चन्द्रराज शर्मा संगीतका सारथी



विदुर गिरी
जीवनकालभर केवल सिर्जनाकै क्षेत्रमा बिताउने हस्तीहरू थोरै हुन्छन्, तीनै थोरैमध्येका एक संगीतसाधक चन्द्रराज शर्मा अब हामीबीच रहेनन् । गत पुस ६ गते बिहीबार उनको निधन हुन पुग्यो ।
२०२२ सालमा रेडियो नेपालद्वारा आयोजित शास्त्रीय संगीत प्रतियोगितामा राजा महेन्द्रबाट नेपाल कलाभूषण उपाधि पाएका संगीतकार शर्मा हामी नदीका दुई किनार हाम्रो संगम असम्भव छ तापनि जीवनको आशमा यो मन गुमाउन मञ्जुर छ, मनमा माया तनमा माया, सुनौला घाम झुल्केन आँखाहरूले रुन नखोज, मेरो माल मलाई फर्काइदे बाबु ज्यान जोगाउनु छ भने, मोतीका दानाजस्ता आजसम्म पनि उत्तिकै लोकप्रिय ऊ जमानाका फिल्मी र गैर फिल्मको गीतका संगीत सर्जक थिए । उनले आधुनिक, फिल्मी, शास्त्रीय, देशभक्तिजस्ता संगीतका सबैजसो गीतका लागि संगीत सिर्जना गरी यो क्षेत्रलाई सम्पन्न बनाएका थिए ।
उनीद्वारा संगीतबद्ध गीतहरू गाउन पाएर स्वरसम्राट नारायण गोपालदेखि लोकप्रिय गायक राजेशपायल राईसम्मले आफ्नो सांगीतिक करियरलाई बलियो बनाएका छन् । उनीद्वारा सिर्जित गीति नाटकका संगीतका अधिकांश गीतहरू नारायणगोपाल र तारा देवीले गाएका छन् । गोपाल योञ्जन, प्रेमध्वज प्रधान, फत्तेमान राजभण्डारी, प्रकाश श्रेष्ठ, रविन शर्मा, कमला श्रेष्ठ, लोचन भट्टराई, सपनाश्री, सुदेशराज शर्मा, एम बराल, रामकृष्ण ढकाल, राजेशपायल राईजस्ता पुरानादेखि नयाँ पुस्ताका गायकगायिकाले उनकै गीत गाएर लोकप्रिय कमाएका छन् ।
 
५ सय जति त फुटकर गीतमै संगीत भरेका शर्माले गीतिनाटक मुनामदन, शोक काव्य गौरी, सत्य हरिश्चन्द्रजस्ता थुप्रै गीतिनाटक र नृत्य नाटिकाका लागि संगीत सिर्जना गरेका थिए भने कुमारी, जीवनज्योति, भानुभक्त, श्रीस्वस्थानीजस्ता फिल्मले पनि उनकै संगीत पाएका थिए ।
संगीत शिरोमणि यज्ञराज शमाको माइलो पुत्रका रूपमा १९९६ साल पुस १६ गते डिल्लीबजारमा जन्मिएका उनले पद्मोदय हाइस्कुल डिल्लीबजारबाट एसएलसी दिई त्रिचन्द्र कलेज घण्टाघरबाट २०१८ सालमा बिकम गरेका थिए भने २०२१ सालमा भारतको इलाहावाद संगीत विद्यालयबाट बिम्युज गरेका थिए । घरमै संगीत शिरोमणि पिता पाएपछि बाल्यकालदेखि नै पिताको मार्ग पछ्याउन थालेका उनी पढाइमा त तेज थिए नै, संगीतमा उनको अझ बढी झुकाव थियो । यतिसम्म कि संगीतका विज्ञहरूले तयार पार्न नसक्ने जटिल धुन उनी बाल्यकालमै तयार पारेर देखाइदिन्थे । उनका पिताले छोराको चाहनालाई बुझेर संगीतका आधारभूत ज्ञानगुन सिकाएका थिए भने पछि भारतबाट बिम्युज गरेका थिए ।
 
