै गयो, म झन्–झन् गल्दै गएँ। आवाज हराउन थाल्यो। खाना रुच्न छोड्यो, बास्ना फिटिक्कै आउँदैन थियो। अब म मर्छु होला जस्तो लाग्यो।

धेरै गाह्रो हुन थालेपछि बिनाले हस्पिटलमा फोन गर्‍यो। स्वाब टेस्ट गर्‍यो, रिपोर्ट आउन ४८ घन्टा लाग्दोरहेछ। भर्ना गरिएन, डक्टरले घरमै बस्ने सल्लाह दिए। घर आयौं, शरीरको सबै अंगले काम गर्न छोडेको जस्तो भयो। मलाई कोरोना भएको अनुमान भइसकेको थियो। नभन्दै पोजेटिभ रिपोर्ट आयो। अब बाँच्दिन भनेर मनमा झन् धेरै कुरा खेल्न थाल्यो। नेपालको धेरै याद आउन थाल्यो। छोरो सुविज्ञ सानो छ जम्मा १३ वर्ष, छोरी भर्खर १ वर्ष पुगिन्। बिनालाई नेपालमा जताततै मैले काम गरिराको, जिम्मेवारी लिइरहेका बारे त्यति थाहा छैन। झन् पीर बढ्न थाल्यो।

नेपालमा कसैलाई भनेको थिइनँ म बिरामी छु भनेर, बूढीले ससुरालीतिर भनिछन्। यतिकैमा दिन बित्दै गए। गाह्रामाथि गाह्रो हुन थाल्यो। बेडबाट उठ्न नसक्ने भएँ। बिना झन् पीर लिन थालिन्। यता लन्डनमा थाहा पाउने साथीहरूले सान्त्वना दिन थाले फोनमा। हस्पिटलको सेकेन्ड रिपोर्ट पनि कोरोना भएको पुष्टि भयो। म यस्तो विकसित देशमा केही हुँदैन होला भन्ने सोच्थें। तर बूढीलाई घरको जिम्मेवारीका बारेमा सबै कुरा भनुँ भने पनि ऊ झन् आत्तिएर डराउली । बाँचे त ठीकै छ, मरें भने कालो डायरी पढ।

मेरा दिदीबहिनी उसै त सधैं फोन गर्थे। अहिले उनीहरूलाई थाहा छैन। थाहा पाई भने झन् पीर लिन्छे भन्ने भो। मेरी ठूलीआमा सकीनसकी दिनदिनै फोन गर्नुहुन्छ। उसै त कमजोरी मान्छे झन् पीर लिन्छिन् भनेर भनिनँ।

(नेपाल टेलिभिजनबाट प्रसारित लोकप्रिय हास्य टेलिशृंखला भद्रगोलका पूर्व निर्माता तथा कलाकार सुवास कार्कीसँग कामनाका सम्पादक विदुर गिरीले गरेको कुरकानीमा आधारित। कार्कीले सो हास्य टेलिशृंखलामा गोजीमा २ रुपियाँ छैन तनावै तनाव छ भन्ने थेगोसहितको अभिनयबाट दर्शकको मन जितेका थिए। उनी हाल कोरोना मुक्त भईसकेका छन्। उनीपछि उनको पत्नीलाई पनि कोरोना संक्रमण देखिएको थियो।)

प्रतिक्रिया दिनुहोस्