कलाको पहुँच नपुगेकोमा चिन्ता



नेपाली कलाक्षेत्रको विकासका लागि राज्यले पहल लिनुपर्नेमा अग्रज कलाकार कृष्ण मानन्धरले जोड दिएका छन्। नेपाल ललितकला पत्रकार समाज ९सोफाज०को नियमित कार्यक्रम कलाका कुराको ३८औं शृंखलामा मानन्धरले कलाकारको चासो कम रहेको र राज्यको उदासीनताका कारण कलाक्षेत्रले नेपालमा व्यापकता पाउन नसकेको जिकिर गरे।

भर्चुअल माध्यमबाट गरिएको कुराकानीमा उनले भने– ‘कलाकार र राज्यको पहल हुन नसक्दा नेपाली कलाको पहुँच आममानिससम्म सकेन।’ कलाको क्रयविक्रय कम हुने हुँदा नेपालमा कलाको उपादेयता र विस्तार हुन नसकेको उनको ठम्याइरहेको छ। उनले भने– ‘आमजनमा कलामा रुचि नहुनु र कलाकारले पनि यसका बारेमा बुझाउँदै जान नसक्नुका कारण यो विधाले सोचेअनुसार प्रगति गर्न सकेको छैन।’ साढे तीन दशक कला शिक्षणमा बिताएका मानन्धरले काठमाडौंबाहिर सातै प्रदेशमा अहिले कम्तीमा एक÷एकवटा कला क्याम्पस खोल्नुपर्ने जिकिर गरे। नेपाली कलाको विकास, संरक्षण, प्रवद्र्धन र मौलिकता बचाउन शिक्षासँगै संग्रहालय, कलाग्राम खोल्नुपर्ने धारणा उनको छ। उनले कला शिक्षामार्फत यसलाई आममानिससम्म पुर्‍याउन सकिने विचार व्यक्त गरे।

ललितकला क्याम्पसमा लामो समय अध्यापन गरेका मानन्धरले दुईपटक क्याम्पस प्रमुख भएर जिम्मेवारी सम्हालेका थिए। उनले त्यतिबेलै काठमाडौंबाहिर विराटनगर, पोखरा, नेपालगन्जलगायतका स्थानमा कला क्याम्पस खोल्न त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग बारम्बार पहल गरेको सुनाए। तर, यो कार्य सफल हुन नसकेकोमा उनले दुखेसो पोख्दै भने– ‘विश्वविद्यालयले पहल गरेको भए कला शिक्षाको पहुँच काठमाडौंबाहिर पनि पुग्थ्यो। त्यो हुन सकेन।’ उनले ललितकला क्याम्पसमा विद्यार्थी चाप बढेर अध्यापनमा अप्ठ्यारो परेको सुनाउँदै भने– ‘पहिला पहिला सयजना जति राखेर कलाको कक्षामा पढाउनुपर्ने बाध्यता थियो। देशमा एकमात्र कला क्याम्पस भएकाले यो चाप हुन पुगेको थियो। अन्यत्र पनि कयाम्पस खोल्ने योजना बनाएर जाँदा त्रिविका पदाधिकारीले अन्य स्थानबाट माग नभएकाले सम्बन्धन दिन नसकिने जानकारी दिएर पन्छिन्थे।’

नेपालमा कलाको संकलन गर्ने वातावरण नभएको सुनाउँदै उनले पुराना कलाकृतिको संकलन र संग्रहमा राज्यले ध्यान दिनुपर्ने बताए। ‘अहिले हामीले नेपालका ४/५ सय वर्ष पुराना चित्रहरू पाउन नसकिने अवस्था छ।’ –उनले भने।

मानन्धरले नेपालमा कलाग्राम बनाउन सकिए नेपाली कलाको प्रवद्र्धनमा महङ्खवपूर्ण सघाउ पुग्ने बताए। उनले भने– ‘कलाग्राम बनाउन सकिए देशीविदेशी कलाकारले एकैस्थानमा बसेर कला सिर्जना गर्ने, अनुभव आदानप्रदान गर्न सहज वातावरण बन्ने थियो।’ ‘विदेशी कलाकार लामो समयका लागि आएर यहाँ बसेर नेपाली विषयलाई कलामा उतार्थे र नेपालको प्रचार प्रसार हुने थियो। यसका लागि पनि कलाग्रामको नितान्त आवश्यकता छ।’ –उनको भनाइ छ। उनले नेपाल ललितकला संस्था (नाफा) मा रहेको वीरेन्द्र कला संग्रहालय भूकम्पपछि बन्द रहेकाले नेपाली कला अवलोकन गर्न नपाइएको अवस्था रहेको खुलाए। उनले भने– ‘जेनतेन वीरेन्द्र कला संग्रहालयका लागि केही कलाकारका कलाकृति संकलन भएका थिए। यद्यपि यसले घनिभूत रूपमा आकार ग्रहण गर्न सकेको थिएन। अझ भूकम्पले त ती संकलित कलाकृतिहरू पनि बिग्रने अवस्था रहेको र इतिहास मेटिने खतराप्रति निकै दुःख लागेको छ।’ मानन्धले विश्वमा महामारीका रूपमा लिएको कोरोना भाइरसको प्रभावलाई चिरेर अगाडि बढ्न भर्चुअल माध्यमलाई कलाकारले प्रयोग गर्नुपर्नेमा जोड दिए। उक्त कार्यक्रमको सहजीकरण समाजका महासचिव देवेन्द्र थुम्केलीले गरेका थिए भने प्राविधिक सहयोग प्रोसी सोलुसनले गरेको थियो।

प्रतिक्रिया दिनुहोस्