संगीतबाट उनी कति मोहित थिए भने हर समय संगीतमै बिताउँथे । संगीत नै उनको लगन थियो । ‘त्यो समय रेडियो नेपालमा समेत गीत रेकर्ड हुँदैन थियो । सांस्कृतिक संस्थानको रंगमञ्चमा पर्दा टाँगेर स्टुडियो बनाइन्थ्यो । शहरको कोलाहलका कारण बिहान ७ बजेअघि र बेलुका ६ बजेपछि मात्र रेकर्ड गर्नुपर्ने बाध्यता थियो । गीत रेकर्ड गर्न नारायण गोपाल बिहान मुखै नधोई आइपुग्थे । अरु कलाकार मिर्मिरेमै आइपुग्थे । किनभने दिउँसो गाडीको आवाजले गीत रेकर्ड गर्ने सम्भावना नै हुन्नथ्यो’, चन्द्रराजले केहीअगाडि संगीतकार टीका भण्डारीसँगको भलाकुसारीमा सम्झिएका थिए– ‘यसरी गीतिनाटक मुनामदन रेकर्ड गर्न ६ महिना लागेको थियो ।’
चन्द्रराज फिल्मी संगीतमा पनि सिद्धहस्त थिए । पहिलो नेपाली रंगिन फिल्म कुमारीमा संगीत दिएका उनले संयुक्त लगानीमा बनेको जीवनज्योति, धर्ती आकाशका साथै श्रीस्वस्थानी, भानुभक्तका लागि पनि संगीत सिर्जना गरेका थिए । त्यसो त उनि नृत्य नाटकमा संगीत गर्ने र त्यसबाटै प्रसिद्धि कमाउने भाग्यमानी संगीतकारमा पनि पर्दछन् । त्यसताकाका नृत्य नाटिकाहरू सत्य नाग, दुर्गा अवतार र भस्माशूरका लागि उनले संगीत दिएका थिए । अहिले भने नृत्य नाटिकाको प्रचलन पनि लगभग हराएको अवस्थामा छ । ‘यो ज्यादै जटिल कार्य हो, गीतैगीतबाट नाटक मञ्चन गर्नुभनेको सामान्य होइन । यस्तो चुनौती मोल्न आजका पुस्ता तयार देखिन्नन्, त्यसैले म सोच्छु त्यो एउटा इतिहास नै भयो अब, तर त्यो संस्कृति नेपालमा अझै आवश्यक छ’ –उनले संगीतकार भण्डारीसँग भनेका थिए ।
 
संगीत सिर्जनासँगै चन्द्रराजले आफ्नो जीवन कालमा संगीतका विद्यार्थी पनि थुप्रै तयार पारे । उनले तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा संगीत गुरु बनेर संगीत सिकाएका कतिपय संगीत प्रशिक्षार्थी आज देशका नामुद गायकगायिका र संगीतकार बनेका छन् । त्यस समयमा हुने विभिन्न सांगीतिक प्रतियोगिता र फिल्म अवार्डको निर्णायकसमेत रहने गरेका चन्द्रराजले नेपाल संगीत महाविद्यालयमा पनि संगीत सिकाए । रत्न कला कुञ्जमा त उनी नै सचिव थिए । सांस्कृतिक संस्थानमा संगीत विज्ञको रूपमा २०२९ सालदेखि कार्यरत रही संगीत विभागको निर्देशक पदबाटै उमेर हदका कारण २८ वर्षपछि अवकाश पाएका उनले देशका विभिन्न क्षेत्रमा पुगेर सांस्कृतिक कार्यक्रमहरू समेत गरेका थिए ।
      
