लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्मा




चलचित्र लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्माको जन्म सन् १९४५ मा इलामको बयरबोटेमा भएको हो। स्व. प्रजापति शर्मा र स्व. देवकी शर्माको कोखबाट जन्मेका निर्देशक शर्माले सन् १९७१ मा त्रिभुवन विश्वविद्यालयबाट इतिहास र फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया पुनाबाट सन् १९७७ मा फिल्म निर्देशनमा स्नातकोत्तर गरेका छन्।

यसका साथै उनले सन् १९८२ मा एसियन इन्स्टिच्युट अफ ब्रोडकास्टिङ डेभलभमेन्ट मलेसियाबाट ग्राफिक्स एनिमेसनको विशेष तालिमसमेत लिएका छन्। सन् १९७१ बाट फिल्मको कथा लेखनमा समेत सक्रिय भएका निर्देशक शर्माले सन् १९८३ मा फिल्म बदलिँदो आकाशबाट निर्देशनमा हात हालेका हुन्।

त्यसपछि उनले शान्तिदीप, मिलन, सारङ्गी, छोरीबुहारी, साथी, जितलगायका फिल्म निर्देशन गरिसकेका छन्। उनले निर्देशन गरेको पछिल्लो फिल्म सुनको बिहानी प्रदर्शनको क्रममा रहेको छ। कथा, मोड, जितजस्ता टेलिफिल्म निर्देशन गरिसकेका निर्देशक शर्माले दर्जनभन्दा बढी डकुमेन्ट्रीको समेत निर्देशन गरेका छन्। उनले नेपालकै पहिलो फिल्मसम्बन्धी पढाइ हुने कलेज अफ फिल्म स्टडिज, कान्तिपुर सिटी कलेज, रत्नराज्य बहुमुखी क्याम्पसमा अध्यापनको अनुभव बटुलेका छन्। यस्तै लेखनमा समेत उत्तिकै सक्रिय निर्देशक शर्माका असन्तोष, घैँटे गुप्तचर, अँध्यारो उपन्यासहरू प्रकाशित छन्।

नेपाल चलचित्र निर्देशक समाजका अध्यक्षसमेत भइसकेका निर्देशक शर्मा नेपाल चलचित्र कलाकार संघको आजीवन सदस्यका साथै फिल्मसम्बन्धी विभिन्न संघसंस्थामा समेत आबद्ध छन्। उनले विभिन्न समयमा आयोजना हुने प्रतियोगिता तथा अवार्ड कार्यक्रममा जुरी सदस्यका रूपमा समेत कार्य गरिसकेका छन्। उनी सन् १९९९ मा नेपाल मोसन पिक्चर्स सम्मान, चलचित्र सर्जक सम्मान, प्रबल गोरखा दक्षिण बाहुलगायतका दर्जनौं पुरस्कार र सम्मानबाट पुरस्कृत एवं सम्मानित भएका छन्।

नेपाली फिल्म क्षेत्रका सालीन र विज्ञ निर्देशकका रूपमा परिचित शर्माले भारत, भुटान, थाइल्यान्ड, सिंगापुर, रसिया गरी दर्जनौं देशको भ्रमण गरिसकेका छन्। उनी लक्स कामना फिल्म अवार्डस् २०७३ अन्तर्गत कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ अचिभमेन्ट अवार्ड)बाट सम्मानित भएका थिए

प्रतिक्रिया दिनुहोस्