अभिनयमा फर्किएकाहरूको सफलता र असफलता



विराज भट्टले भारतको भोजपुरी चलचित्र उद्योगमा अभिनय गरी सफलता हासिल गरेपछि नेपाली चलचित्रतिर फर्केर पनि हेरेनन् । लामो समयपछि उनले नेपाली चलचित्र जय परशुराम खेले, तर त्यसबाट फेरि माथि आउन भने सकेनन् ।

विजयरत्न तुलाधर

एकपटक दर्शकको सम्पर्कबाट टाढा गएका कलाकर्मी पुनः पर्दामा आगमन हुँदा पहिले पाएसरहको लोकप्रियता हासिल गर्न नसकेका उदाहरण प्रशस्तै छन् । यसको सबैभन्दा चर्चित उदाहरणको रूपमा          विराज भट्टलाई लिन सकिन्छ । भारतको भोजपुरी चलचित्र उद्योगमा अभिनय गर्न पाएपछि उनीले नेपाली चलचित्रलाई माया मारेका थिए । भोजपुरी चलचित्रमा राम्रो सफलता पनि हासिल गरेपछि उनले नेपाली चलचित्रतिर फर्केर पनि हेरेनन् । लामो समयपछि उनले नेपाली चलचित्र जय परशुराम खेले, तर त्यसबाट फेरि माथि आउन भने सकेनन् ।


यसरी नै नेपाली चलचित्रलाई चटक्कै माया मारेर गएका अर्का अभिनेता निखिल उप्रेती हुन् । उनले पनि एउटा दुईटा भोजपुरी चलचित्र त खेले, तर विराज भट्टले पाएजस्तो सफलता त्यहाँ पाउन सकेनन् । भोजपुरी चलचित्रमा सोचेजस्तो सफलता नपाएपछि उनी बलिउड भनिने हिन्दी चलचित्र क्षेत्रतिर गए । भोजपुरीमा त उनले एउटा दुईटा भए पनि चलचित्र पाएका थिए, तर बलिउडमा त्यति पनि भएन । केही समय त्यहीं बिताएर उनी नेपाल फर्के र आफ्नै निर्देशनमा भैरव बनाए । एक्सनप्रधान यो चलचित्र दर्शकले मन पराएपछि उनलाई लिएर चलचित्र बनाउनेको भीड बढ्यो । भैरवपछि उनको अर्को चलचित्र लुटेरा पनि दर्शकको मनमा बस्न सफल भयो । तर, त्यसपछि प्रदर्शनमा आएका किङ, रुद्र, संरक्षणलगायतका चलचित्रले कुनै कमाल देखाउन सकेन भने उनको राधे चाहिँ आंशिक सफलता हासिल गर्न सफल भएको देखियो । यसरी फेरि अभिनयमा फर्कने प्रयास गरेका निखिल उप्रेतीको पुनरागमन पनि त्यति फलदायी भएको देखिइसकेको छैन ।


निखिल उप्रेतीसँग विवाह बन्धनमा बाँधिएर गृहस्थ जीवनमा प्रवेश गरेपछि नायिका सञ्चिता लुइँटेल पनि चलचित्रको पर्दाबाट ओझेलमा परेकी नायिका हुन् । तर, अभिनय आकांक्षालाई चटक्कै माया मार्न नसकेपछि उनी फेरि अभिनय यात्रामा फर्किन् । नाइँ नभन्नु ल–३ बाट पुनरागमन गरेकी नायिका सञ्चिता लुइँटेलको नयाँ यात्रा पनि खासै सफल भने हुन सकेको छैन । उनले अभिनय गरेको राधा एउटा केही हदसम्म राम्रो व्यापार गर्न सफल भएको भए पनि उनको नयाँ चलचित्र लीलासम्मको यात्रा हेर्दा उनी नायिकाको रूपमा भन्दा पनि अन्य भूमिकामा राम्रो देखिन सक्ने सम्भावना बलियो हुँदै गएको छ ।