शर्माले सांगीतिक जीवनमा ३ सय ५० भन्दा बढी आधुनिक गीतमा संगीत दिएका थिए । तीमध्ये च्वाट्ट चुँडी नजानु, उड्यो चरी गीतलगायतका ४ गीत कलकत्तामा रेकर्ड गराइएका थिए । जसमा यी दुई गीत उनी आफैंले गोपालजी नेपालीको शब्दमा गाएका पनि थिए ।
शर्माले २०१७ सालमा तारा भण्डारीसँग विवाह गरेका थिए । उनका दुई सुपुत्र नरेश अर्याल र सुदेशराज शर्मा हुन् । दुवै रेडियो प्रसारण र संगीत अलग–अलग विधामा ख्याति कमाएका व्यक्तित्व हुन् । नरेश अर्यालले २० वर्ष रेडियो नेपालमा समाचार सम्पादक तथा समाचार वाचकका रूपमा कार्य गरे भने सुदेशराज शर्मा सफल गायकका रूपमा स्थापित छन् ।
 नेपाल कलाभूषण 
चन्द्रराज शर्मा
जन्म मिति ः १९९६ साल पुस १६ गते
जन्मस्थान ः डिल्लीबजार, काठमाडौं
पछिल्लो बसाइ ः श्रीजनसिलटोल, वडा नं ४, धापासी, टोखा नगरपालिका, काठमाडौं
निधन ः २०७४ पुस ६ गते
शिक्षा ः बिकम, बिम्युज
कृति र सिर्जना
थुप्रै गीतिनाटक तथा नृत्य नाटिकाको संगीत सिर्जना
गीतिनाटकहरू
महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन र कुञ्जिनी
राष्ट्रकवि माधवप्रसाद घिमिरेको सकुन्तला र गौरी
रामभरत मिलाप, हरिशचन्द्र, यसोधरा, शुभविवाह, श्रीकृष्णलीला, मुटुको व्यथा, शिवपार्वती, राजकुमार विश्वन्तर, भृकुटी, धने आदि।
नृत्य नाटिकाहरू
सत्यनाग, दुर्गा अवतार, भस्माशूर, विश्वामित्र मेनुका, चण्डालीका आदि।
चलचित्र संगीत 
कुमारी, जीवनज्योति, भानुभक्त, श्रीस्वस्थानी, लक्ष्मीप्रसाद देवकोटा, धर्ती आकाश आदि।
करिब ५ सय फुटकर गीतको संगीत सिर्जना
सेवा र अनुभव
तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको पहिलो त्रिवार्षिक तालिम कार्यक्रमका संगीत शिक्षक
नेपाल संगीत महाविद्यालयमा ६ वर्षसम्म संगित विषयमा प्राध्यापन
सांस्कृतिक संस्थानको स्थापनाकाल २०२९ सालअघिदेखि नै संगीत विज्ञको रूपमा कार्यरत रही २०५७ सालमा संस्थानको संगीत विभागको प्रमुख पदबाट उमेरको हदले अवकाश
सांस्कृतिक संस्थानबाट सञ्चालित कलाकार तालिममा प्रमुख संगीत प्रशिक्षकको रूपमा करिब १० वर्ष आबद्ध
२०५१ र २०५६ सालमा प्रज्ञा प्रतिष्ठानको प्रज्ञासभा सदस्य

पदवी⁄सम्मान
२०२२ सालमा रेडियो नेपालद्वारा आयोजित शास्त्रीय संगीत प्रतियोगितामा राजा महेन्द्रबाट नेपाल कलाभूषण उपाधि प्रदान
२०५५ सालमा राजा वीरेन्द्रबाट प्रवल गोरखादक्षिणबाहु प्रदान
श्री ५ वीरेन्द्र शुभराजयभिषेक पदक २०३१
धीरनारायण अभिनन्दन २०४५
शिक्षा पुरस्कार २०४८
छिन्नलता पुरस्कार २०४९
रष्ट्रिय प्रतिभा पुरस्कार २०५४
साधना सम्मान २०५५
दीपशमशेर स्मृति सम्मान २०५६
आहान अभिनन्दन २०५६
नारायण गोपाल संगीत कोषको स्वरसम्राट स्मृति सम्मान २०५८
नेपाल चलचित्र कलाकार राष्ट्रिय संघ सम्मान २०५८
रेडियो नेपाल कदरपत्र २०५३ र २०५९
रूपक स्मृति कला सम्मान २०५९
म्युजिक नेपाल सम्मान तथा पुरस्कार २०६१
सांस्कृतिक संस्थान सम्मान २०६४
उपराष्ट्रपति नन्दबहादुरद पुनबाट कदरपत्र २०७३
नेपाल सांस्कृतिक संघ सम्मान
छिमेकी समाज कदरपत्र
राष्ट्रपति रामवरण यादवबाट नेपाल संगीत नाट्य प्रज्ञा पुरस्कार प्रदान

प्रतिक्रिया दिनुहोस्