कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम एचिभमेन्ट अवार्ड) २०७५ मह जोडी कलातर्फ



नेपाली कला र चलचित्र क्षेत्रले गुलियो र स्वादिलो मह पाएको छ । यो मह गुलियो र स्वादिलो मात्र छैन, रोचकसँगै घोचक पनि छ । गुलियोसँगै अमिलो पनि उस्तै छ । हजुर, मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मह जोडीले जसलाई व्यंग्यको तीर प्रहार गर्छ, उनीहरूका लागि यो जोडी घोचक र अमिलो लाग्ने गर्छ भने जनता र दर्शकका लागि स्वादिलो र मीठो ।

नेपाली कला क्षेत्रमा विगत ३८ वर्षदेखि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य मह जोडीका रूपमा प्रख्यात हुनुहुन्छ । २०३७ सालअगाडि म र ह अर्थात् मदनकृष्ण र हरिवंश छुट्टाछुट्टै रूपमा काम गर्नुहुन्थ्यो, विभिन्न स्थानमा आफ्ना कला प्रस्तुत गरेर दर्शकलाई मोहित तुल्याउनुहुन्थ्यो ।
२०३७ सालमा नेपाल राष्ट्र बैंकको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रमले भने मदनकृष्ण र हरिवंशलाई जोडीका रूपमा उभ्याइदियो । खासमा भयो के भने बैंकको वार्षिकोत्सव कार्यक्रममा तत्कालीन राजा वीरेन्द्र प्रमुख अतिथिका रूपमा पुग्ने भए । राजा वीरेन्द्र कार्यक्रममा जाने भएपछि समयसीमा पनि तोकियो । जसका कारण समय बचाउने उद्देश्यले मदनकृष्ण र हरिवंशले संयुक्तरूपमा आफ्नो प्रस्तुति देखाउनुपर्ने भयो ।

त्यसबेला उहाँहरूले बैंकेश्वर नामक प्रहसनबाट हसाउँदै दर्शकलाई मन्त्रमुग्धमात्र बनाउनुभएन, कला क्षेत्रका लागि कोहीनूरका रूपमा एक अनुपम जोडी बनेर देखापर्नुभयो । त्यसको केही समयपछि राष्ट्रिय सभागृहमा विज्ञापन नामक प्रहसन प्रदर्शन भइरहँदा पृष्ठभूमिबाट हास्य अभिनेता राजाराम पौडेलले उद्घोषण गर्दै भन्नुभयो– ‘अब आउँदै छन् महजस्तै गुलिया, मह जस्तै गुनिला, महजस्तै कहिल्यै नकुहिने, पञ्चामृतजस्तै मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, महजोडी ।’ हरेक दिनको शोमा मह जोडी भन्दै उद्घोषण गरिँदा दर्शकले ताली बजाएर स्वागत गर्न थालेपछि मदनकृष्ण र हरिवंशको जोडी मह जोडीका रूपमा प्रख्यात भयो । यो जोडीले आज मुलुकमा मात्र नभई संसारमै आफ्नो कलाकौशलबाट दर्शकलाई प्रशंसक बनाउनुभएको छ ।

प्रहसनदेखि टेलिफिल्मसम्म, टेलिसिरियलदेखि ठूलो फिल्मसम्मैै एकताबद्ध भई मह जोडी सामाजिक चेतनासँगै कुरीतीविरुद्ध समेत लड्दै आइरहनुभएको छ । राजनीतिक परिवर्तनमा समेत महङ्खवपूर्ण भूमिकामा देखिनुका साथै समाजसेवामा सम्म फैलिएको मह जोडीको अविरल सहयात्रा नेपाली नेताहरूका लागि मात्र नभई सम्पूर्ण समाजकै लागि अनुकरणीय उदाहरण बनेको छ ।

नेपालमा हास्यव्यंग्य कलालाई व्यावसायिकरूपमा माथि उकास्ने कार्यमा अग्रणी भूमिका खेलेको महले जोडीका रूपमा जोडिँदै अन्य कलाकारलाई समेत समेटेर यमलोक, प्यारलाइसिस अंशवण्डा, कक फाइट, रद्दी टोकरी, शपथ ग्रहण, ऐना, विज्ञापन, लन्डन एयरपोर्ट, वडा नम्बर ३४, राष्ट्रिय गाउँखाने कथा प्रतियोगिता, श्राद्ध, पिकनिक, अभिभावक, संगीत, रिमोर्ट कन्ट्रोल, नेपाल बन्द, रङ नम्बर, प्रश्न उत्तर, दोहोरी गीत, गीतै गीत, काउकुती, नाता, २०५, होस्ट हैंसे, शालिक, मह दोहोरी, राष्ट्रिय गाउँखाने कथा प्रतियोगिता २, अभिनन्दन, रिमिक्स श्राद्ध, मह दोहोरी २, नेवार बहादुर बाहुनबहादुर, म डनको फोटो स्टुडियोजस्ता ३ दर्जन प्रहसनमार्फत हास्यव्यंग्यका साथ समाजका कुरीतिविरुद्ध आवाज उठाउँदै जनचेतना पनि छर्दै आउनुभएको छ ।

