प्रथम नायिकादेखि प्रदीप र जसितासम्म एकै मञ्चमा



नेपाली फिल्म क्षेत्रको पुरानोदेखि नयाँ पुस्तासम्मलाई एकै मञ्चमा बिरलै देख्न पाइन्छ । सिजी लक्स कामना फिल्म अवार्डस् २०७५ मा भने यो अभूतपूर्व दृश्य देखियो । २०७१ सालमा सम्पन्न सिजी कामना फिल्म अवार्डस्मा पहिलोपटक देखिएको यो अद्भूत दृश्य चौथो संस्करणको सिजी लक्स कामना फिल्म अवार्डस् २०७५ मा पनि देखियो ।

नेपाली फिल्मकी प्रथम नायिका भुवन चन्द थापादेखि हालका बिकाउ र लोकप्रिय नायक प्रदीप खड्का अनि नवनायिका जसिता गुरुङसम्मलाई एकैसाथ एकै मञ्चमा देखियो । नेपाली फिल्म क्षेत्रको इतिहासदेखि वर्तमानसम्मको प्रतिनिधित्व गर्ने गरी समारोहमा भव्य नृत्य प्रस्तुत गरिएको थियो । जसमा क्रमशः भुवन चन्द थापा र चैत्यदेवी, भुवन केसी र झरना थापा, नीता ढुंगाना, दीपाश्री निरौला, जितुनेपाल, केदार घिमिरे, बुद्धि तामाङ, आयुष्मान जोशी र प्रियंका कार्की, बेनिषा हमाल तथा प्रदीप खड्का र जसिता गुरुङले लगातार नृत्य प्रस्तुत गरेर नेपाली फिल्मको इतिहासदेखि विभिन्न कालखण्ड हुँदै वर्तमानसम्मको नृत्य प्रस्तुत गरेर सबैको मन जिते ।

भुवन चन्द र चैत्यदेवीले नेपाली कलाकारलाई लिएर नेपालमै निर्मित पहिलो फिल्म आमाको शुभकामना बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए भने नायक भुवन केसी र झरना थापा म तिमीबिना मरिहाल्छुफिल्ममा समावेश म तिमीबिना मरिहाल्छुबोलको गीतमा प्रस्तुत हुँदा कार्यक्रमको माहोल झन् तातिएको थियो । नायिका नीता ढुंगानाले हुर्रे फिल्मको पशुपति बोलको गीतमा नृत्य प्रस्तुत गरेर दर्शक तताएको समारोहमा नरेशविक्रम सिंह, मलिन तामाङ र सञ्जय लामाले विभिन्न फिल्मी गीतमा बिबोइङ प्रस्तुत गरेर दर्शक उचाले ।

त्यसै गरी अभिनेत्री दीपाश्री निरौला बेहुली तथा केदार घिमिरे, जितुनेपाल र बुद्धि तामाङले दुलाहाको भेषमा प्रस्तुत हुँदै छक्कापञ्जा ३ को पहिलो नम्बरमा उत्रिएर दर्शकलाई मोहित तुल्याए । दीपाश्रीलाई मञ्चमा डोली चढाएर ल्याइएको थियो भने यी कलाकारहरुको समूहले एकसाथ यसरी नृत्य गरेको पहिलो अवसर थियो ।

त्यसपछि नायिका बेनिषा हमाल उनलाई अवार्ड दिलाउने फिल्म ब्लाइन्ड रक्सको उड्यो मन बोलको गीतमा प्रस्तुत भइन् भने नायिका प्रियंका कार्की र अभिनेता तथा उनका प्रेमी आयुष्मान देशराज जोशी चंगा चेटको गोजीमा दाम छैन बोलको गीतमा मञ्चमा उत्रिए । आयंका जोडीको यो पहिलो स्टेज प्रस्तुति थियो । कार्यक्रमको अन्तिम प्रस्तुति नायक प्रदीप खड्का र नायिका जसिता गुरुङको रहेको थियो । उनीहरुले निर्माणाधीन फिल्म लभ स्टेसनको गीत नछोपौं मुख भने धूलो पस्ला घाँटीमामा आफ्नो धमकेदार प्र्रस्तुति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्