कोरोना पीडितको अत्येष्टि गर्ने सैंजु र गैंजुलाई  सहयोग



कोरोना संक्रमणबाट ज्यान गुमाउन बाध्य भएकी सिन्धुपाल्चोककी महिलाको शव दाहसंस्कार गर्ने अरुण सैंजु र राजेश गैंजुलाई सहयोग गरिएको छ।

पहिलो कोरोना शहीद महिलाको शव दाह संस्कार गर्न कोही नमानेपछि भक्तपुरबाट अरुण सैंजु र राजेश गैंजु अघि सरेका थिए। धुलिखेल अस्पताल पुगेर उनीहरूले नै शवलाई आर्यघाट ल्याएर अन्त्येष्टि गरेका थिए। यिनै सैंजु र गैंजुसँगै उनीहरूको समूह आरएनए–१६ लाई ८१ वर्षीया एक आमाले प्रोत्साहनस्वरूप सहयोग गरेकी छन्। महाविपत्तिको बेला समाजमा मानवीय सेवा गरी सकारात्मक सन्देश प्रवाह गरेको भन्दै भैरहवा निवासी ८१ वर्षीया खगिसरा घिमिरेले सैंजु र गैंजुको समूह आरएनए–१६ लाई ५० हजार रुपियाँ सहयोग गरेकी हुन्। दिवंगत पति थानेश्वर घिमिरे र आफ्नै नाममा स्थापित स्वर–सरा घिमिरे प्रतिष्ठानका तर्फबाट उनले सहयोग गरेकी हुन्। ‘विपद्को घडीमा उहाँहरूले उदाहरणीय काम गरेर देखाउनुभयो’, भैरहवाबाट घिमिरेले लिखित सन्देश दिँदै भनेकी छिन्– ‘सबैले प्रोत्साहन दिनुपर्छ।’

त्यस्तै घिमिरेले एसियन फर्मास्युटिकल्स र एनसीभीको समन्वयमा ८ थान पीपीई र ६० थान ह्यान्ड स्यानिटाइजरसमेत आरएनए–१६ समूहलाई उपलब्ध गराएकी छन्। फर्मास्युटिकल्सका दीपेश प्रधान र एनसीभीका यादव गौतमले भक्तपुर सूर्यविनायकस्थित सेनाको वीरदल गणमा पुगेर समूहलाई नगद र स्वास्थ्य सामग्री हस्तान्तरण गरे। नेपाल स्काउटका रोबर लिडर गैंजु र स्काउट मास्टर सैंजुको समूहलाई वीरदल गणले आपत्कालीन शव व्यवस्थापनको तालिम दिएको थियो।

कोही तयार नभएपछि यही समूहले धुलिखेल अस्पतालमा कोरोनाबाट मृत्य भएकी सिन्धुपाल्चोककी महिलाको शव व्यवस्थापनमा सघाएको थियो।

प्रतिक्रिया दिनुहोस्