अभिनेता हरिहर शर्मा



ख्यातिप्राप्त अभिनेता तथा रंगकर्मी हरिहर शर्माको जन्म २०११ सालमा भएको हो। नेपाली फिल्म र रंगमञ्च क्षेत्रको दरिलो नाम बनेका उनले पब्लिक एड्मिन्स्ट्रेसनमा स्नातक तहको अध्ययन गरेका छन्। विद्यालय जीवनदेखि नै रंगमञ्चमा सक्रिय शर्माले त्यतिबेलै दर्जनौं नाटकमा सशक्त अभिनय क्षमता प्रदर्शन गरेका थिए।

नेपाली रंगमञ्चको शुरूआतकालीन अवस्थामा अभिनय र नाटक लेखनमा निकै नै सक्रियतापूर्वक लागिपरेका शर्माले सानो र ठूलो पर्दाका दर्जनौँ फिल्ममा अभिनय गर्नुका साथै लेखन तथा निर्देशन कार्यसमेत गरेका छन्। उनले कर्तव्य र चाहना, देशप्रेम र संकल्पजस्ता छोटा फिल्मको अभिनयसमेत गरेका छन् भने फिल्म वासुदेव, सिन्दुर, बदलिँदो आकाश, प्रेमपिण्ड, कर्जा, मोहनी, मायाप्रीति, चेलीबेटी, बाबुसाहेब, फेरि तिम्रो याद आयो, छोरा, जिद्दी, मलाई माफ गरिदेऊ, सन्तान थरिथरिका, शासन, धनपति, अमेरिका ब्वाईलगायतका फिल्ममा सशक्त अभिनयको नमुना पेस गरेर देखाइदिएका छन्।

कलाकारिताकै क्रममा हरिहरले सांस्कृतिक संस्थानको महाप्रबन्धकदेखि नेपाल प्रज्ञा प्रतिष्ठानको निर्देशक पदमा रही लामो समयसम्म सेवा गरेका छन्। शर्माले सयौंलाई अभिनयको प्रशिक्षणसमेत दिएर कलाकार तथा रंगकर्मीका रूपमा स्थापितसमेत गराएका छन्।

कलाकारितासँगै सामाजिक कार्यमा उत्तिकै सक्रिय शर्मा गैरसरकारी सामाजिक संस्था युनेस्कोसँग पनि आबद्ध छन्। उनले भारत र कोरियामा भएको सामाजिक कार्यसँग सम्बन्धित सेमिनार तथा वर्कसपमा समेत भाग लिइसकेका छन्। यसका साथै कलाकारिताको क्रममा विभिन्न कार्यक्रममा सहभागिता जनाउने सिलसिलामा अमेरिकालगायतका मुलुकको भ्रमण गरिसकेका छन्। नेपाली रंगमञ्च र फिल्ममा योगदान पुर्याएबापत शर्मा इन्द्रराज्य लक्ष्मी प्रज्ञा पुरस्कार, सर्वनाम पुरस्कार, फिल्म वासुदेवबाट सर्वोत्कृष्ट अभिनेता, टेलिफिल्म जनैको साँचोबाट सर्वोत्कृष्ट कलाकार, उर्वशी फिल्म अवार्ड, पहलमान सिंह स्वाँर पुरस्कार गरी दर्जनौँ पुरस्कार र सम्मानबाट पुरस्कृत तथा सम्मानित भइसकेका छन्।

शर्मालाई गत वर्ष आयोजित लक्स कामना फिल्म अवार्डस् २०७४ मा कलाततर्फको कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) बाट सम्मानित गरिएको थियो। शर्मालाई रंगकर्मी तथा अभिनेत्री शकुन्तला शर्माका साथ संयुक्तरूपमा सो सम्मानबाट सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्