चलचित्र पत्रकारिता दिवस स्थगित सम्पादक गिरीलाई पत्रकारिता पुरस्कार



चलचित्र पत्रकारहरूको छाता संगठन चलचित्र पत्रकार संघ नेपालले संघ स्थापना भएको दिन हरेक जेठ ७ गते मनाउँदै आएको चलचित्र पत्रकारिता दिवस असहज परिस्थितिका कारण स्थगित गरेको छ।

कोरोना संक्रमणका कारण विश्वभर फैलिरहेको कोभिड–१९को जोखिम बढिरहेका र यसका बिरामीहरू थपिइरहेको बेला संघले चलचित्र पत्रकारिता दिवसको कार्यक्रमलाई स्थगित गरेको हो। चलचित्र पत्रकारिता दिवसका अवसरमा दुई जना चलचित्र पत्रकारलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान, दुई जनालाई चलचित्र पत्रकारिता पुरस्कार र एक जनालाई चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कारबाट सम्मानित गर्दै आएका छ। कोरोना भाइरसका कारण हुने कोभिड १९ जोखिमका कारण सिर्जित समस्या र वर्तमान अवस्थालाई मध्य नजर गर्दै यस वर्ष सम्मान तथा पुरस्कार कार्यक्रमलाई स्थगित गर्ने निर्णय गरेको संघका महासचिव समीर बलामीले जानकारी गराए। उनले अनुकुल समयमा कार्यक्रम आयोजना गरी सम्मान र पुरस्कारको कार्यक्रमलाई अगाडि बढाइने बताए। पुरस्कार रकममा बढोत्तरीका साथमा मोफसलबाट थप एक जनालाई समेत मोफसल चलचित्र पत्रकारिता पुरस्कार प्रदान गरिने निर्णय संघले गरेको जनाइएको छ।

यसपालि चलचित्र पत्रकारिता दिवस अर्थात् ७ जेठमा डिजिटल प्लेटफर्ममार्फत संघको २१औं वार्षिकोत्सव तथा शुभकामना आदान–प्रदान कार्यक्रम गरिएको छ।
यसैबीच संघले चलचित्र पत्रकारिता दिवस यस वर्ष भर्चुअलरूपमा मनाएको छ। संघले कोरोना सक्रमणबाट हुने कोभिड–१९ को जोखिमका कारण लागू लकडाउनको असहज परिस्थितिका कारण भर्चुअलरूपमा १८औं चलचित्र पत्रकारिता दिवस तथा २१औं स्थापना दिवस मनाएको हो। देश र विदेशका विभिन्न क्षेत्रमा रहेका चलचित्र पत्रकारहरू जुम एप्सबाट भर्चुअल कार्यक्रममा सहभागी भएका थिए।

देश र विदेशमा रहेका ७८ जना चलचित्र पत्रकार तथा फिल्मकर्मी भर्चुअल कार्यक्रममा सहभागी भएका थिए। भर्चुअल कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य–सचिव महेन्द्रप्रसाद साखी, नेपाल चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का, नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणाले चलचित्र पत्रकारिता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाली फिल्म क्षेत्रको विकास र उन्नतिमा चलचित्र पत्रकारहरूले खेलेको भूमिकाको चर्चा गरेका थिए।

त्यसै गरी केही समयदेखि अमेरिकामा रहँदै आएका संघका संस्थापक अध्यक्ष भरत शाक्य तथा नेपालका विभिन्न स्थानमा रहेका निर्वतमान अध्यक्ष सन्दीप सापकोटा, पूर्व अध्यक्षहरू विदुर गिरी र शान्तिप्रिय, संघका सल्लाहकारहरू विजयरत्न तुलाधर र डब्बु क्षेत्रीले चलचित्र पत्राकारिताका क्षेत्रका विविध पक्षबारे चर्चा गरेका थिए। सो अवसरमा पूर्व अध्यक्ष गिरी, शान्तिप्रियलगायतले चलचित्र पत्रकारितामाथि एक कोणमा बसेर भइरहेको प्रहारप्रति सचेत हुनुपर्ने चर्चा गरेका थिए। गिरीले लामो लकडाउनका कारण चलचित्र पत्रकारहरू पारिश्रमिक र रोजगारविहीन हुुने स्थिति सिर्जना भएको अवस्थामा संघले भूमिका खेल्नुपर्ने औंल्याए।

मकवानपुर संवाददाताले हेटौंडाबाट जनाएअनुसार चलचित्र पत्रकार संघ नेपाल मकवानपुर शाखाले राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट चलचित्र पत्रकार संघ नेपालको हेटौंडा शाखाले यस वर्षको चलचित्र पत्रकारिता दिवसका अवसरमा कामनाका सम्पादक विदुर गिरीलाई सम्मान गर्ने भएको छ। संघको पूर्व केन्द्रीय अध्यक्षसमेत रहेका गिरीलाई नगद ११ हजार १ सय ११ रुपियाँसहित राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट सम्मान गर्न लागिएको हो। संघको बैठकले चलचित्र पत्रकारिता पुरस्कार २०७७ बाट मकवानपुरबाट गोरखापत्रमा आबद्ध पत्रकार राममणि दाहाल र चलचित्र कलाकर्मी सम्मान २०७७ बाट मकवानपुरबाट फिल्म क्षेत्रमा सक्रिय नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामालाई सम्मानित गर्ने निर्णय गरेको हो। हाल कोरोना भाइरसको महामारीका कारण यस वर्ष प्रदान गरिने पुरस्कार महामारीको स्थिति सामान्य भएपछि प्रदान गरिने संघको हेटौंडा शाखाका अध्यक्ष मणिराज गौतमले बताए।

प्रतिक्रिया दिनुहोस्