गायक तथा संगीतकार किरण प्रधान



गायक, संंगीतकार, फिल्म निर्माता, अभिनेता तथा निर्देशक किरण प्रधानको जन्म २०१० साल साउन २८ गते पिता स्व. जगतनारायण प्रधान तथा लक्ष्मी प्रधानको सुपुत्रका रूपमा भएको हो ।
होली गार्डेन स्कुलका प्रिन्सिपलसमेत रहेका प्रधानको श्रीमती, दुई छोरी र एक छोरा छन् । २०२६ सालदेखि रेडियो नेपालमा गीत गायन थालेका उनले नेपाल टेलिभिजनको स्थापनाकालदेखि नै गीत प्रस्तुत गरेका थिए ।

उनले हालसम्म रेडियो नेपाल र चलचित्रमा गरी ४ सयभन्दा बढी गीतमा स्वर दिएका छन् । उनको हालसम्म जीवनलाई दुई दृष्टि (२०३६), चाहनाको भेल (२०४२), सम्झाउनी (२०५४), सौगात (२०६०), गुरुदक्षिणा (२०६४) र गोल्डेन गोल्डिज (२०६९) गरी आधा दर्जन एल्बम प्रकाशित भएका छन् । २०३८ सालमा बनेको पहिलो नेपाली भिडियो फिल्म प्रयासको निर्देशक एवं निर्माता रहेका उनले त्यसमा प्रमुख भूमिका निर्वाह गरेका थिए भने त्यसमा कथा, गीत, स्वर, संगीतसमेत उनकै रहेको थियो ।

२०४६ सालमा लन्डनमा निर्माण भएको पहिलो नेपाली फिल्म कस्तुरीको निर्माता रहेका उनको त्यस फिल्ममा कथा, गीत, संगीत र स्वर पनि थियो। उनले नेपाल टेलिभिजनका लागि हजुरबाको कथा (२०४३) र जन्मपात्रो (२०४४) नामक टेलिसिरियलको लेखन र निर्देशन गरेका थिए। त्यसै गरी २०६६ सालमा यूकेमा निर्मित १५ भागको टेलिसिरियल समुन्द्रपारिको देशको लेखन र निर्देशन पनि गरेका थिए।

रेडियो नेपालको सांगीतिक प्रतियोगितामा प्रथम भएका उनले फिल्म र संगीत क्षेत्रबाट धेरै अवार्ड पाएका छन् भने स्वदेश, भारत र उज्वेकिस्तानका धेरै खुला गायन प्रतियोगितामा भाग लिएका छन् । उनका मायालु तिमीबिना शीर्षकको आधुनिक गीत तथा सेतो पाना शीर्षकको बालगीत संग्रह प्रकाशित छन् भने संगीत शीर्षकको पुस्तक प्रकाशित हुने तयारीमा छ ।

२०६७ सालमा पलेटीमा एकल सांगीतिक प्रस्तुति दिएका उनले २०७० सालमा राष्ट्रिय नाचघर र नेपाल प्रज्ञा प्रतिष्ठानमा एकल साँझ प्रस्तुत गरेका थिए । त्यसबाहेक दार्जिलिङ, अमेरिका, जापान र लन्डनमा पनि एकल प्रस्तुति दिएका उनी इन्टरनेसनल लायन्स क्लब अफ काठमाडौं मिररका चार्टेड प्रेसिडेन्ट, पूर्वजोन चेयरम्यान १९९८ देखि १९९९ सम्म इन्टरनेसनल लायन्स डिस्ट्रिक ३२५ ए नेपालमा संलग्न रहेका थिए । प्याब्सनको संस्थापक सदस्य तथा सल्लाहकार रहेका उनी २०४९ सालदेखि २०५३ सालसम्म काठमाडौं जिल्ला प्याब्सनका सचिव रहेका थिए । उनी नेपाली भाषाको अलावा अंग्रेजी, हिन्दी, नेवारी, बंगाली र जापनिज भाषा बोल्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्