कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम एचिभमेन्ट अवार्ड) २०७५ शम्भुजित बासकोटा पर्दापछाडिको कलाकारतर्फ



संगीतकार, गीतकार, गायक अनि फिल्म लेखक, धेरै छन् शम्भुजित बासकोटाको परिचय । संगीतकारभन्दा गायक बढी, गायकभन्दा संगीतकार बढी । यसरी पैmलिएको छ बासकोटाको बहुआयामिक परिचय।

२०१३ साल चैत २ गते शुक्रबारका दिन काठमाडौंको पानीपोखरीमा जन्मिनुभएका ६३ वर्षीय बासकोटाले १५ वर्षकै उमेरमा २०२८ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरी त्यही सालको अन्ततिर आफ्नै रचना र संगीतमा बोलौं भने उनी त बोल्दिनन् बोलको पहिलो गीत बिके रानाको स्वरमा रेकर्ड गराउनुभएको थियो। २०३० सालमा कुन शहरमा छौ मायालु र यो कान्छी छोडेर बोलको गीत गाउनुभएका बासकोटाले २०४१ सालमा बनेको के घर के डेरा नामक फिल्मका लागि शुभबहादुर सुनामका साथ संयुक्तरूपमा संगीत सिर्जना गरी फिल्मका लागि संगीत सिर्जना गर्न थाल्नुभएको थियो भने २०४८ सालमा बनेको फिल्म मायाबाट एकलरूपमा संगीत सिर्जना गरेपश्चात् यो क्षेत्रलाई सयौं कालजयी र लोकप्रिय गीतसंगीत दिँदै आउनुभएको छ।

लोभीपापी, युगदेखि युगसम्म, प्रेमपिण्ड, ट्रक ड्राइभर, सीमारेखा, वसन्ती, अल्लारे, राजमती, सेतो बाघ हुँदै दालभात तरकारी, लभ स्टेशन, आफ्नै होम प्रोडक्सनको फिल्म चौका दाउसम्म गरी ऐतिहासिक, रोमान्टिक, पारिवारिक र सामाजिक विषयका ३ सय ६७ फिल्मका लागि संगीत दिएर यो क्षेत्रलाई धनी बनाउनुभएका मेलोडियस संगीतकार बासकोटाले लोक, सुगम, राष्ट्रिय भावना, भक्ति गीतलगायत गरी फिल्मबाहेक नै विभिन्न विधाका २ हजारभन्दा बढी गीतका लागि संगीत सिर्जना गर्नुभएको छ। त्यसै गरी विभिन्न विधाका एक सय गीत रचना गर्नुभएको छ।

भारतको प्रयाग संगीत विद्यालय, इलाहावादबाट बिम्यूज र पन्जाब विश्वविद्यालयबाट बीए गर्नुभएका शम्भुजितले ७ सयभन्दा बढी रेडियो तथा टिभ जिङ्गलको लेखन तथा संगीत सृजना गरेर समेत मन जित्दै आउनुभएको छ भने नेपाल टेलिभिजन र नेपाल टेलिभिजन मेट्रोको लोगो धुन तथा समाचार धुनको सिर्जना गर्नुभएको छ। ट्रक ड्राइभर, सीता, अल्लारे, यो मायाको सागर, जाली रुमाल, चौका दाउजस्ता झन्डै आधा दर्जन फिल्मको कथाकारसमेत रहनुभएका बासकोटाले नेपालकै पहिलो टेलिभिजन रियालिटी शो प्रतिभाको डबलीसमेत तयार पार्नुभएको थियो भने टेलिभिजनका लागि संगीत संगम, सिर्जनाको आधा घण्टा, टोल–टोलमा, गीत, मनको रहरजस्ता कार्यक्रम निर्माण र निर्देशनसमेत गर्नुभएको छ। नेपालकै पहिलो म्युजिक भिडियोसमेत निर्देशन गर्नुभएका बासकोटा नेपाल टेलिभिजनको लोकप्रिय हास्यशृंखला तीतो सत्यका परिकल्पनाकार पनि हुनुहुन्छ।

२०४१ सालदेखि २०४६ सालमा प्यारोडी गायनको क्षेत्रमा एकछत्र राज गर्नुभएका बासकोटा नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको पूर्व उपकुलपति, तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको संगीत निर्देशक, नेपाल टेलिभिजनको पूर्व कार्यकारी अध्यक्ष तथा महाप्रबन्धक, चलचित्र विकास बोर्डको पूर्व कार्यकारी अध्यक्ष, तत्कालीन शाही नेपाल चलचित्र संस्थानको सञ्चालक समितिका सदस्य र नातिकाजी स्मृति समाजको अध्यक्ष रहनुभएको छ। उहाँ नेपाली संगीत निर्देशक संघका संरक्षक तथा चलचित्र विकास बोर्डको सल्लाहकारसमेत रहनुभएको छ।