त्यसै गरी फिप्टी फिप्टी, सन्तती, २ लाख १६ हजार ७ सय ७७, भकुण्डे भुत, १५ गते, दशैं, चिरञ्जीवी, रात, वनपाले, सुर बेसुर, ओहो, कान्तिपुर, राजमार्ग, पानी, कालाजार, असल लोग्ने, लक्ष्मी, लालपुर्जा, टीकेको ३ मन्त्र, सृष्टि, जलपरी, मह चौतारी, लेफ्ट राईट लेफ्ट , मदनबहादुर हरिबहादुर, आमा, आमा २, न्यानो माया, अर्थक्वेक, ढलमती, डाइबेटिज, पाठशाला, गाउँकी तारा, स्यावास, सुगन्धपुर, गोल्ड मेडल, कम अर्थ, छोरीजस्ता साढे ३ दर्जन जति टेलिफिल्मबाट महको मीठो र नुनिलो स्वाद करोडौं नेपालीले चाखिसकेका छन्।

आधा दर्जन बढी चेतनामूलक रेडियो कार्यक्रमसमेत प्रस्तुत गरेको मह जोडीले वासुदेव, के घर के डेरा, सिलु, माला, लोभीपापी, ट्रक ड्राइभर, राजमती, बलिदान, तँ त साह्रै बिग्रिस् नि बद्री, जे भो राम्रै भो, फिलिम, हाँसिदेऊ एकफेर, चण्डालिका, शत्रु गतेजस्ता चलचित्रमा सँगै काम गर्नुभएको छ। चेतनामूलक सन्देश र व्यावसायिक विज्ञापनहरूमा समेत छाएको मह जोडी केबल अभिनयमामात्र सीमित छैन, आफ्नो बौद्धिक क्षमताको प्रदर्शन गर्दै गीत लेखन, गायन, कविता र पुस्तक लेखनमा समेत अमिट छाप छोड्न सफल व्यक्तित्व बन्नुभएको छ।

नेपाली कला क्षेत्रका यी अनमोल हीरामध्ये एक मदनकृष्ण श्रेष्ठ २००७ साल वैशाख ७ गते बुधबार काठमाडौंको जितपुर फेदीमा जन्मिनुभएको हो भने अर्को हीरा हरिवंश आचार्य २०१५ साल असोज २३ गते बिहीबार काठमाडौंको गैरीधारामा जन्मनुभएको हो। नेपाली कला क्षेत्रलाई अनवरतरूपमा योगदान पुर्याउँदै आएका यी जोडीलाई अनगिन्ती राष्ट्रिय विभूषण, सम्मान र पुरस्कारहरू पनि संयुक्तरूपमै मिल्दै आएको छ । थुप्रै सामाजिक तथा व्यावसायिक संघसंस्थामा आबद्ध रहँदै आएको मह जोडी कला, समाज र चलचित्र क्षेत्रमा योगदान पुर्याएबापत गोरखा दक्षिणबाहु, लायन्स क्लब अफ विशालबजारले आयोजना गरेको पहिलो चलचित्र अवार्डमा सर्वोत्कृष्ट हास्यअभिनेता, जगदम्बाश्री अवार्ड, जेसिस युथ अवार्ड, सर्वोत्कृष्ट टेलीनिर्देशक, अभियानद्वारा सर्वोत्कृष्ट अभिनेता, अभियानश्री अवार्ड, मिलेनियम ख्याली जुजु अवार्ड, राष्ट्रिय युवा गौरव सम्मान, जनआन्दोलन स्वर्ण पदकलगायत सयौं मान सम्मान र पुरस्कारबाट विभूषित र सम्मानित हुँदै आउनुभएको छ ।

मदनकृष्ण र हरिवंश छुट्टाछुट्टैरूपमा पनि केही सम्मान र पुरस्कारबाट सम्मानित र पुरस्कृत हुनुभएको छ । मदनकृष्णले सुखदुःखमा पनि अभिनय गर्नुभएको छ भने हरिवंशले कुमारी, सिन्दुर, जीवनरेखाजस्ता फिल्ममा पनि अभिनय गर्नुभएको छ । जोडी बाँधिनुअगाडि मदनकृष्णले टोलटोलमा हुने सांगीतिक कार्यक्रममा थुप्रै गीत गाउनुभएको छ । उहाँको स्वरमा थुप्रै नेवारी र नेपाली गीत रेकर्ड भएका छन् भने रेकर्ड नभएका गीतहरू पनि उहाँसँग थुप्रै छन् । रामकृष्णलाल श्रेष्ठ र लक्ष्मीदेवी श्रेष्ठको सन्तानका रूपमा जन्मिनुभएका मदनकृष्णले महेन्द्ररत्न पब्लिक क्याम्पसबाट कमर्समा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको छ। उहाँका हे दक्षिणकाली, पसलबाट अरबौं मान्छेहरूमा तिमी एक, खोलावारि खोलापारिजस्ता गीत लोकप्रिय छन्।

त्यसै गरी होमनजय आचार्य र गशेणकुमारीको सन्तानका रूपमा जन्मिनुभएका हरिवंश आचार्यका खोक्रो सारंगी, तिम्रो माया उनान्सय मेरो माया सय, चञ्चले चञ्चले गण्डकी अञ्चले, हाम्री आमा सारै नै सोझी छिन्, साझा बसमा जो पनि चढ्दछ, सारंगी रेटौंला मौका मिले फेरि भेटौंलाजस्ता गीत लोकप्रिय छन ।

प्रतिक्रिया दिनुहोस्