भारतको बलिउड चलचित्र उद्योगमा गई नाम र दाम कमाउन सफल भएकी अभिनेतृ हुन् मनीषा कोइराला । उनले आफ्नो अभिनय यात्राको शुरूमा नेपाली चलचित्र र नेपालकै विज्ञापन चलचित्रमा अभिनय गरेकी थिइन् । मनीषाद्वारा अभिनित पहिलो नेपाली चलचित्र फेरि भेटौंला खासै सफल हुन सकेन । तर, मुम्बईमा भने उनी निकै लामो समयसम्म लोकप्रियताको शिखर चुम्न सफल रहिन् । बढ्दै गएको उमेर अनि ढल्कँदै जान थालेको जवानीले गर्दा मुम्बईमा आफ्नो अभिनय यात्रा धर्मराउन थालेपछि वैवाहिक बन्धनमा बाँधिन नेपाल आएकी मनीषा कोइरालाले यहँँ धर्मा शीर्षकको नेपाली चलचित्रमा अभिनय गरिन् । फितलो निर्देशनका कारण यस चलचित्रमा मनीषाले आफूले आर्जेको प्रतिष्ठाअनुरूपको भूमिका पाउन सकिनन् । फलस्वरूप धर्माले दर्शकको मन जित्न असफल भयो । मनीषा कोइरालाको नेपाली रजटपटमा पुनरागमन असफल भएजस्तै करिश्मा मानन्धरको पुनरागमन पनि असफलताको भूमरीतिर ढकेलिँदै गएको आभाष हुन थालेको छ । उमेर गए पनि वैंश नगएकी अभिनेतृको दर्जा पाएकी करिश्मालाई सदावहार नायिका भन्नेहरु पनि कम छैनन् । तर, अहिले आफ्नो उमेर सुहाउँदो भूमिका पाउन सकेकी छैनन् ।


आफ्नै लगानीमा निर्माण गरेको चलचित्र बाबु साहेबबाट नराम्ररी आर्थिक घाटा व्यहोर्नुपरेपछि अमेरिका भासिएकी करिश्मा मानन्धर यहाँ शिर्षस्थ अभिनेतृको रूपमा गनिन्थिन् । त्यसरी लहलहाउँदो अभिनय यात्रालाई चटकै छोडी अमेरिका पुगेकी करिश्मा बीच–बीचमा नेपालमा बिदा मनाउन आउँथिन् । बिदाको मौका छोपी एउटा दुईटा चलचित्रमा काम पनि गरिन् । त्यस्तै बेलाको एउटा चलचित्र पापी मान्छे त अत्यन्त लोकप्रिय भएको चलचित्र हो । यसरी आफूले खेलेको चलचित्र सफल भएपछि हौसिएकी करिश्माले अमेरिका प्रवास त्यागी नेपालमै पुनः अभिनय यात्रा थाल्ने निर्णय गरिन् र यतै बस्न आइन् तब उनले वशमा छैन यो मनमा त्यतिबेलाका जल्दाबल्दा नायक विराज भट्टसँग कामुक नृत्य गर्ने अवसर पनि पाइन् । तर, चलचित्रले दर्शकको मन जित्न सकेन । निर्देशक रमेश बुढाथोकीको पल, दीपक श्रेष्ठको हो यही माया होलगायत दुलही, वान वे, किन किनजस्ता चलचित्रमा उनले मुख्य भूमिका पाउन सकिनन् । उनको हिरोज् नामक एउटा चलचित्र प्रदर्शन हुन बाँकी छ ।


