सम्मानमाथि सम्मान थप्दै मेड्ले




कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पणपश्चात् सम्मानित कलाकर्मीको सम्मानमा अवार्ड समारोहमा सानदार मेड्ले प्रस्तुत गरिएको थियो । सरप्राइज प्याकेजअन्तर्गतको अर्को प्रस्तुतिस्वरुप प्रस्तुत मेड्लेमा ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठका गायक तथा कलाकार छोरा यमन श्रेष्ठले आफ्ना पिताले के घर के डेरा फिल्मका लागि गाएको गीत हे भगवान् खल्तीको घाउ पृष्ठभूमिमा गाउँदै अचानक स्टेजमा आउँदा दर्शक त सरप्राइज्ड भए नै, स्वयं मदनकृष्ण पनि हेरको हेर्यै भए ।

समारोहपछि मदनकृष्ण भन्दै थिए– ‘केही दिनदेखि बेलुका भएपछि सधैं छोरो कोट लगाएर कहाँ जान्छ भनेको त रिहर्सल गर्न पो जाँदो रहेछ । मलाई त थाहै थिएन ।‘ ‘आज पनि बाउ–छोरा सँगै अवार्डमा आउँला भनेको ऊ त पहिले नै निस्कियो । यस्तो सरप्राइज दिनलाई रहेछ।‘ –मदनकृष्णले भने ।

मेड्ले प्रस्तुतिका क्रममा यमनले मदनकृष्णलाई मात्र होइन, उनका जोडी हरिवंशलाई पनि सरप्राइज दिए उनीद्वारा अभिनित के घर के डेराकै को हो त्यो गीत गाएर । कार्यक्रमका सहभागीका लागि सरप्राइजको शृंखला जारी थियो । यमनपछि गायक कृष्ण काफ्लेले मदनकृष्णले गाएको दुई गीत अर्बाैं मान्छेहरुमा तिमी एक मन मिल्ने मान्छे र खोलावारि खोलापारि पीपलु र वर गाए । गायक सुरेश लामाले हरिवशंले गाएको चञ्चले चञ्चले गण्डकी अञ्चले र साझा बसमा जो पनि चढ्दछ गाएर सबैलाई रमाइलो गराए ।

भ्वाइस द ब्याकअप ब्यान्डको प्रत्यक्ष वाद्यवादनमा प्रस्तुत मेड्लेमा रातो टीका निधारमा गीत लिएर निशान भट्टराई र निशा देशार प्रस्तुत भए भने कमल किरण र मीना निरौलाले हे संगीता गाएका थिए । गायक रामचन्द्र पोखरेलले एउटै रिदममा माया नै माया छ तिम्रो नाउँमा, शनिबारको दिन र यो गाउँको ठिटो म गाउँदा गायिका मीना निरौलाले चिठी आएन गाइन् ।

त्यसपछि विरहीको भाकाले गीत लिएर सुरेश लामा फेरि मञ्चमा आएका थिए भने आनन्द कार्कीले म त अब रिसाउँछु बोल्दै बोल्दिनँ र बानिका प्रधानका साथ भरे आउँछु सपनीमा गाउँदा दर्शक रमाएका थिए । बानिका प्रधानले अर्को गीत गैरी खेतको शिरै हान्यो प्रस्तुत गरेपछि गायक सञ्जय तुमरुक र टीका प्रसाईले कालो चस्मा लाऊ है मायाका साथ स्टेज तताएका थिए । अन्त्यमा भने सम्झना बिर्सना गीत लिएर सम्पूर्ण गायक गायिका एकसाथ स्टेजमा प्रस्तुत भएका थिए ।

यो मेड्ले प्रस्तुतिका क्रममा दर्शकबाट लगातार हुटिङ आएको थियो भने दर्शकहरु रमाउँदै एक आपसमा गीत गाइरहेका देखिन्थे । मेड्लेमा सम्मानित कलाकर्मीहरु मह जोडी र शम्भुजितद्वारा अभिनित, स्वरबद्ध र संगीतबद्व गीत प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्