विशेष गरी फिल्मी गीतहरूमा योगदान दिनुभएका शम्भुजितको सुगम संगीततर्फ पनि उत्तिकै योगदान छ। तिम्रो त्यो हँसिलो मुहार, प्रतीक्षा गर मेरी मायालु, तिम्रो हर प्रश्नको जवाफ, पूर्णिमाको रात पनि औंसीको झैं, तिमीले भनेका सारा देव छोएर, पर्खी बसे आउला भनी, यस्तै रहेछ यहाँको चलन, यो लामो जीवनमा किन म हतास हतास छु, मेरा आशक्तिका भावना, हिउँभन्दा चिसो, एकै नजरमा, सफल तिम्रो जिन्दगीमा, चाँदनीमा बग्छ खोला, फेवातालको आँगनमा माछापुच्छ्रे छायाजस्ता गीतमा संगीत दिनुभएको छ। उहाँको संगीतमा नारायण गोपाल, प्रेमध्वज प्रधान, फत्तेमान जोशी, योगेश वैद्य, झक्तराज आचार्यजस्ता अग्रज गायकले स्वर दिनुभएको छ भने भारतीय गायकगायिका महेन्द्र कपुर, आशा भोस्ले, पंकज उदास, भूपेन्द्र सिंह, अनुप जलौटा आदिले गीत गाएका छन्।

त्यस्तै गायनको अर्को पुस्ताका दीपक खरेल, प्रकाश श्रेष्ठ, रवीन शर्मा, ओम विक्रम विष्ट, आनन्द कार्कीदेखि पछिल्लो पुस्ताका एम बराल, राजेश पायल राई, रामकृष्ण ढकाल, सुगम पोखरेल, दीपक वज्राचार्य, नवीन के भट्टराई, सञ्जय तुम्रक, विश्व नेपाली, तारादेवी, मीरा राणा, कुन्ती मोक्तान, सुक्मित गुरुङ, ज्ञानु राणा, लोचन भट्टराई, तीर्थ कुमारी, देविका बन्दना, तारा थापा, मिलन चखुले गाउनुभएको छ भने पछिल्लो पुस्ताका अञ्जु पन्त, टीका प्रसाईं, स्मीता दाहाल, कोमल राज भण्डारीसम्मका गायिकाहरूले उहाँका गीत गाउनुभएको छ।

त्यसै गरी किरण खरेल, रत्नशमशेर थापा, यादव खरेल कालिप्रसाद रिजाल, राजेन्द्र थापा, दिनेश अधिकारी, कृष्णहरि बराल, शिव रेग्मी, उन्नतिशिला बोहरा, दयाराम दाहाल, दयाराम पाण्डे, सहदेव ढुंगानालगायत दर्जनौं गीतकारका गीतमा संगीत भर्नुभएको छ।

बासकोटाले नेपाली संगीतको क्षेत्रमा योगदान पुर्याएबापत बालमन्दिरद्वारा आयोजित नाटक तथा खेलकुद कार्यक्रममा तत्कालीन राजा महेन्द्रबाट स्वर्णपदक प्राप्त गर्नुभएको थियो भने संगीतको सेवा गरेबापत नै प्रबल गोरखा दक्षिण बाहु, विख्यात त्रिशक्तिपट्ट पदक, नारायण गोपाल संगीत पुरस्कार, अभियानश्री पुरस्कार २०४९, नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानबाट आयोजित गाईजात्रा महोत्सवमा २०४० देखि लगातार २०४५ सम्म विशिष्ट पुरस्कार, छिन्नलता पुरस्कार, कलिउड सिनेमा पुरस्कार २०५१ देखि २०५३ सम्म र २०५५, मोसन पिक्चर अवार्ड २०५४ र २०५६, नेपाल लाइफ टाइम एचिभमेन्ट मोसन पिक्चर सम्मान २०५७, नाट्येश्वरी स्तम्भ पुरस्कार २०५६, सानमिगेल संगीत पुरस्कार २०५६, नेपाल सम्मान २०५७, नेपाल लाइफ टाइम एचिभमेन्ट मोसन पिक्चर सम्मान २०५७, श्री ५ वीरेन्द्र सेवा पदक २०५८, हिट्स एफएम म्युजिक अवार्ड २०५९, नेपाल टेलिभिजन सम्मान २०६२, रूपक स्मृति पुरस्कार २०६२, शिवशंकर संगीत पुरस्कार २०६२, स्व. हरिभक्त कटुवालको नाममा स्थापित मितेरी सम्मान २०६९, अभियान रत्नश्री २०७१, नेफ्टाद्वारा हङकङमा आयोजित नेपाली चलचित्र महोत्सवमा महान् संगीतकार तथा संगीत शिरोमणि सम्मान २०७१, गणतन्त्र दिवस कदर पत्र २०७१, सुप्रबल जनसेवाश्री (चौथो) २०७१, विन्ध्वासिनी संगीतकर्मी सम्मान २०७१, प्रबल जनसेवाश्री (चौथो) २०७२, अमेरिकाको वासिङ्टन भर्जेनियामा अन्तर्राष्ट्रिय कलाकार मञ्चद्वारा लाइफ टाइम एचिभमेन्ट अवार्ड, इमेज लाइफ टाइम एचिभमेन्ट अवार्ड र सुप्रबल जनसेवाश्री तृतीय २०७५ लगायत दर्जनौं विभूषण, सम्मान र पुुरस्कारबाट विभूषित तथा सम्मानित हुनुभएको छ

प्रतिक्रिया दिनुहोस्