पर्दापछाडिको कलाकारतर्फ बासकोटा




समारोहमा पर्दा पछाडिको सम्मान गायक तथा संगीतकार शम्भुजित बासकोटालाई प्रदान गरिएको थियो ।

२०१३ साल चैत २ गते शुक्रबारका दिन काठमाडौंको पानीपोखरीमा जन्मिएका ६३ वर्षीय बासकोटाले १५ वर्षकै उमेरमा २०२८ सालमा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरी त्यही सालको अन्ततिर आफ्नै रचना र संगीतमा बोलौं भने उनी त बोल्दिनन् बोलको पहिलो गीत बीके रानाको स्वरमा रेकर्ड गराएका थिए ।

२०३० सालमा कुन शहरमा छौ मायालु र यो कान्छी छोडेर बोलको गीत गाएका बासकोटाले २०४१ सालमा बनेको के घर डेरा नामक फिल्मका लागि शुभबहादुर सुनामका साथ संयुक्तरुपमा संगीत सिर्जना गरी फिल्मका लागि संगीत सिर्जना भर्न थालेका थिए भने २०४८ सालमा बनेको फिल्म मायाबाट एकलरुपमा संगीत सिर्जना गरेपश्चात् यो क्षेत्रलाई सयौं कालजयी र लोकप्रिय गीत संगीत दिँदै आएका छन् । लोभीपापी, युगदेखि युगसम्म, प्रेमपिण्ड, ट्रक ड्राइभर, सीमारेखा, वसन्ती, अल्लारे, राजमती, सेतो बाघ हुँदै दालभात तरकारी, लभ स्टेसन, आप्mनै होम प्रोडक्सनको फिल्म चौका दाउसम्म गरी ऐतिहासिक, रोमान्टिक, पारिवारिक र सामाजिक विषयका ३ सय ६७ फिल्मका लागि संगीत दिएर यो क्षेत्रलाई धनी बनाएका मेलोडियस संगीतकार बासकोटाले लोक, सुगम, राष्ट्रिय भावना, भक्ति गीतलगायत गरी फिल्मबाहेक नै विभिन्न विधाका २ हजारभन्दा बढी गीतका लागि संगीत सिर्जना गरेका छन् ।

भारतको प्रयाग संगीतविद्यालय, इलाहावादबाट बीम्यूज र पन्जाब विश्वविद्यालयबाट स्नातक गरेका शम्भुजितले ७ सयभन्दा बढी रेडियो तथा टिभी जिङगलको लेखन तथा संगीत सिर्जना गरेर समेत स्रोताको मन जितिसकेका छन् । यसैगरी नेपाल टेलिभिजन र नेपाल टेलिभिजन मेट्रोको लोगो धुन तथा समाचार धुनको सिर्जना पनि बासकोटाले गरेका हुन् ।

ट्रक ड्राइभर, सीता, अल्लारे, यो मायाको सागर, जाली रुमाल, चौकादाउजस्ता झन्डै आधा दर्जन फिल्मको कथाकारसमेत रहेका बासकोटाले नेपालकै पहिलो टेलिभिजन रियालिटी शो प्रतिभाको डबलीसमेत तयार पारेका थिए भने टेलिभिजनका लागि संगीत संगम, सिर्जनाको आधा घण्टा, टोल–टोलमा, गीत, मनको रहरजस्ता कार्यक्रम निर्माण र निर्देशनसमेत गरेका छन् । नेपालकै पहिलो म्युजिक भिडियोसमेत निर्देशन गर्नुभएका बासकोटा नेपाल टेलिभिजनको लोकप्रिय हास्यशृंखला तीतो सत्यका परिकल्पनाकार पनि हुन् ।

२०४१ सालदेखि २०४६ सालमा प्यारोडी गायनको क्षेत्रमा एकछत्र राज गरेका बासकोटा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको पूर्वउपकुलपति, तत्कालीन नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानको पूर्व संगीत निर्देशक, नेपाल टेलिभिजनको पूर्व कार्यकारी अध्यक्ष तथा महाप्रबन्धक, चलचित्र विकास बोर्डको पूर्व कार्यकारी अध्यक्ष, तत्कालीन शाही नेपाल चलचित्र संस्थानको पूर्व सञ्चालक समिति सदस्य र नातिकाजी स्मृति समाजको अध्यक्ष रहेका छन् ।

पर्दापछाडि रहेर योगदान पुर्याउन फिल्मकर्मीलाई प्रदान गरिने यो सम्मान यसभन्दाअघि छायाकार वैकुण्ठ मास्के, साउन्ड इन्जिनियर प्रदीप उपाध्याय र छायाकार मञ्जुकुमार श्रेष्ठलाई प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्