गीतकार, सम्पादक तथा प्रथम एनिमेटर करुण थापा



करुण थापा नेपाली फिल्म क्षेत्रको कुशल र अनुभवी चलचित्र सम्पादक र गीतकारसमेत हुन् भने नेपालकै पहिलो एनिमेटर पनि हुन्। करुणको जन्म २०२२ सालमा काठमाडौंको वसुन्धारामा भएको हो। भारतको दिल्लीबाट कम्प्युटर साइन्समा स्नातक तहको अध्ययन गरेका उनी हाल सिल्भरगेट सफ्टवेयर र सिल्भरगेट एकेडमीका सीईओ तथा मनास्लु सफ्ट प्रालिका निर्देशकसमेत छन्। दुई दशकदेखि प्राविधिक क्षेत्रमा योगदान दिँदै आएका थापाले दर्जनौं फिल्म, म्युजिक भिडियो र विज्ञापनको सम्पादन, एनिमेसन र ग्राफिक्स गरिसकेका छन्।

उनले शंकर, रक्षक, सगुनलगायत करिब २ दर्जन फिल्मको सम्पादन गरिसकेका छन् भने विभिन्न सरकारी तथा गैरसरकारी संस्थाको वृत्तचित्रको सम्पादनसमेत गरेका छन्। उनले विभिन्न फिल्म, विज्ञापन र म्युजिक भिडियोमा नयाँ प्रविधि सर्वप्रथम नेपालमा भित्र्याई थ्रीडी एनिमेसनको प्रयोग गरेर प्रविधिक क्षेत्रलाई थप उचाइ दिएका छन्।

१५ वर्षदखि थ्रीडी एनिमेसन, सम्पादन र ग्राफिक्सको क्षेत्रमा तालिम दिई एक कुशल प्रशिक्षकको भूमिका निर्वाहसमेत गर्दै आएका उनले २०४१ सालमा पहिलो नेपाली स्क्रिप्ट डिजाइनरका रूपमा कार्य गरिसकेका छन् भने २०५७ मा आयोजना गरिएको सानमिगल म्युजिक अवार्ड, कृति एड्भर्टाइजिङ अवार्ड, बेस्ट टु दि थ्रीडी एनिमेसन अवार्ड, अन्तर्राष्ट्रिय गजल प्रतियोगितालगायत विभिन्न प्रतियोगिताको निर्णायकका रूपमा कार्य गरिसकेका छन्। उनले नेपालमा पहिलोपटक स्कुलका विद्यार्थीका उपयोगी कम्प्युटरसम्बन्धी किताब प्रकाशित गरेका छन् भने नेपाली फिल्ममा पहिलोपटक एभिड सम्पादनको प्रयोग, फिल्मको टाइटल एनिमेसन र स्पेसल इफेक्टको प्रयोग पनि उनैले पहिलोपटक प्रयोग गरेका थिए।

यति मात्र नभई नेपाली भाषाका विभिन्न सफ्टवेयरसमेत निर्माण गरेका उनले प्रविधिलाई निकै नै नजिकबाट नियालेका छन् भने सयभन्दा बढी फिल्मका लागि गीत रचना गरेका छन्। उनले डिजिटल फिल्म अवार्डका साथ फिल्म सगुनबाट सर्वोकृष्ट गीतकार तथा सम्पादक अवार्डसमेत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्