समारोह सम्मानबाटै शुरु कलातर्फ मह जोडी




हरेक वर्षजस्तै यस वर्ष पनि पर्दा अगाडि र पर्दा पछाडिका कलाकारलाई कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफटाइम अचिभमेन्ट अवार्ड) समर्पण गरिएको थियो । यस वर्ष नेपाली कला क्षेत्रमा विगत ३८ वर्षदेखि मह जोडीका रुपमा प्रख्यात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई कलाततर्फको कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफटाइम अचिभमेन्ट अवार्ड) समर्पण गरिएको थियो ।

सदाझैँ यस वर्ष पनि सिजी लक्स कामना फिल्म अवार्डस्को शुरुआत सम्मानबाट भएको थियो । हरेक वर्षजस्तै यस वर्ष पनि पर्दा अगाडि र पर्दा पछाडिका कलाकारलाई कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफटाइम अचिभमेन्ट अवार्ड) समर्पण गरिएको थियो ।

यस वर्ष नेपाली कला क्षेत्रमा विगत ३८ वर्षदेखि मह जोडीका रुपमा प्रख्यात मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई कलाततर्फको कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफटाइम अचिभमेन्ट अवार्ड) समर्पण गरिएको थियो । २०३७ सालअगाडि म र ह अर्थात् मदनकृष्ण र हरिवंश छुट्टाछुट्टैरुपमा काम गर्थे । २०३७ सालमा नेपाल राष्ट्र बैंकको वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा तत्कालीन राजा वीरेन्द्र आउने भएपछि समय बचाउन मदन र हरिले संयुक्तरुपमा आफ्नो प्रस्तुति प्रस्तुत गर्नुपर्ने भयो ।

त्यहाँ उनीहरुले बैंकेश्वर नामक प्रहसनबाट हसाउँदै दर्शकलाई मन्त्रमुग्धमात्र बनाएनन्, कला क्षेत्रका लागि कोहीनूरका रुपमा एक अनुपम जोडी बनेर देखिए । यो क्रमसँगै राष्ट्रिय सभागृहमा विज्ञापन नामक प्रहसन प्रदर्शन भइरहँदा पृष्ठभूमिबाट हास्य अभिनेता राजाराम पौडेलले उद्घोषण गर्दै भने– ‘अब आउँदै छन् महजोडी । महजस्तै गुलिया, मह जस्तै गुनिला, महजस्तै कहिल्यै नकुहिने, पञ्चामृतजस्तै मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मह जोडी ।‘ हरेक दिनको शोमा मह जोडी भन्दै उद्घोषण गरिँदा दर्शकले ताली बजाएर स्वागत गर्न थालेपछि मदनकृष्ण र हरिवंशको जोडी मह जोडीका रुपमा सुविख्यात छ।

यो जोडीले आज मुलुकमा मात्र नभई संसारमै आफ्नो कलाकौशलबाट दर्शकलाई प्रशंसक बनाएका छन् । यो जोडी प्रहसनदेखि टेलिफिल्मसम्म, टेलिसिरियलदेखि ठूलो फिल्मसम्मैै एकताबद्ध भई सामाजिक चेतनासँगै कुरीतिविरुद्ध समेत लड्दै आइरहेको छ । राजनीतिक परिवर्तनका साथै समाजसेवासम्म फैलिएको मह जोडीको अविरल सहयात्रा नेपाली नेताहरुका लागि मात्र नभई सम्पूर्ण समाजकै लागि अनुकरणीय उदाहरण बनेको छ ।

यमलोक, अंशवण्डा, कक फाइट, शपथ ग्रहण, विज्ञापन, लन्डन एयरपोर्ट, राष्ट्रिय गाउँ खाने कथा, रिमोर्ट कन्ट्रोल, नेपाल बन्द, काउकुती, नेवारबहादुर बाहुनबहादुर, म डनको स्टुडियोजस्ता ३ दर्जन प्रहसन, फिप्टी फिप्टी २ लाख १६ हजार ७ सय ७७, १५ गते, सुर बेसुर, लक्ष्मी, लालपूर्जा, टिकेको ३ मन्त्र, मह चौतारी, पाठशाला, ढलमती, भूकम्पजस्ता साढे ३ दर्जन जति टेलिफिल्मबाट महको मीठो र नुनिलो स्वाद करोडौं नेपालीले चाखिसकेका छन् । आधा दर्जन बढी चेतनामूलक रेडियो कार्यक्रमसमेत प्रस्तुत गरेको मह जोडीले वासुदेव, के घर के डेरा, सिलु, माला, लोभीपापी, ट्रक ड्राइभर, राजमती, बलिदान, फिलिम, हाँसिदेऊ एकफेर, चण्डालिका, शत्रु गतेजस्ता चलचित्रमा सँगै काम गरेका छन् ।

चेतनामूलक सन्देश र व्यावसायिक विज्ञापनहरुमा समेत छाएको मह जोडीका सदस्य केवल अभिनयमा मात्र सीमित छैन, आफ्नो बौद्धिक क्षमताको प्रदर्शन गर्दै गीत लेखन, गायन, कविता र पुस्तक लेखनमा समेत अमिट छाप छोड्न सफल व्यक्तित्व बनेका छन् ।

नेपाली कला क्षेत्रका यी अनमोल हीरामध्ये एक मदनकृष्ण श्रेष्ठ २००७ साल वैशाख ७ गते बुधबार काठमाडौंको जितपुर फेदीमा जन्मिएका हुन् भने अर्को हीरा हरिवंश आचार्यको २०१५ साल असोज २३ गते बिहीबार काठमाडौंको गैरीधारामा जन्मिएका हुन् । यसभन्दा अघि यो सम्मान अभिनेता तथा रगंकर्मी हरिप्रसाद रिमाल, लेखक तथा निर्देशक लक्ष्मीनाथ शर्मा तथा रगंकर्मी दम्पती हरिहर शर्मा र शकुन्तला शर्र्मालाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्