कोरोनाले देशै रोयो भन्दै आईन सरिता



सञ्चारकर्मी, गायिका तथा मोडल सरिता भारतीले म्युजिक भिडियोसहित नयाँ गीत देशै रोयो कोरोना सार्वजनिक गरेकी छिन्। गीत युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

गीतमा चेतन गोतामे र गायिका सरिता भारतीले सहकार्य गरेका छन्। गायक गोतामे गत वर्ष सम्पन्न गायन सम्बन्धि रियालिटी सो नेपाल लोक स्टारका रनर्सअप हुन् भने गायिका सरिता ब्युटी न्युज नेपालकी समाचार सँयोजक हुन्।

यो कर्णप्रिय गीतमा गायिका सरिता, गायक चेतनसँगै महेश बिक्रम पाण्डे र पुजा गुरुङको पनि स्वर रहेको छ। सागर प्रधानको गीत रचना र संगीत रहेको गीतको भिडियोमा गायक चेतन र गायिका सरिताले मुख्य भूमिकामा अभिनय गरेका छन्। यी गायक गायिकासँगै अन्य २० जना भन्दा बढी कलाकारलाई यो गीतको भिडियोमा समेटिएको छ।

लकडाउनकै बेला यो गीत रेकर्ड गरिएको गायिका सरिताले जानकारी गराएकी छिन्। उनका अनुसार यो गीतको भिडियो दुई दिन लगाएर तयार पारिएको हो। बिक्रम चौहानले निर्देशन गरेको भिडियो राजकुमारले सम्पादन गरेका छन्।

‘यतीबेला सारा विश्व कोरोना भाईरस (कोभिड १९) को महमारीमा रहेको बेला गीतकार सागरले समसामयिक शब्द संगीत तयार पारेपछि यो गीत तयार पारिएको हो। अहिले मुलुकमा कोरोना र त्यसले निम्त्याएका समस्यासँगै नेपालको सिमा भारतले मिचेको पीडालाई सन्देशमुलक रुपमा यो गीतमा समेटिएको छ’ गायिका भारतीको भनाई छ। यसअघि आधुनिक, लोक र पप गीत बजारमा ल्याईसकेकी गायिका भारतीले राष्ट्रिय भावको गीत भने पहिलो पटक गाएको बताईन्। मुलुकमा लकडाउन हटेपछि अब शम्भुजीत बासकोटाको संगीतमा तयार पारिएको आफ्नो एकल गीत ए राजा झट्टै बजाईदेउ बाजाको भिडियो रिलिज गर्ने सरिताले बताईन्।

प्रतिक्रिया दिनुहोस्