नेपालको पक्षमा बोलेपछि मनिषाको हाई हाई



नेपाली चेली तथा सुप्रसिद्ध बलिउड अभिनेत्री मनिषा कोइरालाको पक्षमा नेपाली कलाकारहरूले आफ्ना अभिव्यक्ति सार्वजनिक गरेका छन्। नेपालले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ नक्सा जारी गरेपछि त्यसको समर्थनमा ट्विट गरेकी मनिषा भारतीय सञ्चार माध्यमको तारो बनेसँगै नेपाली कलाकारहरूले उनको र नेपालको नयाँ नक्साका पक्षमा अभिव्यक्ति सार्वजनिक गरेका हुन्।

यता भारतीय सञ्चार माध्यमले प्रसारण गरेका मनिषाविरुद्धका सामग्री भारतीय सञ्चार माध्यमको ट्रेन्डिङमा छ भने नेपालमा मनिषाको समर्थन गरिएका सामग्री ट्रेन्डिङमा छ। सामाजिक सञ्जाल ट्वीटरको ट्रेन्डिङमा उनी लगातार एक नम्बरमा रहेकी छन्। ह्यास ट्याग आईएम विथ मनिषा कोइराला ट्रेन्डिङ नम्बर एकमा छ। मनिषाले आफ्नो ट्वीटमा शान्तिपूर्ण संवादबाट यो विषय हल गर्नसमेत आग्रह गरेकी थिइन्। भारतीय नागरिक र सञ्चार माध्यमले भने बलिउड फिल्म खेलेर र त्यहींबाट आर्थिक कमाइ गरेर नेपालको पक्षमा लिएको भन्दै उनको आलोचनालाई आफ्नो विशेष सामग्रीका रूपमा प्रसारण गरिरहेको छ।

कलाकाहरूले भने श्रम बेचिन्छ, स्वाभिमान होइन भन्दै मनिषाको पक्षमा अभिव्यक्ति दिएका छन्। ‘विदेशमा नेपालीहरू श्रम बेच्छन्, स्वाभिमान होइन। नेपाली सधैं नेपाली रहन्छन्, जहाँ रहे पनि’ अभिनेता कृष्ण मल्लले फेसबुकमा स्ट्याटस लेख्दै भनेका छन्। व्यंग्य कलाकार मनोज गजुरेलले मनिषाको पक्ष लिँदै भारतीय सञ्चार माध्यमको प्रवृत्तिको पनि आलोचना गरेका छन्। ‘मनिषा कोइराला मात्र होइन, इन्डियन मिडियाले अब हामी सबैलाई लखेट्नेछन्, जो उनीहरूको स्वार्थविरुद्ध सत्य ओकल्छन्। त्यसैले राष्ट्रिय एजेन्डामा सबै नेपाली एक हुनु जरुरी छ। यो पक्ष–विपक्षको टम एन्ड जेरी खेल्ने बेला होइन। सिमाना सम्बन्धमा सरकारको धारणा नै नेपाली जनताको धारणा हुनुपर्छ। नत्र सधैंलाई हेप्ता हे, सबैलाई चेप्ता हे’ गजुरेलले फेसबुकमा स्ट्याटस सेयर गरेका छन्। ‘आखिर हाम्रो मन त नेपाली हो सलाम मनिषा दिज्जु’ हास्य अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले लेखेकी छिन्। गायक रामकृष्ण ढकालले फेसबुकमै लेखेका छन्– ‘मनिषाजी, मेरो मनकै कुरो बोल्नुभयो। सलाम छ तपाईंलाई। भौतिक शरीर जसको जहाँ भए पनि मन भने नेपालमै हुन्छ भन्ने कुरा मनिषाजीबाट प्रमाणित भएको छ।’ गायक रामकृष्ण ढकालले फेसबुकमा लेखेका छन्– ‘सत्यमेव जयते। हामी तपाईंको साथमा छौं। सानो होस् ठूलो होस् देश आखिर देश नै हुन्छ। जय नेपाल जय वीर गोर्खाली।’

नायिका पूजा शर्माले भने नेपाली सञ्चार माध्यमले आवाज उठाउन नसकेको टिप्पणी गर्दै फेसबुकमा लेखेकी छिन्– ‘आफ्नो व्यक्तित्व र अभिनयका कारण विश्वकै मन जित्न सफल नायिका मनिषा कोइरालाले नेपाली भूमिको विषयमा टिप्पणी गर्दा भारतीय मिडिया रोइलो गरिरहेका छन् तर, उनीहरूले सत्यता के हो भनेर केलाएर समाचार बनाउने र खोजी गर्ने चेष्टा गरेनन्, यो दुःखको कुरा हो। मनीषा दिदीले भारतको नुन भिख मागेर खानुभएको होइन, आफ्नो कलाकारितामा उभिएर खानुभएको हो’, कोरोना संक्रमणको जोखिमका समयमा १०/१२ जना साथीभाइको समूहमा बसेर रमाइलो गर्नु र परिवारमा बस्नु उस्तै मान्ने पूजाले फेसबुका लेखेकी छिन्– ‘मनिषा दिदीको योगदानलाई लत्याउदै उल्टै अपशब्द बोल्ने मिडियप्रति टीठ लागेर आयो। नेपालीहरू काम र कर्मको सिलसिलामा संसारभर होलान्, तर जब देश र आफ्नो जमिनको कुरा हुन्छ त्यतिबेला देशकै पक्षमा बोलिन्छ। जन्मदिने आमालाई पराइ ठानेर आफ्नै  आमाको अंग लुछ्ने पराइलाई आमा भन्न सकिँदैन चेतना भया। अर्को दुःख यसमा लागेको छ कि भारतीय मिडियाले नेपाल र मनिषा दिदीको बारेमा ठूलो ठूलो स्वरमा नानाभाँती भनिरहँदा नेपालका मिडियाहरूले खासै आवाज उठाउन सकेनन्।’

प्रतिक्रिया दिनुहोस्