लेखक, रंगकर्मी तथा निर्देशक अशेष मल्ल



२०११ साल चैत २१ गते धनकुटामा जन्मेका अशेष मल्ल नेपाली नाट्यक्षेत्रमा परिचित र स्थापित नाम हो । नेपाली साहित्यमा एमएसम्मको अध्ययन गरेका उनी सर्वनाम थिएटरका संस्थापक निर्देशक हुन् ।

४ दशक लामो नाट्य यात्रामा उनले ३ सयभन्दा बढी नाटकमा अभिनय तथा ५ सयभन्दा धेरै नाटक निर्देशन र लेखन र गरेका छन् । मल्लले दर्जन भिडियो र टेलिफिल्मको लेखन तथा निर्देशन, विभिन्न फिल्मको स्क्रिप्ट लेखन, हातेमालो रेडियो नाटकको स्क्रिप्ट लेखन, अनौपचारिक शिक्षा सामग्री लेखन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय थिएटर एवं स्ट्रिट थिएटर तालिम सञ्चालन गरेका छन्।

उनको तुवाँलोले ढाकेको बस्ती, सडकदेखि सडकसम्म, अनादिक्रम, ब्ल्याक स्काई, समकालीन नेपाली नाटकजस्ता नाटक संग्रह, सडक नाटक परिचयात्मक पुस्तक, पानी जंगल र गाउँ, जंगलमा एक दिन, सानी र नानीजस्ता बालकथा तथा नाटक संग्रह, अज्ञात प्रदेशहरूमा, निरन्तर निरन्तर, एक्लो एकान्तजस्ता कविता संग्रह, कथा कुन छोटो कथा संग्रह, तेस्रो आयाम, सैद्धान्तिक चिन्तन र विवेचना तथा सडक नाटक सिद्धान्त सिर्जना र प्रस्तुति अनुसन्धान पुस्तक, बाबाको आशिर्वाद, दयावीरसिंह कंसाकार, सुख–दुःखमा साईजस्ता जीवनी, दियालो अनौपचारिक शिक्षा कोर्सबुक, सयपत्री बाल कोर्सबुक तथा ३० भन्दा धेरै प्रौढ शिक्षा, स्वस्थ्य शिक्षा, परिवार नियोजनसम्बन्धी पुस्तक तथा बुलेटिनहरू प्रकाशित छन् । उनी साझा पुरस्कार, मोती अवार्ड, गोपीनाथ अर्याल अवार्ड, वासु शशि सम्मान, रूपक कला अवार्ड, मानश्री अवार्ड, मुस्या चुया अवार्ड, सृजनशील रंगमञ्च अवार्ड तथा नवीन कला सम्मान, छिमेकी सम्मानजस्ता सम्मानबाट सम्मानित भएका छन् ।

उनी नेपाल प्रज्ञा प्रतिष्ठानको आजीवन सदस्य, त्रिभुवन विश्वविद्यालयको एसोसियट प्रोफेसर, एसियन रिजनल एजुकेसन एन्ड थिएटर नेटवर्कको पे्रसिडेन्ट, स्ट्रिट थिएटर इन नेपालको संस्थापक, एसियन कल्चर फाउन्डेसनको संयोजक, सिसस सोसाइटी अफ क्रियटिभ राइटिङको फाउन्डर सेक्रेटरी, सर्वनाम ड्रामाटिक आर्ट सेन्टरको कन्सेप्ट एन्ड क्रिएटर रहेका छन् ।

यस्तै सन् १९९२ देखि १९९४ सम्म स्क्रिप्ट राइटर कमिटी रेडियो नेपालका सदस्य तथा नेपाल टेलिभिजनका बोर्ड अफ डाइरेक्टरका रूपमा रहेका उनी सन् १९९२ देखि १९९५ सम्म पेन इन्टरनेसनल नेपालका कार्यकारिणी सदस्यका रूपमा रहे भने सन् १९९५ देखि २००६ सम्म हातेमालो सञ्चारमा प्रेसिडेन्टका रूपमा समेत संलग्न थिए।

सन् १९८६ मा सम्पन्न थिएटर कन्फरेन्स, फिलिपिन्समा भएको थिएटर वर्कसप, १९९० मा भियानामा भएको अन्तर्राष्ट्रिय लेखक कन्फरेन्स, १९९२ मा पाकिस्तान, १९९३ मा बंगलादेश र भारतमा भएको साउथ इस्ट ड्रामा फेस्टिभलमा सहभागी भएका छन् ।

साथै सन् १९९३ मा भारतमा भएको इन्टरनेसनल स्ट्रिट थिएटर वर्कसप, १९९४ मा भारतमै भएको साउथ इस्ट एसियन ड्रामा फेस्टिभल, १९९४ मा हङकङमा भएको इन्टरनेसनल प्ले राइटिङ वर्कसप, १९९६ मा पाकिस्तानमा भएको इन्टरनेसनल थिएटर फेस्टिभल, १९९७ मा बंगलादेशमा भएको थिएटर फेस्टिभल, २००७ मा भारतमा भएको इन्टरनेसल चिल्ड्रेन थिएटर फेस्टिभल, २००८ मा भारतमै भएको अन्तर्राष्ट्रिय थिएटर फेस्टिभल तथा ड्रामा फेस्टिभल, २००९ र २०१० मा भएको इन्टरनेसनल थिएटर फेस्टिभल तथा थिएटर फेस्टिभलमा सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्