अभिनय क्षेत्रमा पुनरागमन गर्न चाहेका धेरैजसो कलाकारको दशा यस्तै हुने गरेको छ । नायिकाहरुको मात्र हैन नायकहरुको पनि अवस्था त्यस्तै छ । विजय लामा, रवीन्द्र खड्का, कृष्ण मल्लले आफ्नो अभिनय यात्राको पूर्वाद्र्धलाई चरित्र अभिनेताको रूपमा स्थापित गर्न गरेको कोशिस पनि सफल हुन सकेन । पुराना नायकहरुमध्ये भुवन केसीले आफ्नो अस्तित्व जोगाउन आफैं चलचित्र बनाइरहेका छन् । र, अहिले उनी आफूभन्दा पनि आफ्ना छोरा अनमोल केसीलाई नायकको रूपमा स्थापित गराउने प्रयासमा लागेका छन् । भुवनकै पदचिह्न पछ्याउँदै नायक लोकेन कार्कीले शासन बनाए । कल्याण घिमिरेले श्रीमान् बनाए । भुवन केसीकै समकक्षी नायक शिव श्रेष्ठ अहिले अभिनय क्षेत्रबाट ओझेल परिसकेको नाम हो । अहिले उनी पनि चलचित्र निर्माण गर्ने योजनामा छन् ।
शिव श्रेष्ठले अभिनय यात्राको दोस्रो हाफमा चरित्र अभिनय पनि गरे । मिस्टर डन, गोरखा रक्षक र युद्धदेखि एक्सन र बागमतीमा उनी चरित्र अभिनेताका रूपमा देखा परे । तर, उनको यो यात्रामा अहिले विराम आएको आभाष हुन्छ । शिव श्रेष्ठको अब एउटा दुईटामात्र चलचित्र प्रदर्शन हुन बाँकी छ । त्यसपछि शिव श्रेष्ठको अभिनय यात्रा कहाँ मोडिने हो, कसले भन्न सक्छ र ? सुरेश मरहट्ठाको रूपमा चलचित्र क्षेत्रमा पदार्पण गरेका नायक पनि आफ्नो अभिनय यात्रा बीचैमा छोडी विदेश लागेका नायक हुन् । उनले पछि फेरि अभिनय यात्रा अगाडि बढाउन आफ्नो नामै फेरि रेस मरहट्ठा राखे । नाम फेरेपछि उनको हात परेको मेरो बेस्ट फ्रेन्ड दर्शकसँग मित्रता गाँस्न सफल भएन भने उनको च्यालेन्जजस्ता केही चलचित्र दर्शकसामु आउन बाँकी नै छ ।


दोस्रो दाम्पत्य जीवन निर्वाह गर्न रजटपटबाट टाढिन पुगेकी मौसमी मल्लको त्यो जीवन पनि सफल भएन । त्यसपछि उनी फेरि अभिनय क्षेत्रमै फर्किन् । आफ्नै लगानीमा गिरफ्तार चलचित्र बनाइन् । चलचित्रले राम्रो आर्जन पनि गर्यो । तर, मौसमीको फेरि नायिकाको रूपमा स्थापित हुने सपना भने पूरा हुन सकेन । अरू खालकै भूमिका गरेर भए पनि अभिनय यात्रा जारी राख्ने सोचले उनी अहिले चलचित्रमा साइड रोल गरिरहेकी छिन् । अभिनयमा पुनरागमन गर्नेहरुले साइड रोल वा चरित्र भूमिकासमेत गतिलो पाउने गर्दैनन् ।

झरना वज्राचार्य पनि त्यस्तै अभिनेतृ हुन्, जसको अभिनय यात्राको पुनरागमन फलिफाप हुन सकेन । उसो त अभिनय यात्राबाट विश्राम लिनुअघि झरनाको कुनै चलचित्रले राम्रो आर्जन गरेको भन्ने कुनै रेकर्ड छैन र पुनरागमनको प्रयासस्वरूप अभिनय गरेको कोही मेरोको हविगत पनि सबैले देखेकै हो । यो केवल संजोग मात्रै हो वा त्यसरी हराइसकेका कलाकारलाई दर्शकले फेरि हेर्ननचाहेकै हो भनी भन्न कठिन छ । चलचित्रबाट टाढिन पुगेका विराज भट्ट र निखिल उप्रेतीजस्ता एकताका निकै लोकप्रिय भएका एक्सन स्टारहरुको (विशेष गरी विराज भट्टको) अभिनय क्षोत्रम भएको पुनरागमनले कुनै चमत्कार देखाउन सकेन भने अहिले एक अर्को पुराना अभिनेता रमेश उप्रेती ऐश्वर्य चलचित्रमार्फत नायकको रूपमा पुनरागमन भएका छन् ।

उनको यो चलचित्रले दर्शकको मन जित्न सफल भयो । रमेश उप्रतीले यो चलचित्र असफल भएमा नेपालको चलचित्र क्षेत्र नै त्याग्ने घोषणा पनि गरे । धन्न चलचित्र राम्रै चल्यो । उनी यस चलचित्रले आफूलाई पुनः नायकको रूपमा स्थापित गराउनेछ भन्नेमा धेरै आशावादी छन् । उसो त उनले धेरै लामो अन्तरालपछि खेलेको ब्रासलेट भने खासै सफल मानिएन, तर उनलाई आफ्नो चलचित्रमा लिने निर्माता भने अहिलेसम्म कोही अगाडि आएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्