विन्ध्यवासिनी अवार्डमा रामकृष्णको हुरी हाबी, रत्नशमशेरलाई लाइफटाइम अचिभमेन्ट



रश्मी थापा

विन्ध्यवासिनी फाउन्डेसनले मुक्तिनाथ विकास बैंकको प्रस्तुतिमा राजधानीमा आयोजना गरेको आठौं विन्ध्यवासिनी म्युजिक अवार्ड समारोहमा गायक रामकृष्ण ढकालको म हुरीमा दियो बलेको देख्छु बोलको गीतले ह्याट्रिक गरेको छ ।

जय गीत जय संगीतको नारासहित कार्यक्रममा सुगम संगीततर्फ गायक ढकालको एल्बम आवरण वर्षको उत्कृष्ट एल्बम सावित भयो भने त्यसमा रहेको म हुरीमा दियो बलेको देख्छु बोलको गीतबाट ढकालले सुगम संगीततर्फका सर्वोत्कृष्ट गायक पुरुषको अवार्ड चुमे । सोही गीतबाट राजेश थापा सर्वोत्कृष्ट संगीतकार र रमेश बीजी सर्वोत्कृष्ट रचनाकार ठहरिए ।

सुगम संगीततर्फको गायिकाको अवार्ड फुल्नुभन्दा त बोलको गीतबाट श्रेयशी चेम्जोङ लिम्बुले चुमिन् भने आज फेरि एकान्तमाबाट वीरेन्द्र पाठकले सर्वोत्कृष्ट गीत, रातो रातो खुर्सानीबाट क्रान्ति केसीले म्युजिक भिडियो निर्देशक, निष्ठुरीले मान्दै मानिनबाट गुणराज श्रेष्ठले पप तथा सुगम संगीत नवप्रतिभा र तिम्रो माया पाउनलाईबाट चन्द्रज्योति आलेले महिला गीतकारको अवार्ड चुमे । पप संगीततर्फ सुरजकुमार थापाले तस्वीर तिम्रोबाट पप गायक, आकांक्षा बस्यालले म पग्लन्छुबाट पप गायिका, राजु सिंहले भुल्यौकी भुलेकी छैनौंबाट संगीतकार, एस राजकुमार र मेलिना राईले तिमीले सम्झेर हो किबाट युगल गायन र कमल सौरागले सँगै बाँच्ने कसमबाट संगीत संयोजकको अवार्ड जिते ।

लोकदोहोरीलाई समेत उल्लेखनीय स्थान दिइएको अवार्ड समारोहमा राजन गुरुङले उही खोलीमा पानीबाट लोकदोहोरी गायक, सर्मिला गुरुङले हैन अरुकोबाट लोकदोहोरी गायिका, कस्तुप पन्तले जवानीमा धक्काबाट लोकदोहोरी भाका, प्रह्लाद सुवेदीले मेरो झल्को आएमाबाट रचनाकार, एकनारायण भण्डारीले लाली जोवनबाट लोकदोहोरी गीत, युवराज मगरले जुल्फी कपाल काटेकोबाट नवप्रतिभा र प्रकाश भट्टले तामे करुवाबाट म्युजिक भिडियो निर्देशकको अवार्ड पाए ।


त्यसै गरी दुर्गेश थापा र रोसिना एलसीले बाल मतलबबाट पप तथा आधुनिक भिडियो मोडल जोडीको अवार्ड चुमे भने देवेन्द्र क्षत्री र रूपा कँडेलले नबोलदेउ रिसाएरबाट लोकदोहोरी मोडल जोडीको अवार्ड चुमे । दिनेश डीसीद्वारा विभिन्न भेषमा रोचक ढंगले सञ्चालित कार्यक्रममा राजेशपायल राईलाई फिल्म दर्पण छाया–२ को दर्पण छाया गीतका लागि पाश्र्व गायकको अवार्ड दिइयो भने मीना निरौलालाई लुट–२ को ठमेल बजारका लागि पाश्र्व गायिकाको अवार्ड दिइयो । त्यस्तै छक्का पञ्जाको पूर्व–पश्चिम रेलका
लागि राजनराज शिवाकोटीलाई संगीतकारको अवार्ड दिइयो ।

विभिन्न गीत–संगीत र नृत्य प्रस्तुतिका साथ अगाडि बढेको कार्यक्रममा विष्णु पौडेलले बुद्ध खेल्ने आँगनबाट राष्ट्रिय भावनाले ओतप्रोत गीत, राजेश घिमिरेले अपुरै भोबाट छायाँकार, दीपक विष्टले मनमा कुरा खेलाउँदैबाट भिडियो सम्पादक र साजन साहले दर्शन नमस्तेबाट रेकर्डिस्टको अवार्ड पाए । म्युजिक कम्पनीको अवार्ड भावना म्युजिक सलुसनले पाएको समारोहमा विन्ध्यवासिनी म्युजिक अन्तर्राष्ट्रिय संगीतकर्मी सम्मान डीआर अटुटले पाएका छन् भने जुरी अवार्ड आज फेरि एकान्तमाबाट अजर जंगमले चुमे । त्यस्तै पब्लिक च्वाइस अवार्ड मर्ने मितिबाट सारिका केसी र विमल अधिकारीले पाए ।


कार्यक्रममा गीतकार रत्नशमशेर थापालाई १ लाख २ हजार २ सय २ रुपियाँसहित विन्ध्यवासिनी म्युजिक लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । अवार्डको राशी ५१ हजार १ सय ५१ भए पनि एसियन थाई फुडले अवार्डबापत थप ५१ हजार १ सय ५१ प्रदान गरेपछि सो राशी १ लाख २ हजार २ सय २ रुपियाँ भएको थियो । त्यसै गरी २५ हजार ५ सय २५ रुपियाँसहित डब्बु क्षत्रीलाई विन्ध्यवासिनी कला पत्रकारिता सम्मानबाट सम्मान गरियो भने रीमा गुरुङ होडालाई १५ हजार ५ सय ५५ सहित विन्ध्यवासिनी संगीत रत्न सम्मान प्रदान गरियो । उनको अनुपस्थितिमा उनको संगीतकार पिता प्रकाश गुरुङले सम्मान ग्रहण गरेका थिए । यस वर्षको विन्ध्यवासिनी चलचित्र सम्मानबाट १० हजार १ रुपियाँसहित अभिनेता तथा फिल्म निर्देशक सुदर्शन थापा सम्मानित भएका छन् ।


राष्ट्रिय धुनबाट शुरु भएको कार्यक्रममा गायक रामकृष्ण ढकाल, विजय अधिकारी, मनोजराज शिवाकोटी, शिशिर देवकोटा, प्रेमप्रकाश ओली, बद्री पंगेनी, टीका प्रसाईं, सुमिना लो, मेक्सम खातीलगायतले गीत–संगीत प्रस्तुत गरेका थिए भने काजिश श्रेष्ठ, दीपासा बीसी, विक्रम चौहान, टीका जैसी, शंकर बीसी, दुर्गेश थापा तथा समूहले आकर्षक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा अजर जंगम र सुरजकुमार थापाले गीतकार रत्नशमशेर थापाको गीतहरू प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्