२ सय ७० फिल्मकर्मीलाई खाद्यान्न



लकडाउनका कारण समस्यामा परेका श्रमजीवी फिल्मकर्मीलाई खाद्यान्न सहयोग गरिएको छ। शहरी विकास राज्यमन्त्री माननीय रामवीर मानन्धरको पहलमा फिल्म क्षेत्रका विभिन्न विधाका २ सय ७० जना फिल्मकर्मीलाई ६ हजार ७ सय ५० केजी चामल र ८ र २५ केजी दाल हस्तान्तरण गरिएको हो।

२ सय ७० जना फिल्मकर्मीका लागि प्रतिव्यक्ति २५ केजीको एक एक बोरा चामल र तीन केजीका दरले दाल उपलब्ध गराइएको नेपाल चलचित्र निर्माता संघका अध्यक्ष तथा चलचित्र प्रवद्र्धन एवं समन्वय समितिका संयोजक आकाश अधिकारीले जानकारी गराएका छन्। खाद्यान्न सामग्री ग्रहण गर्दै संयोजक अधिकारीले न्यून आयस्रोत भएका श्रमजीवी फिल्मकर्मी झन्डै दुई महिना लामो लकडाउनको चपेटामा परेकाले उनीहरूलाई खाद्यान्न (राहतको) आवश्यकत परेको बताए। व्यक्तिगत र संस्थागत पहलमा सरकारले यति ठूलो सहयोग गरेकामा उनले खुसी व्यक्त गरे। लकडाउनका कारण निर्माता, निर्देशक तथा फिल्म प्रविधिक तथा सफल कलाकारका लागि समस्या नभए पनि नवप्रवेशी कलाकार तथा प्राविधिकलगायत निम्न आर्थिक अवस्था भएका फिल्मकर्मीलाई यस स्थितिमा समस्या परेपछि आफूले मन्त्री मानन्धरमार्फत पहल गरेको जानकारी गराउँदै निर्देशक अधिकारीले समस्यामा परेका फिल्मकर्मीलाई तत्काल खाद्यान्न उपलब्ध गराएको बताए।

आदिवासी जनजाति महासंघका ३५ जना, नृत्य संघका ४५, निर्देशक समाजका तर्फबाट सहायक निर्देशकहरू ३० जनालाई एकरएक बोरा चामल र तीन केजीका दरले दाल उपलब्ध गराइने अधिकारीले जानकारी गराए। यस्तै तेस्रो लिंगीहरूको प्रतिनिधित्व गर्ने ब्लु डाइमन्ड सोसाइटीका ३० जना, प्राविधिक संघका ३५, चलचित्र द्वन्द्व कलाकार संघका २५ जना, कलाकार संघका जुनियर कलाकारहरू ३५ जना र संगीत उत्पादन समाजका ३५ जना गरी २ सय ७० जना फिल्मकर्मीलाई खाद्यान्न उपलब्ध गराई सहयोग गरिएको उनले जनाएका छन्।

अधिकारीले फिल्मसँग सम्बन्धित ७ तथा ब्लु डायामन्ड सोसाइटी गरी ८ संघ संस्थामा आबद्ध रहेकाहरूलाई खाद्यान्न समस्या परेकाले सोको व्यवस्थाका लागि पहल गरिएको बताए।  खाद्यान्न सम्बन्धित आठ संघसंस्थाका अध्यक्ष र महासचिवलाई जिम्मा लगाइएको छ।

प्रतिक्रिया दिनुहोस्